स्वरोजगार लघुवित्तको साधारण सभा वैशाख २९ गते, १३.५० प्रतिशत बोनस सेयर प्रस्ताव
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वैशाख २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा दिउँसो ११:३० बजेबाट सुरु हुने लघुवित्तले जनाएको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १३.५० प्रतिशत बोनस सेयर र त्यसबाट लाग्ने कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सभामा पेश गर्नेछ । त्यस्तै, सभाबाट मर्जर तथा एक्विजिशनसम्बन्धी कार्यको लागि सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि पारित गरिनेछ । साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले वैशाख ११ गते बुक क्लोज गर्नेछ । जस अनुसार वैशाख १० गतेसम्म नेप्सेमा कारोबार भई नाम कायम भएका सेयरधनीहरूलाई सभा सहभागी र लाभांश प्राप्त गर्ने छन् ।
एसईईको उत्तरपुस्तिका परीक्षण प्रभावित, शिक्षक नजाँदा नतिजा ढिलो हुने
काठमाडौं । शिक्षक र कर्मचारीको आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण ढिलाइ हुने भएको छ । यसले परीक्षाको नतिजा प्रकाशन पनि ढिलो गराउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक गणेश भट्टराईका अनुसार उत्तरपुस्तिकाहरू परीक्षण केन्द्रमा पठाइए पनि शिक्षकहरूले परीक्षण कार्य सुरु गरेका छैनन् । 'उत्तरपुस्तिका केन्द्रमा राखिएको छ, तर शिक्षक जाँच्न आएका छैनन्,' परीक्षा नियन्त्रक भट्टराईले भने, 'परीक्षण शिक्षकले गर्ने हो, अरुले गर्न मिल्दैन ।' उनले उत्तरपुस्तिकासँग विद्यार्थीको भविष्य जोडिएको बताउँदै शिक्षक चाँडै फर्किने विश्वास व्यक्त गरे । यस वर्ष चैत ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । बोर्डले असार पहिलो साता नतिजा प्रकाशन गर्ने तयारी गरिरहेको थियो । तर आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण नै सुरु नहुनु नतिजा ढिलाइको मुख्य कारण बनेको हो । २० चैतदेखि शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ । आन्दोलनका कारण सरकारी विद्यालयमा नयाँ विद्यार्थी भर्ना अभियान रोकिएको छ भने एसईईको उत्तरपुस्तिका परीक्षण, वार्षिक नतिजा प्रकाशनजस्ता शैक्षिक गतिविधिमा पनि असर परेको छ ।
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित
काठमाडौं । शिक्षकको काठमाडौं केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ । सरकारले यही वैशाख २ देखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे पनि शिक्षक आन्दोलनमा हुँदा भर्ना अभियान प्रभावित बनेको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा गत चैत २० देखि शिक्षकले सडक आन्दोलन गरिरहेका छन् । महासंघले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ । उक्त हड्तालको समर्थनमा यहाँका विभिन्न सामुदायिक विद्यालयले सूचना जारी गर्दै शिक्षक महासंघको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै विद्यालयमा सबै शैक्षिक गतिविधि बन्द गरेको जानकारी गराएका छन् । महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज भट्टले सम्पूर्ण शैक्षिक कार्य बन्द गरिएको जानकारी दिए । 'शिक्षक/शिक्षिका आन्दोलनमा काठमाडौं गएका छन् । शैक्षिक कार्य गर्ने वातावरण छैन,' उनले भने, 'सरकारले माग सम्बोधन गरे शैक्षिक कार्यक्रम अगाडि बढ्छन् ।' उनले कक्षा ११ को पठनपाठन बन्द गरिएको बताए । शान्ति निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज ओझाले सूचना जारी गर्दै विद्यालयका शैक्षिक गतिविधि बन्द गरिएको उल्लेख गरे । जिल्लाका अधिकांश विद्यालयका शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौं गएकाले सामुदायिक विद्यालयको पठनपाठन लगायतका शैक्षिक कार्यक्रम बन्द छन् । महेन्द्रनगरस्थित शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उत्तम विष्टले सरकारले शिक्षकका माग सम्बोधन नगरेसम्म विद्यालय बन्द रहने बताए । 'सरकारले हाम्रा माग सम्बोधन गर्ने वित्तिकै हामी कार्यक्षेत्रमा फर्किन्छौँ', उनले भने, 'सरकारले माग सम्बोधन नगरे वैशाख ११ देखि तय भएको कक्षा १२ को परीक्षा प्रभावित हुन्छ ।' शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा गएपछि जिल्लाका सामुदायिक विद्यालय बन्द छन् । यहाँका स्थानीय तहले मङ्गलबारदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने भने पनि शिक्षकको आन्दोलनका कारण विद्यालय खुल्न सकेका छैनन् । भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले यहाँका सबै सामुदायिक विद्यालय बन्द हुँदा विद्यार्थी भर्ना अभियान सञ्चालन हुन नसकेको बताए । 'शिक्षकहरू शैक्षिक आमड्ताल गरेर आन्दोलनमा छन् । सबै सामुदायिक विद्यालय बन्द छन्', उनले भने, 'शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान सञ्चालन हुन सकेको छैन ।' सरकारले आजभोलिमा केही निकाश निकाल्नेमा आफूहरू आशावादी रहेको उनले बताए । रासस
सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध
काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुरोध गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेत भइरहेकाले विरोधप्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्कन आग्रह गरेको हो । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री शिक्षामन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारले सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशक्य चाँडो पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्ने निर्णय गरेको बताए । मन्त्री भट्टराईले नेपाल शिक्षक महासङ्घले उठाएका मागहरु सम्बोधन गर्न सरकार संवेदनशील रहेको त्यसनिम्ति निरन्तर संवादमा रहेको बताए ।
