विकासन्युज

गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन, जता हेर्यो उतै हराभरा

महोत्तरी । गरे के हुँदैन भन्ने आहान अहिले महोत्तरीको गौशाला-८ कुष्माढीको सनीखोला किनार अवस्थित नदीउकास जग्गा हेरे चरितार्थ हुन्छ । तीन वर्षअघिसम्म गेग्य्रान बलौटे खोलाको ढड्यान जग्गा किसानको मेहनतले अहिले ‘सुन फल्ने’ जमिन बनेको हो । दुबो पनि नमौलाउने गेग्य्रान अहिले जता हेर्यो उतै हराभरा छ ।  सनीखोलाले बहाव छोडेर उकासेको बगरमा कुष्माढीका भूमिहीन किसानले नङ्ग्रा खियाएका तीन वर्ष भएको छ । नदीले बहाव छाडेको नदीउकास बगरको एक सय एक बिघा जग्गामा अहिले थरिथरिका फलफूलका बोट हलहली बढ्दैछन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले फलफूल रोपणमा किसानलाई सघाएको छ । यहाँ आँप, लिची र कागतीसहितका ११ हजार बोट हुर्कदैछन् । बगैँचाभित्र तरकारी बाली लहलह छ । यो बगरमा कुष्माढीका दुई सय एक भूमिहीन किसानको मेहनत हाँसेको छ ।गौशाला नगरपालिकाले भूमिहीन किसानको परिवार सङ्ख्याका आधारमा चार कट्ठादेखि १० कट्ठासम्म जग्गा छुट्याइदिएपछि २०७८ को अन्त्यतिर खनजोत थालिएको हो । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), सेभ द चिल्ड्रेन अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समुन्नति कार्यक्रम, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल र गौशाला नगरपालिकाको साथले किसानको हौसला बढेको छ । हराभरा बगरमा कतै गहुँ लहलह बढ्दैछ । कतै आलु धमाधम खनिँदै छ । किसानले जैविकखेती गर्ने हुँदा यहाँ उत्पादित फसल उपभोक्ताको पहिलो रोजाइमा पर्छन् । अहिले यहाँका किसानलाई उपभोक्ता ग्राहकलाई आलु तौलेर दिन भ्याइनभ्याइ छ । ‘आलु लिने धेरैजसो खेतमै आइपुग्छन्’, आलुखेतीका किसान चन्द्रकला महरा भन्छिन्, ‘बगरखेती थालिकन गुजाराकै चिन्ता लिनुपरेको छैन’, बगरखेतीमा कुष्माढीका मुसहर, चमारसहितका गरिब दलित समुदाय र कोइरी, यादव र मगरसहितका जनजाति संलग्न छन् ।  यहाँका किसानलाई गौशाला नगरपालिकाले नदीउकास क्षेत्रभित्रका चार किलोमिटर क्षेत्रभित्र विद्युतीकरण, दुई वटा डिपबोरिङ र सिँचाइका लागि छ वटा पोखरी निर्माण गरी दिएको छ । यसैगरी समुन्नति कार्यक्रमले मलका लागि गड््यौलाखेती गर्न सिकाएको छ । यसैगरी सामुदायिक विकास तथा पैरवी मञ्चले खेतीमा प्राविधिक र बीउबिजनको सहयोग गरेपछि आफूहरुलाई खेतीमा जाँगर बढेको किसान कामेश्वर महतो बताउँछन् । ‘हामीसँग आफ्नो जग्गा थिएन, नगरपालिका र अरु संस्थाको सहयोगले खेती गर्ने जग्गा र अन्य सहयोग पायौँ, अब कसैकहाँ मजदुरी गर्न जान परेको छैन’, महतो भने, ‘हामी मजदुरलाई बगरखेतीले किसान बनायो ।’ बगरखेती गर्न थालेपछि कहिल्यै धन सञ्चय नगर्ने जाति समुदायको परिचय बनेका मुसहर पनि उम्दा किसानमा दरिएका छन् । मधेसमा मुसहरका लागि ‘न राख्ने अन्न, न साँच्ने धन’ भन्ने आहानै छ । कृषि कार्यमा पोख्त मानिने मुसहरको किसानका खेतमा मजदुरी गरेर गुजारा चलाउने स्थापित परिचय छ । पछिल्लो कालमा सनीखोलाको नदीउकास जग्गा पाएपछि आफ्नै खेती थालेका मुसहर अन्न र नगद सञ्चय गर्न सक्षम भएका छन् । ‘नदीउकास बगर पाएको पहिलो वर्ष त ढुङ्गा, गेग्य्रान खोस्रेर छेउ लाउँदै बित्यो, दोस्रो वर्षदेखि फसल लिन पाएका छौँ’, कुष्माढीका मुसहर समुदायकी ३५ वर्षीया कविता सदा भन्छिन्, ‘अब जहान परिवारको प्रतिपाल यही बगर खोस्रेर पुग्छ ।’ पहिलेको बलौटे ढड्यान जग्गा नियमितको खनजोत, सिँचाइ र जैविक मलले अब उर्बर जग्गा बनेको छ । उत्तरतिर वनक्षेत्रसँगै जोडिएको यो जग्गामा वनक्षेत्र, खोल्साखोल्सी र खोलाले बगाएर ल्याएको पाँगो माटोले रोपिएका फलका रुख दुई वर्षमै हुर्केका र बालीनाली पनि हलक्क बढ्ने गरेको गौशाला–८ का वडाध्यक्ष भोजबहादुर दर्लामी बताउँछन् । केही पहिलेसम्मका गरिब बगरखेतीले राम्रा किसान बनेका र उनीहरुको मेहनतले नदीउकास क्षेत्र हराभरा देखिँदा जग्गा बाँडिएको कुराले निकै सन्तोष दिने गरेको गौशालाका नगरप्रमुख डा दीपेन्द्र महतोको भनाइ छ । बगरखेतीका किसानलाई नगरपालिकाले गरेको सहयोग खेर नगएको हुँदा यस कामले आफूलाई निकै हौस्याएको डा महतो बताउँछन् । ‘किसानका साथमा नगरपालिका छ, मेहनत किसानले गर्छन्, साथ हाम्रो रहन्छ’, डा महतोले भने । यसैगरी सामुदायिक विकास तथा पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले पनि आफ्नो संस्थाबाट बगरखेतीका किसानलाई साथ सहयोग जारी रहने प्रतिबद्धता जनाएका छन् । ‘हाम्रो मेहनत सफल भएको छ, सबैको साथ रहीरहे हामी बगरमा सुन फलाउँछौँ’, कुष्माढीकी किसान बिना पासवान भन्छिन् । सनीखोलाको बगरखेती अवलोकन गर्न टाढाटाढाबाट किसान समूह त्यहाँ पुग्ने गरेका छन् । रासस

