विश्वविजेता कार्लोस सिंहदरबारमा : प्रधानमन्त्री ओलीले गरे स्वागत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार भेटघाट भएको छ । विश्वविजेता कार्लोस नेपाल सुरपल लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौं आएका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताए । प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई ‘माउन्टेन फ्ल्याइट’ र जङ्गल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे । आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लोसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताए ।
काठमाडौं महानगरको सहकारी अनुगमनमा कडाइ, ४ अर्बभन्दा बढीको वचत फसाउनेको खोजी
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूमा बढ्दो वित्तीय समस्या र गुनासालाई सम्बोधन गर्न अनुगमन प्रक्रिया तीव्र बनाएको छ । महानगरको सहकारी विभागले चालु आर्थिक वर्षमा ५० वटा सहकारी संस्था अनुगमन गर्ने लक्ष्यसहित हालसम्म ११ वटा सहकारी संस्थाको अनुगमन गरिसकेको छ । चैत १५ गतेदेखि सुरु भएको अनुगमन अभियान सहकारी विभाग प्रमुख नमराज ढकालको संयोजकत्वमा फागुन २३ गते गठन गरिएको समितिबाट सञ्चालन भइरहेको हो । समितिमा काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष सुमन केसी, शाखा अधिकृत नारायण विक, लेखापाल दिपेन्द्र केसी सदस्य छन् भने सहकारी नियमन महाशाखा प्रमुख हरिबहादुर पाटा मगर सदस्य–सचिवका रूपमा सहभागी छन् । सहकारीहरुलाई गुनासो आएका, राम्रो काम गरेका र धेरै लगानी भएका गरेर ३ भागमा बाँडिएको छ । यी आधारमा प्राथमिकता निर्धारण गरी सूचक कम गर्दै ५६ वटा सूचकमा आधारित अनुगमन भइरहेको छ, जुन अघिल्लो ८२ सूचकबाट घटाइएको हो । अनुगमन कार्य काठमाडौं महानगरपालिकाको सहकारी ऐन २०७४ तथा नेपाल सरकारको निर्देशिका २०७७ को कानुनी प्रावधानअनुसार भइरहेको छ । टोलीले वडास्तरीय समन्वयमा वित्तीय विश्लेषक, परामर्शदाता र विज्ञहरूको सहयोगमा अनुगमन गरी विस्तृत प्रतिवेदन तयार पार्नेछ । महानगर सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले सहकारीमा देखिएको वित्तीय संकटको गहिरो विश्लेषणको आवश्यकता औंल्याउँदै सबै पक्षको आचरण परीक्षण गर्नुपर्ने बताए । आयोग सदस्य डा. सुरज काफ्लेले प्रविधिमा आधारित निगरानी प्रणाली निर्माण आवश्यक रहेको सुझाव दिए । संघका अध्यक्ष सुमन केसीले नियतवश गल्ती गर्ने सञ्चालकलाई कानुनी दायरामा ल्याउन तयार रहेको बताए । काठमाडौं बचत तथा ऋण सहकारी अध्यक्ष दीपक पनेरुले आन्तरिक सुशासनको कमीलाई समस्याको मूल कारण मानेका छन् । महानगरको सहकारी विभागमा सञ्चालक, वचतकर्ता, ऋणी, घरधनी र कर्मचारीहरूबाट निरन्तर उजुरी आइरहेका छन् । सञ्चालकहरूले