डीएभी कलेजको ‘उपत्यकाव्यापी छैटौँ फुटसल प्रतियोगिता हुँदै, विजेतालाई ३ लाख नगद
काठमाडौं । ललितपुरको जावलाखेलस्थित डीएभी कलेज (प्लस टु) ले १६ माघमा ‘उपत्यकाव्यापी छैटौँ फुटसल प्रतियोगिता २०८१’ आयोजना गर्ने भएको छ । देशकै सर्वाधिक धनराशिको भनेर दाबी गरिएको उक्त प्रतियोगिता खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन, मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको बताइएको छ । कलेजका प्रिन्सिपल सुमन बस्नेतका अनुसार आफ्नै फुटसल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा विजेता टिमले ३ लाख नगद, ट्रफी तथा प्रमाणपत्र र उपविजेता टिमलाई २ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । साथै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट खेलाडीलाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिने बताइएको छ । ऐतिहासिक रूपमा सञ्चालन गरिने उक्त प्रतियोगितामा सुरुमा दर्ता हुने उपत्यकाका ४० वटा टिमलाई मात्र सहभागी गराइने बताइएको छ ।
पोखराको शिवचोकमा खुल्यो कजारियाको शोरुम, गुणस्तरका उत्पादन र सेवा प्रदान गर्ने
काठमाडौं । टायल उत्पादक कम्पनी कजारियाले पोखराको शिवचोकमा पनि नयाँ शोरुम खोलेको छ । धौलाश्री सप्लायर्सले आइतबार उक्त शोरुमको उद्घाटन गर्यो । उद्घाटन समारोहमा स्थानीय, व्यवसायीहरूलगायतको उपस्थिति थियो । सो अवसरमा पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष गोकर्ण कार्कीले पोखराको बढ्दो निर्माण उद्योगको विकासमा टेवा पुर्याउने नयाँ उद्यमको महत्त्वलाई उजागर गरे । कार्यक्रममा बोल्दै कजरियाका निर्देशक हिमांशु अग्रवालले नयाँ शोरुमको बारेमा उत्साह व्यक्त गरे । उनले भने, ‘पोखरा प्रिमियम बजार हो, यहाँ कजारिया टाइल्सको माग सधैं उच्च रहँदै आएको छ । पोखराका जनताले कजारियालाई निरन्तर माया र विश्वास गर्दै आएका छन्, त्यसैले हामीले उनीहरूलाई उत्कृष्ट कजरिया टाइल्समा सहज पहुँच सुनिश्चित गरेका छौं ।’ मनमोहक प्राकृतिक सुन्दरता र जीवन्त पर्यटन उद्योगका लागि परिचित पोखरा नेपालको सबैभन्दा तीव्र गतिमा विकास भइरहेको सहरमध्ये एक हो । यसको सुन्दर तालहरू, आकर्षक पहाडहरू र विस्तारित पूर्वाधारको साथले गर्दा शहर प्रिमियम रियल इस्टेट र निर्माण परियोजनाहरूको लागि एक हब बनेको छ । कजारियाको उपस्थितिले घरधनी, आर्किटेक्ट र ठेकेदारहरूलाई विश्वस्तरीय टाइलहरू प्रदान गरेर यी विकासहरूलाई समर्थन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीकाे विश्वास छ । गुणस्तर र नवप्रवर्तन प्रति कजरियाको प्रतिबद्धताले पोखरामा निर्माण सामग्रीको बढ्दो मागलाई पूरा गर्ने मात्र नभई यस क्षेत्रमा आर्किटेक्चरल उत्कृष्टताका लागि नयाँ मापदण्ड पनि स्थापित गर्ने कम्पनीले जनाएकाे छ । प्रिमियम टायल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिने बताइएकाे छ । रमेश कर्प र भारतको अग्रणी टाइल उत्पादक कजरिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजरिया रमेश टायल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ । नेपाललाई टायल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५.२ लाख वर्गमिटर टाइल उत्पादन गर्नेछ । यो ४ अर्ब रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टायल्स उपलब्ध गराउने लक्ष्य राखेको छ । यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौं रोजगारीका अवसरहरू प्रदान गर्ने जनाइएकाे छ ।
