विद्युतीय अपराध अभियोगमा शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ
कपिलवस्तु । कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी विद्युतीय अपराधसम्बन्धी अभियोगमा पक्राउ परेका छन् । चौधरीमाथि यौन शोषणको शिकार भएकी एक युवती तथा उनको परिवारको गोपनीयता भङ्ग गरेको आरोप लागेको छ । रुपन्देही जिल्ला अदालतले जेठ १ गते चौधरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पुर्जी जारी भएपछि उनी केही दिन फरार रहेका थिए । तर, आज उनी आफैं जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा हाजिर भएको प्रवक्ता तथा डीएसपी सुरज कार्कीले जानकारी दिए । हाल चौधरीलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ । चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
काठमाडौंको गल्ती दोहोर्याउन हुन्न : चिरीबाबु महर्जन
ललितपुर । सुदुर पश्चिम प्रदेशको बझाङ जिल्लामा रहेको बित्थडचिर गाउँपालिकाका जनप्रतिनिधि ललितपुर महानगरको असल अभ्यास बारे छलफल गर्न आएका छन् । गाउँपालिका उपाध्यक्षको नेतृत्वमा धनलक्ष्मी सिंह मल्लको नेतृत्वमा १८ जनाको टोली महानगर आएको हो । उनीहरुलाई महानगरका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले स्वागत गरेका थिए। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक, ऐलानी र पर्ति जग्गाको संरक्षण गर्न विशेष जोड दिएका छन् । उनले 'काठमाडौं उपत्यकाले गरेको गल्ती नदोहोर्यानुस्' भन्दै सुदूरपश्चिमबाट अध्ययन भ्रमणमा आएका जनप्रतिनिधिहरूलाई सचेत गराएका हुन् । महर्जनले ललितपुर महानगरले अघि सारेका असल अभ्यासहरूलाई मूल्यांकन गर्दै महानगरमा सिक्नका लागि आएको टोलीलाई धन्यवाद दिएका थिए । कार्यक्रममा ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले न्यायिक समितिमा आएका मुद्दाहरू तीन महिनाभित्रै छिनोफानो गरिने बताउँदै, वडा तहमा कानुनी सचेतना र मेलमिलापकर्ताको व्यवस्था गरिएको जानकारी दिइन् । त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यलाई ललितपुरको सफलता पछाडिको मुख्य कारण बताउँदै, महानगरमा भएका अनुकरणीय अभ्यासहरू साझा गर्न पाउँदा खुशी व्यक्त गरिन् । भ्रमणमा आएका बित्थडचिर गाउँपालिकाकी उपाध्यक्ष धनालक्ष्मी सिंह मल्ल र प्रवक्ता हरिशचन्द्र जोशीले ललितपुर महानगरसँगका अनुभवहरूबाट आफ्ना नीतिगत र कार्यान्वयनका पक्ष सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
‘गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछ’
गोरखा । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान गठबन्धन सरकार तोडिने अवस्था नरहेको बताएका छन् । आज गोरखाका पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उनले बजारमा चलेका अफवाहको पछाडि नलाग्न पनि आग्रह गरे । 'म अनावश्यक सूचनाको पछि नलाग्न म अनुरोध गर्दछु', उनले भने, 'यो गठबन्धन उच्चकोटीको भएकाले एकअर्काको दृष्टिकोणलाई बुझ्नुपर्दछ । गठबन्धन भन्नेबित्तिकै त्यहाँ साझा दृष्टिकोणको आवश्यकता पर्दछ ।' उनले गभर्नर नियुक्तिको प्रक्रियाले चाँडै निकाश पाउनेमा समेत विश्वास व्यक्त गरे । 