वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा गुरूङ निर्वाचित, यस्तो बन्यो कार्यसमिति
काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा भुवन सिंह गुरूङ निर्वाचित भएका छन् । सङ्घको आज बिहान सम्पन्न मतपरिणाममा गुरुङले अर्को उम्मेदवार नरेश गेलाललाई ६१ मतान्तरले हराउँदै विजयी भएका हुन् । अध्यक्षमा गुरुङले ४२८ मत प्राप्त गरे भने गेलालले ३६७ मत प्राप्त गरेका छन् । अध्यक्षमा निर्वाचित गुरुङ सङ्घको पूर्व द्वितीय उपाध्यक्ष एवं गुरुङ म्यानेजमेन्ट प्रालिका सञ्चालक हुन् । यस्तै, प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देव कुमार खोखाली र तृतीय उपाध्यक्षमा बैकुण्ठ प्रसाद पौडेल निर्वाचित भएका छन् । यस्तै, महासचिवमा महेश कुमार बस्नेत निर्वाचित भएका छन् । बस्नेतले ४२३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कर्णराज कटुवालले ३६२ मत प्राप्त गरे । यसैगरी, सचिवमा कुन्छा दोर्जे डिमडुङ र कोषाध्यक्षमा धनमाया सिञ्जाली निर्वाचित भइन् । सदस्यमा भने रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, रामकाजी भोलान, सुवर्ण लामा, हिमा गुरूङ, रमा खड्का, देवीप्रसाद गिरी, सुमनराज पाण्डे, विद्यालक्ष्मी बज्राचार्य विजयी भएका नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका अध्यक्ष दीपक थापाले जानकारी दिए ।
६९ मेगावाटको मर्स्याङ्दीबाट ३० मेगावाट मात्रै विद्युत् उत्पादन
काठमाडौं । तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ । ६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३० मेगावाट अर्थात् ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भएको हो । लामो समयदेखि सुख्यायाम हुँदा नदीमा पानीको बहाव कमी भएकाले उत्पादन ह्वात्तै घटेको केन्द्रका प्रमुख इञ्जिनीयर पशुपति गौतमले बताए । गौतमले भने, ‘यस वर्षको हिउँदमा पानी परेन, लामो खडेरीले गर्दा विद्युत् उत्पादन घटेर ४० प्रतिशत झरेको छ ।’ हाल ४० मेगावाट विद्युत् उत्पादन हुनुपर्नेमा लामो खडेरी गर्दा ३१ मेगावाट पुगेको गौतमले जानकारी दिए । केन्द्रमा २३/२३ मेगावाटका ३ वटा टर्याइन रहेका छन् । यो केन्द्र सन् १९८९ मा निर्माण सम्पन्न भएको हो । सो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौंको स्युचाटार स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ । सुख्यायाम भएकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेको तथा कतिपय सुकेकाले उत्पादनमा असर परेको गौतमले जानकारी दिए । केन्द्र प्रमुख गौतमले भने, ‘वैशाख लागेपछि घाम चर्को लाग्ने हुँदा हिउँ धेरै पग्लने र वर्षा बढी हुने भएकाले उत्पादन बढ्दै जाने विश्वास लिइएको छ ।’ सुक्खा मौसममा विद्युत् उत्पादन कम हुँदा प्राधिकरणले भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता छ । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घटेसँगै विद्युत् उत्पादन पनि घट्ने गरेको हो ।
घरायसी प्रयोजनको सामान ल्याउन कोरला नाका खुला, व्यापारीका समस्या समाधान गर्न पहल चाल्ने
