स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा पहिलो क्षेत्रीय ‘करेस्पोन्डेन्ट बैंकिङ एकेडमी’ सम्पन्न
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक (एससीबी) ले नियामक निकाय र प्रमुख वित्तीय संस्थाहरूसँगको सहकार्यमा सफलतापूर्वक कार्यशाला सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय बैंकिङमा वित्तीय सञ्चालन बलियो बनाउन, अनुपालन मापदण्ड सुधार गर्न र विश्वव्यापी उत्कृष्ट अभ्यास प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले नेपालमा पहिलोपटक यो कार्यशाला आयोजना गरेको हो । बिहीबार र शुक्रबार काठमाडौंमा आयोजना भएको दुईदिने कार्यशालाको उद्घाटन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव फणिन्द्र गौतमले गरेका थिए । उनले नेपालमा यस्ता कार्यक्रम आयोजना गर्नुको आवश्यकता औल्याउँदा क्षेत्रीय विषयविज्ञहरू ल्याउने एससीबीको प्रयासको सराहना गरे । साथै उनले वित्तीय अपराधविरूद्ध लड्न सरकार र वित्तीय क्षेत्रबीचको समन्वयमाथि जोड दिए । दुई दिने कार्यक्रममा एसियान र दक्षिण एसियाका १५ देशहरूबाट आएका १३० भन्दा बढी प्रतिनिधि सहभागी थिए । गोष्ठीमा केन्द्रीय बैंक, नियामक निकाय र बैंकिङ क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए । विशेषज्ञहरूले सञ्चालन गरेको कार्यशाला, समूह छलफल र केस स्टडीमार्फत बैंकिङ र डिजिटल क्षमताहरूको प्रगतिबारे जानकारी गराएका थिए । गोष्ठीमा जोखिम व्यवस्थापन, एन्टी–मनी लन्डरिङ र आतंकवादी वित्तीयकरणविरूद्धका उपाय, कानुनी कारबाही, सीमापार कारोबारमा देखिने चुनौती, वित्तीय सन्देश प्रणालीमा नवप्रवर्तन र विदेशी विनिमयलगायतका विषयहरू समावेश गरेको थियो । नेपालका सीईओ तथा हेड अफ कभरेज गोरख राणाले गोष्ठीको उद्देश्य एन्टी मनी लन्डरिङलगायतका विषयमा जानकारी गराएका थिए । दुईदिने कार्यक्रममा क्यास प्रोडक्ट म्यानेजमेन्टका कार्यकारी निर्देशक चानी सिओङ, हेड अफ क्लाइन्ट एन्ड थर्ड पार्टी इन्टिेलिजेन्सका कार्यकारी निर्देशक क्रिस फ्लेमिङ, एसियान र दक्षिण एसियाका हेड अफ स्यान्क्शन्स कम्प्लयान्स सेर्हाने भिक्टर र एफसीसी एक्ट प्रमुख तथा एसीसी जोखिम विशेषज्ञ निर्देशक जयेश कदमले प्रशिक्षण दिएका थिए ।
काठमाडौं महानगरमा आज शोक बिदा
काठमाडौं । काठमाडौं महानगरपालिकाले पञ्चायतकालका पूर्वउपप्रमुख तीर्थराम डंगोलको निधनमा आज शोक बिदा दिएको छ । महानगरले सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय बन्द गरिएको जनाएको हो । नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेका डंगोलको शुक्रबार राति ७७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । लामो समयदेखि प्रोष्टेट क्यान्सर र मिर्गौलासम्बन्धी समस्याबाट ग्रसित डंगोलको शनिबार नेवारी परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । डंगोल विसं २०५६ र २०६५ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । साथै, उनले विसं २०६२–६३ को जनआन्दोलनमा काठमाडौं क्षेत्रको नेतृत्वसमेत गरेका थिए ।
डोल्पामा बिहानै भूकम्पको धक्का
काठमाडौं । डोल्पामा आज बिहान भूकम्पको हल्का धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ६ मिनेट जाँदा डोल्पा जिल्लाको काञ्जिरोवा हिमाल क्षेत्र केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि, वैशाख १२ गते सिन्धुपाल्चोकमा पनि ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
कृषि औजार कारखाना : ३२ महिनामा १६ थरिका औजार विकसित