कवाड व्यवसायीमाथिको धरपकड बन्द गर्न जसपाको माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कवाड व्यवसायीमाथि भइरहेको गतिविधिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । जसपाले बुधबार विज्ञप्ति जारी गर्दै कवाड व्यवसायीलाई काठमाडौं महानगरपालिकाले भौतिक संरचनाको तोडफोड र व्यवसायीलाई धरपकड गर्नु निन्दनीय कार्य रहेको भन्दै यस्ता कार्य बन्द गरी व्यवसायिक सुरक्षाको वातावरण बनाउन माग गरेको छ ।  ‘महानगरले कवाड व्यवसायीलाई गालीगलौज र अभद्र व्यवहार गरी कवाड व्यवसायलाई रोक्न खोज्नु अत्यन्त गलत र नियन्दनीय कार्य भएकोले यस्ता कार्यलाई यथाशीघ्र बन्द गरी कवाड व्यवसायीहरुको सुरक्षाका साथै स्वतन्त्र रुपले आ–आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने भौतिक अधिकारको प्रत्याभूति गराउन जसपा सरकारसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ । देशभर सञ्चालिन उद्योगलाई आवश्यक कच्चापदार्थ उपलब्ध गराउनाका साथै वातावरणीय सरसफाइमा समेत महत्वपूर्ण योगदान गरिरहेको अवस्थामा हाल कवाड व्यवसायमा निम्न आयस्तर भएका व्यक्तिहरु आबद्ध रहेको र खासगरी अधिकांश मधेशी समुदायको उपस्थिति रहेको यस क्षेत्रका व्यवसायी वर्षौंदेखि कानुनसम्मत तवरले काठमाडौं उपत्यकामा व्यवसाय तथा सेवा गर्दै आएको र लाखौँलाखलाई रोजगार प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