काठमाडौं । कोरला नाकाबाट घरायसी प्रयोजनका लागि चाहिने मालसामान ल्याउन कुनै रोकावट नभएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । लोमानथाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा शुक्रबार लोमानथाङ भएको कोरलानाका व्यापार प्रवर्द्धन सम्बन्धी छलफलमा मुस्ताङ भन्सार कार्यालयले उक्त जानकारी दिएको हो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको उपस्थितिमा भएको छलफलमा मुस्ताङ भन्सार, अध्यागमन कार्यालय, प्रशासन, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र स्थानीय व्यापारीको उपस्थितिमा व्यापार प्रवर्द्धनमा हाल देखिएका समस्या र त्यसको समाधानको बाटो पहिल्याउन छलफल भएको थियो । मुस्ताङ भन्सार कार्यालयका प्रमुख करबिर गैरेले भन्सार कार्यालयमा स्थानीय कर्मचारी व्यवस्थापन गर्न समस्या भएको बताए । नाका खुले पनि मुस्ताङ कार्यालयमा आवश्यक जनशक्ति र पूर्वाधार नहुँदा कोरला नाकाबाट आयात गरिने सामानको राजश्व सङ्कलन गर्न समस्या भएको प्रमुख गैरेले उल्लेख गरे । तर व्यापारिक प्रयोजन छोडेर घरायसी सामान ल्याउन सरकारले नै व्यवस्था गरेकाले त्यस्ता सामान ल्याउन भन्सार कार्यालयले कुनै बाधा नपुर्याउने उनले बताए । भन्सारको पूर्वाधार नभएको र तत्कालको अवस्था व्यापारिक प्रयोजनका लागि सामान ल्याउन दिँदा अवैध गतिविधि बढ्ने सम्भावना रहेको भन्सार प्रमुख गैरेको भनाइ छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले कोरला नाकाबाट व्यापार सहज बनाउन भन्सार कार्यालयले ध्यान दिनुपर्ने बताए । कोरला नाका व्यापार प्रवर्द्धन सम्बन्धी बसेको छलफलमा (नेपाल-चीन) दुई देशबीचको कोरला नाकाबाट सामान ल्याएर व्यापार सुरु गर्ने र स्थानीय व्यापारीको समस्या समाधान गर्नका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएको लोमानथाङ गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत विकास केसीले जानकारी दिए । यसैगरी कोरला नाकाको व्यापार सहजीकरणको लागि भन्सार, अध्यागमन कार्यालयको सञ्चालन गर्ने र भन्सार कार्यालयसँग सम्बन्धी अन्य कार्यालयको स्थापना गर्न पहल गर्ने निर्णय गरिएको छ । यस्तै उपल्लो मुस्ताङको सीमावर्ती गाउँपालिकामा स्थानीय व्यापारीलाई सहज रूपमा व्यापार गर्ने कार्यका लागि सहजीकरणको पहल गर्ने निर्णय भएको छ । कोरला नाका २०८० कार्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका नागरिकका लागि बाह्रै महिना खुल्ला भएको हो । तर गत पुसमा कोरला नाकाबाट अवैध रूपमा विद्युतीय चुरोट (भेप) बरामद भएपछि यस नाकाबाट सामान ल्याउन मुस्ताङ भन्सार कार्यालयले कडा निगरानी गरेको छ । नाका खुलेको १४ महिनासम्म सहज व्यापार गर्दै आइरहेका उपल्लो मुस्ताङले पछिल्लो पाँच महिनादेखि कोरला नाकाबाट सामान ल्याएर व्यापार गर्न पाएका छैन ।
जुम्ला–रारा ५१ किलोमिटर म्याराथन वैशाख २७ गतेदेखि, बेलायत, इटाली र अमेरिकाका धावक आउने
