माओवादी पार्टीमा जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको पार्टीमा पछिल्लो समय जनताको आकर्षण बढेको बताएका छन् । बागलुङमा आज आयोजित स्नेह मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उजले १८ महिना सरकारको नेतृत्व गर्दा गरेको कामले जनतामा भरोसा छरेको बताए । विगतका कमीकमजोरीलाई समीक्षा गरेर माओवादी केन्द्र अगाडि बढेको हुँदा वडा तहबाटै सङ्गठन राम्रो हुँदै गएको अध्यक्ष दाहालको भनाइ छ । पछिल्लो समय सात वटै प्रदेशबाट माओवादी केन्द्रमा आउने नेता तथा कार्यकर्ताको सङ्ख्या ठूलो रहेको भन्दै उनले अब पहिलो पार्टी बन्न धेरै समय नलाग्ने दाहालले दाबी गरे । पछिल्लो समय माओवादीका लागि ठूलो अवसर आएको भन्दै अध्यक्ष दाहालले सरकारलाई सही बाटोमा ल्याउन विपक्षी दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । जनस्तरबाटै माओवादी सरकारले गरेका कामको प्रशंसा हुन थालेकाले कार्यकर्ताले राम्रो कामको प्रचार गर्नुपर्नेमा उनको जोड छ । माओवादीनै परिवर्तनको वाहक भएको स्पष्ट पार्दै अध्यक्ष दाहालले माओवादी सरकारले गरेका सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र भ्रष्टाचार विरोधका पक्षमा जनताको चासो रहेको हुँदा सङ्गठन निर्माणमा थोरै मेहनत गरे पार्टीलाई पहिलो बनाउन समस्या नहुने बताए ।
दैलेखको तोलीजैसी केन्द्रविन्दु भएर गयो भूकम्प
काठमाडौं । दैलेख जिल्लाको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख जिल्लाको तोलीजैसी आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।
आधुनिक, प्रभावकारी एवम् विश्वसनीय सूचना प्रविधि प्रणालीको विकासमा अर्थमन्त्रीको जोड
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणालीलाई पूर्णरूपमा आधुनिक, प्रभावकारी एवम् विश्वासनीय बनाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालय र मातहतका निकायहरूमा प्रयोगमा रहेका विभिन्न सूचना प्रविधि प्रणालीको अवस्था सम्बन्धमा अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनले निर्देशन दिएका हुन् । वर्तमान अवस्थामा सेवाप्रवाहलाई चुस्तदुरुस्त एवम् छिटो छरितो र प्रभावकारी बनाउनका लागि सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको उल्लेख गर्दै उनले अब तदर्थवादी ढंले चल्ने स्थिति नरहेको बताए । सेवा प्रवाहलाई भरपर्दो र अविछिन्न बनाउन अत्याधुनिक प्रविधिको प्रयोगलाई बढाउँदै जानुपर्ने, सूचना प्रणालीका कारण कुनै पनि काम प्रभावित हुन नहुने, साथै प्रविधि सञ्चालनका लागि आवश्यक योग्य जनशक्ति र प्राविधिक सक्षमता विकसित गर्दै जानसमेत अर्थमन्त्री पौडेलले सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिए । हरेक निकाय सूचना प्रणालीमा सक्षम भएमात्र गुणस्तरीय सेवा प्रवाह हुन सक्ने उनको भनाइ छ । कार्यक्रममा सहभागी निकायका अधिकारीहरूले आ-आफ्नो निकायमा सञ्चालनमा रहेका सूचना प्रविधिसम्बन्धी प्रणालीहरूको आवधिक रूपमा सेक्युरिटी अडिट गर्ने गरिएको र सुरक्षाका दृष्टिकोणले सबल रहेको बताउँदै प्रणालीको ब्याकअप क्षमता वृद्धि गर्न थप लगानी योजना प्रस्तुत गरेका थिए । साथै सूचनाप्रविधिको प्रयोग बढाउँदै जाँदा दक्ष प्राविधिक जनशक्तिको माग बढ्दै जाने तर त्यस्ता जनशक्तिलाई संस्थाभित्र टिकाई राख्न न्यून सेवासुविधाका कारण चूनौतीपूर्ण रहेको बताएका थिए । यस्ता समस्यालाई सम्बोधन गर्नका लागि सरकारले उपयुक्त नीतिगत निर्णय लिने पनि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए । बैठकमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, महालेखा नियन्त्रक कार्यालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नागरिक लगानी कोष, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नागरिक लगानी कोष, नेपाल स्टक एक्सचेन्ज, राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल बैङ्क लिमिटेड लगायतका अधिकारीहरूको सहभागिता रहेको थियो ।