हिमाल लम्साल काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जको कृषि औजार कारखाना सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिएको ३२ महिनामा १६ थरिका कृषि औजार अनुसन्धान तथा विकास गरेको छ । कृषि औजार कारखाना वीरगञ्जका प्रमुख तथा इञ्जिनियर रितेश देवले कारखानामा अहिलेसम्म १६ थरिका कृषि औजार अनुसन्धान र विकास गरेको जानकारी दिए । ‘केन्द्रले अहिले नेपालका लागि आवश्यक पर्ने कृषि औजार अनुसन्धान तथा विकास गर्दै आइरहेको छ । अहिलेसम्म साना–ठूला गरेर १६ थरिका औजार अनुसन्धान र विकास गरेका छौँ,’ उनले भने । केन्द्रले पराल काट्ने, धान काट्ने (रिपर), दाना बनाउने, धान रोप्ने सानो मेसिन (रिपर), घाँस खुर्किने, ड्याङ बनाउने, खाल्डो खन्ने हाते औजार, आलु रोप्ने, आलु गोड्ने, साना ट्रयाक्टरमा राख्ने कल्टिभेटर, हाते प्रेस मेसिन, प्लास्टिक ओछ्याउने, केराको फाइबर निकाल्ने, गोबर पेल्ने, कोदो रोप्ने मेसिन, चाँप कटर, हाते औजारमा बञ्चरो, खुँडा, साना कुटो कोदाली, चाँपलगायत घरायसी प्रयोजनमा प्रयोग हुने कृषि औजार तयार पारिसकेको छ । ‘केन्द्रमार्फत कारखानामा अहिले अनुसन्धान र विकासकै चरणमा भएकाले पनि ठूलो मात्रामा व्यावसायिक रूपमा उत्पादन हुन सकिरहेको छैन । यद्यपि सामान्य खालका औजार भने बिक्री वितरण भइरहेको छ,’ उनले भने, ‘कोही शुभचिन्तकहरू यहाँ आएर नै कहिलेकाहीँ यहीँ उत्पादन भएका कृषि औजार खरिद गरेर लैजाने गर्नुभएको छ ।’ कारखानाका प्रमुख देवले केन्द्रले केही समयअघि ५० लाख रुपैयाँ खर्चेर सिएनसी मेसिन ल्याएसँगै औजार उत्पादनमा सहजीकरण र सरलता ल्याएको जानकारी दिए । ‘सिएनसी मेसिनले नयाँ औजार उत्पादनभन्दा पनि काम गर्नका लागि निकै सहजता गराइरहेको छ । यहाँका कार्यरत इञ्जिनियर तथा अन्य प्राविधिक कर्मचारीलाई काम गर्न सजिलो र सहजता प्रदान गर्दै आइरहेको छ,’ उनले भने । अहिले कृषि औजार कारखाना वीरगञ्जमा ३६ कार्यरत छन् । ‘कृषि औजार कारखाना पनि राज्यकै हो, राज्यले नै यसको अनुसन्धान र विकासका लागि ध्यान दिन जरुरी छ । देशका किसानका लागि अत्यावश्यक पर्ने सबै खालका औजार यही कारखानाबाट बनाउन पाएको खण्डमा जनता धेरै लाभान्वित हुने थिए,’ उनले भने । कारखानाका प्रमुख देवले तीनवटै तहका सरकार बजेट निर्माणको पूर्वसन्ध्यामा रहेकाले पनि कृषि औजार कारखानाका लागि आवश्यक पर्ने फलामको कच्चा पदार्थमा भन्सार छुटको व्यवस्था गरिदिनका लागि माग गरेका छन् । ‘तयारी अवस्थाका कृषि औजारमा एक प्रतिशतमात्र भन्सार शुल्क लाग्ने गर्छ । तर औजार निर्माणका लागि आवश्यक पर्ने फलामलगायत कच्चा पदार्थको आयातमा कम्तीमा पनि २० प्रतिशत पर्न जाने गर्छ,’ उनले भने, ‘विदेशमा बनाइएका तयारी कृषि औजारसँग स्वदेशमा निर्माण गर्ने औजारलाई प्रतिस्पर्धी बनाउन गाह्रो भइरहेको छ । यसले पनि उत्पादनमा धेरै समस्या ल्याइरहेको छ ।’ प्रमुख देवले कृषिका लागि आवश्यक पर्ने कच्चा फलामको आयातमा धेरै करको दर भएकाले पनि कृषि औजार कारखाना लागि आवश्यक पर्ने कच्चा पदार्थमा सहुलियत वा छुटको व्यवस्था गरिदिनका लागि आग्रह गरे । तत्कालीन सोभियत सङ्घको आर्थिक र प्राविधिक सहयोगमा वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा ल्याइएको थियो । कारखाना २०२४ साल फागुन २८ गते सञ्चालनमा आएको थियो । कारखानाले सुरुआती चरणमा कृषि औजारको उत्पादन गरेर स्वदेशमा मात्र होइन, विदेशमा निर्यात गर्दै आइरहेको थियो । तर कारखाना व्यवस्थापनमा भएका कमीकमजोरीले अन्ततः २०५९ सालसम्म आइपुग्दा कारखाना बन्द हुने अवस्थामा आइपुग्यो । कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले कृषि औजार कारखानालाई आवश्यक पर्ने सहयोगका लागि आफूले सहजीकरण गर्दै आएको जानकारी दिए । ‘मैले कृषिमन्त्रीको पदभार सम्हालेपछि कारखानाको स्थलगत अवलोकन एवं जानकारी लिएँ । कारखानालाई सदृढ बनाउँदै व्यवसायीक उत्पादन गर्न आवश्यक सहयोग गर्न म तयार छु,’ उनले भने । केन्द्रलाई पुनर्जीवित बनाउने कोसिस जारी केन्द्रले दुई दशकभन्दा लामो समयदेखि बन्द भएर अलपत्र भएको औजार कारखानालाई पछिल्लो समय पुनर्जीवित बनाउने कोसिस जारी राखेको छ । विसं २०७९ भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले दुई दशकदेखि बन्द अवस्थामा रहेको कृषि औजार कारखानाको व्यवस्थापन र सञ्चालनका लागि राष्ट्रिय अविष्कार केन्द्रलाई १० वर्षका लागि उपलब्ध गराउने निर्णय गरेसँगै कृषि औजार कारखानाले पुनर्जीवन प्राप्त गरेको हो । विसं २०७९ असोज ११ गते अर्थ मन्त्रालयका तत्कालीन सहसचिव रमेश केसी र राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । तर केन्द्रले औपचारिक रूपमा काम सुरु भने २०७९ साल माघमा मात्र थालेको हो । पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको काँधमा कृषि औजार कारखाना आउँदा कारखानाको अवस्था भने निकै दयनीय अवस्थामा थियो । रासस
