अमेरिकी डलरको मूल्यले बनायो नयाँ रेकर्ड, कुवेती दिनार ४५२.४० रुपैयाँ
काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । निरन्तर उकालो लाग्दै आएको डलरको भाउ आज थप नयाँ उचाइमा पुगेको हो । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३९.२० रुपैयाँ र बिक्रीदर १३९.८० रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि गत माघ २ गते खरिदर १३८.९२ रुपैयाँ र बिक्रीदर १३८.९२ रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो । आज युरोपियन यूरोको एकको खरिदर १४२.५२ रुपैयाँ र बिक्रीदर १४३.१३ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.२६ रुपैयाँ र बिक्रीदर १७२.०० रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.७७ रुपैयाँ र बिक्रीदर १५२.४३ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८५.४५ रुपैयाँ र बिक्रीदर ८५.८२ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९४.७२ रुपैयाँ र बिक्रीदर ९५.१२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.७४ रुपैयाँ र बिक्रीदर १०२.१८ रुपैयाँ, जापानी येन १० को खरिददर ९.०० रुपैयाँ र बिक्रीदर ९.०४ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.२० रुपैयाँ र बिक्रीदर १९.२८ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३७.११ रुपैयाँ र बिक्रीदर ३७.२७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३८.१८ रुपैयाँ र बिक्रीदर ३८.३५ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०९ रुपैयाँ र बिक्रीदर ४.११ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.९० रुपैयाँ र बिक्रीदर ३८.०६ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.११ रुपैयाँ र बिक्रीदर ३१.२४ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.४९ रुपैयाँ र बिक्रीदर ९.५३ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३९ रुपैयाँ र बिक्रीदर १२.४५ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.१० रुपैयाँ र बिक्रीदर १९.१८ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.८६ रुपैयाँ र बिक्रीदर १७.९४ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४५०.४६ रुपैयाँ र बिक्रीदर ४५२.४० रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६९.२२ रुपैयाँ र बिक्रीदर ३७०.८१ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३६१.५७ रुपैयाँ र बिक्रीदर ३६३.१३ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
सूर्यज्योति लाइफको नाफा साढे १९ करोड रुपैयाँ, २२.२६ प्रतिशत बढ्यो दाबी भुक्तानी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ३.३७ प्रतिशत बढेर १९ करोड ६१ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ९७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क १९.८३ प्रतिशत बढेर ४ अर्ब ९८ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब १५ करोढ ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । ६ महिनामा कम्पनीको खुद दाबी भुक्तानी २२.२६ प्रतिशत बढेर ५ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ६१ करोड २३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीको कुल आम्दानी १९.३५ प्रतिशत बढेर ७ अर्ब ६७ हजार रुपैयाँ र कुल खर्च १९.