काठमाडौं । जुम्ला सदरमुकाम खलङ्गा बजारमा आगामी वैशाख २७ गतेदेखि प्रतियोगिता सुरु हुने भएको छ । कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा छैटौँ संस्करणको जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको हो । खेलकुद पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको क्लबले विगत १७ वर्षदेखि जुम्लामा खेलकुद विकास, सामाजिक उत्थान र बालबालिकाको हितमा काम गर्दै आएको छ । क्लबका संरक्षक तथा ओलम्पियन हरिबहादुर रोकायाको नेतृत्वमा प्रतियोगिता हरेक वर्ष हुँदै आएको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए। अन्तर्राष्ट्रिय मापदण्डअनुसार दूरी ५१ किलोमिटर तोकिएको छ । अध्यक्ष शाहीले भने, ‘दौडको रुट पनि परिवर्तन गरिएको छ । यसबाट जुम्लादेखि रारासम्मको पदयात्रा प्रवर्द्धनसमेत योगदान पुग्ने विश्वास छ ।’ प्रतियोगिताका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालयले सहयोग गरेको छ । माथिल्लो मिलीचौरदेखि राराताल किनार, ठाकुर बाबाको मन्दिर हुँदै हुटुमा समापन हुने गरी तय गरिएको क्लबका अध्यक्ष शाहीले जानकारी दिए । दौडमा सहभागी खेलाडीले तिरेको दर्ता शुल्कको १० प्रतिशत उच्च पर्वतीय प्रशिक्षण भवन निर्माणका लागि छुट्याइएको छ । भवन क्लबका संरक्षक रोकायले प्रदान गरेको जग्गामा निर्माण गरिनेछ । प्रतियोगितामा ५१ किलोमिटर अल्ट्रा दौड, ५ किलोमिटर खुल्ला दौड (उद्योगी, व्यापारी, कर्मचारी) र १९ वर्ष मुनिका विद्यार्थीका लागि १० किलोमिटर दौडको व्यवस्था गरिएको छ । दौडमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय धावकको सहभागिता रहने छ । विगतमा बेलायत, नेदरल्यान्ड, भारत, इटाली र अमेरिका समेतबाट समेत धावकले भाग लिएका थिए । दौड चन्दननाथ भैरवनाथको आँगन, खलङ्गा बजारको जुम्लाबाट शुरु भई मुगुको रारा तालको हुटुमा समापन हुने छ । ५१ किलोमिटर प्रतियोगितामा प्रथम हुने (महिला/पुरुष) १/१ लाख रुपैयाँ प्रदान गरिने छ । यस्तै (महिला र पुरुष) दोस्रो स्थान हासिल गर्नेलाई जनही ७५ हजार रुपैयाँ, तृतीयलाई ५० हजार रुपैयाँ, चौथोलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ । ५ किलोमिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई (महिला र पुरुष) ५ हजार रुपैयाँ, दोस्रोलाई ३ हजार रुपैयाँ र तृतीय हुनेलाई ३ हजार रुपैयाँ प्रदान गरिने छ । विद्यालयस्तरीय १० किलोमिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई (महिला/पुरुष) १० हजार रुपैयाँ, दोस्रो हुनेलाई ६ हजार रुपैयाँ र तृतीय हुनेलाई ४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
जनावरले खाएर सखाप पार्न थालेपछि धान लगाउने खेतमा माछापालन
काठमाडौं । वन्यजन्तुले बालीनालीमा क्षति पुर्याएपछि मध्यवर्ती वन सीमासँग जोडिएका किसान माछा पालनतर्फ लागेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यवर्ती क्षेत्रबाट आउने वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि यहाँका कतिपय किसान माछा पालनतर्फ लागेका हुन् । कावासोती नगरपालिका-७, साँढका सडक कुमार चौधरीले आफूले पहिले धान खेती गदै आएको जमिनमा पोखरी खनेर माछा पालन गर्दै आएको बताए । धान लगायतका अन्य बाली राम्रो हुने भए पनि भित्र्याउने समयसम्म