सिलीगुडी-झापा र अमलेखगञ्ज चितवन पाइपलाइन विस्तारबारे छलफल
काठमाडौं । भारतको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उनका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ । सोमबार अपराह्न उनीहरूबीच भएको भेटवार्तामा दुई पक्षीय हितका साथै पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ । उनीहरूबीच नयाँ पूर्वाधार योजनाअन्तर्गत सिलीगुडी–झापा र अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माणबारे छलफल भएको थियो । साथै उनीहरूले विगतमा दुई देशबीच भएका सम्झौता तथा तिनको कार्यान्वयनका सम्बन्धमा पनि छलफल गरेका थिए । यसैबीच, सर्लाहीको ग्यास पाइपलाइन निर्माण, त्रिभुवन विमानस्थलको इन्धन डिपो स्थानान्तरण, भारतीय आयल कर्पोरेशन लिमिटेड र नेपाल आयल निगमबीचको साझेदारीलगायत विषयमा छलफल भएको तथा दुवै निकायद्वारा प्रस्तुत एकीकृत प्रतिवेदन प्राप्त भएपछि सक्दो सहयोग गर्न भारत तत्पर रहेको मन्त्री पुरीले बताएको मन्त्री भण्डारीले नयाँदिल्लीबाट बताए । त्यसैगरी, द्विपक्षीय सरकारी संयन्त्रका सबै बैठक नियमित रूपमा गर्न दुवै पक्ष सहमत भएका उनले बताए । भारतीय पक्षले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री भण्डारीले जानकारी दिए ।
नेपाल र चीनबीच यी ९ समझदारी पत्रमा हस्ताक्षर, टोखा-छहरे सुरुङमार्ग निर्माणदेखि नगद सहयोग गर्ने
काठमाडौं । नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई देशबीच पारस्परिक सहयोग अभिवृद्धि तथा विभिन्न विकास परियोजनामा आज हस्ताक्षर भएको हो । यस्ता छन् नेपाल-चीनबीच भएका सहमति र समझदारी -टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदान -नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान -९ तले बसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान -भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर -विकास योजनासम्बन्धी समझदारीपत्र -आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र -नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान -स्वंयसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र -नेपाल टेलेभिजन र चाइना मिडिया ग्रुप (सीएमजी)बीच सञ्चार प्रविधिबारे समझदारीपत्र
डीआईटी सोलुसन र आदिम कलेजबीच सहकार्य हुने, विद्यार्थीलाई व्यावसायिक रूपमा सफल बनाउने
काठमाडौं । दुर्गा इन्फर्मेसन टेक्नोलोजी सोलुसन प्रालि (डीआईटी सोलुसन) र चाबहिलस्थित आदिम नेशनल कलेजबीच समझदारी भएको छ । दुईबीच सूचना प्रविधि (आईटी) क्षेत्रमा विद्यार्थीहरूलाई व्यावहारिक अनुभव, इन्टर्नशीप र रोजगारीको अवसर प्रदान गर्न सहकार्य गर्ने समझदारी भएको हो । शैक्षिक र व्यावसायिक क्षेत्रबीचको खाडल पुर्ने उद्देश्यले सहकार्य हुने भएको हो । दुवै संस्थाहरूले विद्यार्थीलाई उद्योगमै प्रयोग हुने सीपहरू सिकाउने र उनीहरूलाई रोजगारीका लागि तयार गर्ने प्रतिबद्धता जनाएका छन् । डीआईटी सोलुसनका प्रमुख कार्यकारी अधिकृत सुदीप घिमिरेले यस सहकार्यले आईटी क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने बताएका छन् । आदिम नेशनल कलेजका कार्यकारी निर्देशक मीना भट्टाराईले यो सहकार्यले विद्यार्थीलाई आईटी क्षेत्रमा प्रत्यक्ष अनुभव दिलाउने र उनीहरूको करिअरमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेकी छन् । डीआईटी सोलुसन र आदिम नेशनल कलेजबीचको यो सहकार्यले आईटी शिक्षा र उद्योगको सम्बन्धलाई मजबुत बनाउँदै विद्यार्थीलाई व्यावसायिक रूपमा सफल बनाउन मद्दत गर्नेछ । यसले नेपालको आईटी क्षेत्रमा दक्ष जनशक्तिको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। समझदारीका मुख्य विशेषताहरू इन्टर्नशीप कार्यक्रम: विद्यार्थीहरूलाई संरचित इन्टर्नशीप अवसर प्रदान गरिनेछ जसले उनीहरूलाई व्यावहारिक अनुभव र प्राविधिक सीप हासिल गर्न मद्दत पुग्नेछ । रोजगारीका