७८ प्रतिशत बढेर ६ अर्ब ६४ करोड ८ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कम्पनीले कुल आम्दानी ५ अर्ब ८६ करोड ४९ लाख रुपैयाँ गरेको थियो भने कुल खर्च ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ, महाविपत्ति कोष ३८ करोड ६९ लाख रुपैयाँ, सञ्चित नाफा ३२ करोड ८२ लाख रुपैयाँ, अन्य इक्विटी ४५ करोड ९८ लाख रुपैयाँ र जीवन बीमा कोष ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ७० पैसा घटेर ७.८३ रुपैयाँमा झरेको छ कम्पनीको मूल्य आम्दानी अनुपात ५६.७३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२३.४४ रुपैयाँ रहेको छ ।
आजदेखि १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप, ५४ हजार स्वयंसेवक खटाइने
काठमाडौं । आज फेबु्रअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । यस अभियानमा १६ लाख ८८ हजार ७६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप दिन लागिएको बताउँदै सबैजना आ-आफ्नोतर्फबाट अभियानमा जोडिन आग्रह गरे । ‘हामीले पहिले पनि यसको ‘पाइलटिङ’ गरिसकेका छौँ । सफल परीक्षण भइसकेको छ । अभियान सफल बनाउन मन्त्रालय र विभिन्न तह र तप्काका निकायले सक्रिय योगदान गरेका छन् । दुई हप्तासम्म हुने यो अभियानका रूपमा सञ्चालन हुने भएकाले तोकिएको उमेर समूहका कोही पनि किशोरी नछुटुन् र नदोहोरिउन् भन्ने मान्यताका साथ खोप अभियानमा सरिक हुन आग्रह गर्दर्छौं,’ उनले भने । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले खोप अभियानमा १८ हजार ९ सय विद्यालयका खोप केन्द्र र ८ हजार २ सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने जानकारी गराए । त्यसैगरी ५४ हजार १६० स्वयंसेवक खटाइने छन् भने १५ हजार ६७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन् । ‘खोप प्रभावकारी छ, ढुक्क भएर लगाउनुस्’ चिकित्सकका अनुसार पाठेघरको मुखको क्यान्सरबाट बच्न सुरुआती अवस्थामा निदान भई उपचार गर्न सकिए यो रोगबाट बच्न सकिन्छ । पाठेघरमा हुने क्यान्सरबाट जोगिनका लागि एचपिभी खोप लगाइन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को सङ्क्रमणले हुने स्त्री क्यान्सररोग विशेषज्ञ डा सृष्टि श्रेष्ठ प्रजापतिले बताए । नेपालमा महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा र विश्वमा चौथो स्थानमा रहेको उनले जानकारी दिए । उनका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९० प्रतिशतभन्दा बढी क्यान्सर एचपिभीले गराउँछ । ‘एचपिभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ । विश्वमा यसको सफल परीक्षण भइसकेको छ । यो सुरक्षित र प्रभावकारी पाइएको छ । नकरात्मक असर देखिएको छैन । बाँझोपन हुने वा महिनावारी गडबडी हुनेलगायत बुझाइ गलत हुन् । ढुक्क भएर लगाउँदा हुन्छ,’ उनले भने । नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट ४ जना महिलाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी, २०२२’ का अनुसार हरेक वर्ष नेपालमा २ हजार १६९ महिलालाई यस्तो क्यान्सर हुन्छ । हरेक वर्ष १ हजार ३१३ महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका प्रवक्ता डा बुढाथोकीले एचपिभी खोप लगाएपछि यसले ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने भएकाले ढुक्क भएर खोप लगाउन सबै किशोरीलाई आग्रह गरे । ‘विश्वका एक सय ४५ भन्दाबढी देशमा यो खोप प्रयोग भइरहेको