मध्यवर्ती वनबाट आउने वन्यजन्तुले सबै क्षति पुर्याउन थालेपछि टोलका सबैले सल्लाह गरी पोखरी खनेर माछा पालन सुरु गरेको उनले बताए । ‘पहिला धान राम्रै फल्थ्यो, जनावरले खाएर सखाप पार्न थालेपछि पोखरी खनेर माछा पाल्न थालेका हौँ,’ चौधरीले भने । पोखरी खन्न मध्यवर्ती सामुदायिक वनले समेत सहयोग गरेको हो । माछा पालनबाट राम्रै आम्दानी गर्न सकिने गरेको चौधरीले बताए । यहाँका रामनगर, साँढ र गैरी टोलका प्रायः सबैले माछा पालन गरेका छन् । वन सीमासँग जोडिएका यी टोलमा मात्र करिब १०० पोखरी रहेको कावासोती नगरपालिका-७ का वडाध्यक्ष गोविन्दप्रसाद महतोले बताए। वन्यजन्तुले लगाएको बाली खाएर सताएपछि पोखरी खनेर माछा पालन गर्न थालेका स्थानीयको आम्दानीको माध्यम पनि माछा पालन भएको छ । ‘वन्यजन्तुले बाली नाली खान्थ्यो, अब माछा खानेकुरा भएन, राम्रो नै रहेको छ, केहीले आम्दानीसमेत धेरै राम्रो गरेका छन्,’ वडा अध्यक्ष महतोले भने। वडाले गत वर्ष ५० प्रतिशत अनुदानमा माछाको दानासमेत उपलब्ध गराएको उनले बताए । कावासोती नगरपालिका पशुपन्छी विकास शाखाका प्रमुख डा टेकराज पौडेलका अनुसार पालिकाको मध्यवर्ती सामुदायिक वनसँग जोडिएका वडामा माछा पालन गर्ने किसान बढ्दो रहेको छ । वन्यजन्तुले बालीमा क्षति पुर्याउँदा त्यसको विकल्प र उक्त क्षेत्रमा पानीको राम्रो स्रोत भएका समेतले माछा पालन गर्ने किसान बढ्दो रहेको उनले बताए । पालिकाको वडाहरू ७, १०, ११, १३, १४, १५, र १७ लाई माछा पकेट क्षेत्रका रूपमा रहेको शाखा प्रमुख डा पौडेलले बताए । कावासोतीमा माछाको उत्पादन बढ्दै गएको उनको भनाइ छ । ‘कावासोती नगरपालिकामा पछिल्लो समय माछा पालन गर्ने किसान बढ्दै गएका छन्, उनीहरूले आम्दानी पनि राम्रो लिने गरेका छन्, पालिकाले पकेट क्षेत्र घोषणा गरी त्यसमा केही सहयोग समेत पुर्याउँदै आएको छ,’ शाखा प्रमुख डा. पौडेलले भने । कावासोती नगरपालिकाले माछा पालन गर्ने किसानलाई मत्स्य यान्त्रिकरण सहयोग कार्यक्रम राखेर मोटर, एरिएटर, जाललगायतका सामग्री ७५ प्रतिशत अनुदानमा उपलब्ध गराएको, समय समयमा माछाको भुरा अनुदानमा उपलब्ध गराउने लगायतका सहयोग गर्दै आएको शाखा प्रमुख डा पौडेलले बताए । अहिले पनि साना माछा पोखरीको डिल भत्किने समस्या हुने हुँदा त्यसको सुरक्षाका लागि ट्रिपोलिन प्लास्टिक वितरण गर्न लागिएको शाखा प्रमुख डा पौडेलले बताए ।
यी तीन प्रदेशमा मध्यम वर्षा, देशव्यापी तुवाँलो क्रमिक कम हुँदै
काठमाडौं । हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहेको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । हालसम्म देशव्यापी रहिरहेको तुवाँलो क्रमिक रूपमा कम हुने पूर्वानुमान महाशाखाले जनाएको छ । मेघगर्जन र चट्याङ, वर्षालगायत हिमपातका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
बागबजारको साहारा गेस्ट हाउसमा महिलाको शव भेटियो
काठमाडौं । काठमाडौंको बागबजारस्थित साहारा गेस्ट हाउसमा एक जना महिला मृत फेला परेकी छन् । अन्दाजी ३०-३२ वर्ष उमेरकी महिला होटलको कोठामा मृत फेला परेकी हुन् । प्रहरीका अनुसार होटलको कोठा नम्बर ३०१ मा शव भेटिएको हो । प्रहरीले अहिले मुचुल्का उठाउने काम गरिरहेको छ । शव गन्हाएपछि होटल संचालकले प्रहरीलाई खबर गरेको बुझिएको छ ।