'अहिले कुनै पनि दलसँग स्पष्ट बहुमत ल्याउन नदिएकाले गठबन्धनको सरकार बनाउनु परेको हो । यसअघिका गठबन्धनभन्दा यो गठबन्धन बलियो भएकाले यसमा शङ्का, उपशङ्का उत्पन्न हुने खालका वातावरण सिर्जना हुनबाट जोगाउन सरकारमा रहेकाहरु बढी जिम्मेवार हुनुपर्छ ।' आफू यसअघि अर्थमन्त्री हुँदा अस्तव्यस्त अर्थतन्त्रलाई सही ठाउँमा ल्याउन सफल भएको दाबी गर्दै उनले भने, 'अहिले केही न केही सुधार भएको छ तर यति सुधारले हामी सन्तुष्ट छैनौँ, अब दोस्रो चरणको सुधारको योजना अघि बढ्नुपर्छ ।' उनले संसद्बाट अर्थसम्बन्धी पाँचवटा विधेयक पास भएको पनि उल्लेख गरे ।
अब अन्य बैंकका ग्राहकले पनि मुक्तिनाथ बैंकको टेलरबाट क्यूआर स्क्यान गरी नगद झिक्न सक्ने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै अन्तरबैंक टेलर क्युआर सेवा सुरु गरेको छ । यस सेवाअन्तर्गत अब अन्य बैंकमा खाता भएका ग्राहकले पनि मुक्तिनाथ बैंकको टेलरमा उपलब्ध क्युआर स्क्यान गरी नगद झिक्न सक्ने भएका छन् । यो सुविधा प्रयोग गर्न ग्राहकले आफ्नो बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी मुक्तिनाथको टेलर काउन्टरमा रहेको क्युआर स्क्यान गर्नुपर्नेछ । यसबाट परम्परागत रूपमा चेक र एटिएम कार्डमार्फत नगद निकाल्नुपर्ने झन्झट कम हुने बैंकले जनाएको छ । शुरुवातमा यो सेवा लाजिम्पाट मुख्य शाखा, पोखराको नागढुङ्गा, कोहलपुर, इटहरी, नारायणगढ, र कमलादी शाखाबाट सुरु गरिएको छ । बैंकले निकट भविष्यमा देशभरका सबै शाखामा यो सेवा विस्तार गर्ने योजना बनाएको छ । यस प्रविधिले बैंकिङ पहुँच नपुगेका स्थानका ग्राहकलाई पनि सहज रूपमा नगद सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
५३ अंकले बढ्यो सेयर बजार, ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५३ अंकले बढेर २६८१ विन्दुमा पुगेको छ । आज २२९ कम्पनीको मूल्य बढ्दा १५ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको नेप्सेले जनाएको छ । मंगलबार ३१० कम्पनीको मूल्य बढ्दा १ करोड ६८ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ४१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, न्यादी गुप्रको ३६ करोड, युनिभर्सल पावर कम्पनीको ३१ करोड, सानिमा माइ हाइड्रोको ३० करोड र सोल्टी होटल लिमिटेडको २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज ४ कम्पनीका सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, ओम मेयाश्री फर्मा र राप्ती हाइड्रोको सेयर मूल्य सकारात्मक रहेका छन् । साथै, मंगलबार सबै सूचकमा हरियाली छाएको छ ।
गिटी, ढुंगा, रोडा विदेशमा बेच्न दिन निजी क्षेत्रको माग