छ भने ६१ देशमा प्रयोग भइसकेको छ । यसलाई विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको र औषधि व्यवस्था विभागले पनि स्वीकृति दिएको छ । विज्ञानले प्रमाणित गरेको खोप लगाइने हुनाले निर्धक्क भएर लगाउन अनुरोध गर्दछौँ,’ उनले भने । खोप लगाएपछि सुई लाएको ठाउँमा दुख्ने, सुन्निने, ज्वरो आउनेलगायत केही सामान्य असर (साइडइफेक्ट) हुनसक्ने बताउँदै डा बुढाथोकीले ती असर केही दिनमा आफैँ निको भएर जाने बताए । ‘केहीले यो खोप लगाउन हुन्न भन्ने हल्ला पनि फिैलाएका पाएका छौँ । ती भ्रण मात्र हुन् । हामीले खोप लगाएपछि केही असर देखिए उपचारका लागि चिकित्सकको समूह तयारी अवस्थामा राखेका छौँ । खोप लगाइसकेपछि ३० मिनेट जति असर देखिए/नदेखिए हेर्न छुट्टै कोठामा राख्छौँ । उमेर समूहभन्दा बाहिर र ज्वरो आएकाले भने खोप नलगाइदिनुस्,’ उनले भने । राष्ट्रिय खोप कार्यक्रममा एचपिभी खोप समावेश गर्न सरकारले आर्थिक वर्ष २०७२/७३ र आव २०७३/७४ मा गाभीको सहयोगमा कार्यक्रम सञ्चालन तथा अध्ययनका लागि कास्की र चितवनमा सफलतापूर्वक ‘पाइलट कार्यक्रम’ सञ्चालन गरेको थियो । आव २०८०/८१ मा ‘डेमोन्स्ट्रेसन’का रूपमा हरेक प्रदेशको एक/एक अस्पतालमा १० हजार किशोरीलाई यो खोपको दुई मात्रा दिइसकिएको छ । त्यसैगरी खोप शाखाले यो यसलाई राष्ट्रिय खोप तालिकामासमेत समावेश गरिसकेको छ । सन् २०३० सम्म क्यान्सर निवारण गर्न विश्व स्वास्थ्य सङ्गठनले अन्तरराष्ट्रिय रणनीति बनाएको छ । उक्त रणनीतिमा (९०-७०-९०) को लक्ष्य राखिएको छ । नेपालले पनि ९० प्रतिशत किशोरीलाई १५ वर्षको उमेरसम्म पूर्ण रूपमा एचपिभी खोप लगाइसक्ने, ७० प्रतिशत महिलालाई ३५ वर्षसम्म एक पटक र ४५ वर्षसम्ममा पुनःपरीक्षण गरिसक्ने, क्यान्सर पुष्टि भएका ९० प्रतिशत महिलाले उपचार पाउने र निको बनाउने लक्ष्य राखेको छ । रासस
१ अर्ब लगानीमा कर्णालीमै पहिलोपटक ४ तारे रिसोर्ट, धार्मिक पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौं । राराको मुर्माटपमा सोमबारदेखि कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु भएको छ । एनआरएन अष्ट्रेलियाको लगानीमा प्रदेशकै पहिलो चारतारे सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्न सोमबार हिन्दू धर्मअनुसार भूमि पूजा गरिएको हो । प्रदेशमा तीनतारेसम्मका होटल यसअघि सञ्चालनमा आए पनि चारतारे पहिलोपटक निर्माण गर्न लागिएको रारा होल्डिङ रिसोर्ट प्रालीका परियोजन प्रबन्धक अरुण चन्दले बताए । गत वर्ष काठमाडौंमा सरकारले आयोजना गरेको तेर्सो लगानी सम्मेलनमा अष्ट्रेलियामा रहेका नेपाली एनआरएन अभिषेक विक्रम शाहसहितको टोलीले ‘ड्रिम प्रोजेक्ट’का रूपमा रारामा चारतारे रिसोर्ट निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धचा अनुसार सङ्घीय सरकारसँग रारा होल्डिङ रिसोर्ट प्रालीले १८ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको उनले जानकारी दिए । कूल ७३ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त रिसोर्टको पहिलो चरणमा १ अर्ब रुपैयाँको लागतमा निर्माण हुने चन्दले बताए । उनका अनुसार पहिलो चरणमा ३६ र दोस्रो चरणमा १९ वटा सुविधा सम्पन्न कोठाका ९८ श्यया निर्माण हुनेछन् । दैनिक १ सय आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिनेगरी यो रिसोर्टको भूमि पूजा गरी निर्माण सुरु गरिएको हो । रिसोर्टको औपचारिक