सबैभन्दा सस्तो फलफूलमा मेवा, यस्तो छ तरकारीको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ९०, तितो करेला प्रतिकिलो रु ५५, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ७०, घिरौला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु ९० कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ६०, रायो साग प्रतिकिलो रु ७०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरी प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ३५, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु ३२० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ । निगुरो प्रतिकिलो रु ८०, ब्रकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु ६५, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २६०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ९०, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १२० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १३०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु ११०, लसुन हरियो प्रतिकिलो रु ९०, हरियो धनिया प्रतिकिलो रु १८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १४० र राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।
नेप्सेमा साढे १४ अर्बको बोनस सेयर सूचीकृत
काठमाडौं । ८ महिनामा साढे १४ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा १४ अर्ब ३९ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १३ अर्ब ९२ करोड रुपैयाँ बराबरको साधारण सेयर, ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ८ करोड ७३ लाख रुपैयाँ बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य सेयर गरी कुल ३९ अर्ब २३ करोड रुपैयाँ बराबरको थप सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा फागुनसम्ममा सूचीकृत ८ अर्ब ७० करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ५७ अर्ब ५० करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ९ अर्ब ३० करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १ अर्ब ३२ करोड रुपैयाँ बराबरको डिबेन्चर र १ अर्ब २ करोड रुपैयाँ बराबरको साधारण सेयर गरी कुल २१ अर्ब ८३ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
करेन्ट, भोला गुट्खा, पावर र जीत खैनीको बिक्री वितरण रोक्का, २ व्यवसायी माथि कारबाही
काठमाडौं । उपभोक्ताको अधिकार र सुरक्षालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनका क्रममा मङ्गलवार थप २ व्यवसायी माथि कारबाही गरेको छ । विभागका अनुसार करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनीको बिक्री वितरण रोक्का गरिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लङ्घन गरेको भन्दै विभागले उपत्यकाकै डिलरका रूपमा रहेको ललितपुर स्थित पशुपति इन्टरनेश्नल बिजनेस प्रालिलाई कारबाही गरी ३ दिन भित्र कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । उक्त प्रालिले बिक्री वितरण गर्ने गुट्खा तथा खैनीको कारोबार रोक्का गरिएको हो । यस प्रालीका सामग्रीहरूमा तौलमा समेत कैफियत देखिएकाले देशैभर कारोबार रोक्का गर्न निर्देशन गरिएको विभागले जनाएको छ । यसै गरी पशुपति ट्रेडिङ कन्सर्न काठमाडौंलाई पनि कागजात सहित ३ दिन भित्र विभागमा उपस्थित हुन सूचना दिएको छ । यसअघि आइतबार गरिएको अनुगमनका क्रममा काठमाण्डौं-२२ स्थित आनन्द ट्रेडर्सलाई २ लाख रकम जरिवाना गरिएको छ । उक्त फर्मलाई उद्योगबाट उत्पादित वस्तुमा एमआरपी सहित लेबल लगाएर बिक्री गर्न निर्देशन दिइएको छ । त्यसै गरी बुढानिलकण्ठ स्थित ट्रियु फामेशिया र स्किन फार्मेशीको नमुना सङ्कलन गरी बिक्री वितरण रोक्का गरेको छ । आइतबार नै गरिएको अनुगमनमा मधु गंगा इन्टरप्राइजेज, मित्रलाई पौडेल र सजिलो रेन्टल प्रालिलाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको निर्देशनमा विभागले उपभोक्ताको अधिकारको संरक्षणका लागि निरन्तर अनुगमन तथा कारबाहीलाई प्रभावकारी बनाइरहेको जनाएको छ । सरकारले बजारमा बिक्री गरिने सबै सामग्रीहरूमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) अनिवार्य गरेको छ । एमआरपी बिनै सामग्री बेच्नेलाई कारबाही गर्न सुरु गरिएको हो ।
रिलायबल क्यापिटलको १ अर्बको म्युचुअल फण्ड बिक्री खुला
काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्टले आज बैशाख ३ गतेदेखि रिलायबल समृद्धि योजना निष्काशनमा तथा बिक्री खुला गरेको छ । क्यापिटलले १० वर्ष अवधि रहेको १ अर्ब रुपैयाँको बन्दमुखी योजना बिक्री खुला गरेको हो । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री गरेको छ । जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापकलाई छुट्याएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ । कम्पनीको म्युचुअल फण्डमा लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा छिटोमा वैशाख ७ गते र उक्त समयमा सबै इकाई बिक्री नभए वैशाख १७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् फण्डमा आवेदन दिन सक्नेछन् । कम्पनीले वार्षिक प्रक्षेपित प्रतिफल १५ प्रतिशत रहने दाबी गरेको छ ।