पछिल्लो समय अर्थतन्त्र लयमा फर्कन थालेको छ : अध्यक्ष ढकाल
काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय अर्थतन्त्र सुधार हुन थालेको बताएका छन् । राजस्व अनुसन्धान विभागले आयोजना गरेको राजस्व चुहावट नियन्त्रयासँग सम्बन्धित नवीन प्रावधानहरू र भीसीटीएसको प्रयोग तथा परिपालनासम्बन्धी आन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको मासिक प्रतिवेदनलाई उल्लेख गर्दै अर्थतन्त्र लयमा फर्किन थालेको दाबी गरेका हुन् । अर्थतन्त्रका वाह्य र आन्तरिक क्षेत्रहरू लयमा फर्किएको, आयात र निर्यात वृद्धि भएको, कर्जा विस्तार ५.२ प्रतिशतले वृद्धि, राजस्व १२ प्रतिशतले वृद्धि भइरहेकाले बजार चलायमान भएको उनको भनाइ छ । यो धेरै राम्रो अवस्था नभए पनि सकारात्मक तरिकाले अघि बढ्को अध्यक्ष ढकालले बताए । यस्तै, उनले सरकारले पछिल्लो समय अध्यादेशमार्फत गरेको कानुनी संशाेधनले नीजि क्षेत्रलाई सकारात्मक बल पुगेको बताए । उनले कानुन निर्माणसँगै कार्यन्वयनमा पनि ध्यान दिन सरकारलाई अनुरोध गरे । उनले भने, ‘सरकारले एकैसाथ १२ वटा कानूनलाई अध्यादेशमार्फत संसोधन गरेको छ । त्यो अनुसारको नीति, कार्यविधि बनाएर कार्यन्वयतर्फ अघि बढ्न सरकारलाई अनुरोध गर्दछु ।’ निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न सकिएन भने रोजगारी र राजस्वमा चाप पर्ने र सग्रह अर्थतन्त्रलार्य नै असर गर्ने अध्यक्ष ढकालकाे भनाइ छ । यसका लागि व्यवसायीमैत्री नीतिमा सरकारले प्राथमिकता दिनुपर्नेमा उनले जाेड दिए । उनले भने, ‘निजी क्षेत्रको लगानीलाई प्रोमोट गर्न सकिएन भने निजी क्षेत्रले व्यवसायी क्रियाकलाप अघि बढाउन सकेन भने त्यसले राेजगारी, राजस्व र पुर्वधार निर्माणमा नकरात्मक असर पुग्छ । त्यसकारण पनि राम्रा कानुनलाई कार्यान्वयन गर्न सरकारले तदारुकता देखाउनु पर्दछ ।’
जोखिमयुक्त झोलुङ्गे पुलमा त्रासको यात्रा गर्दै तीर्थालु
डुम्रे । तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटधाममा दर्शन गर्न जाने दर्शनार्थी त्रासमा यात्रा गर्न बाध्य बनेका छन् । देवघाटधाममा चलिरहेको एकमहिने धार्मिक महोत्सवमा आवतजावत गर्ने पुल नै जीर्ण बनेपछि त्रास बढेको उनीहरूको भनाइ छ । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलबाट आवतजावतमा समस्या हुनाका साथै जोखिममा यात्रा गर्न भक्तजन बाध्य छन् । भीड धेरै हुँदा पुल चुँडिने जोखिम भएपछि आवतजावतका लागि सीमा तोकिएको छ । जोखिम न्यूनीकरणका लागि एक पटकमा १०० जना मात्र आवतजावत गर्न स्थानीय प्रशासनले अनुमति दिएको छ । भीड बढी हुँदा अनुमति कार्यान्वयनमा आउन मुस्किल भएको छ । जोखिमबाट बच्नका लागि पुलको दुवैतर्फ प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा त्रिशूली नदीमा रहेको ४४ वर्ष पुरानो उक्त झोलुङ्गे पुलमा तीर्थयात्रीको चाप बढ्दा जोखिम भएकाले सीमा निर्धारण गरिएको उल्लेख गरिएको छ । उक्त पुलमा वारपार गर्न नियन्त्रित रुपमा एक पटकमा १०० व्यक्तिमात्रै आवतजावत गर्ने र मोटरसाइकल पूर्ण रुपमा बन्द गर्ने व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालयसहित सबै सरोकारवालालाई निर्देशन दिइएको छ । सस्पेन्सन बृज डिभिजन पुल्चोक ललितपुरले सोमबार जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै उक्त पुल तथा सर्वसाधारण यात्रुको सुरक्षाका लागि पुलमा सावधानीका सबै उपाय अवलम्बन गर्न अनुरोध गरेको थियो । सो ठाउँमा मोटरेबल पुल नहुँदा भक्तजन अझै पनि झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भएका छन् । वर्षौंअघि देखि मोटर चल्ने पुलको माग राखे पनि सुनुवाइ नहुँदा भक्तजन बढ्दाको समयमा समस्या भएको तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । माघेसङ्क्रान्ति मेला लाग्ने बेलामा मात्रै समस्या आउने गरेको जीर्ण अवस्थामा पुगेको झोलुङ्गे पुलको यात्रामा अहिले अझ जोखिम बढेको उनले बताए । ‘देवघाटधाममा भक्तजनको हिन्दू धर्मावलम्बी आउने स्थान हो, सहज हुने गरी झोलुङ्गे पुल भएकै स्थानमा मोटरेबल पुलको आवश्यकता छ,’ उनी भन्छन्,‘अकल्पनीय घटना नघटोस् भनेर पटक पटक सम्बन्धित निकायसमक्ष यस स्थानमा मोटरबेल निर्माण गर्न माग गरिरहेका छौँ, तर हाम्रो मागको सुनुवाइ भने भएको छैन ।’ चितवनको दासढुङ्गा, ठिमुरा र नवलपुरतर्फमा मोटरवेल पुल छन् । तर आफ्ना सवारी साधन नभई दर्शनका लागि आउने भक्तजनलाई घुमाउरो पर्ने हुँदा पनि जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न भक्तजन बाध्य भएका हुन् । उक्त पुल विसं २०३७ मा निर्माण गरिएको हो । भक्तजनको आवतजावत बढ्ने समयमा मर्मत गर्दै सञ्चालनमा ल्याउने गरिएको छ ।
सुत्केरी र गर्भवतीका लागि भाले र पोथी कुखुरा वितरण
काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिकाले गर्भवती तथा सुत्केरीलाई कुखुरा वितरण गरेको छ । ‘आफै पाल्दै, आफै खाँदै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीको पोषणका लागि कुखुरा वितरण गरेको जनाएको छ । पालिकाले छवटै वडामा रहेका गर्भवती तथा सुत्केरीलाई एक/एक वटा भाले, दुई वटा पोथी कुखुरा वितरण गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । वितरण गरिएको कुखुरा पालेर महिलाहरूले आवश्यक रुपमा अण्डा, मासुको रूपमा प्रयोग गर्न सक्ने अध्यक्ष राईको विश्वास छ । गाउँपालिकाले सुत्केरी, गर्भवती र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गरेर यो कार्यक्रम नियमित रूपमा सञ्चालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । वितरण गरिएको पोथी भने उनीहरूले दुई वर्षसम्म पाल्नुपर्ने नियम छ । गर्भवतीले प्रत्येक पटक स्वास्थ्य संस्थामा जाँच गराएवापत एक क्यारेट अण्डासमेत पालिकाले वितरण गरिरहेको छ । कार्यक्रमअन्तर्गत सोमबार पौवादुङमा पाँच सानोदुम्माका १२ जना गर्भवती तथा सुत्केरीलाई एक/एक वटा भाले र दुईवटा अण्डा दिने पोथी वितरण गरिएको छ ।
एनटीसीलाई एनसेलको शुभकामना- सँगै सहयात्रा गर्न पाउँदा गौरवान्वित छौं
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम (एनटीसी) आजदेखि २० वर्ष पुरा गरी २१औं वर्षमा प्रवेश गरेको छ । विभिन्न कार्यक्रमको आयोजना गरी कम्पनीले २१औँ वार्षिकोत्सव मनाइरहेको छ । कम्पनीको २१औं वार्षिकोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल लगायत सरोकारवाला सबैले कम्पनीलाई शुभकामना व्यक्त गरेका छन् । दूरसञ्चार क्षेत्रमा नेपाल टेलिकमको एक्लो प्रतिस्पर्धी हो एनसेल । एनसेलले आफ्नै प्रतिस्पर्धी नेपाल टेलिकमको २१औं वार्षिकोत्सवको शुभकामना दिएको छ । यसरी आफ्नै प्रतिस्पर्धी कम्पनीलाई शुभकामना व्यक्त गरेको कुनैपनि क्षेत्रमा विरलै देखिन्छ । तर, एनसेलले भने व्यावसायीक प्रतिस्पर्धालाई टाढै राखेर शुभकामना दिने गरेको छ । ‘देशको दूरसञ्चार क्षेत्रको विकासमा सधैं सँगै योगदान पुयाउँदै उज्ज्वल डिजिटल भविष्य निर्माणका लागि मेरुदण्ड बनेर निरन्तर सहयात्रा गर्न पाएकोमा हामी अत्यन्तै गौरवान्वित छौं,’ नेपाल दूरसञ्चार कम्पनीलाई २१औं वार्षिकोत्सवको शुभकामना दिँदै भनेको छ, ‘सुखद अवसरमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछौं ।’ दूरसञ्चार क्षेत्रलाई खुला प्रतिस्पर्धी बनाई मुलुकभर सर्वसुलभ र भरपर्दो अत्याधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउन नेपाल दूरसञ्चार संस्थानलाई नेपाल दूरसञ्चार कम्पनीमा रूपान्तरण गरिएको हो । कम्पनीमा परिणत भएपछि यस कम्पनीले ‘नेपाल टेलिकम’को नामबाट आफूलाई परिचित गराई व्यावसायिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ । वि.सं. १९७३ मा ओपन वायर म्याग्नेटो सिस्टम प्रयोग गरी मुलुकमा दूरसञ्चार सेवा प्रारम्भ भएको मानिन्छ । वि.सं. १९७४ देखि सर्वसाधारणले समेत टेलिफोन प्रयोग गर्नसक्ने व्यवस्था भएको थियो भने वि.सं. १९९१ मा टेलिफोन हेड अफिस कार्यालयको स्थापना भएपछि वि.सं. १९९२ देखि मात्र दूरसञ्चार सेवा निजी प्रयोगमा समेत उपलब्ध हुन थालेको देखिन्छ । वि.सं. २००५ मा मोहन आकाशवाणीको नामबाट आकाशवाणी सेवा शुरु भयो । यसको कार्यालयलाई ‘आकाशवाणी हेड अफिस’ को नामबाट चिनिन्थ्यो । वि.सं. २०१६ सालमा आकाशवाणी हेड अफिस र टेलिफोन हेड अफिस कार्यालयलाई एकै ठाउँमा गाभेर निर्माण यातायात र सञ्चार मन्त्रालयअन्तर्गत ‘दरसञ्चार विभाग’ को स्थापना भएको थियो । यस विभागलाई वि.सं. २०२६ साल कात्तिक १ गते दूरसञ्चार समितिमा परिणत गरियो र वि.सं. २०३२ साल असार १ गते नेपाल दरसञ्चार संस्थानमा परिणत गरिएको थियो । वि.सं. २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेड स्थापना भयो । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको यस संस्थानलाई वि.सं. २०६१ वैशाख १ गते नेपाल दरसञ्चार कम्पनी लिमिटेडमा रूपान्तरण गरिएकाे हाे ।
स्थापना भएको पाँच वर्षपछि औषधी लिमिटेडले पायो जीएमपी प्रमाणपत्र
काठमाडौं । नेपाल औषधी लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधी उत्पादन अभ्यास (जीएमपी) प्रमाणपत्र प्राप्त गरेको छ । स्थापना भएको पाँच दशकपछि जीएमपी प्रमाणपत्र पाएको कम्पनीका महाप्रबन्धक कैलाशकुमार पनेरुले बताए । विसं २०२९ सालमा कम्पनी स्थापना हुँदा जीएमपीको प्रावधान थिएन । यो प्रावधान आएपछि कम्पनीले औषधी उत्पादन बन्द गरेको थियो । विसं २०७४ सालदेखि कम्पनीले मापदण्डमा औषधी उत्पादन सुरु गरेपछि सोमबार प्रमाणपत्र प्राप्त गरेको हो । पनेरुले प्रमाणपत्र प्राप्त गर्नु आफैमा ठूलो उपलब्धी भएको बताए । हाल कम्पनीले ओरल रिहाइड्रेसन साल्ट (ओआरएस), ट्याबलेट र हेमोडालाइसस फ्लूड (पार्ट–१ र २) अन्तर्गत १४ प्रकारका औषधि उत्पादन गरिरहेको छ । कम्पनीले आगामी दिनमा दीर्घरोगीका लागि लक्षित गरी कोलेस्ट्रोल, सुगर र प्रेसरको औषधी उत्पादनका योजना बनाएको महाप्रबन्धक पनेरुले बताए । सरकारबाट आवश्यक बजेट विनियोजन भए कम्पनीको योजनामा रहेका सबै ९८ वटा प्रकारका औषधि उत्पादन गर्न समेत सकिने पनेरुलेको भनाइ छ । दीर्घरोगीका लागि औषधी उत्पादन गर्न काठमाडौं महानगरपालिकासँग सहकार्य सुरु गर्ने बताइएको छ । पनेरुले कम्पनी र काठमाडौँ महानगरपालिकाबीच दीर्घरोगीका लागि औषधि उत्पादनका लागि समझदारी पत्रमा हस्ताक्षर भइसकेको बताए ।