धरहराबाट करिब ५ करोड राजस्व संकलन, दैनिक हजारभन्दा बढीले धरहरा चढ्ने
काठमाडौं । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षतिपश्चात् पुनः निर्माण भएर सञ्चालनमा ल्याइएको ऐतहासिक धरहराबाट चार करोड ८३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ । गत मङ्सिर ९ गतेदेखि शुल्कसहित सञ्चालनमा आएको धरहराबाट यही असार २४ गतेसम्ममा चार करोड ८३ लाख ६५ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए । उनका अनुसार यस अवधिमा दुई लाख ६२ हजार ५५५ जनाले धरहराको अवलोकन गरेका छन् । जसमा एक हजार ५४९ जना विदेशी अवलोकनकर्ता रहेका छन् । हप्ताको एक दिन बुधबार बन्द हुनेबाहेक अन्य दिन दैनिक करिब एक हजार २०० ले धरहरा चढ्ने गरेका छन् । 'बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखियो । समय अभावका कारण यहाँ आएका सबैलाई टिकटको व्यवस्था गरी धरहरा अवलोकनको व्यवस्था गर्न सकिएको छैन', व्यवस्थापन एकाइ प्रमुख राईले भने, 'बिहानदेखि साँझसम्म धरहरा चढ्ने व्यवस्था गर्नसक्ने हो भने दैनिक एक हजार ५०० बढीले धरहरा चढ्ने अनुमान छ ।' धरहरा चढ्न प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५०० रुपैयाँ र सार्कबाहेक राष्ट्रबाट आउने पर्यटकका लागि प्रतिव्यक्ति १००० रुपैयाँ शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई गत मङ्सिर ९ देखि धरहरा सञ्चालनमा आएको हो । त्यसअघि मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले धरहरा चढ्ने शुल्क स्वीकृत गरेको थियो । यहाँ पार्किङ गर्दा चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ निर्धारण गरिएको बताइएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार रुपैयाँ तोकिएको छ । यस्तै, व्यावसायिक भिडियो छायांकनका लागि प्रतिघण्टा पाँच हजार रुपैयाँ र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रुपैयाँ तोकिएको छ । रासस
गैर बैंकिङ्ग सम्पत्तिलाई २ वर्षसम्म पूरक पुँजीमा गणना गर्न पाइने
काठमाडौं । गैर बैंकिङ सम्पत्तिलाई पुँजीमा गणना गर्न पाइने भएको छ । आगामी आर्थिक वर्ष २०८/८३ का लागी मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् । उनका अनुसार बैंक तथा वित्तीय संस्थाले सकारेको गैर बैंकिङ्ग सम्पत्ति २ वर्षसम्म सो सम्पत्तिबाट प्राप्त भएको रेगुलेटरी रिजर्भलाई पुँजीलाई पूरक पुँजीमा गणना गर्न सक्ने व्यवस्था गरेको हो ।
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नरले भने- ‘जय नेपाल’
काठमाडौं । शुक्रबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् । गभर्नर पौडेलले सार्वजनिक गरेको करिब २५ मिनेटको मौद्रिक नीतिको अन्तिममा भने उनले आफू राजनीतिक दलको कार्यकर्तासहर जय नेपाल भन्न भ्याए । उनले मौद्रिक नीति सार्वजनिक गर्दै अन्तिमममा भने, ‘मौद्रिक नीतिमा व्यवस्था गरेका नीति तथा कार्यक्रमहरुको कार्यान्वयनमा सदाझैं सहयोग रहने विश्वास लिएको छु, धन्यवाद, जय नेपाल ।’ उसो त उनलाई नेपाली कांग्रेसको नेताको ट्याग लागेको छ । त्यसलाई उनले सहर्ष स्वीकार पनि गर्दै आएका छन् । परिणामतः शुक्रबार गभर्नरका रुपमा मौद्रिक नीति सार्वजनिक गर्दा पनि ‘जय नेपाल’ भन्न हिचकिच्याएनन् । ‘जय नेपाल’ नेपाली कांग्रेसको अभिभावदनको भाषा हो ।
सेयरधितो कर्जाको सीमा बढ्यो, लगानीकर्तालाई राहत
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको सीमा बढाएर २५ करोड पुर्याएका हुन् । अहिले यस्तो सीमा २० करोड रुपैयाँ रहेको छ ।
कृषि कर्जाको सीमा १० करोड पुर्याइयो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै कृषि कर्जाको सीमा १० करोड रुपैयाँ कायम गरेका हुन् ।
घरकर्जामा राष्ट्र बैंकको राहत, अधिकतम् सीमा ३ करोड
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै घरकर्जामा अनुपात ८० प्रतिशत कायम गर्दै अधिकतम् सीमा ३ करोड रुपैयाँ निर्धारण गरेका छन् । अहिले यस्तो सीमा २ करोड छ ।