दायित्व नलिएको, वचतकर्तालाई रकम फिर्ता नदिएको, ऋणीहरूबाट मिटर ब्याज लिएको, घरधनीहरूको सम्पत्तिमा क्षति भएको लगायतका गुनासा उल्लेख छन् । महानगर कार्यक्षेत्रभित्र १ हजार ९१७ सहकारी संस्था छन्, जसमध्ये ११८ वटा संस्था प्रहरी अनुसन्धानका लागि सिफारिस भइसकेका छन् । हालसम्म ६ हजार २६६ जना वचतकर्ताले ४ अर्ब ४९ करोड रुपैयाँ फिर्ताको मागसहित उजुरी दिएका छन् । साधारण सभा अद्यावधिक गर्ने सहकारीको संख्या ७५० मात्र छ भने १ हजार ७४८ संस्था कोपोमिस प्रणालीमा दर्ता छन् । दुईवटा संस्था समस्याग्रस्त घोषित भइसकेका छन् । महानगरको सहकारी प्रवर्धन कोषमा हालसम्म ८२ लाख रुपैयाँ संकलन भएको छ ।
काठमाडौं महानगरपालिकाको राजस्व ७ अर्ब नाघ्यो, सम्पत्ति र घरबहाल करमा वृद्धि
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख ७ गतेसम्ममा ७ अर्ब २१ करोड ६२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । महानगरले सम्पत्ति कर, घरबहाल कर, व्यवसाय रजिष्ट्रेसन करलगायत शीर्षकमा अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि गर्न सफल भएको छ । राजस्व विभाग प्रमुख दीपक अधिकारीका अनुसार घरबहाल करबाट मात्रै २५ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ । अघिल्लो वर्षको १ अर्ब ८६ करोड रुपैयाँको तुलनामा यो वर्ष सो शीर्षकमा २ अर्ब ११ करोड रुपैयाँभन्दा बढी संकलन गरिएको छ। सम्पत्ति करमा पनि १५ करोड रुपैयाँको वृद्धि भएको छ । अघिल्लो वर्ष ७९ करोड संकलन भएकोमा यस वर्ष ९४ करोड ७५ लाख रुपैयाँ संकलन भएको छ । त्यस्तै, न्यायिक दस्तुर, शिफारिस दस्तुर, प्रशासनिक जरिवाना, पर्यटन शुल्क लगायतका शीर्षकमा समेत सकारात्मक वृद्धि देखिएको छ । हनुमानढोका दरबार संरक्षण कार्यक्रम अन्तर्गतको आम्दानी १५ करोड ७८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १ करोड ७० लाखले बढी हो । यसका साथै केही शीर्षकमा भने राजस्व संकलनमा गिरावट आएको छ । नक्सा पास दस्तुरबाट संकलन हुने आम्दानी अघिल्लो वर्षको तुलनामा करिब २० करोड रुपैयाँले घटेको अधिकारीले जानकारी दिए । महानगरले करदाताहरूलाई पत्राचार गरेर, राजस्व टोली परिचालन गरेर, र आन्तरिक राजस्व कार्यालयसँग समन्वय गरेर राजस्व वृद्धि गर्न सकेको जनाएको छ।
निसानको ३ दिने ‘प्री-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ १६ वटा चेकपोइन्टमा सुरु
काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानको ‘ह्याप्पी विद निसान’ सर्भिस अभियानलाई नेपालमा पनि निरन्तरता दिँदै निसानका गाडीहरूको लागि ३ दिने ‘प्री-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ सुरु गरेको छ । नजिकिँदै गरेको वर्षा ऋतु तथा मनसुनको अवसरमा यो विशेष सर्भिस क्याम्प ल्याइएको हो । यो क्याम्प वैशाख १०, ११ र १२ गते देशव्यापी रूपमा सञ्चालन भइरहेको छ । यो सर्भिस क्याम्प काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, हेटौंडा, पोखरा, इटहरी, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगञ्ज, सुर्खेत गरी निसानको देशभरका १६ वटा विभिन्न चेकपोइन्टहरूमा एकैसाथ सञ्चालन भइरहेको पायोनियर मोटो कर्पले जनाएको छ । ‘प्री-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ अन्तर्गत ग्राहकहरूले निसान गाडीको चेकअप तथा सर्भिसिङ गर्दा ७ आकर्षक लाभ तथा सुविधाहरू लिन सक्नेछन् । यी सुविधाहरू अन्तर्गत ग्राहकहरूले ‘टप वास’ निःशुल्क प्राप्त गर्नेछन् भने जुनै सेवा लिँदा पनि कुनै ‘लेबर चार्ज’ तिर्नुपर्ने छैन । त्यस्तै, ‘सस्पेन्सन, क्लच’जस्ता पार्टपूर्जा तथा निसानको ब्रान्डेड एक्सेसरिजहरूमा २० प्रतिशत छुट प्राप्त गर्नेछन् अनि १५ प्रतिशत छुटमा ‘बडीसप जब्स’ सुविधा लिन सक्नेछन् । त्यसैगरी, ल्युब्रिकेन्ट, ‘फिल्टर पाट्र्स’, र ‘ब्रेकप्याड तथा सु’मा १०% छुटबाट लाभान्वित हुन सक्नेछन् । यो योजना, ग्राहकका निसान गाडीहरूको विशेष छुटका साथ चेक–अप तथा सर्भिसिङ गर्ने भव्य अवसर हो । यस क्याम्पअन्तर्गतका सुविधाहरूमा केही सर्तहरू लागू हुनेछन् । पायोनियर मोटो कर्प प्राइभेट नेपालको लागि निसान मोटर कम्पनीको आधिकारिक वितरक हो । सन् २०१४ मा स्थापित यो कम्पनीले जापान, थाइल्यान्ड र भारतस्थित निसानको प्लान्टबाट सवारीसाधन आयात, तथा निसानको सम्पूर्ण मोडेलको गाडीका लागि विक्री, सर्भिसिङ र पाटपूर्जा आदि सुविधा उपलब्ध गराउँदै आएको छ ।
‘ओ-युनिभर्स’ को अवधारणा सार्वजनिक गर्दै ओमोडा एन्ड जेको
काठमाडौं । ओमोडा एन्ड जेकोले यही वैशाख १२ गते विश्वव्यापी डिलरहरूका लागि ‘ओ-युनिभर्स’ नामक एक विशेष र अत्याधुनिक अनुभव प्रस्तुत गर्ने भएको छ। यसले विश्वभरका डिलर तथा मिडिया प्रतिनिधिहरूलाई ओमोडाको अत्याधुनिक प्रविधिबाट प्रेरित ‘ओ-ल्याब’ र जेइकोको अफरोड जीवनशैलीमा आधारित ‘जे-ल्यान्ड’का दुई फरक अनुभवहरू प्रदान गर्ने नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले जनाएको छ । फ्युचरिस्टिक प्रविधिको उत्सव-- ओमोडा ‘ओ–ल्याब’ ओमोडाको ‘ओ–ल्याब’ले प्रविधि र कलाको संगमसहित सन् २०५० को फ्युचरिस्टिक सहर कस्तो हुनेछ भन्ने अनुभव दिने जनाइएको छ । ‘ओ–युनिभर्स’को सार्वजनिकिकरण समारोहमा उपस्थित हुनेहरूले ग्यालेक्सिहरूको (आकाशगङ्गाहरूको) झझल्को दिने अत्याधुनिक ‘एलइडी स्क्रिन’का भित्ताहरूमा ओमोडाको नवीनतम प्रविधिहरू प्रस्तुत गरिनेछन् । सहभागीहरूले रोबोट, रोबोटिक कुकुर, ड्रोन, र अन्तक्रियात्मक क्रियाकलापहरूसहित पूर्ण रूपमा प्रविधियुक्त संसारको अनुभव लिन सक्नेछन् । यसै अनुभव