५६ लाखको मेसिनबाट सुन्तला ग्रेडिङ, मूल्य २५ देखि ९० रुपैयाँसम्म
काठमाडौं । सुन्तला गे्रडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो । नेपालमा पहिलोपटक २०७५ सालदेखि सुन्तलाको गे्रडिङ मेसिन जडान गरी काम सुरु भएसँगै सहज भएको बागवानी सञ्चालक एवं अगुवा किसान फणिनारायण अर्यालले बताए । पोष्ट हार्भेष्ट निर्देशनालय काठमाडौँ र बागवानी फार्मबीच सम्झौता भएर ८५ प्रतिशत अनुदानमा ५६ लाख रुपैयाँ लागतमा भारतबाट मेसिन ल्याई जडान गरिएको हो । ‘निर्देशनालयको ८५ प्रतिशत अनुदान र फार्मको १५ प्रतिशत लागत साझेदारीमा सुन्तलाका क्षेत्रमा ग्रेडिङ प्रविधि नेपालमा पहिलोपटक भित्रिएको हो,’ उनले भने, ‘मेसिन जडान भएसँगै सुन्तलाको ग्रेडिङ तथा सफा गर्न सहज भएको छ ।’ प्रतिघण्टा पाँच टनसम्म सुन्तला ग्रेडिङ गर्ने क्षमताको मेसिनले फोहरमैला, कालो टीका सफा गर्ने सञ्चालक अर्यालले बताए । सञ्चालक अर्यालले बगैँचामा उत्पादन भएका सुन्तला तथा अन्य किसानबाट खरिद गरेका सुन्तला मेसिनमार्फत ग्रेडिङ गरी बजार पठाउँदै आएका छन् । ‘मेसिनबाट विभिन्न आठवटा आकारमा सुन्तलाको वर्गीकरण गर्दै आएका छौँ,’ उनले भने, ‘मान्छे लगाएर काम गर्दा झण्झटिलो, धेरै कामदार लाग्ने, दाग लाग्ने, थिच्चिनेजस्ता समस्या हुुन्थ्यो, मेसिनको प्रयोगले सहज भएको छ ।’ ८ वटा आकारमा सुन्तला ग्रेडिङ गरेर छुट्याइए पनि बजार मागका आधारमा चारवटा आकारमा पठाउने गरिएको उनले बताए । साना सुन्तलाको प्रतिकेजी न्यूनतम मूल्य २५ रुपैयाँदेखि ठूला सुन्तलाका मूल्य ९० रुपैयाँमा अहिले फार्मबाट बिक्री हुने गरेको छ । फार्मले सुन्तलाको बजारीकरणका लागि भाटभटेनी सुपर मार्केटका सञ्चालकसँग सम्झौता गरेको छ । उक्त कम्पनीसँग गत वर्षदेखि ५० टन सुन्तला उपलब्ध गराउनेगरी सम्झौता भएको उनले बताए ।
सुपारी खेतीमा आबद्ध एक लाख किसानको भविष्य अन्धकार, डिएनए परीक्षण अन्योल
काठमाडौं । संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड (डिएनए) परीक्षण गरेर मात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण यहाँको प्रमुख नगदेबाली सुपारी व्यापार अन्योलमा परेको छ । झापालगायत विभिन्न जिल्लामा वर्षौदेखि सुपारी उत्पादन हुँदै आएको छ । नेपालमा उत्पादित सुपारी भारत निर्यात हुने गरेको छ । सुपारी उत्पादक किसान सङ्घका अनुसार बर्सेनि पूर्वी भेगमा १५ हजार मेट्रिक टन सुपारी उत्पादन हुन्छ । प्रचलित बजार मूल्यअनुसार उक्त परिमाणको सुपारीलाई ८ अर्बदेखि १२ अर्ब रुपैयाँसम्म पर्छ । नीतिगत अन्योलका कारण निर्यात रोकिँदा झापादेखि उदयपुरसम्म सुपारी खेतीमा आबद्ध एक लाख किसानको भविष्य अन्धकार उन्मुख भएको सङ्घका केन्द्रीय अध्यक्ष नीलकण्ठ तिवारीले बताए । ‘संसदीय समितिले डिएनए जाँच गरेरमात्र निर्यात गर्ने व्यवस्था मिलाउनू भनेर अर्थ र वाणिज्य मन्त्रालयलाई निर्देशन दिएको छ, दुई वर्ष भइसक्यो कहाँ हुने हो सुपारीको डिएनएन, केही अत्तोपत्तो छैन,’ उनले भने । विसं २०७९ साउन १३ गते राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन विकास समितिले डिएनए परीक्षणपछि मात्र सुपारी निर्यात गर्न वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयमा पत्राचार गरेको उनले बताए । डिएनए परीक्षण गर्ने भनिए पनि हालसम्म प्रयोगशाला स्थापना