सुनको मूल्य निरन्तर बढ्दो, एकतोलाको कति पर्छ ?
काठमाडौं । गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आइतबार बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँले वृद्धि भएको छभने चाँदीको मोल भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदी दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । गत जेठ २७ एक तोला सुन एक लाख ९० हजार रुपैयाँ तथा सोही परिमाणको चाँदी दुई हजार १६५ रुपैयाँमा कारोबार भएको थियो । जेठ २८ गते एक लाख ९१ हजार ३०० रुपैयाँ जेठ २९ गते एक लाख ९२ हजार ९०० तथा जेठ ३० र ३१ गते प्रतितोला सुन एक लाख ९७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार
म्याग्दी । सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन सेवा विस्तार गरेको छ । टेलिकमले धवलागिरि गाउँपालिका–२ खोरियाको नयाँ वनमा फोरजी (चौथो पुस्ता)को इन्टरनेट चलाउन मिल्ने बिटिएस टावर स्थापना गरेर साविक लुलाङ गाविसमा मोबाइल फोन सेवा विस्तार गरेको हो । धवलागिरि गाउँपालिकाको खोरिया, दर, मुना, लमसुङ, लुलाङ, मरेनी, जलजला क्षेत्रलाई लक्षित गरेर बिटिएस टावर सञ्चालन भएको धवलागिरि–२ लुलाङका वडाध्यक्ष अकप्रसाद कुमाईले जानकारी दिए । 'मुदीमा रहेको बिटिएस टावरको सिग्नल खाल्डोमा रहेको लुलाङको वडा कार्यालय, स्वास्थ्यचौकी, लमसुङ, मरेनी, लुलाङमा राम्रोसँग नटिप्ने समस्या थियो', उनले भने, 'मोबाइलको टावरले नटिप्ने समस्याका कारण सूचना आदानप्रदानका साथै स्थानीयवासीलाई फोन गर्न टावरले टिप्ने ठाउँमा जानुपर्ने समस्या हटेको छ ।' गत फागुन पहिलो हप्ता बिटिएस टावर स्थापना भए पनि विद्युत् सुविधाको अभावमा सञ्चालन हुुनसकेको थिएन । नेपाल विद्युत् प्राधिकरणले गत हप्ता केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गरेपछि स्थापना भएको चार महिनापछि बिटिएस टावर सञ्चालन भएको हो । टावर सञ्चालनका लागि स्थानीयवासी र गाउँपालिकाले खोरियामा उपकरण राख्ने घर बनाएका छन् । खोरिया क्षेत्रमा एनसेललगायत निजी क्षेत्रका कम्पनीहरूको मोबाइल सेवा उपलब्ध छैन ।
आज सार्वजनिक बिदा
तुलसीपुर । भूमे पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठानका सम्बन्धित समुदायलाई बिदा दिएको हो । भूमे पर्व मगर समुदायले विशेष पर्वका रूपमा मनाउने गर्छन् । विगत वर्षमा पनि प्रदेश सरकारले भूमे पर्वका अवसरमा बिदा दिँदै आएको थियो ।
एकैस्थानमा एक हजार ७१७ जनाले रक्तदान गरेर नयाँ रेकर्ड कायम
चितवन । यहाँ आयोजना गरिएको रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले रक्तदान गरेका छन् । ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाद्वारा शनिबार आयोजित सो महोत्सवमा जिल्लाका सातवटै पालिकाका रक्तदाता सहभागी भएका थिए । सङ्कलित रगतमध्ये नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरले एक हजार ५३६ युनिट र भरतपुर अस्पताल ब्लड बैंकले एक सय ८१ युनिट रगत ‘स्टोर’ गरेका छन् । जुन १४ मा अन्तरराष्ट्रिय रक्तदाता दिवस पर्दछ । यही अवसर पारेर सोसाइटीले उक्त महोत्सव आयोजना गरेको हो । 'उपचारका क्रममा रगत आवश्यक पर्दा अभाव हुने गरेको छ । तर रक्तदान गर्न मिल्ने धेरैले रक्तदान गरेको पाइँदैन । रक्तदानप्रति अग्रसर हुने सन्देश दिन यो बृहत् कार्यक्रम आयोजना गरेका हौँ', सोसाइटीका चितवन अध्यक्ष तथा मूल समारोह समितिका कार्यक्रम संयोजक एकराज बुर्लाकोटीले भने । रक्तदान महोत्सवले एकै दिनमा एकै ठाउँमा सञ्चालित रक्तदान कार्यक्रममध्ये नेपालकै सर्वाधिक रगत सङ्कलन गर्दै राष्ट्रिय रेकर्डसमेत कायम गरेको सोसाइटीका सचिव तथा प्रचार समितिका संयोजक विपिन पाठकले बताए । यसअघि लायन्स क्लब अफ काठमाडौंलगायतका संस्थाले २०७४ फागुन २५ गते विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले काठमाडौँको टुँडिखेलमा एक हजार ५०० पिन्ट रगत सङ्कलन गरेको उनले जनकारी दिए।