नगरकोट भ्रमण वर्ष तयारी पूरा, एक लाख विदेशी र १० लाख स्वदेशी पर्यटक भित्र्याउने लक्ष्य
भक्तपुर । प्रसिद्ध पर्यटकीय क्षेत्र नगरकोटलाई केन्द्रविन्दुमा राखेर भक्तपुर, काठमाडौं र काभ्रेपलाञ्चोक जिल्लाका चार नगरपालिकाले संयुक्त रूपमा आगामी वैशाख १ गतेदेखि आयोजना गर्ने ‘नगरकोट भ्रमण वर्ष-२०८२’ को सम्पूर्ण तयारी पूरा भएको छ । नगरकोटमा एक लाख विदेशी र १० लाख स्वदेशी गरी ११ लाख पर्यटक भित्र्याउने उद्देश्यले चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको ‘नगरकोट भ्रमण वर्ष-२०८२’ को चारवटै स्थानीय तहले प्रचारप्रसार गरेका छन् । नगरकोट भ्रमण वर्ष-२०८२ संयुक्त सचिवालयको आयोजना तथा नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वयमा आज आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक एवं मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईबाले सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । नगरकोट आउने पर्यटकहरूको बसाइ लम्ब्याउँदै स्थानीय संस्कृति र स्वादको अनुभव गराउने उद्देश्यसहित विभिन्न परिकार, पर्यटकलाई चखाउने योजना अनुरूप गाउँगाउँमा नमूना होमस्टे बनाइएको उनले बताए । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आफ्नो कार्यकालको पहिलो बैठकमै भ्रमण वर्ष मनाउने घोषणा गरेकामा अहिले चार वटै नगरपालिकाको सहकार्यसहित नगरकोटलाई पर्यटकीय केन्द्रविन्दु बनाउन भ्रमण वर्ष मनाउन लागेको बताए । नगरप्रमुख खत्रीले भने, 'एकवर्ष भरि मनाउने भ्रमण वर्षमा नगरकोटबाहेक चारवटै स्थानीय तहले दुई दई वटा मुख्य कार्यक्रम गर्ने र अरू आआफ्ना पालिकाको वडागत रुपमा पनि भ्रमण वर्ष मनाउने गरी अगाडि बढेका छौं ।’ बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले शाक्यले नगरकोट भ्रमणमा आउने पर्यटकलाई बनेपाको चण्डेश्वरी मन्दिरसम्म पदयात्रा गराउन सकिने, यहाँका जात्रा परम्परामा पर्यटकलाई जोड्ने, जलजले ताल, गुम्बालगायतमा पर्यटकलाई लैजान सकिने बताए । उनले भने, 'नगरकोटमा प्रदूषणका कारण हिमाल देख्न छोडियो, सूर्योदय र सूर्यास्त मात्रै हेर्न पर्यटक धेरै रात बस्दैनन, पर्यटकको बसाइ लब्याउन नगरकोट आएका पर्यटकलाई नगरकोटबाट बनेपा घुमेर फेरी नगरकोट आएर बास बस्ने गरी बसाई लम्ब्याउन सकिन्छ ।’ चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले भ्रमण वर्षमार्फत स्थानीय प्राकृतिक तथा धार्मिक सम्पदालाई पर्यटनसँग जोड्ने बताए । मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले नगरकोटको समग्र विकासका लागि चारवटै पालिकाको साझेदारीमा नगरपालिकाको डीपीआर बनाउने काम भइरहेको बताए । भ्रमण वर्षको शुभारम्भका दिन बतासे डाँडामा ५० भन्दा बढी स्टलहरू रहने जनाइएको छ । त्यसैगरी खानाका स्टलका साथमा कृषि सामग्रीका स्टल, गुरुङ समुदायको सङ्ग्रहालय तथा प्रत्येक स्थानीय तहका छुट्टाछुट्टै झाँकी प्रदर्शन गरिने छ ।