भएको छैन । देशमा उत्पादित सुपारी निर्यातका लागि भारतले निश्चित कोटा तोक्ने गरेको छ । इण्डोनेसियाबाट आयातित सुपारीलाई यही कोटामा भारत निर्यात हुनबाट रोक्न डिएनए गरेर देशभित्रै उत्पादन भएको प्रमाणित गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको हो । डिएनए परीक्षणको उल्झन सुपारी निर्यातको प्रमुख बाधक बनेको किसान बताउँछन् । गत वर्षदेखि सुपारी निर्यात भएको छैन । मेचीनगर नगरपालिकाका जीवन पाण्डे यो वर्ष पनि सुपारी नबिक्ने चिन्ताले पिरोलिएका छन् । धान खेत मासेर उनले डेढ बिघामा सुपारीखेती गरेका छन् । ‘बोटमा लटरम्म दाना छन्, किन्ने व्यापारी आउँदैनन्,’ किसान पाण्डेले समस्या सुनाउँदै भने, ‘दुई वर्षअघि व्यापारी सुपारीका चिचिला लाग्दादेखि आउँथे ।’ मेचीनगर-४ बाहुनडाँगीका वडासदस्य पवन बराइलीले सुपारी किसानलाई सहुलियत र सुविधा दिन चुक्दै आएको सरकारले बजारीकरणमा पनि सहजीकरण नगरेको गुनासो गरे । बाहुनडाँगीमा जङ्गली हात्तीले धान, मकैलगायत बाली नोक्सान गर्न थालेपछि किसान जीविकाका लागि सुपारी, चियालगायत नगदेबालीतर्फ आकर्षित भएका तर सुपारी नबिक्दा किसानको बिचल्ली भएकामा उनले दुःख व्यक्त गरे । झापाका बाहुनडाँगी, शनिश्चरे र बुधबारे सुपारी उत्पादनमा अग्रणी मानिन्छन् । यहाँका किसान सुपारी किन्न हालसम्म व्यापारी नआउँदा चिन्तित छन् । सङ्घका अध्यक्ष तिवारी सुपारीको डिएनए परीक्षणमा अल्झिन नहुने बताउँछन् । सरकारले दानाको डिएनए परीक्षण हुनुपर्ने बताए पनि फरक समय र मात्रामा निर्यात हुने सुपारीको डिएनए सम्भव नहुने उनले बताए ।
प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा प्रवचन दिने
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ बारेमा सम्बोधन गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने नेपाल-चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने छन् । प्रधानमन्त्री ओलीले मङ्गलबार राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गरेका थिए । सोही दिन उनले आफ्ना समकक्षी ली छ्याङ तथा चिनियाँ जनकङ्ग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । दुवै देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच ग्रेट हल अफ द पिपलमा वार्तापछि पारस्परिक सहयोग आदानप्रदानसम्बन्धी ९ वटा सहमतिपत्रमा हस्ताक्षर भएका थिए ।
कोशी प्रदेशबाहेक आज देशभरको मौसम सफा रहने
काठमाडौं । आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । त्यसैगरी, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । बिहीबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।
हवाइ भाडा बढ्यो, कुन गन्तव्यको कति ? (मूल्यसूची)
काठमाडौं । आन्तरिक तर्फको हवाई भाडा बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबारदेखि लागू हुनेगरि हवाई भाडा बढाएको हो । क्यानका अनुसार काठमाडौं–धनगढीको भाडा ९० रुपैयाँले बढेको छ । पोखरा-भद्रपुरको भाडा ८० रुपैयाँले बढेको छ भने विराटनगर-भैरहवा ८० रुपैयाँ, काठमाडौं–सिमराको भाडा १५ रुपैयाँ, काठमाडौं-विराटनगर ५० रुपैयाँ, काठमाडौं-पोखरा ३० र काठमाडौं-भैरहवा ४० रुपैयाँले बढेको हो । हवाइ इन्धनको मूल्यमा प्रतिलिटर २ रूपैयाँ बढाएसँगै आन्तरिक हवाई भाडा वृद्धि भएको बताइएको छ । [pdf id=526469]