रूपमा यही माघ ३० गते पर्यटन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले शिलान्यास गर्ने कार्यक्रम रहेको रारा होल्डिङ रिसोर्ट प्रालीले जनाएको छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले रारा क्षेत्रमा सुविधा सम्पन्न होटल नभएका कारण दुखेसो पोख्दै आएका बेला सिञ्जा भ्याली, रारा, छायाँनाथ र खप्तडलाई जोड्दै कर्णालीका धार्मिक क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रिसोर्ट निर्माण गर्न लागिएको परियोजन प्रबन्धक चन्दले जानकारी दिए । समुन्द्री सतहबाट ३ हजार ५ सय मिटर उचाइमा निर्माण हुने उक्त रिसोर्टको आगामी चैतदेखि पूर्वाधार निर्माण सुरु गरिनेछ । निर्माणपश्चात् रिसोर्ट सञ्चालनमा आएपछि प्रत्यक्ष १२० जनाले रोजगारी पाउनुका साथै १ हजार बढीलाई अप्रत्यक्ष रूपमा रोजगारीका अवसर सृजना हुने रिसोर्टका प्रतिनिधि प्रेम शाहीले बताए । उनका अनुसार यो परियोजनाले विशेषगरी भारतीय नागरिकलाई धार्मिक पर्यटकका रूपमा भित्र्याउने लक्ष्य राखेको छ । स्थानीय समुदायका पुराना घरशैलीका ५५ कोठामा ९८ श्यया निर्माण हुने यो रिसोर्टमा १ सयको क्षमता भएको सेमिनार हल, प्रत्येक कोठाका झ्यालबाट रारा र हिमाली शृङ्खलाको दृयावलोकन गर्न सकिने र रिसोर्टबाट आधा घण्टामाथि रहेको मुर्माटप पुगेपछि ७ जिल्लाको भूभाग अवलोकन गर्न सकिने प्रबन्धक चन्दले उल्लेख गरे । यहाँ आउने पर्यटक सबैले रारामा गाँस र बासका लागि राम्रो व्यवस्था नभएको भन्दै गुनासो राखेर जाने गरेकाले रिसोर्ट निर्माण थालिएको उनको भनाइ छ । केही वर्षयता रारा क्षेत्रकामाझ घट्ट, सल्लेरीमा एक दर्जनभन्दा बढी होटल सञ्चालनमा छन् तर सिजनमा यी होटलले पर्यटकलाई सेवा दिन समस्या हुँदै आएको छ । कर्णाली प्रदेशमा पहिलो पटक चारतारे रिसोर्ट मुर्माटपमा निर्माण हुने भएपछि रारामा आउने पर्यटकलाई बस्न र खान कुनै समस्या नहुने छाँयानाथ रारा नगरपालिका–८ का होटल व्यवसायी बिर्ख रोकायाले बताए ।
घर बनाउँदै हुनुहुन्छ ? सिटिजन्स बैंकले दिन्छ ७.९९ प्रतिशतमा २ करोड रुपैयाँ कर्जा
काठमाडौं । मानिसरूका लागि आधारभूत आवश्यकता भित्रपर्छ ‘घर’ । यतिबेला घर बनाउने सिजन पनि हो । घर बनाउँदा कस्तो बनाउने र कहाँ बनाउने भन्ने विषय सम्बन्धित व्यक्तिको आर्थिक क्षमतामा निर्भर पर्छ । नयाँ घर निर्माणको योजना छ तर पैसाको खोजिमा हुनु हुन्छ ? नयाँ घर बनाउने सपना छ तर पैसा नभएर रोकिनु भएको छ भने अब ढुक्क हुनुस् । किनभने सिटिजन्स बैंकले सस्तो ब्याजदरमा ऋण उपलब्ध गराइरहेको छ । बैंकले ७.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा उपलब्ध गराइरहेको छ । नागरिकहरूको घर बनाउने सपनालाई पुरा गर्ने उद्धेश्यले बैंकले ७ वर्ष अवधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा योजना ल्याएको हो । बैंकले उक्त योजनाअन्तर्गत कायम रहेको व्याजदर ७ बर्षसम्म स्थिर रहने छ । ७ वर्षपछि भने बैंकको आधार दरमा १ प्रतिशत प्रिमियम दर थप गरी ब्याजदर निर्धारण गर्ने जनाएको छ । बैंकले जग्गा र भवन खरिद गर्न, भवन निर्माण गर्न अधिकतम २ करोड रुपैयाँसम्म कर्जा दिने जनाएको छ । ऋणको अधिकतम अवधि २५ वर्ष तोकिएको छ । तर, ग्राहकको क्षमताका आधारमा २५ वर्षभन्दा कम अवधिमा पनि ऋण चुक्ता गर्न सकिने बैंकको भनाइ छ । बैंकका अनुसार जग्गा खरिद, भवन तथा अपार्टमेन्ट निर्माण गर्ने र अन्य बैंक तथा वित्तीय संस्थाहरूमा अवस्थित कर्जा सार्नका लागि पनि पनि कर्जा दिनेछ । बैंकले जग्गा खरिद गर्ने उद्देश्यका लागि मात्रै पनि ऋण दिनेछ । तर, यस्तो अवस्थामा ब्याजदर भने थोरै बढी हुनेछ । यस योजनामा बैंकले ०.