१८ अर्ब लागतको घुन्सा खोला हाइड्रोमा सम्झौता, लक्ष्मी सनराइजको अगुवाइमा सहवित्तीयकरण
काठमाडौं । लक्ष्मी सनराईज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र रेमिट हाइड्रोबीच ताप्लेजुङ्ग जिल्लास्थित घुन्सा नदीमा निमार्ण गर्ने ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको छ । सो आयोजनाको कुल लागत १८ अर्ब १३ करोड रहेको छ । यो सहकार्यले नेपालको नविकरणीय उर्जा परिदृश्यमा महत्वपुर्ण भूमिका खेल्ने बैंकको विश्वास छ । घुन्सा खोला जलविद्युत आयोजनाले २०७९ साउन ८ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै २०८१ वैशाख २१ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको मुख्य प्रवद्र्धकको रुपमा नेपाल विद्युत प्राधिकरण, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र विद्युत उत्पादन कम्पनीको संयुक्त लगानी ५१ प्रतिशत हुनेछ ।सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी ३० प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा साधारण प्रवद्र्धकबाट लगानी रहने छ । लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ५ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरु मध्ये हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ३ अर्ब, नागरिक लगानी कोषको २ अर्ब, माछापुच्छ्रे बैंकको १ अर्ब ४४ करोड र एभरेष्ट बैंकको १ अर्ब २५ करोड समेत गरी जम्मा १२ अर्ब ६९ करोड ४० लाख रहेको छ। सो आयोजना डिसेम्बर २०३० भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब ४६२.२८ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो नेपाल सरकारको जनताको जलविद्युत कार्यक्रम – नेपालको पानी जनताको लगानी जलविद्युत आयोजनामा थप टेवा पुग्ने विश्वास लिइएको बैंकले जनाएको छ ।
प्रभु महालक्ष्मी लाइफको एमडिआरटी सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २०२५ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । पोखरामा माघ १० देखि १३ गतेसम्म ४ दिन चलेको एमडिआरटी सेलिब्रेसन एण्ड भिजन क्र्याफ्टिङ २०२५ कार्यक्रम व्यवसायीक क्षमता अभिबृद्धिका लागि सोच परिवर्तन तालिमका साथ भब्य रुपमा सम्पन्न भएको हो । कार्यक्रम उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीले सदा सम्मान गर्ने बताए । यस पटकको सम्मान कार्यक्रम उत्सव मात्र नभएर महा उत्सवको रुपमा रहेको बताए । व्यवसायीक क्षमता बृद्धिको लागि ज्ञान आर्जन र प्राप्त उपलब्धीहरुलाई हर्षोल्लासपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको छ । ख्यातीप्राप्त सर्टिफाइड मास्टर ट्रेनर इन्द्र गुरुङ नेतृत्वको टिमले २ दिने रचनात्मक तरिकाले सहभागीहरुलाई व्यवसायीक क्षमता अभिबृद्धि गर्न सोच परिवर्तन र उत्प्रेरणका सन्दर्भमा तालिम प्रदान गरेको थियो । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले कार्यक्रमलाई सम्बोधन गर्दै एमडिआरटी हुनु भनेको अभिकर्ताहरुले अन्तराष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउनु रहेको बताए । सम्बोधनकै क्रममा नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले अभिकर्ताहरुले प्रयास गरे केही असम्भव नहुने बताए । अन्य सहभागीहरुलाई सम्मानीत अभिकर्ताहरुबाट सिक्न र जोस जागरका साथ काम गर्न हौसला प्रदान गरे । उक्त कार्यक्रममा मुख्य आकर्षण एमडिआरटि सम्मान, व्यवसायीक क्षमता अभिबृद्धिका लागि सोच परिवर्तन तालिमका साथै पोखरा र आसपासमा रहेका धार्मिक एवं पर्यटकीय स्थलको भ्रमण रहेको थियो । कार्यक्रममा एमडिआरटि २०२५ का लागि छनोट भएका अभिकर्ताहरुका साथै उच्च व्यवस्थापन टिम गरी करिब २५० जनाको उल्लेख्य सहभागिता रहेको थियो ।