एमएडब्लू वृद्धिले ल्यायो माउन्टेन ईभी र टीएमवान प्रशंसकका लागि आकर्षक योजना

काठमाडौं । एमएडब्लू वृद्धिले माउन्टेन ईभी र टीएमवान उत्साहीहरूका लागि नवप्रवर्तन र एडभेन्चरका नियमहरू नै बदल्ने एक विशेष योजना ल्याएको छ । यो अभियानले उन्नत प्रविधि र अतुलनीय फाइदाहरूको नौलो मिश्रणको साथमा ड्राइभिङ र स्वामित्व अनुभवहरूलाई बलियो बनाउने कम्पनीकाे विश्वास छ । कम्पनीका अनुसार यस नयाँ योजनाअन्तर्गत ग्राहकहरूले विद्युतीय गतिशीलतामा स्विच गर्नका लागि माउन्टेनईभी र टीएमवान मोडेलहरूमा ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् । यस योजनामा माउन्टेन ईभीको लागि ९.९९ लाख रूपैयाँ र टीएमवानको लागि ५.९९ लाख रूपैयाँसम्मको डाउनपेमेन्ट पनि समावेश छ। जसले विद्युतीय सवारीसाधनको स्वामित्वलाई अझ पहुँचयोग्य र किफायती बनाउने छ। यसकासाथै, ग्राहकहरूले आर्थिक वर्ष २०८१/८२ को लागि एकवर्षको नि:शुल्क बीमा र सडक करमा छुटसहितका विस्तृत सुविधाहरूको आनन्द लिन सक्नेछन् । घरमै सुविधाजनक रूपमा चार्जिङ गर्न उनीहरूले ७ किलोवाटको चार्जर पनि नि:शुल्क पाउनेछन् । यसमाथि अझै मूल्य थप्न यो योजनाले नि:शुल्क सामानहरूका साथै ग्राहकहरूले आफ्नो लगानीबाट अधिकतम मूल्य प्राप्त गर्ने टप-अप बेस्टभ्यालुएसन बोनस पनि समेट्छ । यो व्यापक प्याकेजले विद्युतीय गतिशीलता प्रवर्द्धन गर्ने र आफ्ना ग्राहकहरूलाई असाधारण मूल्य प्रदान गर्ने एमएडब्लू वृद्धिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । कम्पनीले नेपाली बजारको लागि विद्युतीय सवारी साधनहरूलाई अझ पहुँच योग्य र किफायती बनाउने लक्ष्य राखेको छ । यो सीमित-समयको अफर माघ १ गतेदेखि माघ ३० गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ भने युरोको मूल्य स्थिर रहेको छ । युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क र अष्ट्रेलियन डलर अघिल्लो दिनको तुलनामा बढेको छ । जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य स्थिर रहेको छ । यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ ४२ पैसा कायम भएको छ । बुधकार अमेरिकी डलर एकको खरिददर ३३ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा कायम थियो । युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ५९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ०८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ०७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २५ पैसा र बिक्रीदर ९६  रुपैयाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ०२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्री दर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०८ पैसा र बिक्रीदर चार रुपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६२ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ २९ पैसा र बिक्री दर १९ रुपैयाँ ३८ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७० पैसा र बिक्रीदर १७ रुपैयाँ ७७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ ६२ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ २२ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपैयाँ ०६ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ६२ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

ओम मेगाश्री फर्मास्युटिकल्सले माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ २१ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सेयरमा फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयरमा न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीले १ लाख ८० हजार कित्ता सेयर रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई सेयर निष्कासन गर्ने छ । कम्पनीले ५४ हजार कित्ता सेयर कर्मचारी कर्मचारी र ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याएको छ । १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ । आवेदन धितोपत्र बोर्डबाट आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

