गौर भन्सारले ६ महिनामा उठायो १४ करोड राजस्व
चन्द्रपुर (रौतहट) । गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले साउनदेखि पुससम्म १४ करोड ६७ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको गौर भन्सार कार्यालयका निमित्त प्रमुख अमेन्द्र सिंहले जानकारी दिए । भन्सार विभागले आव २०८१/८२ का लागि ३५ करोड ४३ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएकामा पुस मसान्तसम्ममा १४ करोड ६७ लाख ५५ हजार रुपैयाँ सङ्कलन गरेको उनले बताए । यो साउनदेखि पुससम्मको लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन भएको प्रमुख सिंहले जानकारी दिए । भन्सार प्रमुख सिंहका अनुसार ६ महिनामा सबैभन्दा बढी पुसमा ३ करोड ४७ लाख १४ हजार रुपैयाँ सङ्कलन भएको छ । यो महिना लक्ष्य भन्दा १७ प्रतिशत बढी रकम राजस्व सङ्कलन भएको उनको भनाइ छ । यस वर्ष गौर भन्सार कार्यालयले विभागले दिएको लक्ष्य भेट्टाउने किसिमले काम गरिरहेको उनले बताए । यसैबीच रौतहट प्रहरीले गत साउनयता २ करोड ४२ लाख ७७ हजार ४४३ रुपैयाँ बराबरको सीमा क्षेत्रबाट चोरी निकासीका सामान बरामद गरी गौर भन्सारमा बुझाएको रौतहट प्रहरी प्रमुख दिलीप घिमिरेले जानकारी दिए । सो अवधिमा अवैध सामान ओसारपसार गर्ने ६६ जना, १०८ वटा मोटरसाइकल, २ थान पिकअप भ्यान, २ थान स्कारपियो गाडी, १४ वटा साइकल र ४ वटा सिटीरिक्सा बरामद गरी भन्सार कार्यालयलाई बुझाएको उनले जानकारी दिए । सोही अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ६८ लाख २४ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको उपरीक्षक घिमिरेले जानकारी दिए ।
बाढीको वितण्डापछि जुर्मुराउँदै बेथानचोकका किसान
धुलिखेल (काभ्रेपलाञ्चोक) । यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले बारी बगरमा परिणत भएको छ । यहाँका किसान ती जरा (झ्यास) र ढुङ्गा पन्छाउँदै बारी सफा गरेर अब आलु रोप्ने तयारीमा छन् । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण यहाँको पाट्ने खोलामा आएको बाढीले बारी सबै पुरिएपछि समस्यामा रहेका बेथानचोक गाउँपालिका-२ गेल्ढुङ बजार आसपास क्षेत्रका किसान यतिबेला बारी सफा गरेर आलु रोप्ने तरखरमा छन् । बजारमूल्य राम्रो पाउने भएका कारण किसानले हिउँदमा आलुखेती गरेर आम्दानी गर्दै आएका थिए । तर यसपटक भने बाढीले बारी सबै पुरिएका कारण खेती गर्न समस्या भएको उनीहरूको गुनासो छ । बर्खामा बाढी आएर बगाउलाझैँ हुने र हिउँद लागेपछि खानेपानीको समस्या खेप्नुपरेको यहाँका नागरिक बताउँछन् । बाढीपहिरोबाट क्षति पुगेको बेथानचोकमा बत्ती विस्तार भए पनि खानेपानीको भने समस्या खेपिरहेको स्थानीय विनोद तिमल्सिनाले बताए । आफैँले श्रम गरेर क्षतिग्रस्त बारी बनाइरहेको भए पनि बाढी नियन्त्रण र खानेपानीको व्यवस्थापन गरिदिए धेरै सहज हुने उनको भनाइ छ । बाढीले त्यतिखेर लगाएको मकै बाली सबै बगाएर सखाप बनाएको थियो । विशेषगरी नगदे बालीका रूपमा आलुखेती गरेर आम्दानी गर्दै आएका