सरकारलाई कांग्रेसको पूरै साथ भएको प्रधानमन्त्री ओलीको दावी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रका पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास राम्ररी हुन नसकेको र लोकतन्त्रयताका विकास निर्माणको गति बेग्लै भएको बताए । ‘देश साँच्चै अफ्ठ्याराेमा परेकाले दुई ठुला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नैछ । सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाती पिट्नु र विलौना गर्नुको कुनै विकल्प छैन । कांग्रेस र नेकपा (एमाले)ले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन् । यसमा ढुक्क भए हुन्छ,’ उनले भने । प्रधानमन्त्री ओलीले पूर्व सहमतिअनुसार अहिले आफूले कांग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट गरे । उनले संसदको हिउँधे अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने पनि जनाउँदै सहमति भए छिटै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने बताए । प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्ने नाममा सीमित संख्या भएकाहरुको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरुको भ्रमबाट मुक्त हुन पनि आग्रह गरे । उनले नयाँ भवनलाई सदुपयोग गरेर अझ सहज र सरलताका साथ जनतालाई सेवा पुग्ने र आगामी योजनाबद्ध विकास बन्ने विश्वास व्यक्त गर्दै सोझा जनतालाई आतङ्कको छायाँमा राखेर चुनाव जित्ने जमाना सकिएकाले लोकतान्त्रिक अभ्यासबाट एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य दुर्लभ थापा, पूर्वमन्त्री महेश बस्नेत, नगरप्रमुख वासुदेव थापालगायतले राजनीतिमा प्रतिस्पर्धा र विकास निर्माणका ऐक्यबद्धताको मर्मका साथ काम गर्नुपर्नेमा जोड दिए ।
गैरकानूनी रूपले सम्पत्ति आर्जन गर्नेलाई कडा कारबाही गर्नुपर्छ : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सम्पत्ति शुद्धीकरणको मामिलामा जोखिमयुक्त मुलुकमा सूचीकृत भई अन्तर्राष्ट्रिय अनुगमनमा जानसक्ने सम्भावना रहेको बताएका छन् । सोमबार सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सम्पत्ति शुद्धीकरणको मामिलामा अनुगमन गर्ने निकाय, फाइनान्सियल एक्शन टास्क फोर्सको एशिया प्यासिफिक ग्रुप (एपीजी)ले नेपाल जोखिमपूर्ण मुलुक (ग्रे लिष्ट)मा जाने अवस्था देखाएको बताए । उनले आर्थिक अपराध नियन्त्रणमा नेपालको प्रयासलाई एपीजीले उच्च, राम्रो, मध्यम र न्यून भनि वर्गीकरण गर्दा नेपाल ग्रे लिस्टमा पर्ने सम्भावना रहेको बताए । एफएटीएफले सम्पत्ति शुद्धीकरण गैरकानूनी क्रियाकलाप निवारण गर्ने उद्देश्यका साथ निर्धारण गरेका अन्तर्राष्ट्रिय मापदण्ड पूरा नभएको आधारमा एपीजीले सम्पत्ति शुद्धीकरणको कालोसूचीमा लैजाने उनको भनाइ थियो । उनले एफएटीएफको फेब्रुअरी १७ देखि २१ सम्म हुने मूल्याङ्कनमा नेपालका सबै रिपोर्ट हेरेर ग्रे लिस्टमा राख्ने नराख्ने निर्णय हुने बताए । उनले नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा समावेश भयो भने पनि चाँडै बाहिर निस्कने धेरै आधारशिलाहरु बनेको उल्लेख गरे । उनले आवश्यक कानुन, नियमावलीहरु बनिसकेको बताए । उनले सम्बन्धित निकायहरुले सम्पत्ति शुद्धीकरण निवारणको लागि प्रभावकारी रुपमा कार्यान्वयनमा जान आवश्यक रहेको बताए । नियमनकारी निकायहरुले जोखिमका ठाँउहरु पत्ता लगाएर जोखिम न्यूनीकरण गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए । उनले नियमनकारी निकायहरुले समन्वयात्मक रुपमा काम गरे ग्रे लिस्टमा परे पनि चाँडै बाहिर आउनसक्ने उल्लेख गरे । क्यास कारोबार बढी जोखिमयुक्त कारोबार भएकाले नेपालमा थ्रेस होल्ड तोकिएको उनको भनाइ थियो । यस्तै, उनले पछिल्लो दिनहरूमा डिजिटल कारोबारहरु बढ्दै गएको भन्दै त्यसमा प्रशस्त मात्रामा फल्डहरू हुने र टेक्नोलोजी एडभान्समेन्टको फलस्वरूप क्रिप्टोलगायतमा आफ्नो सम्पत्तिहरु लैजाने प्रयोगहरु बढ्न थालेको बताए । उनले विश्वभर यस्ता जोखिमहरुलाई नयाँ किसिमले समाधान गदै जानुपर्ने अवस्था रहेको बताए । नेपालमा क्रिप्टो करेन्सीलाई पनि जोखिम मानेर निगरानीमा राखेको उनको भनाइ थियो । ‘क्यास कारोबार बढी जोखिम युक्त कारोबार हो । त्यसैले थ्रेस होल्ड तोकिएको छ । पछिल्लो दिनहरुमा डिजिटल कारोबारहरू बढ्दै गएको छ,’ उनले भने, ‘त्यसमा पनि प्रशस्त मात्रामा फल्डहरू हुने र टेक्नोलोजि एडभान्समेन्टको फलस्वरुप क्रिप्टो लगायतमा आफ्नो सम्पत्तिहरू लैजाने प्रयोगहरु बढ्न थालेका छन् ।’ उनले पछिल्लो समय नयाँ–नयाँ रुपमा जोखिमहरु आइरहेको भन्दै त्यस्ता जोखिमलाई न्युनिकरण गर्न लाग्नुपर्नेमा जोड दिए । गैरकानूनी हिसावमा सम्पत्ति आर्जन गर्नेलाई कडा कारबाही हुनुपर्ने जानकारी दिए ।
१० अंकले घट्यो नेप्से परिसूचक, न्यादी हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १०.६१ अंकले घटेर २६३३.३२ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार १०५ कम्पनीको सेयर मूल्य बढ्दा १२९ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीमा भने कुनै परिवर्तन आएको छ । सोमबार ३१२ कम्पनीको १ करोड ७२ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सिन्धु विकास बैंकको भएको छ । सिन्धुको २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सप्तकोशी डेभलपमेन्ट बैंकको २८ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २६ करोड, माउन्टेन इनर्जी नेपालको २६ करोड र हिमालयन रिइन्स्योरेन्सको २३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज न्यादी हाइड्रोपावको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।
१२ वर्षपछि एकै पटक १३ साधारण सभा, नाम संशोधन गरेर मर्जरमा
काठमाडौं । समस्याग्रस्त संस्था घोषणा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले एकैपटक १३ वर्षको साधारण सभा डाकेको छ । सञ्चालक समितिको माघ ११ गते बसेको बैठकले कम्पनीको १०औं देखि २२औं सम्मको वार्षिक साधारण सभा फागुन ५ गते काठमाडौंमा डाकेको हो । नेपाल राष्ट्र बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई २०६९ माघमा समस्याग्रस्त घोषणा गरेको थियो । त्यसयता कम्पनीले नियमित साधारण सभा गर्न सकेको थिएन । तर, १२ वर्षपछि भने कम्पनीले एकैपटक १३ आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको हो । राष्ट्र बैंक स्रोतका अनुसार कम्पनीले वार्षिक साधारण सभा