नेपाल पुनर्बीमाले १२ विषयका विज्ञको सूचि तयार गर्दै, खुलायो आवेदन

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले बीमा विज्ञका लागि आवेदन खुलाएको छ । कम्पनीले विज्ञको सूचि राख्न लागेकाले आवेदन खुलाएको हो । कम्पनीले विभिन्न १२ विषयको विज्ञको सूचि तयार गर्न लागेको  जनाएको छ । इच्छुकले कम्पनीको वेवसाइटमा गएर फम डाउनलोड गरेर आवेदन दिने सकिने पनि कम्पनीले सूचनामा उल्लेख गरेको छ । कम्पनीले पुनर्बीमा, कानून, दाबी भुक्तानी, बीमाङ्की, खरीद ठेक्का व्यवस्थापन, चिकित्सक, बीमा सर्भेयर, चार्टर्ड एकाउन्टेन्ट, आईटी, प्रशासनिक, वित्त र बजार व्यवस्थापन सम्बन्धी विज्ञका लागि आवेदन खुलाएको हो । पनर्बीमाका लागि बीमा क्षेत्रमा व्यवस्थापक वा सो सरह पदमा रही कम्तिमा १० वर्ष कम गरेको हुनुपर्ने छ । विद्यावारिधि गरेको हकमा ९ वर्ष काम गरेको भए पुग्ने कम्पनीले जनाएको छ । कानूनका लागि मान्यता प्रप्त शिक्षण संस्थाबाट कानून विषयमा स्नातकोत्तर उपाधि हा्ँसिल गरेको हुनुपर्ने छ । अधिवक्ता भएर व्यवस्थापकी वा सो सरह बीमा वा वित्तीय क्षेत्रको कानूनसँग सम्बन्धित कम्तिमा १० वर्ष कार्यअनुभव भएको हुनुपर्ने । दाबी पदका लागि स्नातक तहको उपाधि हासिल गरेको र बीमा कम्पनीमा दाबी व्यवस्थापन कार्यमा व्यवस्थापकीय पदमा १० वर्ष काम गरेको हुनुपर्ने छ । बीमाङ्की पदका लागि स्नातकोत्तर र बीमा क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव हुनु पर्ने छ । ठेक्का व्यवस्थापनका लागि स्नातकोत्तर तहको उपाधि हासिल गरेको र सार्वजनिक खरिद कार्यमा १० वर्षको अनुभव भएको हुनुपर्ने छ । चिकित्सक पदका लागि चिकित्सा विज्ञानमा स्नातकोत्तर हासिल गरेको र बीमा क्षेत्रमा ५ वर्ष काम गरेको हुनुपर्ने । सर्भेयर पदका लागि नेपाल बीमा प्राधिकरणबाट सर्भेयरको ईजाजत पाएको र १० वर्ष बीमा सर्भेयर कार्य गरेको हुनुपर्ने छ । आईटी पदका लागि सूचना प्रविधि वा कम्प्यूटर विज्ञानमा स्नातकोत्तर गरेको र ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने छ । चार्टर्ड एकाउन्टेन्टका लागि सीए उत्तिर्ण गरेको र बीमा क्षेत्रमा ५ वर्ष अनुभव भएको हुनु पर्ने । प्रशासनिक पदका लागि सम्बन्धित विषयमा स्नातकोत्तर र ५ वर्षको अनुभव हुनुपर्ने छ । यसैगरी, वित्त लगानीका लागि व्यवस्थपन विषयमा स्नातकोत्तर पास गरेको वा चार्टर्ड फाइनान्स एनालाईसिसको उपाधि हासिल गरेको हुनुपर्ने छ । यस्तै, बजार व्यवस्थापनका लागि सम्बन्धित विषयमा स्नातकोत्तर र बीमा क्षेत्रको सम्बन्धीत विभागमा ५ वर्ष काम गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न लेखा समितिको निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । बुधवार बसेको संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले पछिल्लो समय अस्वभाविक रुपमा बढेको सिमेन्टको मूल्यमा सरकारले हस्तक्षेप गरी नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको हो । समिति सभापति ऋषिकेश पोखरेलले समितिले हाल सिमेन्टको मूल्यमा अस्वाभाविक मूल्य वृद्धि भएको निष्कर्षमा समिति पुगेकाले तत्काल नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिए । उनले सिमेन्टको मूल्यको विषयमा आवश्यक अध्ययन गरी सात दिनभित्र जवाफ पेश गर्न समेत निर्देशन दिए । उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आवश्यक अध्ययन गरी अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न निर्देशन दिए ।

माघ महिनामा नै उपत्यकासहित देशभर बढ्न थाल्यो तापक्रम

काठमाडौं । जाडो मध्यको महिनाहो माघ । विगतमा माघ महिनामा धेरै नै जाडो हुने गर्दथ्यो । तर, यस वर्ष भने माघ महिनामा नै गर्मि सुरु भएको महशुस हुन थालेको छ । सामान्यतया माघ महिनामा काठमाडौं उपत्यकामा अधिकतम तापक्रम १८ देखि २० डिग्रि सेल्सियस हुने गर्दथ्यो । तर, यस वर्ष भने २४ डिग्रीसम्म पुगेको छ । काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले पनि अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको बताए । कारणबारे उनले भने, ‘लामो समयसम्म पानी पनि नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेको छ, त्यसको पनि असरले तापक्रम बढेको छ ।’ उनले अब बढ्ने समय पनि हुन लागेको बताए । न्यून चापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ । यद्यपि केही दिनमा भारतको उच्च चापीय प्रणाली सिफ्ट हुने (हट्दै जाने) हुनाले अहिले दुई–तीन दिनमा जसरी तापक्रम बढेको छ, त्यो रेसियो’मा भने नबढ्ने उनले बताए । तर पनि अब तापक्रम उकालो लाग्ने समय भने हुन लागेको उनले बताए । विभागले आज साँझ सार्वजनिक गरेको विवरणमा काठमाडौँको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस पुगिसकेको छ । न्यूनतम तापक्रम पनि ६.२ डिग्री रहेको छ । यसपालि काठमाडौँको तापक्रम दुई डिग्रीसम्म झरेको थियो । आज सबैभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७.२ र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन भएको छ । २१ मापन केन्द्रमध्ये ११ वटा केन्द्रमा अधिकतम तापक्रम २० डिग्रीभन्दा माथि ‘रेकर्ड’ भएको छ । आज न्यूनतम तापक्रम एक ठाउँ जुम्लामा मात्रै माइनस ३.५ डिग्री मापन भएको छ ।