अन्तर्गत ओमोडाको पहिलो हाइब्रिड मोडल ‘सL-सेभेन एसएचएस’ र पहिलो पूर्णरूपमा विद्युतीय गाडी ओमोडा ‘ई-फाइभ’को पनि प्रदर्शनी हुनेछ । यसका साथै, ‘सी-थ्री साइबर मेका आर्ट ग्यालरी’ले परम्परागत प्रविधिका सीमाहरूलाई तोड्दै यसको ‘इन्टेलिजेन्ट लाइट इन्सटलेसन’ सहित एक ‘सररियल’ एवम् कलात्मक अनुभव सिर्जना गर्नेछ । साथै ओमोडा एन्ड जेकोले ‘इको-सो’ पनि सुरु गर्दैछ ।
आयोगको निर्णयमा असहमत जनाउँदै समयानुकूल शुल्क परिमार्जन गर्न अस्पताल सञ्चालकहरूको माग
काठमाडौं । चिकित्सा शिक्षासम्बन्धी शिक्षण अस्पताल सञ्चालकहरूले पोष्ट ग्राजुएटका विद्यार्थीको निर्वाह भत्ताको विषयमा चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले गरेको निर्णयमा असहमति जनाएका छन् । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चिकित्सा शिक्षासम्बन्धी शिक्षण अस्पताल सञ्चालकहरुले असहमति जनाएका हुन् । उनीहरूले आवासीय चिकित्सकलाई सरकारी आठौं तह (४८ हजार ७ सय ३७ रुपैयाँ) दिने निर्णय भएको भनेर आएको कुरा पनि कुनैपनि निर्णय भूतप्रभावी नहुने हुँदा आगामी शैक्षिक सत्रदेखि उक्त नियम लागू हुने आफूहरुको बुझाइ रहे पनि हाल आएर कतिपय सदस्यहरूले अहिले पढिरहेका पीजीका विद्यार्थीका हकमा पनि लागू हुनुपर्ने कुरा उठाएको बताउनु पत्रकार सम्मेलनका क्रममा बोल्दै एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिं कार्कीले बताए । उनका अनुसार त्यसमा आफूहरुले तत्काल नै आपत्ति जनाएको र निर्णय लेखिने बेला केही शब्द फरक परेको विषयमा १७ औं बैठक बस्नुअघि र बैठकका क्रममा उठाएको र निर्णय लागू भएपनि सहमति भएमा मात्र आगामी शैक्षिक सत्रवाट मात्र सुरु हुने कुरा प्रस्ट भइसकेको छ । उनले विद्यार्थीलाई ४८ हजार ७ सय ३७ भन्दा एक रुपैयाँ बढी नै दिन चाहेको उल्लेख गर्दै उनीहरूले पाउन् भन्ने चाहना रहेको भएपनि आफूहरूसँग स्रोत नरहेको बताए । पीजी पढ्नका लागि विभिन्न किस्तामा बुझाउने २३ लाख रुपैयाँमा सञ्चालकहरूले पाउने जम्मा २० लाख रुपैयाँ रहेको र बाँकी युनिभर्सिटी र आयोगलाई बुझाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । अध्यक्ष कार्कीले उनीहरूलाई मासिक ५८ हजार ७ सय ३७ रुपैयाँ दिने हो भने आफूहरूले तीन वर्ष पढाएबापत जम्मा १६ हजार १० रुपैयाँ पाउने जानकारी दिए । यसरी पीजी कार्यक्रम चलाउन नसकिने भएको स्रोत सुनिश्चितता हुनुपर्ने माग गरेको उनले उल्लेख गरे । 'हामीले प्रस्ट भनेका छौं- विद्यार्थीलाई ४८ हजार ७ सय ३७ भन्दा एक रुपैयाँ बढी नै दिन चाहेका छौं । उनीहरूले पाउन् भन्ने चाहना पनि छ । तर त्यसका लागि हामीसँग स्रोत छैन । उनीहरूले पीजी पढ्नका लागि विभिन्न किस्तामा बुझाउने २३ लाख रुपैयाँमा हामीले पाउने जम्मा २० लाख पाउने हो । बाँकी युनिभर्सिटी र आयोगलाई बुझाउनुपर्छ,' उनले भने । मेडिकल कलेजको पूर्वाधारको विकास, सञ्चालन खर्च, मुद्रास्फीतिअनुसार सिट संख्या र समयानुकूल शुल्क परिमार्जन हुनुपर्ने सञ्चालकहरूको माग छ । 