कोशी, मधेस, बागमती प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आजदेखि बङ्गलादेशमा विद्युत् निर्यात, पाँच महिनामा १ अर्ब २९ करोड आम्दानी
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष असार १ (जुन १५) अर्थात् आजदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो । गत वर्ष असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो यामको अन्तिम दिन अर्थात् कात्तिक १८ गते दिउँसो १२ देखि राति १२ बजेसम्म जम्मा १२ घण्टामात्र विद्युत् निर्यात भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत् छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा निर्यात गर्न पाउनु खुसीको खबर भएको बताए । ‘बङ्गलादेशमा विद्युत् निर्यात हुनु यस क्षेत्रमा लाग्ने समग्र व्यवसायी र नेपालको समृद्धिका लागि खुसीको कुरा हो,’ उनले भने । नेपालले हरेक वर्ष पाँच महिना वर्षाको समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ । गत वर्ष बङ्गलादेशसँग विद्युत् निर्यात सम्झौता गरेको नेपालले त्यसबेला जम्मा १२ घण्टामात्र विद्युत् निर्यात गर्न पाएको थियो । यो वर्ष भने आजदेखि पाँच महिना निरन्तर बङ्गलादेशमा विद्युत् निर्यात गर्ने छ । मन्त्री खड्काले हाम्रो उत्पादन निर्यात गरेर आयत घटाउन सक्ने प्रमुख क्षेत्र विद्युत् क्षेत्र भएको बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणले त्रिशूली जलविद्युत् केन्द्रबाट उत्पादित १८.६० मेगावाट र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित २१.४० मेगावाट विद्युत् निर्यात गर्न नेपाल, भारत र बङ्गलादेशबीच गत वर्ष सम्झौता भएको थियो । आजदेखि बङ्गलादेश निर्यात सुरु गरिएको विद्युत् आगामी नोभेम्बर १५ सम्म निर्यात हुने छ । पाँच महिनामा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् निर्यात हुने नेपाल विद्युत् प्राधिकरणका विद्युत् प्रणाली नियन्त्रण विभागका उपप्रबन्धक सुवर्ण सापकोटाले जानकारी दिए । उक्त विद्युत् बिक्री बापत सरकारले पाँच महिनामा १ अर्ब २९ करोड आम्दानी गर्नेछ । उक्त सम्झौता बमोजिम निर्यात हुने विद्युतको बिक्रीदर ६.४० अमेरिकी सेन्ट प्रतियुनिट रहेको छ । उक्त विद्युत् नेपालको ४०० केभी ढल्केबर सबस्टेशनबाट भारतको मुजफ्रपुर, बेहरामपुर हुँदै बङ्गलादेशको भेरमारा सबस्टेसनसम्म पुग्नेछ । ऊर्जा क्षेत्रमा दीर्घकालीन महत्व राख्ने विद्युत् निर्यातले नेपालको ऊर्जा सन्तुलन, जलविद्युतको अधिकतम उत्पादन र उपयोग तथा देशको अर्थतन्त्र उकास्न योगदान दिने अपेक्षा गरिएको छ । सरकारको ऊर्जा विकास मार्गचित्र-२०८१ को अवधारणाअनुसार सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरी १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य लिएको छ । भारतमा पनि विद्युत् निर्यात निरन्तरता नेपाल विद्युत् प्राधिकरणले छिमेकी मुलुक भारतमा पनि विद्युत् निर्यातलाई निरन्तरता दिएको छ । प्राधिकरणले यस वर्ष भारतको हरियाणा राज्यमा पनि विद्युत् निर्यात सुरु गरिसकेको छ । जेठ १८ (जुन १) देखि १८५ मेगावाट विद्युत् निर्यात गर्दै आएको प्राधिकरणले शनिबारदेखि सोही स्थानका लागि २ सय मेगावाट विद्युत् निर्यात सुरु गरेको हो । नेपाल र भारतबीच भएको द्विपक्षीय सम्झौताबमोजिम यो विद्युत् निर्यातको बिक्रीदर ५.२५ भारतीय रुपैयाँ प्रतियुनिट रहेको छ । त्यस्तै प्राधिकरणले गए राति १२ बजेदेखि नै भारतको बिहार राज्यमा पनि ८० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ । यसबाहेक ढल्केबर-मुजफ्रपुर चार सय केभी र एक सय ३२ केभी प्रसारण लाइनबाट समेत भारतीय बजारमा थप विद्युत् खरिदबिक्री भइरहेको छ । वर्षा याम लागेसँगै नेपालमा विद्युतको उत्पादन बढेकाले नेपालको आन्तरिक माग पूरा भएपछि बाँकी रहेको विद्युत् भारत र बङ्गलादेशमा निर्यात गर्न लागिएको हो ।