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको काम थालिरहँदा खोलानाला, नदीबाट गिटी, रोडा ढुंगा उत्खनन गर्दै, विक्री वितरण र निर्यात गर्न दिन निजी क्षेत्रले माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ जस्ता संस्थाहरुले सरकारलाई बजेटमा सुझाव दिँदै त्यस्ता वस्तुहरु अहिले खेर गइरहेको भन्दै आगामी बजेटमा त्यसखालको कार्यक्रम ल्याउन भनेका हुन् । उद्योग वाणिज्य महासंघले दिएको सुझावमा भनिएको छ, ‘गिटी रोडा ढुंगा उत्खनन, बिक्रि वितरण र निर्यात सम्बन्धमा आवश्यक कार्यविधि बनाई आन्तरिक खपत (अन्दाजी वार्षिक २ करोड घनमिटर) भन्दा बढी परिमाणलाई निर्यात गर्न पाउने व्यवस्था गरिनुपर्छ ।’ उद्योग वाणिज्य महासंघकाअनुसार नदी उकासका कारण खेतीमा समेत प्रभाव परिरहेको र भारत बंगलादेशमा अबको केही बर्षमै माग कम हुने देखिएकाले तत्काल उपयोग र निर्यात खुला गर्नुपर्छ । निजी क्षेत्रले यस्तो कार्यक्रम ल्याए अर्थमन्त्रीलाई बलियो साथ दिने समेत घोषणा गरेको छ । बजेटबारे सुझाव दिँदै एफएनसीसीआईले भनेको छ, ‘माननीय मन्त्रीज्युले यसअघिको बजेटमा हाम्रो आग्रहमा उक्त व्यवस्था गरेपनि पछि विशेषगरी सामाजिक सञ्जालमा विरोधका कारण पछाडि हट्नुपरेको थियो । यसपटक हामी सरकारसँग यस विषयमा सँगै रहनेछौँ र साथ दिने प्रतिवद्धता व्यक्त गर्दछौं ।’ यता, नेपाल उद्योग परिसंघले पनि प्राकृतिक स्रोत साधनमाथि लगाइका कडा प्रावधान हटाउन सरकारसँग माग गरेको छ । उसले त्यस्ता कानूनहरुले करोडौं पर्ने खेर गइरहेका प्राकृतिक स्रोतहरु उपयोग गर्न नपाएको बताएको छ । उसले बजेटमा सुझाव दिँदै भनेको छ, ‘प्राकृतिक सम्पदाको दिगो उपयोग हुनेगरी हाल कायम रहेका कठोर नीति नियमहरूको पुनरावलोकन गर्न अत्यावश्यक छ । उद्योगहरूका लागि वन क्षेत्रको उपयोग, काष्ठ तथा गैह्रकाष्ठ वस्तुहरूको उपयोग, जडिबुटी, ढुँङ्गा, गिट्टी, पानी, चुनढुङ्गा, खानी तथा खनिजजन्य सम्पदाहरूको दिगो उपभोग हुनेगरी प्रचलित कठोर कानूनहरूको सरलिकरण गर्नुपर्छ ।’ यसअघि अर्थमन्त्री भएकै बेला विष्णु पौडेलले बजेटमा त्यसबारे कार्यक्रम राखेका थिए तर प्रकृतिक स्रोत साधनको चर्को दोहन हुने भन्दै चर्को विरोध भएपछि त्यो कार्यान्वयनलाई सरकारले कार्यान्वयनमा लैजान सकेको थिएन । अहिले पनि प्राकृतिक स्रोत साधनको अवैध दोहोन रोकिएको छैन । यसमा राज्यले गम्भीरता नदेखाएको भन्दै अदालतमा समेत मुद्दा परेको थियो । सर्वाेच्च अदालतले गत माघमा यसबारे परमादेश जारी गर्दै ढुंगा, गिट्टी, बालुवा उत्खनन गरी विक्री व्यवस्थापनका लागि कानून बनाएर कार्यान्वयन गर्न भनेको थियो । न्यायाधीशहरू मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले नदीजन्य पदार्थ तथा प्राकृतिक स्रोत (उत्खनन तथा नियन्त्रण) ऐन बनाउन परमादेश जारी गरेको लामोसमय बितेपनि काम नै शुरु भएको छैन । उद्योग वाणिज्य महासंघले बजेटमा गिटी ढुंगाको मात्रै चासो दिएको छैन । उसले इआईएकोे अध्ययन र स्वीकृति ६ महिनाभित्र हुने र आइइ भित्र पर्ने आयोजनाको दायरा बढाई ३ महिना भित्र स्वीकृति गर्र्नेे व्यवस्था आवश्यक रहेको बताएको छ । इआइ र आइइलाई लगानी रकमसँग नजोडी वातावरणीय प्रभावका आधारमा बाध्यकारी बनाउनुपर्ने उसको माग छ । स्वदेशीे काठले नै आन्तरिक माग परिपूर्ति गरी निकासी समेत गर्नसक्ने सम्भावना भएकाले वर्षेनी अरबौंको काठ र काठजन्य उत्पादन आयात गर्ने अवस्थाको अन्त्य गरी स्वदेशी काठको उपयोगलाई सहज बनाउन प्रचलित बन सम्बन्धी ऐन कानून र प्रक्रियाहरू सरलिकरण गर्न समेत महासंघले भनेको छ । महासंघकाअनुसार वनजन्य उद्योगबारे ऐनमा व्यवस्था भएपनि व्यवहारिक कठिनाइ भएको हुँदा यस्ता उद्योग स्थापनाका लागि सहजीकरण गरिनुपर्छ ।