बेथानचोकका किसानका लागि यसपटकको बाढीले धेरै नोक्सान पुर्याएको अर्का स्थानीय अर्जुनप्रसाद तिमल्सिनाले बताए । माघमा लगाएको आलु जेठमा खनेर बेच्ने गरेका यहाँका किसानलाई अहिले आलु रोप्न बारी सफा गर्दैमा दिन बित्ने गरेको छ । डोजर लगाएर पनि सफा गर्न नसक्ने अवस्थामा रहेका बारीलाई मलिलो बनाएर जीवन गुजार्नुपरेको उनले पीडा सुनाए । बारीमा भरिएका ढुङ्गा खोलामा लगेर फाल्दै पुनः खेतीयोग्य बारी बनाउन किसानलाई सकस परेको छ । कतिपय त गाडीको सहायताले अरु ठाउँमा लगेर थुपार्ने गरिरहेका छन् । स्थानीय रुपा भण्डारीले खेतीपाती र तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्नुपर्ने बारीमा बाढीले क्षति पुर्याएपछि झन् समस्यामा परेको बताए । जस्तोसुकै कष्ट र पीडा खेप्नुपरे पनि जीवन निर्वाहका लागि बारी बनाउनुको विकल्प नभएको उनले सुनाए । भएको सम्पत्तिका नाममा रहेको बारी र घर बाढीले पुरेर बगर बनाएपछि समस्या झेल्दै आएका अर्का किसान सीता तिमल्सिनाले छाडेर जाने ठाउँ अन्त कतै नभएपछि डोजर लगाएरै भए पनि बारी सम्याएर खेती गर्ने तरखर गरेको बताइन् । ‘जीवन निर्वाहका लागि भएको सम्पत्ति संरक्षण गरेर खेती कमाइ त गर्नैपर्यो”, उनले पीडा सुनाउँदै भभनिन् ‘अहिलेसम्म राहत कतैबाट पाएकी छैन ।’ बाढीपहिरो गएको चार महिना बितिसक्दा पनि यहाँका नागरिकले सरकारबाट पाउनुपर्ने सहयोग पाउन नसकेको गुनासो गरेका छन् । सो वडामा मात्रै बाढीले ४९ घरमा पूर्ण क्षति गरेको थियो । बाढीपहिरोबाट समस्या झेल्दै आएका यहाँका नागरिकले समय बितेसँगै आफ्नै बलबुतामा भएको पाखोबारी खनजोत गर्दै जीवन गुजारा गर्ने तरखर गरेका छन् ।
वैदेशिक रोजगार बीमा: एशियनको व्यापार १७९ प्रतिशतले बढ्यो, ७ कम्पनीको घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट १ अर्ब ६६ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको छ । चालु आवको पौष मसान्तसम्म १४ वटा बीमा कम्पनीले १ अर्ब ६६ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १४.३९ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा वैदेशिक रोजगार बीमाबाट १ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ संकलन भएको थियो । यो अवधिमा सबैभन्दा धेरै व्यापार गर्नेमा एशियन लाइफ रहेको छ । एशियनले गत आवको भन्दा १७८.८८ प्रतिशत धेरै बीमाशुल्क संकलन गरेको छ । चालु आवको ६ महिनामा कम्पनीले वैदेशिक रोजगार अन्र्तगत ३५ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोहि अवधिमा १२ करोड ६६ लाख रुपैयाँ संकलन गरेको थियो । सन नेपाल लाइफले पनि गत वर्षको भन्दा ८५.८९ प्रतिशत बढी बीमाशुल्क संकलन गरेको छ । कम्पनीले चालु आवको ६ महिनामा ६८ करोड ६२ लाख संकलन गरेको छ । गत वर्षको पौष मसान्तसम्म ३९ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । यस्तै, प्रभु महालक्ष्मी लाइफले पनि वैदेशिक रोजगार बीमाको व्यापार वृद्धि गरेको छ । कम्पनीले गत वर्षको तुलनामा ५.