'आवासीय चिकित्सकहरूलाई मासिक ५८ हजार ७ सय ३७ रुपैयाँ दिने हो भने हामीले तीन वर्ष पढाए बापत जम्मा १६ हजार १० रुपैयाँ पाउने रहेछौं । यसरी त पीजी कार्यक्रम चलाउन सकिँदैन । त्यसैले स्रोत सुनिश्चितता हुनुपर्ने माग गरेका हौं । मेडिकल कलेजको पूर्वाधारको विकास, सञ्चालन खर्च, मुद्रास्फीतिअनुसार सिट संख्या र समयानुकूल शुल्क परिमार्जन हुनुपर्दछ,' उनले भने । अध्यक्ष कार्कीले सो कुरा चिकित्सा शिक्षा ऐनमा नै स्पष्ट उल्लेख रहेको तर चिकित्सा शिक्षा आयोग गठन भएपछि तोकिएको शुल्कः र सिट संख्यामै झन्डै ९ वर्षदेखि सेवा दिँदै आएको उल्लेख गरे । उनले सिट र शुल्क परिमार्जनका लागि १८ औं बैठकले कार्यदल बनाएको उल्लेख गर्दै जसले केही दिनभित्र प्रतिवेदन पेश गर्ने बताए । उनले आगामी वैशाख १५ गतेको बैठकले प्रतिवेदन उपर छलफल गरेर थप अगाडि बढाउने कुरा यसअघिको बैठकबाटै तय भइसकेको उल्लेख गरे । नेपाली कांग्रेसका सांसद एवं काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले मेडिकल कलेजहरूलाई विद्यार्थीलाई ४८ हजार तिर्न कुनै समस्या नरहेको तर विचौलियाहरूले आफ्नो लागि निजी मेडिकललाई धराशायी बनाउने काम गरिरहेको बताए । उनले बाध्यकारी व्यवस्था लाग गरेको खण्डमा ७ देखि ८ सय एमबी एमएस पढ्न पाउने विद्यार्थी अर्को वर्षबाट वञ्चित हुने जिकिर गरे । उनले समस्या केही नरहे पनि कसरी निजी मेडिकल कलेजलाई धराशायी बनाउने ? भर्ना रोक्ने, एड्मिसन नदिने, अर्को नयाँ समस्या झिकेर विद्यार्थीलाई बाध्य बनाएर विदेश पढ्न पठाउने र नेपालभित्र निजी क्षेत्रका चिकित्सा शिक्षा सम्बन्धीका कलेजहरु खत्तम गर्ने भन्ने षड्यन्त्रप्रेरित काम भइरहेको बताए सांसद शर्माले मंगल रावल र अनिल कार्कीले देशकै ठेक्का लिएको हो भने केही भन्न नसकिने तर होइन भने समस्याको समाधान दिनुपर्ने बताए ।
बीवाईडी गाडीमा ५ वर्ष निःशुल्क मर्मत र १० वर्षको वारेन्टी पाइने
काठमाडौं । बीवाईडी अटो इन्डस्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ग्राहक–केन्द्रित विशेष अभियान ‘०–५–१०’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो योजना दीर्घकालीन मूल्य, विश्वसनीयता र मानसिक शान्तिको अनुभव प्रदान गर्न डिजाइन गरिएको हो । कम्पनीका अनुसार यो अफर सीमित समयका लागि लागू हुनेछ, जसअन्तर्गत बीवाईडी गाडी बुक गर्ने ग्राहकहरूले दुईवटा विशेष सुविधा प्राप्त गर्नेछन् । पहिलो, ५ वर्षसम्म शून्य सर्भिसिङ लागत, जसअन्तर्गत कम्पनीले निःशुल्क वार्षिक मर्मत प्याकेज उपलब्ध