७५ प्रतिशत स्ट्याण्डर्ड प्रोसेसिङ शुल्क तोकेको छ । साथै अन्य शुल्कहरू कर्जा सूचना केन्द्र, मालपोत कार्यालय र.मूल्याङ्कनकर्ता (इन्जिनियर)ले तोकेको आधारमा शुल्क तोकिने बैंकले जनाएको छ । कर्जा लिनका लागि नागरिकता, प्यान र विवाह दर्ताको प्रमाणपत्र लगायत कागजातहरू आवश्यक पर्नेछ । यस्तै, जग्गा स्वामित्व प्रमाणपत्र (लालपुर्जा), मालपोत तिरो, निर्माण जजतपत्र, स्वीकृत नक्सा (नक्सा पास), निर्माण सम्पन्न प्रमाणपत्र लगायत कागज पनि आवश्यक पर्नेछ । यस्तै, ऋणको आम्दानीको स्रोत अनुसार तलब प्रमाणपत्र/भाडा सम्झौता/व्यापार कागजात साथै कर चुक्ता प्रमाणपत्र, लेखापरीक्षण प्रतिवेदन लगायतका आगज पनि आवश्यक पर्ने बैंकको भनाइ छ । बैंकले देशभरका सबै १९७ शाखाहरूबाट ऋण उपलब्ध गराउनेछ । हालै बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल बैंकले उत्कृष्ट बैंकिङ सेवा सुविधाहरू प्रदान गर्दै आएको छ ।
गरिमा र महालक्ष्मी विकास बैंक ई-कमर्स कार्ड कारोवारको लागि एनसीएचएलमा आबद्ध
काठमाडौं । गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकले कार्ड मार्फत हुने ई-कर्मस कारोवारको लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को ईएफटी सर्भिसेजमा आवद्ध भई थ्रीडी सेक्यूर एसीएस सेवा सुरु गरेका छन् । उक्त सेवाको शुरुवात पश्चात् गरिमा विकास बैंक तथा महालक्ष्मी बिकास बैंकका कार्ड होल्डरहरूले सुरक्षित तरिकाले अनलाइन ई-कमर्स कारोबार गर्न सक्नेछन् । उक्त सेवा प्रयोग गर्नका लागि बैंकका कार्डहोल्डरहरूले आफ्नो कार्डमा एकपटक उक्त सुविधा सूचारु गर्नुपर्ने हुन्छ । ई-कमर्स कारोबार गर्दा थप सुरक्षित तरिकाले भेरिफिकेशन गर्न तथा ग्राहकले अथेन्टिकेट गन थ्रीडी सेक्यूर एसीएस सोलुसन अत्यन्तै सुरक्षित माध्यम मानिनेछ । बैंक र एनसीएचएलकोे यस पहलले बढ्दो ई(कमर्स कारोबारलाई अझ सुरक्षित बनाउनुका साथै ग्राहकहरूलाई अनलाइन कारोवार गर्न थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । एनसीएचएलले ईएफटी सेवाअन्तर्गत एसीएसका साथै विभिन्न नेटवर्क स्किम को कार्ड जारी गर्ने, कारोबार प्राप्ति गर्ने, कारोबार प्रोसेसि तथा सेटलमेन्ट, ई-कर्मस पेमेन्ट गेटवे कार्ड पर्सनलाइजेसन जस्ता कार्ड सम्बन्धी सेवाहरु आफ्नो सदस्य बैंक वित्तीय संस्थाहरुलाई दिदै आएको छ । एनसीएचएलले उक्त प्रणालीमा नेपालपे कार्ड समेतको कारोबार गर्न सकिने गरी आवश्यक प्रणाली विस्तार गरी परिक्षणको चरणमा रहेको छ । हाल एनसीएचएलको ईएफटी सर्भिसेजअन्तर्गत गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकका साथै सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक, ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक र संग्रिला विकास बैंक लगायतका बैंक वित्तीय संस्थाहरूलाई सेवा प्रदान गर्दै आएको छ । नेपालको अग्रणी विकास बैंकहरूमध्य गरिमा विकास बैंकको १ लाख ७५ हजारभन्दा बढी कार्डहरू तथा ५० वटा एटीएम तथा महालक्ष्मी विकास बैंकको १ लाख ३५ हजारभन्दा बढी कार्डहरू तथा ४९ वटा एटीएममार्फत देशभरीका ग्राहकहरूलाई सेवा दिँदै आएका छन् ।