सहकारीको रकम अपचलनको कसुरमा कांग्रेसकी सांसद माया राई पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली कांग्रेसकी सांसद माया राईलाई पक्राउ गरेको छ । कालीमाटी स्थित स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा सांसद राईलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा सांसद राईलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको उनले बताए । सांसद राई समेतका व्यक्तिले उक्त सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ । सांसद राई पक्राउ परेको सूचना सभामुखलाई पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले संघीय संसद सचिवालयमा पत्र पठाएर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी गराएको हो ।
गर्मीले उत्पादन कम हुने भएपछि अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट ४५० रुपैयाँ पुग्यो
काठमाडौं । पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका किसानले अण्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन् । गत वर्ष प्रतिक्रेट (३० गोटा) को ५२५ रुपैयाँसम्म पुगेको अण्डाको मूल्य घटेर ३५० रुपैयाँमा पुगेको थियो । अहिले मूल्यमा वृद्धि भएर ४५० रुपैयाँ पुगेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) ४३० रुपैयाँ, मध्यमको ३८० रुपैयाँ र ‘एक्सएल’को ४५० रुपैयाँ कायम गरिएको छ । यसअघि ठूलो अण्डाको मूल्य ३५० रुपैयाँमा झरेको थियो । सङ्घको शनिबार सम्पन्न छलफलले अण्डाको मूल्य बढाउने निर्णय गरेको उनले जानकारी दिए । एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी (७ क्रेट) ३ हजार १४० रुपैयाँ, ठूलो अण्डा ३ हजार रुपैयाँ र मझौलाको २ हजार ६५० रुपैयाँ कायम गरिएको छ । योसँगै किसानलाई केही राहत मिल्ने उनले बताए। नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ पर्न आउँछ । अण्डाको मूल्य उच्च हुँदा ठूलो अण्डा प्रतिपेटी ३ हजार ६७५ रुपैयाँसम्म पुगेको थियो । सो समयमा किसानले उत्पादन मूल्य पाएको भए पनि पछिल्ला दिनमा अण्डाको मूल्य घट्दा किसानले लागत मूल्यसमेत पाउन गाह्रो हुने गरेको पोखरेलको भनाइ छ । ‘गर्मीका कारण अण्डा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले अण्डाको मूल्य बढेको हो,’ उनले भने । उच्च गर्मीका कारण कुखुरामा विभिन्न खालका रोग देखिँदा उत्पादन निकै घटेको छ । सङ्घका सचिव मदन पोखरेलका अनुसार अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ । ‘अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ,’ उनले भने, ‘अण्डाको मूल्य बढेपछि किसान उत्साहित बनेका छन् । अहिले दैनिक ३० लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ ।’ नेपालमा कुखुरापालक किसानले लागत मूल्य नपाएपछि धेरै विस्थापित भएका छन् ।
सरकार परिवर्तनका हल्ला चलेपछि ओली र देउवाबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको पनि उनले जानकारी दिए । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।
बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावले तापक्रम वृद्धि
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रि रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । मधेस प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी र मधेस प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा बागमती र कर्णाली प्रदेशको पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।