बोलाउनै पर्ने थियो । तर, व्यवस्थापन र सञ्चालक समितिको कमजोरीका कारण हुन सकेको थिएन । राष्ट्र बैंकले दबाब दिएपछि साधारण सभा डाकिएको उनको दाबी छ । ‘वर्षैपिच्छे वार्षिक साधारण गर्नुपर्ने भएपनि व्यवस्थापन र सञ्चालक समितिको कमजोरीले लामो समयदेखि हुन सकेको थिएन । राष्ट्र बैंकले दबाब दिएपछि त्यो सम्भव भयो । राष्ट्र बैंकको कानुनी व्यवस्थाअनुसार गर्न निर्देशन दिएपछि सभा गर्न लागेका हुन्,’ स्रोतले भन्यो । एकैपटक १३ वर्षको साधारण सभा बोलाएपनि कम्पनीको वित्तीय परिसूचकमा भने सुधार नआएको स्रोतको भनाइ छ । अपेक्षाअनुसार कर्जा असुली नभएकाले तत्काल समस्याग्रस्त संस्था घोषणाबाट फुकुवा नगरिने उनले बताए । ‘वित्तीय सूचकहरू जे छ सोहीअनुसार राष्ट्र बैंकले निर्णय गर्छ । क्यापिटल एडुकेसीलगायत केही वित्तीय सूचकहरू आशलाग्दा र सन्तोषजनक छन् । तर, कर्जा असुलीमा राष्ट्र बैंकले गरेको अपेक्षा अनुसार हासिल गर्न सकेको छैन । कर्जा असुली नहुँदासम्म राष्ट्र बैंकले कम्पनीलाई फुकुवा गर्दैन,’ राष्ट्र बैंक स्रोतले विकासन्युजसँग भन्यो, ‘सबै सूचकमा गहन रूपमा हेरिरहेका छौं । उपयुक्त समयमा उचित निर्णय हुन सक्छ । तर, तत्काल कम्पनीलाई समस्याग्रस्त संस्था घोषणाबाट मुक्त गर्नुपर्ने अवस्थामा छैन ।’ नीति नियमभित्र रहेर कर्जा उठाउन राष्ट्र बैंकले निर्देशन दिइरहेको उनले बताए । वित्तीय सूचकहरू सन्तोषजनक र तोकेका मापदण्ड पुरा भएपछि समस्याग्रस्त संस्था घोषणाबाट मुक्त गरिने उनको भनाइ छ । सभाले कम्पनीको नाम संशोधन एंव उद्धेश्य थप गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने छ । साथै उपयुक्त बैंक वा वित्तीय संस्थासँग मर्जर तथा गाभिन सम्पत्ति तथा दायित्व कारोबारको मूल्याङ्कन, मर्जर प्रक्रिया अगाडि बढाई प्रारम्भिक तथा अन्तिम सम्झौता लगायत आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । समस्याग्रस्त घोषणापश्चात् कम्पनीले लगानी गरेका कर्जा असुलीमा कम्पनी र ऋणी तथा जमानीकर्ता पक्षबाट गठित कार्यदलबीच भएको दुई पक्षीय तथा वित्तीय संस्था ऋण चुक्ता कार्यदल र राष्ट्रिय समृद्ध आवास विशिष्टीकृत सहकारी संघबीच भएको त्रिपक्षीय (इस्को) सम्झौता अनुमोदन र सम्झौता कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्नेछ । यस्तै, सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना गरी कुल ५ जनाको निर्वाचन गर्नेछ । राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा गरेपश्चात् सञ्चालक समितिको सदस्यहरूमा भएको हेरफेर, नयाँ सञ्चालक समिति गठन र नयाँ गठित सञ्चालक समितिको हैसियतबाट कम्पनीमा तत्कालीन समयमा भएका कार्यलाई अनुमोदन गर्नेछ । कम्पनीका अनुसार आर्थिक वर्ष (आव) २०६७/६८, आव २०६८/६९ र आव २०६९/७० को एमबि श्रेष्ठ एण्ड कम्पनी, आव २०७०/७१ को गोपाल श्रेष्ठ एण्ड कम्पनी, आव २०७१/७२, आव २०७२/७३ र आव २०७३/७४ को आरएस एण्ड चार्टर्ड एकाउण्टेण्ट्स, आव २०७४/७५, आव २०७५/७६ र आव २०७६/७७ को वाग्ले एण्ड एशोसिएटस, आव २०७७/७८, आव २०७८/७९ र आव २०७९/८० को विशाल एण्ड एशोसिएट र आव २०८०/८१ को रिजाल एण्ड एशोसिएटस् चार्टड एकाउन्टेन्टस वाह्य लेखा परीक्षकमा नियुक्त भएका थिए । उनीहरूको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै आव २०६७/६८ देखि आव २०७९/८० सम्मको सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ ।