विकासन्युज

मुस्ताङ हेलिकप्टरलले माग्यो २ जना पाइलट

काठमाडौं । मुस्ताङ हेलिकप्टरलले २ जना पाइलट मागेको छ । मुस्ताङले एएस३५० सिरिजको हेलिकप्टर उडानका लागि पाइलट मागेको हो । इन्स्ट्रक्टर पाइलट र १ हजार २ सय घन्टाभन्दा बढी समयको उडान अनुभव चाहिने कम्पनीले जनाएको छ । मुस्ताङले दुई दशकभन्दा बढी समयदेखि सार्वजनिक र निजी क्षेत्रलाइ हेलिकप्टर सेवाहरू प्रदान गर्दै आएको छ । फ्लीटमा मध्यवर्ती, मध्यम, भारी लिफ्टिङ र जुम्ल्याहा इन्जिनहरू क्याट ए र क्लास १ प्रदर्शन समावेश छन् । मुस्ताङ क्यानडाको अग्रणी हेलिकप्टर सेवा प्रदायकहरू मध्ये एक हो ।

घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३८.१७ रुपैयाँ र बिक्रीदर १३८.७७ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४३.७८ रुपैयाँ र बिक्रीदर १४४.४० रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.६३ रुपैयाँ र बिक्रीदर १७२.३७ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.५१ रुपैयाँ र बिक्रीदर १५३.१७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.०६ रुपैयाँ र बिक्रीदर ८६.४३ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.८१ रुपैयाँ र बिक्रीदर ९६.२३ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.२९ रुपैयाँ र बिक्रीदर १०२.७३ रुपैयाँ, जापानी येन १० को खरिददर ८.८९ रुपैयाँ र बिक्रीदर ८.९३ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०५ रुपैयाँ र बिक्रीदर १९.१४ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.८४ रुपैयाँ र बिक्रीदर ३७.०० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.९० रुपैयाँ र बिक्रीदर ३८.०६ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१० रुपैयाँ र बिक्रीदर ४.११ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.६२ रुपैयाँ र बिक्रीदर ३७.७८ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.४५ रुपैयाँ र बिक्रीदर ३१.५९ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.५६ रुपैयाँ र बिक्रीदर ९.६० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.५५ रुपैयाँ र बिक्रीदर १२.६१ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.२७ रुपैयाँ र बिक्रीदर १९.३५ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.७४ रुपैयाँ र बिक्रीदर १७.८१ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४७.८८ रुपैयाँ र बिक्रीदर ४४९.८२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६६.५० रुपैयाँ र बिक्रीदर ३६८.०९ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५८.८८ रुपैयाँ र बिक्रीदर ३६०.४४ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

उत्पादन बढेपछि अलैँची बेचेर भित्र्याए ६ करोड रुपैयाँ, प्रतिकेजी १ हजार २५० रुपैयाँ

काठमाडौं । बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् । कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँ किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा ६ करोड रुपैयाँ भित्र्याउन सफल भएका छन् । राम्रो मूल्य पाउने आशामा प्रत्येक वर्ष अलैँचीखेती विस्तार भइरहेको जैमिनी नगरपालिका वडा नं २ का कृषक बलिभद्र सापकोटाले बताए । उनका अनुसार अन्य जिल्लाको तुलनामा बागलुङका कृषकले अलैँचीको मूल्य कम पाएका छन् । यहाँ प्रतिकेजी १ हजार २५० रुपैयाँका दरले अलैँची बिक्री भएको छ । उत्पादनबाट राम्रो आम्दानी हुने भएकाले यहाँ हरेक वर्ष किसानको आकर्षण बढिरहेको छ । अलैँचीखेतीको विस्तारले यसलाई पुष्टि गरेको छ । यहाँ आर्थिक वर्ष २०७८/७९ मा १२८ हेक्टर जमिनमा अलैँचीखेती गरिन्थ्यो । जसमा ४२ मेट्रिक टन उत्पादन भएको थियो । प्रतिकेजी ९५० रुपैयाँका दरले बेच्दा कृषकले ३ करोड ९९ रुपैयाँ लाखको कारोबार गरेका थिए । आर्थिक वर्ष २०७९/८० मा १३१ हेक्टर जमिनमा खेती विस्तार भयो तर उत्पादन भने घट्यो । त्यस वर्ष ३८ मेट्रिक टन उत्पादन भएको थियो । अलैँचीको फेद कुहिने, पात-डाँठ सुक्ने रोगको सङ्क्रमण भएपछि उत्पादन घटेको कृषक सापकोटाले बताए । चालु आर्थिक वर्षमा पनि कृषकले कात्तिक महिनामै अलैँची बेचिसकेका पनि कतिको कारोबार भयो भनेर यकिन तथ्याङ्क सङ्कलनको काम भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । बाली संरक्षण अधिकृत तथा ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले हाल जिल्लाको १४० हेक्टर जमिनमा अलैँचीखेती विस्तार भएको र जसमध्ये ९६ हेक्टरमा लगाएको अलैँचीले उत्पादन दिन थालेको जानकारी दिए । बागलुङका १० स्थानीय तहमध्ये ८ स्थानीय तहलाई समेटेर ‘अलैँचीजोन’ निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा जोन स्थापनाको कार्यक्रम स्वीकृत भएर कार्यान्वयन प्रारम्भ भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बागलुङका निमित्त वरिष्ठ कृषि अधिकृत नारायण पौडेलले बताए । १२ अलैँची पकेट क्षेत्र र दुईवटा अलैँची ब्लकलाई समेटेर जोन स्थापना गरिएको उनले जानकारी दिए । यहाँको ताराखोला काठेखोला, बडिगाड गाउँपालिका, बरेङ र निसीखोला गाउँपालिका तथा बागलुङ, जैमिनी र गलकोट नगरपालिकाका विभिन्न स्थानमा अलैँची उत्पादन हुँदै आएको सूचना अधिकारी पौडेलले बताए । अलैँचीखेतीको राम्रो व्यवस्थापन गर्न सके एकपटक रोपेपछि १० वर्षसम्म पनि उत्पादन दिने गरेको छ । कृषकले उत्पादन गरेको अलैँची गुणस्तर विभाजन गरेर फरक फरक मूल्यमा बिक्री गर्ने गरिएको छ ।

फ्रान्ससम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल, प्रतिकिलो ७ हजार रुपैयाँ

काठमाडौं । इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो । दहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट गत वर्षदेखि तेललगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको बताए । उनले विशेषगरी फ्रान्समा यहाँबाट उत्पादित वस्तु जाने गरेको जानकारी दिए । ‘हाम्रो उद्योगमा गाउँमा नै पाइने पाती, धूपी, मेन्था, धसिङ्गरेलगायत स्थानीय जडिबुटीबाट तेल निकालिन्छ । त्यसमध्ये हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल विदेश निर्यात हुन थालेको हो,’ दहालले भने, ‘निकट दिनमा जेरेनियम, जङ्गली सयपत्री, रोजमेरीलगायतबाट पनि तेल उत्पादन गर्ने तयारी भइरहेको छ । विदेशीले नेपाली प्राकृतिक वस्तु मन पराउने गरेका छन् । त्यसैले मागअनुसार उत्पादन गरिरहेका छौँ ।’ उनले आफू ओसोको अनुयायी भएकाले यहाँ ध्यान गर्न आएका विदेशीहरूले नै उत्पादित वस्तु खरिद गरेर लैजाने गरेको सुनाए । ‘सुरुसुरुमा विदेशीले पनि सामान्य रूपमा लिने गरेका थिए । पछि तेलको महत्वबारे जानकारी गराएपछि उहाँहरूले मन पराउनुभयो । उत्पादन गरेका सबै वस्तु बिक्री हुन थालेपछि हौसला बढेको छ,’ उनले भने । धूपीको तेल प्रतिकिलोग्राम २ हजार ५ सय रुपैयाँ, तीतेपातीको तेल प्रतिकिलो ६ हजार रुपैयाँ, मेन्थाको तेल प्रतिकिलो ७ हजार रुपैयाँ र धसिंगरेको तेल प्रतिकिलो ७ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । दहालले ३५ रोपनी जमिनमा यस्ता विभिन्न वनस्पतिको खेती गर्दै आएका छन् । उनले स्थानीय किसानबाट समेत कच्चापदार्थ खरिद गरी गरिरहेका छन् । ‘गाउँका किसानले उत्पादन गरेको वस्तु घरमा नै गएर खरिद गरिरहेका छौँ । धूपी प्रतिकिलो रु आठ र तीतेपाती प्रतिकिलो रु चारले घरमै गएर खरिद गर्दा किसान पनि लाभान्वित भएका छन्,’ दहालले भने । गाउँका खाली जमिनको सदुपयोग गरेर स्थानीयस्तरमा नै व्यावसायिक उत्पादन गरिएको स्थानीय केशव दहालले बताए । यहाँबाट उत्पादित तेल रुघाखोखी, घाँटी दुखेको बेला प्रयोग गर्ने, चोट लागेको ठाउँमा मालिस गर्न र हाडजोर्नीको समस्या भएका, ढाड दुखेका बिरामीहरूले यसको बढी प्रयोग गर्ने गरेको दहालको भनाइ छ ।

तराईमा हुस्सु, कोशी र गण्डकीमा हिमपात, यस्तो छ देशभरको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भू/भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेश उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । साथै विभागले शुक्रबार बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आइडिया भएका युवालाई अवसर नै अवसर

आजभन्दा ४० वर्षअघि स्टाटअर्प व्यवसाय सुरु गर्दा परिस्थिति अर्कै थियो । त्यतिबेला व्यवसाय गर्नेहरूले थुप्रै चुनौतीको सामना गर्नुपर्ने अवस्था थियो । अहिले स्टार्टअप व्यवसाय गर्न चाहनेलाई निकै सहज वातावरण बन्दै गएको छ । म आफै व्यावसायिक घरानाभन्दा बाहिरको मान्छे । व्यवसाय सुरु गर्नुभन्दा अघि थुप्रै चुनौती थिए । सानैमा अभिभावक गुमाएपछि परिवारको जिम्मेवारी मेरै काँधमा आइपर्यो । साह्रै दुःख पाएको हुँदा आधारभूत आवश्यकता पूरा गर्नका लागि त्यो परिस्थितिबाट माथि उठ्ने मात्रै एउटै उद्देश्य थियो । मेरो त्यतिबेलाको सबैभन्दा ठूलो लक्ष्य भनेकै जागिर गरेर आमा र भाइबहिनीलाई हेर्ने नै थियो । त्यतिबेलादेखि नै इमान्दार हिसाबले काम गर्नुपर्छ, इमान्दारितापूर्वक काम गर्दा त्यसको नतिजा स्वचालित रूपमै आउँछ भन्ने विश्वासले दुख गरें । त्यतिबेला कुनै स्टार्टअपको लागि आइडिया छ भने त्यो आइडियालाई आर्थिक सर्पोट गर्ने फोरम नभएका हैनन् । वाणिज्य बैंकमा जागिर गर्दैगर्दा आफै नयाँ स्टार्टअप व्यवसाय सुरु गर्ने भन्ने सोंच भयो । तर ठूलो महत्वाकांक्षाले सुरु गरेको जागिर नछोड्ने कि भन्ने पनि भयो । मसँग त्यतिबेला दुईवटा विकल्प थियो, जागिर छाड्ने कि व्यवसाय सुरु गर्ने । अन्तिममा जागिरबाट राजीनामा दिएर व्यवसाय सुरु गरें । मैले व्यवसाय सुरु गर्दा अहिलेजस्तो बैंक तथा वित्तीय संस्थाहरू प्रशस्त मात्रामा थिएनन् । लगानी गर्छु भन्ने लगानीकर्ता त्यति उपलब्ध हुँदैन थिए । स्टार्टअप बिजनेससम्बन्धी सरकारबाट नीति पनि बनिसकेको थिएन । त्यो अवस्थामा पनि स्टार्टअप व्यवसाय सुरु गरेर सफल भएं, धेरै सफल भएका छन् । इमान्दारीपूर्वक काम गर्ने हो भने सफल भइँदो रहेछ भन्ने प्रमाणित भइसकेको छ । नेपालमा अहिले स्टार्टअप व्यवसायको सम्भावना बढेर गएको छ । विशेषगरी नयाँ आइडिया भएको केही गर्छु भन्ने युवाहरूलाई अवसर नै अवसर देख्छु । तर कतिपय अवस्थामा नकारात्मक भाष्यसमेत विकसित हुँदै गएको छ । म आफै विदेशका विभिन्न ठाउँमा जाँदा वैदेशिक रोजगारीको रूपमा रहनुभएका साथीहरूले नेपालमा व्यवसाय गर्ने सम्भावना छैन, कुनै सेक्टरमा राम्रा मान्छे छैनन् भन्ने गर्नुहुन्छ । त्यो कुरालाई मैले धेरै ठाउँमा प्रतिवाद गरेको छु । हामीले वास्तवमा नेपालका विभिन्न वस्तुहरूलाई प्रचारप्रसार गर्न नसकेर मात्रै हो, नभए यहाँ अथाह सम्भावना छ । हामीले पूर्वाधार, पर्यटन या कुनै पनि सेक्टरको प्रचारप्रसार गर्न सकेको छैनौं । हामी कुनै पनि विदेशी इन्टरप्रेनरले गरेको व्यवसाय र उसले गरेका प्रगतिको खुलेर प्रशंसा गर्छौ तर कोही नेपाली इन्टरप्रेनरले गरेको व्यवसायलाई नकारात्मक हिसाबले हेर्ने भाष्य बनेको हो । जुन कुरा नेपालको आर्थिक विकासको लागि सबैभन्दा वाधक हो भन्ने लाग्छ। व्यावसायिक अनुभवमा इमान्दारिता र केही गरेर देखाउँछु भन्ने इच्छाशक्ति छ भने सफल उद्यमी बन्न असम्भव छैन । झन् अहिले स्टार्टअपको लागि सरकारले नीतिसमेत ल्याएको अवस्था छ । आर्थिक रूपमा लगानी गर्ने र सहजै कर्जा उपलब्ध हुने भइसकेको छ । स्टार्टअप व्यवसाय सुरु गर्न चाहने युवालाई सरकारले सहजीकरण गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको ब्याजदर एकल अंकमा झरिसकेको हुँदा सहजै कर्जा लिएर व्यवसाय सुरु गर्न सकिन्छ । सरकारले स्टार्टअप व्यवसायको लागि नीति ल्याएको छ, निजी क्षेत्रको लागि अध्यादेश ल्याएको छ । तर नीतिनियम, नियमावली ल्याएर मात्रै हुँदैन, कार्यान्वयनको पाटोमा पनि सरकारले ध्यान दिनुपर्छ । व्यवसायमा लागेको ४० वर्षभन्दा बढीको अनुभवमा नेपालमा स्टार्टअप व्यवसायमा सम्भावना नै सम्भावना छ । अहिलेको आवश्यकता ‘पब्लिक कन्फिडेन्ट डेपलपमेन्ट’ को हो । नेपालमा व्यवसाय गर्ने वातावरण छ । विस्तारै लगानीको क्षेत्र विस्तार हुँदै गएको छ । नेपाल हिन्दु धर्मालम्बीको लागि पशुपति, मुक्तिनाथ, बुद्र्ध धर्म मान्नेको लागि लुम्बिनीजस्ता धार्मिक स्थल छन् । विश्वका अग्लो सगरमाथादेखि विभिन्न चुचुरा नेपालमै छन् । पर्यटनको हिसाबले भारत र चीनको बीचमा छौं । हामीसँग आईटीमा युवा जनशक्ति छ । व्यवसाय गर्नका लागि सरकारका नीतिहरू स्थिर हुनु आवश्यक छ तर नीतिहरू स्थिर छैनन् । त्यसलाई स्थिर बनाउनु जरुरी छ । (नेपाली कांग्रेसको ‘स्टार्टअप तथा एसएमई सम्मेलन’ मा नेपाल उद्योग तथा वाणिज्य महासंघका अध्यक्ष ढकालले राखेको मन्तव्य)

निर्जीवनमा मोटर बीमाको हिस्सा ३१ प्रतिशत, अन्य पोर्टफोलियोको हिस्सा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा मोटर बीमाबाट साढे ६ अर्ब बढी रुपैयाँ बीमाशुल्क संकलन भएको छ । चालु आवको पौष मसान्तसम्म ७ लाख ८४ हजार ४४४ वटा सवारीसाधनको बीमा हुँदा ६ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको हो । यो अवधिमा निर्जीवन बीमाबाट २१ अर्ब ३० करोड ६५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ। बीमाशुल्क संकलनका आधारमा कुल निर्जीवन बीमाको ३१.२० प्रतिशत हिस्सा मोटर बीमाले ओगटेको हो । पोलिसी बिक्रीका आधारमा भने मोटरको हिस्सा ५० प्रतिशत बढी छ । निर्जीवन बीमातर्फ १५ लाख ५७ हजार ७९१ वटा पोलिसी बिक्री हुँदा ७ लाख ८४ हजार ४४४ वटा पोलिसी मोटर बीमाको रहेको छ । सम्पत्ति बीमाबाट ५ अर्ब ४८ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । जुन कुल निर्जीवन बीमाको २५.७६ प्रतिशत हो । यसैगरी, इन्जिनियरिङ तथा ठेक्का पोर्टफोलियोअन्तर्गत ३ अर्ब ७ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । इन्जिनियरिङ तथा ठेक्काको बीमाले कुल निर्जीवनको १४.४५ प्रतिशत हिस्सा ओगट्दा विविध बीमाले १२ प्रतिशत हिस्सा ओगटेको प्राधिकरणले जनाएकाे छ । सामूद्रिक तर्फको बीमाले ५.७६ प्रतिशत हिस्सा ओगटेको छ । पछिल्लो छ महिनामा यस पोर्टफोलियोअन्तर्गत १ अर्ब २२ करोड रुपैयाँको बीमा भएको छ । हवाई बीमाले ४.७६ प्रतिशत हिस्सा ओगट्दा कृषि बीमाले ४ प्रतिशत र लघु बीमाले २ प्रतिशत हिस्सा ओगटेको छ । हवाई बीमाबाट १ अर्ब १ करोड ५३ लाख, कृषिबाट ८६ करोड ५० लाख र लघु बीमाबाट ४३ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको प्रधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