गराउनेछ । यसमा लेबर चार्ज, एसी फिल्टर, ब्रेक प्याड, वाइपर ब्लेड, ट्रान्समिशन आयल, ब्रेक आयल, एलभी ब्याट्री, र कुलेन्टजस्ता उपभोग्य सामग्री समावेश हुनेछन् । यो सुविधा कम्पनीको सिफारिस गरिएको सर्भिस तालिका अनुसार पाँच वर्षसम्म उपलब्ध हुनेछ । दोस्रो, ग्राहकले १० वर्ष वा २ लाख किलोमिटर (जुन पहिले पुग्छ) सम्मको विस्तारित वारेन्टी प्राप्त गर्नेछन् । यो वारेन्टी ब्याट्री र मोटर मा लागु हुनेछ । कम्पनीका अनुसार यो सुविधा विद्युतीय सवारी उद्योगमा अहिलेसम्मकै दीर्घकालीन वारेन्टी हो, जसले बीवाईडीको गुणस्तर र ग्राहक सन्तुष्टिप्रति गहिरो प्रतिबद्धता दर्शाउँछ । यो आकर्षक योजना वैशाख ३१ गते सम्म बीवाईडी सवारी बुक गर्ने ग्राहकहरूका लागि उपलब्ध हुनेछ । अफर बीवाईडी ब्रान्डका सबै मोडलमा लागू हुनेछ र देशभर रहेका आधिकारिक शोरूमहरू तथा प्रचार कार्यक्रमहरूबाट जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । अभियान घोषणा गर्दै साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतम ले भने, 'नयाँ वर्षमा प्रवेश गर्दै गर्दा हामीले कार मात्र नभई दश वर्षसम्मको एस्योरेन्स र केयर सहितको उत्सव मनाउन चाहेका छौं । ०–५–१० अभियान एउटा अफर मात्र होइन, यो नेपाललाई स्वच्छ र दिगो विद्युतीय यातायात प्रणालीतर्फ लैजाने हाम्रो दृढ संकल्पको प्रतिबिम्ब हो ।' गौतमले बीवाईडीले ग्राहकहरूको विश्वासप्रति आभार प्रकट गर्दै अझ हरित भविष्यतर्फको यात्रामा साथ दिन आग्रह गरे ।
महाधिवेशन बिथोल्ने प्रयास नगर्न डा. शेष घलेको आग्रह
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उच्चस्तरीय समितिका संयोजक तथा पूर्वअध्यक्ष डा. शेष घलेले सर्वोच्च अदालतको आदेशअनुसार तय भएको मितिमा नै महाधिवेशन हुने स्पष्ट पारेका छन् । वैशाख २०-२२ गतेका लागि तय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयको निर्देशन र परराष्ट्र मन्त्रालयको समन्वयमा महाधिवेशन समयमै सम्पन्न हुने बताएका हुन् । 'सर्वोच्चको आदेश पालना गर्नु सबैको साझा दायित्व हो,' घलेले भने, 'मिति परिवर्तन गर्नु ‘रुल अफ ल’ को उल्लंघन हो, त्यसैले हामी त्यसो गर्न सक्दैनौं ।' उनले महाधिवेशन बिथोल्ने कुनै पनि गतिविधि नगर्न सम्पूर्ण सरोकारवालालाई आग्रह गरेका छन् । विश्वका विभिन्न मुलुकबाट प्रतिनिधिहरू काठमाडौं आउन थालेको जानकारी दिँदै उनले महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सबै गैरआवासीय नेपालीहरूलाई आ-आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्न आह्वान गरे । संघलाई रिब्राण्डिङ गर्दै नयाँ ढंगले अघि बढाउने अभियानमा आफूहरू जुटेको उल्लेख गर्दै घलेले एकता, संवाद, र सहकार्यमार्फत संस्थालाई सुदृढ बनाउने दृढता व्यक्त गरे ।