चितवनमा नामी सार्वजनिक, बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न तयार
चितवन । नेपालमा डोङफेङ ईभीको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले चितवनमा आफ्नो प्रिमियम र स्मार्ट ईभी नामी सार्वजनिक गरेको छ । आइतबार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष सुमन श्रेष्ठ, युरो अटोमोटिभका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्य, एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त र एमएडब्ल्यू वृद्धि मोटर्सका बिक्री प्रमुख राजेन्द्र सिग्देललगायतले संयुक्त रूपमा नामी ईभी सार्वजनिक गरे । कार्यक्रममा एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्तले नामी ईभीले देशभरका ग्राहकहरूबाट व्यापक स्वीकारोक्ति र प्रशंसा पाइरहेको बताउँदै खुसी व्यक्त गरे । साथै उनले खरिद निर्णय गर्नु अघि ब्रान्डको विरासत र नेपालमा वितरकको विश्वसनीयता बुझ्नु पर्नेमा जोड दिए । चेम्बर अफ कमर्स चितवनका अध्यक्ष सुमन श्रेष्ठले यो भरपर्दो ब्रान्डको शुभारम्भका लागि बधाई र शुभकामना व्यक्त गरे । आफ्नो सेगमेन्टमा सबैभन्दा विलासी र इन्टेलिजेन्ट कार नामी ईभी चितवन बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न तयार रहेको कम्पनीले जनाएको छ । ह्याचब्याकको रूपमा वर्गीकृत भए पनि यसको आकार प्रतिस्पर्धीहरूको तुलनामा ठूलो रहेको छ । यसको आयाम र चौडाइ यसका प्रतिस्पर्धीहरू भन्दा बढी छ र यसमा धेरै सेगमेन्ट–फर्स्ट र सेगमेन्ट–उत्कृष्ट प्रविधिहरू उपलब्ध छन् । नामी ईभीले आफ्नो सेगमेन्टमा विलासिता र बुद्धिमत्ताको नयाँ मानक स्थापित गरेको छ । यसको आकर्षक डिजाइनमा विलासी भित्री भाग र उन्नत स्मार्ट प्रविधि निर्बाध रूपमा एकीकृत गरिएको छ । यसमा वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस ढोका, फ्लश ढोका ह्यान्डलहरू, अटो पार्किङ र टेबलटप सहितको यात्रु ड्रएरजस्ता सेगमेन्ट–फर्स्ट आविष्कारहरू रहेका छन् । ईभी उत्साहीहरूका लागि उपयोगी यो भविष्यवादी ह्याचब्याक नामी ईवान, नामी ईटू र नामी ईथ्री गरी तीन भेरियन्टहरूमा उपलब्ध छ जसको मूल्य ३० लाख २४ हजार रुपैयाँदेखि ३५ लाख ९९ हजारसम्म रहेको छ । शुभारम्भसँगै ग्राहकहरूमा थप उत्साह भर्न एमएडब्लू वृद्धिले माघ २१ गतेदेखि २३ गतेसम्म भरतपुरको सीएमटी रिसोर्टमा चितवनकै सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको आयोजना गर्दैछ । जहाँ ग्राहकहरूले यस अवधिमा विभिन्न विशेष अफरहरूको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ । यसमा सेरेस र नामी ईभीको खरिदमा निःशुल्क ७ किलोवाट चार्जर, ट्रेड–इनहरूको लागि असाधारण एक्सचेन्ज मूल्य र बोनस एवम् छिटो र सजिलो अन–साइट फाइनान्सिङका विकल्पहरू रहेका छन् ।
मर्जरको हुटहुटी, पाउँदैनन् पार्टनर
काठमाडौं । डेढ दर्जन बैंक तथा वित्तीय संस्था मर्जरका लागि इच्छुक देखिएका छन् । हालसम्म वार्षिक साधारणसभा सम्पन्न गरेका डेढ दर्जन बैंक तथा वित्तीय संस्थाले मर्जरको प्रस्ताव पारित गरेर आफू मर्जरको लागि तयार रहेको सन्देश वित्तीय क्षेत्रमा दिएका छन् । यद्यपि ती संस्थाले विगतका साधारण सभामा पनि मर्जरको प्रस्ताव पारित गर्दै आएका थिए । मर्जरको प्रस्ताव पारित गरे पनि हालसम्म मर्जर भने भएका छैनन् । विभिन्न कम्पनीको वार्षिक साधारण सभाको विशेष प्रस्ताव अध्ययन गर्दा चारवटा वाणिज्य