४५ प्रतिशतले व्यापार वृद्धि गरेको हो । वैदेशिक रोजगार बीमा पोर्टफोलियोको अन्तर्गत नेपाल लाइफको व्यापार सबैभन्दा धेरै घटेको छ । नेपाल लाइफको व्यापार ४५.२३ प्रतिशतले घटदा आइएमई लाइफको ४०.०१, सुर्यज्योति लाइफको ३२.५६, रिलायबल लाइफको २८.८९, सिटिजन लाइफको २१.८२, सानिमा रिलायन्सको १७.१८ र नेशनल लाइफको ८.७३ प्रतिशतले व्यपार घटेको हो । नेपाल लाइफले यो पोर्टफोलिया अन्तर्गत गत आवको पौष मसान्तसम्म ३२ करोड ५ लाख रुपैयाँको व्यापार गरेको थियो । चालु आवको सोहि अवधिमा कम्पनीले १४ करोड ६७ लाखमा समेटिएको छ । यस्तै, आइएमईले गत आवको ६ महिनामा १६ करोड ४१ लाख रुपैयाँको व्यापार गरेकोमा चालु आवको सोहि अवधिमा ९ करोड ८४ लाख रुपैयाँमा खुम्चिएको छ । हिमालयन लाइफ, गार्डियन माइक्रो लइफ, क्रेष्ट माइक्रो लाइफ र लिबर्टी माइक्रोले यसै वर्षदेखि वैदेशिक बीमाको व्यापार सुरु गरेका हुन् । नेपाल बीमा प्राधिकरणले गत साउन महिनादेखि लागुहुनेगरी वैदेशिक रोजगार बीमालाई पुल प्रणालीमा लैजाने कार्यविधि बनाएको थियो । कार्यविधि लागु भएसँगै धेरै व्यापार गर्नेले थोरै व्यापार गर्नेलाई भाग बाढ्नुपर्ने भएको छ ।
हमासले शनिबार थप ४ इजरायली बन्धकलाई रिहा गर्ने
जेरुसेलम । गाजा युद्धमा युद्धविराम सम्झौता अन्तर्गत हमासले सन् २०२३ अक्टोबर ७ मा बन्धक बनाइएका चार जना इजरायली महिला सैनिकलाई रिहा गर्ने तयारी गरेको छ । इजरायलले घर फर्कन लागेका बन्धकहरूको नामहरूको सूची प्राप्त गरेको पुष्टि गरेको छ । योजनाअनुसार सबै कुरा भएमा इजरायली नजरबन्दबाट कति प्यालेस्टिनीहरूलाई रिहा गरिनेछ भनेर कुनै पनि पक्षले निर्दिष्ट गरेको छैन। इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेका छन् । कैदमा रहँदा अल्बाग १९ वर्षका भए भने अन्य सबै २० वर्षभन्दा माथिका इजरायली हुन् । यो आदानप्रदान इजरायल र हमासबीच गत आइतबारदेखि लागू भएको युद्धविराम सम्झौताको एक भाग हो, जसको उद्देश्य द्वन्द्वको स्थायी अन्त्यको मार्ग प्रशस्त गर्नु हो।
प्राइम कमर्सियल बैंकको ५ लाख कित्ता संस्थापक सेयर विक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौं । प्राइम कमर्सियल बैंकले ५ लाख भन्दा बढी कित्ता संस्थापक सेयर विक्री गर्ने भएको छ । बैंकले एक सूचना जारि गर्दै ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर विक्री गर्ने जनाएको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुलाई उक्त सेयर विक्री गर्न लागेको हाे । शिलबन्दी बोलपत्रद्वारा सेयर विक्री गर्न लागिएको हो । सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०७ रुपैयाँ तोकिएको छ । इच्छुक संस्थापक सेयरधनीले माघ १३ गतेदेखि २० गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । बोलपत्र आवेदन फाराम प्रभु क्यापिटल, कमलादीमा पाइने र फारम पनि सोहि क्यापिटलमा बुझाउनु पर्नेछ । फारामको मूल्य १०० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि सम्पूर्ण ५ लाख ५ हजार १८६ कित्ताकै आवेदन दिनुपर्ने शर्त राखिएको छ । सबैभन्दा बढी दरभाउमा खरिद माग गर्ने आवेदकलाई सेयर विक्री गर्ने बैंकले स्पष्ट पारेको छ । प्राप्त आवेदहरु माघ २१ गते बिहान ११ बजे खोलिने जनाइएको छ । यदि त्यस दिन सार्वजनिक विद परेको अवस्थामा त्यसपछि कार्यालय खुलेको दिनमा आवेदन खोलिने जनाइएको छ ।