अवसरहरू: योग्य स्नातकहरूलाई रोजगारीमा प्राथमिकता दिइनेछ । विद्यार्थीको प्रदर्शन र संस्थाको आवश्यकतालाई ध्यानमा राखेर रोजगारीका अवसरहरू सिर्जना गरिनेछ । सीप विकास: उद्योगका विशेषज्ञहरूद्वारा तालिम र कार्यशाला सञ्चालन गरिनेछ। विद्यार्थीहरूले प्रत्यक्ष परियोजनामा सहभागी भई अनुभव बटुल्न सक्नेछन् । ज्ञान साझेदारी: नयाँ प्रविधि र आईटी क्षेत्रका ट्रेन्डबारे अतिथि व्याख्यान र परामर्श कार्यक्रम सञ्चालन गरिनेछ । कलेजले योग्य विद्यार्थीहरूलाई नामांकित गराउन सहयोग गर्नेछ । यो सहकार्यले विद्यार्थीहरूलाई के-के फाइदा ? प्रत्यक्ष परियोजनामा अनुभव उद्योगका विशेषज्ञहरूसँग नेटवर्किङको अवसर रोजगारीका लागि तयार हुने व्यावसायिक सीप
नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
बेइजिङ । नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ आइपुगेका हुन् ।
आइतबारसम्म काठमाडौंका विभिन्न क्षेत्रमा बत्ती जाने
काठमाडाैं । काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ । विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य जारी रहेकाले काठमाडौंका विभिन्न क्षेत्रमा आगामी आइतबारसम्म दिउँसो ११ बजेदेखि ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य जारी छ । जसको कारणले आज मंगलबारदेखि आइतबारसम्म ६ दिन दिउँसो ११ बजेदेखि ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ । आज मंगलबार स्वयम्भू क्षेत्रमा ११ बजेदेखि ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने छ भने भोलि बुधबार कलंकीदेखि थानकोट क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने छ । यसैगरी, बिहीबार स्वयम्भू क्षेत्र, शुक्रबार कलंकीदेखि सोल्टीमोड क्षेत्र, शनिबार र आइतबार कालिमाटीदेखि बल्खु क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने जनाइएको छ ।
ग्रेट हल अफ पिपलमा प्रधानमन्त्रीको भव्य स्वागत (फोटोफिचर)
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा मंगलबार स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरू पनि सहभागी थिए । प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यहरूलाई परिचय गराएका थिए । चिनियाँ प्रधानमन्त्रीले पनि आफ्ना अन्य नेताको परिचय गराएका थिए । अहिले दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ । त्यसपछि हस्ताक्षर समारोह हुनेछ । प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ आइपुगेको हो । भ्रमण दलमा प्रथम महिला राधिका शाक्य परराष्ट्रमन्त्री डा, आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सङ्घीय सांसद्हरू, मुख्यसहित विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू छन् ।
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सोमबार तोलामा १ हजार २ सयले घटेको सुनको मूल्य मंगलबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनचाँदी दुबैको मूल्य बढेको हो । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला १ हजार र चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो । सुनको मूल्य बढेसँगै मंगलबार प्रतितोला १ लाख ५० हजार ३ सय र चाँदीको मूल्य १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको छ । पछिल्लो केही दिन सुनचाँदीको मूल्य एक दिन बढ्ने र अर्को दिन घट्दो क्रममा रहेको महासंघले जानकारी दिएको छ ।
महुली लघुवित्तले एफपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले एफजीओ जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले मंसिर १७ गते संस्थालाई पत्र पठाउँदै एफजीओ जारी गर्न स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो । धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ सर्वसाधारणलाई जारी गर्नेछ । महुली लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।