बैंक, सातवटा विकास बैंक र पाँचवटा फाइनान्स कम्पनीले मर्जर तथा एक्विजिसनसम्बन्धी प्रस्ताव पारित गरेका छन् । यसले ती बैंक तथा वित्तीय संस्था अझै पनि मर्जर तथा एक्विजिसनका लागि तयार रहेको बुझ्न सकिन्छ । बैंक तथा वित्तीय संस्थाहरूको साधारण सभाले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने तथा गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने, प्रचलित नियम, कानुन बमोजिम बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य गर्न गराउन सभाले सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने अभ्यास छ । वाणिज्य बैंकहरूमा नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक, नबिल बैंक र प्राइम कमर्सियल बैंकले वार्षिक साधारण सभाबाट मर्जर तथा एक्विजिसन प्रस्ताव पारित गरेका छन् । नेपाल एसबिआई बैंकको हालै सम्पन्न ३१औं वार्षिक साधाण सभाले मर्जर तथा एक्विजिसन प्रस्ताव पारित गरेको हो । साथै बैंकले विगत ६ वर्षदेखि मर्जर प्रस्ताव पारित गर्दै आए पनि हालसम्म मर्जरको सम्झौता भने गरेको छैन । बैंकको ३०औं २९औं २८औं, २७औं, २६औं वार्षिक साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेको थियो । तर, यस अवधिमा बैंकले कुनै पनि संस्थासँग मर्जर तथा एक्विजिसनको सम्झौता गरेको छैन । सिटिजन्स बैंकले पनि १८औं वार्षिक साधारण सभाबाट मर्जर तथा एक्विजिसनसम्बन्धी प्रस्ताव पारित गरेको छ । यस बैंकले १२औं वार्षिक साधारण सभादेखि निरन्तर मर्जर तथा एक्विजिसन प्रस्ताव पारित गर्दै आएकाे छ । हालसम्म वाणिज्य बैंकसँग मर्जर नगर्ने बैंकमध्येमा सिटिजन्स बैंक पनि पर्छ । यस बैंकले पनि पार्टनर खोजिरहेको मर्जर प्रस्तावबाट बुझ्न सकिन्छ । नबिल बैंकको ४०औं वार्षिक साधारण सभाले पनि कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा जान सक्ने प्रस्ताव पारित गरेको छ । तत्कालीन नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेको दोस्रो वर्ष नै बैंकले मर्जर प्रस्ताव अघि सारेको थियो । अहिले नबिल पनि मर्जरमा जान सक्ने सम्भावना मर्जर तथा एक्विजिसनको प्रस्ताव पारितले देखिएको छ । प्राइम बैंकले सातौं वार्षिक साधारण सभादेखि निरन्तर मर्जर तथा एक्विजिसन प्रस्ताव पारित गर्दै आएको छ । बैंकको १७औं साधारण सभाले पनि मर्जरको प्रस्ताव पारित गरेको छ । उसो त यो अवधिमा बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थालाई गाभिसकेको छ । अझै बैंकले थप मर्जर गर्ने तयारीका साथ १७औं वार्षिक साधारण सभाबाट मर्जर प्रस्ताव पारित गरेको बुझ्न सकिन्छ । १७ वटा विकास बैंकहरूमध्ये हालसम्म साधारण सभा गरेका मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र मुक्तिनाथ विकास बैंकले वार्षिक साधारण सभाबाट मर्जर प्रस्ताव पारित गरेका छन् । मितेरी डेभलपमेन्ट बैंकको १९औं वार्षिक साधारण सभाले कुनै एक वा सो भन्दा बढी बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिनेसम्बन्धी सम्पूर्ण प्रक्रिया अवलम्बन गरी कार्यअघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । यस बैंकले पनि १३औं वार्षिक साधारण सभादेखि हालसम्म नियमित रुपमा मर्जर प्रस्ताव पारित गर्दै आएको छ । गरिमा विकास बैंकको १८औं वार्षिक साधारण सभाबाट मर्जर प्रस्ताव पारित भएको छ । यस बैंकले पनि १२औं साधारणसभाबाट नियमित मर्जरको प्रस्ताव पारित गर्दै आएको छ । ज्योति विकास बैंकको १७औं वार्षिक साधारण सभाले पनि मर्जर प्रस्ताव पारित गरेको छ । यस्तै बैंकको ११ औं वार्षिक साधारण सभादेखि नियमित रूपमा मर्जरको प्रस्ताव पारित गर्दै आएको छ । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको १७औं वार्षिक साधारण सभाले पनि मर्जरको प्रस्ताव पारित गरेको छ । यस बैंकले पनि ११औं साधारण सभादेखि निरन्तर मर्जरको प्रस्ताव पारित गर्दै आएको छ । सांग्रिला डेभलपमेन्टको २०औं वार्षिक साधारण सभाले पनि मर्जर प्रस्ताव पारित गरेको छ । यस बैंकले पनि औं वार्षिक साधारण सभादेखि मर्जरको प्रस्ताव पारित गर्दै आएको छ भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पनि १०औं वार्षिक साधारण सभादेखि मर्जरको प्रस्ताव पारित गर्दै आएको छ । यस बैंकको १६औं वार्षिक साधारणसभाले पनि मर्जरको प्रस्ताव पारित गरेको छ । मुक्तिनाथ विकास बैंकको १८औं वार्षिक साधारण सभाले पनि मर्जर प्रस्ताव पारित गरेको छ । यस बैंकले पनि १२औं साधारण सभादेखि मर्जरको प्रस्ताव पारित गर्दै आएको छ । सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंकले भने वार्षिक साधारण सभा बोलाउन बाँकी छ । यसअघिको वार्षिक साधारण सभाबाट भने यी बैंकले मर्जर प्रस्ताव पारित गरेका थिए । यस्तै, नेपाल फाइनान्स, समृद्धि फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र मञ्जुश्री फाइनान्सले मर्जर तथा एक्विजिसन प्रस्ताव पारित गरेका छन् । नेपाल फाइनान्सको ३२औं वार्षिक साधारण सभाले मर्जरको प्रस्ताव अघि सारेको छ । यस फाइनान्सले पनि विगत चार वर्षदेखि मर्जरको नीति अगाडि सारिरहेको छ । यस्तै, समृद्धि फाइनान्सले पाँच वर्ष, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले विगत सात वर्ष र मञ्जुश्री फाइनान्सले विगत आठ वर्षदेखि मर्जरको प्रस्ताव पारित गर्दै आएको छ । तर, मर्जर भने हुन सकेको छैन । यस्तै, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले पनि मर्जरको प्रस्ताव गरेको छ । पोखरा फाइनान्स, बेस्ट फाइनान्स, जानकी फाइनान्सले वार्षिक साधारण सभा बोलाउन बाँकी छ । तर, यी फाइनान्स कम्पनीकाे अघिल्ला वार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गरेका थिए । कुनै समय ३२ वटासम्म पुगेका वाणिज्य बैंकको संख्या हाल २० वटामा झरिसकेको छ । अघिल्लो वर्ष मात्रै ७ दर्जन वाणिज्य बैंक मर्जरमा गएका थिए । कुनै समय ९०/९० को हाराहारीमा रहेका विकास बैंक र फाइनान्स कम्पनी हाल घटेर १७/१७ वटामा झरेका छन् । धमाधम मर्जर तथा एक्विजिसन गराएको नेपाल राष्ट्र बैंकले पछिल्लो समय भने लघुवित्त वित्तीय संस्थाहरूको संख्या घटाउनतर्फ लागेको छ । मर्जर तथा एक्विजिसनका माध्यमबाट लघुवित्त संस्थाहरू हाल ५२ वटामा सीमित छन् । बैंक तथा वित्तीय संस्थाहरूको संख्या उच्च भएपछि विगतमा नेपाल राष्ट्र बैंकले मर्जरको नीति अघि सारेको थियो । मर्जर तथा एक्विजिसनमा सामेल भएका संस्थालाई थप सुविधा दिने राष्ट्र बैंकको नीतिले संख्या घट्न ठूलो भूमिका खेलेको देखिन्छ । केही संस्थालाई दबाब दिएरै भए पनि राष्ट्र बैंकले मर्जरमा सामेल गराएको थियो । राष्ट्र बैंकको नजरमा हाल कायम रहेका बैंकको संख्या घटाउने नभएपनि बैंक तथा वित्तीय संस्थाहरूले भने स्वतस्फूर्तरूपमा मर्जर तथा एक्विजिसनको नीति अवलम्बन गरिरहेका छन् ।