जापानमा आत्महत्या गर्ने विद्यार्थीको सङ्ख्या बढ्दो क्रममा, पुरुषको सङ्ख्या बढी

टोकियो । जापानमा सन् २०२४ मा विद्यालयस्तरका विद्यार्थीले आत्महत्या गर्ने क्रम नरोकिएको तर सामान्य वृद्धि देखिएको भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कले देखाएको छ । मन्त्रालयका अनुसार सन् २०२३ मा ५१३ जना विदार्थीले आत्महत्या गरेकोमा सन् २०२४ मा यो सङ्ख्या ५२७ पुगेको थियो । यद्यपि, सबै उमेर समूहका मानिसको आत्म हत्या दर सन् २००३ को तुलनामा ७.२ प्रतिशतले कमी भएको देखिएको छ । सन् २००३ मा ३४ हजार ४२७ जनाले आत्महत्या गरेकोमा यो सङ्ख्या बीस बर्षपछि अर्थात् सन् २०२४ मा २० हजार २६८ मा झरेको थियो । जापानमा आत्महत्या गर्ने २० वर्षभन्दा कम उमेरका बालबालिकाको सङ्ख्या भने सन् २०२३ मा ८१० जना रहेकामा सन् २०२४ मा घटेर ८०० जनामा झरेको पछिल्लो तथ्याङ्कले देखाएको छ । ‘हामी यसलाई गम्भीरतापूर्वक लिन्छौं,’ जापानको मन्त्री परिषद्का सहायक मुख्य सचिव केइचिरो टाचिबानाले नियमित पत्रकार सम्मेलनमा भने । उनले भने, ‘बालबालिकाको जीवन रक्षाका लागि आवश्यक कदम चाल्न र कसैलाई पनि आफ्नो ज्यान लिन दबाब नदिइने समाजलाई साकार पार्न हामी सक्दो प्रयास जारी राख्नेछौं ।’ स्वास्थ्य मन्त्रालयले थप तथ्याङ्क उपलब्ध भएपछि मार्चमा तथ्याङ्कको विश्लेषण जारी गर्ने अपेक्षा गरिएको थियो। जापानमा हरेक वर्ष अगष्टको अन्त्यदेखि सेप्टेम्बरको सुरुसम्म हरेक गर्मीयामको बिदाको अन्त्यमा किशोर किशोरीले आत्महत्या गर्ने क्रम बढ्दै गएको छ । यसका कारण सरकार र सञ्चार माध्यमले समस्याहरूसँग सङ्घर्षरत किशोर किशोरीलाई आत्महत्या रोज्नबाट रोक्न सार्वजनिकरूपमा आह्वानलाई बढावा दिएका छन् । अधिकांश विद्यार्थीले आत्महत्या गर्नुको वास्तविक कारण भने खुल्न सकेको छैन । विगतको विश्लेषणले किशोर किशोरीहरूलाई अध्ययन, बदमाशी, सम्बन्ध, क्यारियर छनौट र स्वास्थ्य समस्याहरूसँग सम्बन्धित धेरै दबाबहरूको सामना गरिरहेको देखाएको छ। सन् २००३ मा जापानमा आत्महत्या गर्ने पुरुषको सङ्ख्या महिलाकोभन्दा एक तिहाइले बढी थियो । त्यसयता पुरुष आत्महत्या दर घटेको छ यद्यपि, यो अझै पनि महिलाको तुलनामा दोब्बर छ । सरकारले सञ्चालन गरेका व्यापक जागरूकता अभियान, मानसिक स्वास्थ्य सेवा र कठोर कार्यस्थल संस्कृति सुधार गर्ने प्रयासलाई पुरूषको आत्महत्या दर नियन्त्रणका लागि श्रेय दिइन्छ । रासस