युक्रेनको विषयमा वार्ताका लागि रुस तयार छ : राष्ट्रपति पुटिन
मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को तयार रहेको बताएका छन् । राष्ट्रपति पुटिनले आफुहरुले पहिला पनि वार्ता गर्न चाहेको उल्लेख गर्दै फेरि एकपटक यस विषयमा जोड दिएको बताए । उनले भने, ‘हामीले जहिले पनि यो कुरा भन्दै आएका छौँ र म फेरि एकपटक यसमा जोड दिन चाहन्छु, हामी युक्रेनी बिषयमा वार्ताका लागि तयार छौँ ।’ यस्तै उनले केही विषयमा विशेष ध्यान दिन आवश्यक रहेको पनि बताए । ‘प्रतिबन्धित भइसकेको अवस्थामा अब वार्ता कसरी सुरु गर्न सकिन्छ रु”उनले प्रश्न गर्दै भनेर्, वार्ताका अलागि पहिले प्रतिवन्ध खुकलो पार्नु आवश्यक छ । यदि वार्ता पुनः सुरु भयो भने युक्रेनको वर्तमान कानुनी ढाँचाअन्तर्गत यो अवैध हुनेछ ।’ उनले वार्ताका लागि वातावरण बनाउन पहिले अर्को चरणको छलफल जरूरी रहेको धारणा व्यक्त गरे। उनले भने, ‘युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि रूससँगको वार्तालाई निषेध गर्ने आदेश जारी गर्नुभएको थियो । के यो अवस्थामा वार्ता गर्न सम्भव छ ।’ उनले केही प्रारम्भिक छलफल हुन सक्ने भए पनि युक्रेनी पक्षबाट विद्यमान प्रतिबन्धका कारण गम्भीर वार्ता गर्न कठिन हुने उल्लेख गरे। रूसी नेताले जेलेन्स्कीलाई वार्तामा प्रतिबन्ध लगाउने आदेश हटाउन र आफ्ना प्रायोजकहरूको आदेश पालना गर्न कुनै हतार नभएको बताए । उनले किएभलाई आर्थिक सहयोग गर्नेहरूले युक्रेनी नेतालाई वार्ताको वातावरण तयार पार्न दबाब दिनुपर्नेमा जोड दिए । विश्व आर्थिक मञ्च (डब्लुईएफ) को डाभोसमा बिहीबार आयोजित वार्षिक बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्ति सम्झौताका लागि अमेरिकी प्रयास ‘आशाजनक रुपमा अघि बढेको’ बताएका थिए ।
जापानमा विदेशी आगन्तुकको संख्या बढ्दो, २०२४ मा ३ करोड ६७ लाख भित्रिए
टोकियो । जापानमा सन् २०२४ मा ३ करोड ६७ लाख ८० हजार विदेशी आगन्तुक आएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशतले बढेको देखाएको छ । यो सङ्ख्या सन् २०१९ मा सेट गरिएको तीन करोड ११ लाख ९० हजारको अघिल्लो रेकर्ड भन्दा बढी छ । जापानको अध्यागमन सेवा एजेन्सीका अनुसार सन् १९५० मा तथ्याङ्कहरू सुरु भएदेखि विदेशी आगन्तुक आएको यो सबैभन्दा उच्च सङ्ख्या हो । एजेन्सीले अन्तर्राष्ट्रिय उडानहरूको पुनः सुचारु र महामारी पछि बलियो रिकभरी प्रवृत्तिलाई विकासमा योगदान पुर्याउने प्रमुख कारकहरूको रूपमा प्रकाश गर्यो । धेरैजसो पर्यटकहरू पर्यटन जस्ता उद्देश्यका लागि छोटो अवधिको भ्रमणमा आएका थिए । अन्य कोटीहरूमा अध्ययन र प्राविधिक इन्टर्नशिप समावेश छन् ।
झोलामा कफी बोकेर गाउँमा बिक्री गर्दै हिडने प्रेमबहादुर अहिले गर्छन विदेशमा निर्यात
रामपुर । झोलामा कफी बोकेर गाउँ–गाउँमा बिक्रीका लागि पुग्दा धेरैको हाँसो मजाकको पात्र बने, काम नपाएर कफी बेच्न गाउँ डुले जस्तो व्यवहार मैले भोग्नुपर्यो, तैपनि हिम्मत भने आफूमा राखिरहे, कफीको प्रवर्द्धनका लागि गाउँ धाइरहन्थे । अहिले भने परिस्थिति बदलिएको छ, कफी खरिद गर्न घरमै ग्राहक आउँछन्। यो अनुभव युवा प्रेमबहादुर सिंह ठकुरीको हो । उनी पाल्पा रामपुर नगरपालिका–५ भम्बक निवासी हुन् । उनले कफी व्यवसायमार्फत आफ्नो पहिचान बदलेका छन् । पाँच वर्षअघि उनलाई कफी व्यवसायबाट समाजमा चिनिन्छु भन्ने लाग्दैनथ्यो । हाल उनको पहिचान प्रेमबहादुर नभई कफी व्यवसायी तथा धेरैका कफी दाइका नामले परिचित छन् । उनलाई जीवनमा सोच्दै नसोचेको पहिचान प्राप्त भएको छ । नेपालका गाउँघर, सहर, बजारमा मात्र नभइ विदेशी भूमिमा कफी निर्यात हुन थालेपछि व्यवसायलाई दीर्घकालीन रूपमा टिकाउनु पर्छ र यसमै निरन्तरता दिएर काम गर्नुपर्छ भन्ने अठोट उनमा बढेको छ । उनले ‘अर्गानिक चिया तथा कफी’ को नामबाट व्यवसाय दर्ता गरी आफ्नै घरमा प्रशोधन मेसिन जडान गरी सञ्चालन गरिरहेका छन् । हाल प्रेमबहादुरले जापान, कोरिया, जर्मन, युएई, माल्टालगायत देशमा कफी निर्यात गर्दै आएका छन् । उनका अनुसार विदेशमा ट्राभल गर्ने साथीको सहायताबाट यहाँको कफी बाहिर पठाउने कार्य भइरहेको छ । काठमाडौँ, पोखरा, बुटवल, तानसेनलगायत बजारमा खपत हुने गरेको छ । यस वर्ष कोरिया, जापान, जर्मन, माल्टा, युएईमा पटक–पटक गरेर करिब एक सय किलो कफी खपत गरेको उनले जानकारी दिए । गत वर्ष सोही परिमाणको हाराहारीमा खपत भएको थियो । ‘घरमा लगाएको कफी उत्पादन भयो, त्यसलाई प्रशोधन गर्न थाले, प्रशोधित कफी अब कहाँ बिक्री गर्ने, यसबारेमा अन्यौलमा थिए, स्थानीयको घरदैलोमा पुग्दा त्यस समयमा धेरैले खिसिट्युरी गर्थे, कहाँ लगेर बिक्री गर्ने, कसैले चिन्दैनथे, दोधारमा परे’, प्रेमबहादुरले आफ्नो अनुभव सुनाउँदै भने, ‘निरन्तरको अथक मेहिनत र शरीर थाके पनि हिम्मतलाई थाक्न दिइन, जसको घरघरमा हिजो गाउँमा कफी बेच्न पुगे, आज उहाँहरू नै मेरै घरमा खरिद गर्न आउनु हुन्छ ।’ उत्पादित वस्तु राम्रो भयो भने समय ढिला होला तर एक दिन अवश्य बजार पाउँदो रहेछ भन्ने प्रेमबहादुरको अनुभव । ग्राहक तथा व्यापारीलाई बुझाउन सकियो भने विस्तारै व्यापार राम्रो हुने गरेको उनले बताए । उनी आफैले कफी उत्पादन, खरिद र प्रशोधन गरेर बजारमा पठाउँछन् । खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवामा ल्याव टेष्ट गरेर प्रमाणित भएपछि बजारीकरण थालेका हुन् । चिया कफी विकास बोर्डले तोकेको मूल्यअनुसार बजारमा बिक्री हुन्छ । स्याङ्जाको चापाकोट नगरपालिका–४ लग्दामा करिब आठ वर्षअघि पाँच रोपनीमा जग्गाबाट कफी खेती सुरू गरेका प्रेमबहादुरले दुई वर्षअघि चापाकोट–७ पटसारमा करिब ३५ रोपनीमा कफी विस्तार गरेका छन् । विसं २०७८ देखि कफी प्रशोधनको व्यवसाय सुरू गरेका उनको व्यवसायमा करिब रू २५ लाख बराबरको लगानी परेको छ । उनले विरूवा उत्पादन गर्ने, गाउँघरमा किसानलाई कफी लगाउन प्रेरणा दिने, स्थानीयलाई कफीका बिरूवा उपलब्ध गराउँदै आएका छन् । आउँदो असार–साउनमा करिब १६ हजार बिरूवा लगाउने प्रेमबहादुरको तयारी छ । प्रशोधित कफीको तुलनामा बिरूवा बिक्रीबाट राम्रो फाइदा हुने उनको अनुभव छ । एक वर्षमा हाल पाँच क्वीन्टल आफ्नै उत्पादन र १३ क्वीन्टल स्थानीयबाट खरिद गरिरहेको उनी बताउँछन् । वार्षिक रूपमा सरदरमा प्रशोधन गरिएको एक टन कफी बजारमा खपत गर्छन् । प्रेमबहादुरका अनुसार अहिले स्थानीय होटल तथा रेष्टुरेण्टबाट कफीको माग धेरै आइरहेको छ । गाउँघरमा कफी सेवन गर्नुपर्छ भन्ने आदत बसेको छ । एक पटक खरिद तथा सेवन गरेका ग्राहक पुनः पटक पटक आउने गर्छन् । प्रेमबहादुर वैदेशिक रोजगारीको क्रममा आठ वर्ष कोरियाको कफी कम्पनीमा काम गर्थे । त्यहाँ कफी उत्पादन, प्रशोधन र बजारीकरणका सीप सिके । गुल्मीमा उत्पादन भएको कफी आफू कार्यरत कम्पनीको सञ्चालकले खरिद गरी हिमालयको गिफ्ट नामले प्रशोधन गरी बजारमा बिक्री गरेको देखेका उनी आफ्नै देशमा गर्न सक्ने सम्भावना देखेर गाउँ फर्केपछि व्यवसायमा लागेका हुन्। नेपालमा देशमा उत्पादन भएको कफी विदेशीले महँगो मूल्यमा ब्राण्ड बनाएर बजारमा बिक्री गरिरहेकाले हामीले पनि उत्पादन गर्न सक्छौँ भन्ने विश्वास लागेपछि उनले गुल्मीबाट बीउ ल्याएर खेती सुरू गरेका हुन् । उनी बरमुन अर्मिलो, बरमुन भर्बिलो, गेइसिया जातका कफी खरिद बिक्री गर्छन् । स्थानीय उत्पादन भएकाले ग्राहकले धेरै मन पाएका छन् । बजारीकरणका लागि रामपुर नगरपालिकाले सहजीकरण गरिदिएको प्रेमबहादुरले बताए । युवा जनशक्ति विदेशमा जानुभन्दा आफ्नै गाउँमा बसेर केही व्यवसाय गर्न उनको सुझाव छ । देउला ९कफीको कच्चा पदार्थ० अर्थात् बोक्रा फालेको कफीको माग धेरै आउने गरेको छ । प्रशोधन गर्न थालेपछि गाउँका किसानले उत्पादन गरेका कफी बिक्री गर्न सजिलो भएको छ । नगरपालिकाले तयार पारेको कोसेली घरमा कफी बिक्रीको व्यवस्था मिलाएको नगर प्रमुख रमणबहादुर थापा बताउँछन् । ‘व्यवसायीलाई हौसला प्रदान गर्दै नगरपालिकाको विभिन्न अनुदान कार्यक्रम, तालिम तथा बजारीकरणमा सहजीकरण गरिरहेका छौँ, नगरपालिकामा बाहिरबाट आउने पाहुनालाई स्थानीय उत्पादन उपहारको रूपमा दिन स्थानीय व्यवसायीबाट खरिद गरिदिने गरेका छौँ, आयआर्जन बढाउन उत्पादनमूलक क्षेत्रमा नगरपालिकाले लगानी गरिरहेको छ’, नगर प्रमुख थापाले भने । कफी व्यवसायलाई प्रवद्र्धन गर्दै यस वर्ष रामपुर नगरपालिकाको युवा स्वरोजगार कार्यक्रममार्फत ब्याज अनुदान कार्यक्रमका समावेस गरी रू १० लाख बराबर रकमको ब्याज उपलब्ध गराइने कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताए । व्यवसायका लागि रामपुरस्थित विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण रकमवापत व्यवसायीले मासिक रूपमा बुझाउनुपर्ने ब्याज तीन÷तीन महिनामा दुई वर्षसम्म खातामा उपलब्ध गराइने उनको भनाइ छ ।