बेलिब्रिज भाँचिँदा घाइते भएका तीन जना कामदारको मृत्यु
काठमाडौं । मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार बेलिब्रिज भाँचिँदा घाइते भएका बाराको सिमरा उपमहानगरपालिका-१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पतालले थप उपचारका लागि नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर रेफर गरेको थियो । जाँचका क्रममा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्सकले गए राति तीनै जनालाई मृत घोषणा गरेको प्रनाउ बुढाथोकीले जानकारी दिए । मृतकका शव सोही अस्पतालमा रहेको उनले बताए । मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवाखोलामा सडक विभाग अन्तर्गत सडक डिभिजन कार्यालय इलामले ७० मिटर लामो मोडूलार बेलिब्रिज निर्माण गरिरहेको थियो । हेंवा खोलाको फिदिम नगरपालिकातर्फको भागमा बेलिब्रिज जडान गरी स्काभेटरको सहायताले ठेलेर खोला पारिपट्टि हिलिहाङ गाउँपालिकातर्फ टेकाइएको थियो । फिदिमतर्फको भागको भार अत्यधिक हुँदा बेलिब्रिज भाँचिएको प्रत्यक्षदर्शीको भनाइ छ । बेलिब्रिज भाँचिँदा जडानको काम गरिरहेको छ जना कामदार बेलिब्रिजसँगै खोलामा झरेर घाइते भएका थिए । २०८० असार २ गते आएको बाढीले यहाँ रहेको ४५ मिटर लामो सडक पुल बगाएपछि सोही वर्षको साउनमा सोही स्थानमा करिब ५० मिटर लामो बेलिब्रिज जडान गरिएको थियो । तर सो बेलिब्रिज गत असोज १२ गते आएको बाढीले बगाएपछि करिब ९० मिटर मुनि नयाँ बेलिब्रिज निर्माण गरिरहेकामा कार्य सम्पन्न हुन लाग्दा भाँचिएको जनाइएको छ । उक्त बेलिब्रिज भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो भने संरचना निर्माण तथा जडान ३ करोड ४९ लाख रुपैयाँको लागतमा सुपर सौगात लाइट बिल्डर्स जेभीले गरिरहेको थियो ।
एनएमबि, एभरेष्ट, एनआईसी, कृषि र कुमारी बैंकले घटाए ब्याजदर
काठमाडौं । वाणिज्य बैंकहरुले असार महिनाका लागि ब्याजदर घटाएका छन् । आज असार १ गतेदेखि लागू हुने गरी बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । जेठको तुलनामा असार महिनामा बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर औसत व्यक्तिगततर्फ ०.०५ प्रतिशत घटेको छ भने संस्थागततर्फ ०.०१ प्रतिशत घटेको छ । यससँगै असारमा बैंकहरुको औसत ब्याजदर व्यक्तिगततर्फ ५.९ प्रतिशत र संस्थागततर्फ ४.३७ प्रतिशतमा झरेको छ । जेठमा औसत व्यक्तिगततर्फ ५.९५२ प्रतिशत र संस्थागततर्फ ४.३९ प्रतिशत ब्याजदर रहेको थियो । असारमा १५ बैंकले जेठ महिनाकै ब्याजदरलाई यथावत् राखेका छन् भने ५ बैंकले मात्रै ब्याजदर घटाएका छन् । एनएमबि बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, कृषि विकास बैंक, कुमारी बैंकले असारमा ब्याजदर घटाएका हुन् । एनएमबि बैंकले ०.६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत, एभरेष्ट बैंकले ०.०९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ६.५५ प्रतिशत र संस्थागततर्फ ५.५५ प्रतिशत, एनआईसी एशिया बैंकले ०.०५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ६.५५ प्रतिशत र संस्थागततर्फ ५.५५ प्रतिशत ब्याजदर तोकेका छन् । कृषि विकास बैंकले असारमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.०६ प्रतिशत घटाएर ५.४५ प्रतिशत र संस्थागततर्फ १.१२ प्रतिशत बढाएर ४.४५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै, कुमारी बैंकले असारमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.२ प्रतिशत घटाएर ५.७१ प्रतिशत र संस्थागततर्फ ०.४ प्रतिशत घटाएर ४.५१ प्रतिशत ब्याजदर तोकेको छ ।