मौद्रिक नीति : बैंकदर र नीतिदर घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बैंकदर ६ प्रतिशतल निक्षेप संकलन दर २.७५ र नीतिगत दर ४.५ कायम गरेका छन् । उनको कार्यकालको यो पहिलो मौद्रिक नीति हो ।
क्यानाडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई पठाएको पत्रमा अगस्ट १ देखि अमेरिकामा क्यानाडाको निर्यातमा ३५ प्रतिशत भन्सार शुल्क लगाइने बताएका छन् । यो सोमबारदेखि ट्रम्पले जारी गरेका २० भन्दा बढी पत्रमध्ये पछिल्लो हो, जसमा उनले दर्जनौँ अर्थतन्त्रविरुद्ध व्यापारिक युद्धको धम्की जारी राखेका छन् । क्यानाडा र अमेरिका जुलाई २१ सम्म सम्झौता गर्ने आशामा व्यापारिक वार्तामा संलग्न छन्, तर पछिल्लो धम्कीले त्यो समयसीमा परिवर्तन गरेको देखिन्छ । युएसएमसिए भनिने तीन मुलुकलाई एकताबद्ध गर्ने मुक्त व्यापार सम्झौतालाई ट्र्याकमा ल्याउन सकियोस् भन्ने उद्देश्यले क्यानाडा र मेक्सिको दुवैले ट्रम्पलाई सन्तुष्ट पार्ने तरिकाहरू खोज्ने प्रयास गरिरहेका छन् । 'संयुक्त राज्य अमेरिकासँग हालको व्यापार वार्ताका क्रममा क्यानाडा सरकारले दृढतापूर्वक हाम्रा कामदार र व्यवसायहरूको रक्षा गरेको छ । हामी अगस्ट १ को संशोधित समयसीमा तिर काम गर्दा हामी त्यसलाई जारी राख्नेछौँ', कार्नीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा बिहीबार राति पोस्ट गरे । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पुनः वार्ताका लागि सफलतापूर्वक दबाब दिएपछि संयुक्त राज्य अमेरिका–मेक्सिको–क्यानाडा सम्झौताले सन् २०२० जुलाईमा अघिल्लो नाफ्टा सम्झौता प्रतिस्थापन गरेको थियो । अर्को वर्ष जुलाईसम्म यसको समीक्षा हुने तय थियो, तर ट्रम्पले जनवरीमा पदभार सम्हालेपछि आफ्नो व्यापार युद्ध सुरु गरेर प्रक्रियालाई अव्यवस्थित बनाएका छन् । क्यानाडा र मेक्सिकोका उत्पादनहरू सुरुमा क्यानाडाली ऊर्जाका लागि कम दरका साथ २५ प्रतिशत अमेरिकी भन्सार शुल्कले नराम्ररी प्रभावित भएका थिए । ट्रम्पले दुवै छिमेकीलाई निशाना बनाएर अवैध आप्रवासन र सीमापार अवैध लागुऔषधको प्रवाहमा पर्याप्त काम नगरेको बताए । तर अन्ततः उनले युएसएमसिए अन्तर्गत आफ्नो देशमा प्रवेश गर्ने सामानहरूका लागि छुटको घोषणा गरे, जसले उत्पादनहरूको ठूलो भागलाई समेटेको थियो । बिहीबारको पत्र ट्रम्प र कार्नीबीच न्यानो सम्बन्धका बावजुद आएको हो । कार्नीले क्यानाडा अमेरिकाको ५१औँ राज्य बन्नुपर्छ भन्ने आफ्ना समकक्षी ट्रम्पको नियमित विचारको सामना गरिरहेका छन् । पारस्परिकता क्यानाडाली प्रधानमन्त्री कार्नी मे ६ मा ह्वाइट हाउस आएका थिए र ओभल अफिसमा ट्रम्पसँग सौहार्दपूर्ण भेटवार्ता गरेका थिए । उनीहरूले गत महिना क्यानाडामा भएको जी–७ शिखर सम्मेलनमा फेरि भेट गरेका थिए । त्यहाँ नेताहरूले ट्रम्पलाई आफ्नो दण्डात्मक व्यापार युद्धबाट पछि हट्न दबाब दिएका थिए । क्यानाडाले पनि अमेरिकी प्रविधि कम्पनीहरूलाई असर गर्ने करहरू खारेज गर्न सहमति जनाएको थियो । यसले ट्रम्पलाई बदला लिन र व्यापारिक वार्ता रद्द गर्न प्रेरित गरेको थियो । छुट्टै, ट्रम्पले एनबिसीसँगको अन्तर्वार्तामा आफ्नो पत्र नपाएका देशहरूमा अगस्ट १ मा १५ देखि २० प्रतिशतको व्यापक भन्सार शुल्क लगाउनेबारे पनि सोचिरहेको घोषणा गरे । पत्रहरूले अगस्ट १ अघि राम्रा सर्तहरू फेला पार्न नसकिए ब्राजिलको मामिलामा ५० प्रतिशतसम्म भन्सार शुल्क दरहरू अगस्ट १ मा लागू हुने घोषणा गरेको छ । अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार २७ देशको युरोपेली सङ्घ (इयु) लाई पत्र ‘आज वा भोलि (शुक्रबार)’ पठाइने ट्रम्पले एनबिसीलाई बताए । ट्रम्पले आफ्नो कडा भन्सार शुल्कले देशमा प्रहार गर्ने बताएपछि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले बिहीबार उनी अमेरिकासँग वार्ता गर्न इच्छुक रहेको बताए । यद्यपि उनले ब्राजिल सरकारले पारस्परिक उपायहरूको मूल्याङ्कन गरिरहेको कुरा दोहोर्‍याए । लुलालाई सम्बोधन गरेको पत्रमा ट्रम्पले आफ्नो दक्षिणपन्थी सहयोगी जाइर बोल्सोनारोसँगको व्यवहारको आलोचना गरेका छन् । रासस