नेपाललाई ९ अर्ब अनुदान दिने चीनको घोषणा, नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं । चीनले नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीचको भेटवार्ताका क्रममा सीले मंगलबार नेपाललाई ५०० मिलियन आरएमबी (करिब नौ अर्ब) रुपैयाँ दिने घोषणा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली र सी बीच बेइजिङमा मंगलबार दिउँसो द्विपक्षीय भेटवार्ता भएको थियो । भेटका क्रममा चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने पनि बताएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई सन् २०२५ मा नेपाल भ्रमण गर्न नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट निम्तो पनि दिएका छन् ।
सय कारोबार गर्ने प्रतिनिधिको सूची राष्ट्र बैंकमा बुझाउनुपर्ने, भुक्तानी सम्बन्धी नयाँ व्यवस्था
काठमाडौं । भुक्तानी सेवा प्रदायक संस्थाले आधिकारिक प्रतिनिधिले गर्ने कुल दैनिक कारोबारको सीमा निर्धारण गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८० को संशोधन गर्दै आधिकारिक प्रतिनिधिले गर्ने कुल दैनिक कारोबारको सीमासम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले निर्धारण गर्न सक्ने व्यवस्था गरिएको हो । राष्ट्र बैंकका अनुसार आधिकारिक प्रतिनिधिको सम्पूर्ण कारोबारको विवरणसम्बन्धित भुक्तानी सेवा प्रदायकले विद्युतीय माध्यमबाट प्राप्त गरी अभिलेख राख्नुपर्ने छ । साथै, भुक्तानी सेवा प्रदायक संस्थाले आधिकारिक प्रतिनिधिहरूले गर्ने कारोबारको निगरानीको लागि कारोबारको संख्या, रकम, स्थान, प्रवृति, वृद्धि आदिलाई विश्लेषण गरी त्रैमासिक प्रतिवेदन तयार गरी सञ्चालक समितिमा पेश गर्नुपर्ने छ । साथै, अर्धवार्षिकरूपमा यस्तो प्रतिवेदन राष्ट्र बैंकमा समेत बुझाउनुपर्नेछ । भुक्तानी सेवा प्रदायक संस्थाको सञ्चालक समितिबाट नीतिगत व्यवस्था गरी आधिकारिक प्रतिनिधि नियुक्त गरी भुक्तानीसम्बन्धी सेवा प्रदान गर्न सक्ने छन् । आधिकारिक प्रतिनिधि भन्नाले राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्राप्त संस्थाले नियुक्त गरेको आधिकारिक प्रतिनिधि हुन् । आधिकारिक प्रतिनिधि नियुक्त गर्दा व्यवसायको प्रकृति, कारोबार गर्ने भौगोलिक क्षेत्रलगायतका विस्तृत व्यावसायिक तथा व्यक्तिगत विवरण, कम्पनी दर्ता तथा व्यवसाय दर्ताको अद्यावधिक प्रमाण, स्थायी लेखा नम्बर, संस्थापक तथा सञ्चालकको नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रमाणित प्रतिलिपि लिनुपर्नेछ । साथै, बैंक वा वित्तीय संस्थासँगको कारोबारमा कालोसूचीमा नपरेको प्रमाण वा परेको भए फुकुवा भएको कम्तीमा ३ वर्ष पूरा भएको स्वघोषणा, प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतित भएको विवरण, सम्पत्ति शुद्धीकरण र आतङ्कवादी कार्यमा वित्तीय लगानीको क्रियाकलापमा संलग्न नरहेको स्वघोषणा गरेको हुनुपर्नेछ । भुक्तानी सेवा प्रदायक संस्थाले आधिकारिक प्रतिनिधिमार्फत भुक्तानीसम्बन्धी सेवा प्रवाह गर्दा आधिकारिक प्रतिनिधि छनौटको लागि सक्षमता परीक्षण गरी दुई पक्षबीच सम्झौता गरेको हुनुपर्ने छ । तर, सम्झौता गर्दा अन्य भुक्तानी सेवा प्रदायक संस्थाको आधिकारिक प्रतिनिधि भई काम गर्न प्रतिबन्ध लगाउने गरी शर्त राखेर सम्झौता गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ । भुक्तानीसम्बन्धी सेवा प्रवाह गर्न नियुक्त गरिएका आधिकारिक प्रतिनिधिको निगरानी गर्ने जिम्मेवारी भुक्तानी सेवा प्रदायक संस्थाको हुने र आधिकारिक प्रतिनिधिद्वारा ग्राहकलाई प्रदान गरिने सम्पूर्ण भुक्तानीसम्बन्धी सेवाको अन्तिम जिम्मेवारी भुक्तानी सेवा प्रदायक संस्थाको हुने व्यवस्था गरिएको छ । तर, आधिकारिक प्रतिनिधिले सब-एजेन्ट वा कुनै प्रतिनिधि नियुक्त गर्न पाउने छैन । साथै, यो निर्देशन जारी हुनुअघि भुक्तानी सेवा प्रदायकका आधिकारिक प्रतिनिधिसँग आबद्ध सब एजेन्ट तथा प्रतिनिधिलाई यो व्यवस्था लागू भएको ३ महिनाभित्र भुक्तानी सेवा प्रदायकका आधिकारिक प्रतिनिधिको रूपमा परिणत गरिसक्नु पर्ने वा सम्झौता रद्द गरी यस्तो सेवा बन्द गर्नुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको हो । यसरी आधिकारिक प्रतिनिधिमा परिणत भएका वा सेवा बन्द भएका सब एजेन्ट/प्रतिनिधिको विवरण विभागमा पेश गर्नुपर्ने छ । राष्ट्र बैंकका अनुसार भुक्तानी सेवा प्रदायक संस्थाले नियुक्त गरेको आधिकारिक प्रतिनिधिले ग्राहकका वालेट वा प्रि-पेड कार्डजस्ता भुक्तानी उपकरणमा नगद जम्मा गर्ने वा भुक्तानी गर्नेछ । तर, आफ्नो बैंक खातामा वा भुक्तानी सेवा प्रदायकको बैंक खातामा नगद जम्मा गराई आफ्नो वालेट खर्च गरी बैंक खातामा वा ग्राहकबाहेक अन्य व्यक्तिको वालेट खातामा रकम जम्मा गर्न पाइने छैन । ग्राहकको तर्फबाट खानेपानी, बिजुली, इन्टरनेट, मोबाइल रिचार्जजस्ता सेवावापतको बिल भुक्तानी एवं सरकारी सेवावापतको शुल्क वा कर भुक्तानीको लागि सहजीकरण गर्ने र ग्राहकको वालेटको मौज्दात तथा कारोबारको विवरण प्रदान गर्न पाइनेछ । प्रचलित कानुनको पालना गरी सुरक्षित तवरले विद्युतीय ग्राहक विवरण लिने तथा उक्त विवरण अद्यावधिक गर्ने र रिमोट अनबोर्डिङ गरी ग्राहकको वालेट खाता खोलिदिने, यस बैंकले समय समयमा निर्देशन दिएका अन्य सेवाहरू प्रदान गर्नेछन् । यस्तो सेवा प्रदान गर्दा अनिवार्य रूपमा वालेट खाताको प्रयोग गर्नुपर्ने छ । आधिकारिक प्रतिनिधिले आफ्नो वालेटमा रकम जम्मा गर्दा अनिवार्य रूपमा बैंक खाताको प्रयोग गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । तर, सेवा प्रदान गर्दा सेवाग्राहीबाट कुनै पनि अतिरिक्त शुल्क लिन पाइने छैन । भुक्तानी सेवा प्रदायक संस्थाले मासिक रूपमा बढी कारोबार गर्ने १०० वटा आधिकारिक प्रतिनिधिको वालेट मौज्दात तथा कारोबारको विवरण राष्ट्र बैंकमा बुझाउनुपर्नेछ । साथै, मर्चेन्ट तथा आधिकारिक प्रतिनिधिमार्फत् भएका कारोबारको विवरण छुट्टाछुट्टै राख्नुपर्ने छ । [pdf id=526458]
ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबीच छुट दिने समझदारीमा हस्ताक्षर भएको छ । समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र सिग्मा डायग्नोसिस ल्याबका ल्याबरोटोरी डाइरेक्टर बेद प्रकाश मिश्रले हस्ताक्षर गरे । समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले सिग्मा ल्याबको इनहाउस टेस्टमा ४० प्रतिशत र आउटसोर्स सेवामा २० प्रतिशत छुट पाउनेछन् । ल्याबसम्बन्धी सेवाको लागि लोकप्रिय रहेको सिग्मा ल्याबले भक्तपुरको राधेराधेबाट सेवा प्रदान गर्दै आएको छ । आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।