शांघाई अटो शोमा सबैको ध्यान खिचेको 'जेको जे फाइभ' र 'जेको भी ट्वान्टी थ्री' नेपाल भित्रिँदै
काठमाडौं । शांघाई अटो शोमा सबैको ध्यान केन्द्रित गरेको जेको जे फाइभ र जेको भी ट्वान्टी थ्री नेपाली बजारमा आउने पक्का भएको छ । नेपालमा ओमोडा र जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले दुवै मोडल भित्र्याउन लागेको हो । सबै कुरा मिलेको अवस्थामा नाइमा अटो शोमा यी दुवै मोडल प्रदर्शन हुने स्रोतले जनाएको छ । दुई मोडेलमध्ये जेको जे फाइभ आउने लगभग पक्का भइसकेको छ भने भी ट्वान्टी थ्रीलाई पनि सक्दो नाइमा अटो शोमा देख्न सकिने स्रोतको दावी छ । जेको जे फाइभ एसयूभी हाे । याे गाडी प्लग इन हाइब्रिडमा उपलब्ध हुनेछ । यसमा बोल्ड फ्रन्ट ग्रिल र मोडर्न एलईडी हेडलाइट्स रहेकाे छ । यसैगरी, याे गाडीमा २०८ किलाेवाटकाे पीएमएस मोटर रहेकाे छ । ब्याट्रीप्याक ६९.८ किलाेवाटकाे लिथियम आयन ब्याट्री रहेकाे छ । यसकाे डब्ल्यूएलटीपी रेन्ज ५०१ किलाेमिटर रहेकाे छ । यसका साथै यसमा प्यानाराेमिक सनरुफ, १९ इन्चकाे एलाेय ह्वील्स, लेभल टु एडीएसलगायतका अन्य फिचर छन् । जेको भी ट्वान्टी थ्री प्रिमियम इलेक्ट्रिक कम्प्याक्ट-साइज क्रसओभर हो । रेट्रो अफ राेड डिजाइनमा आधारित याे गाडीलाई आईकार ट्वान्टी थ्री भनेर पनि चिनिन्छ । यो गाडीमा अफ-रोड क्षमतासँगै आधुनिक प्रविधि र स्टाइलिश डिजाइन रहेकाे छ । याे गाडीमा फोर ह्वील कर्नर डिजाइन रहेकाे छ । यसमा ग्राउन्ड क्लियरेन्स २०६ मीमी र अल ह्वील ड्राइभमा २१२ मीमी रहेकाे छ ।
राजतन्त्र ल्याउन खोजे लडाईं हुन्छ : नारायणमान बिजुक्छे
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिले नेपालमा राजा ल्याउनु नहुने बताएका छन् । मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रमपछि कुरा गर्दै उनले नेपालमा अहिले राजतन्त्र ल्याउन नहुने बताएका हुन् । उनले संवैधानिक राजतन्त्र नमानेकाले नै तत्कालिन राजा ज्ञानेन्द्र शाह राजाबाट हट्नुपरेको बताए । उनले भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने प्रयास गरेको खण्डमा देशमा युद्ध हुने बताए । राजतन्त्र पुनःस्थापनका लागि बन्दुक बाहेकको उपाय नरहेको र बन्दुक उठाएपछि फेरि त्यसको बिरुद्धमा लडाईं हुने जिकिर गरे । उनले भने, ‘राजा सर्वशक्तिमान छ तर यहाँको राजाले मुसा मार्न पनि सक्दैन भनेर बेलायतको संविधानमा लेख्यो तर त्यस्तो राजा त राजा पनि होइन । यहाँ पनि त्यस्तो मान्ने भए त मानिहाल्थे नि । यदी त्यसलाई इण्डियाले वा अमेरिकाले ल्याएको हो भने लडाईं हुन्छ देशमा । त्यसकारण अहिले राजालाई ल्याउनु हुँदैन ।’ अध्यक्ष बिजुक्छेले अहिलेका राजनीतिक दलहरुले कार्यकर्ताहरुलाई पैसा, जग्गा बाँड्ने काम मात्रै गरेको आरोप लगाए ।