विकासन्युज

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख २३ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका विभिन्न संस्थापक सेयरधनीहहरूले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।  बैंकका अनुसार विभिन्न संस्थापक सेयरधनीहरूरूले आफ्नो नाममा रहेको २ लाख २३ हजार २९९ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् ।  खरिद गर्न इच्छुक संस्थापक सेयरधनीेले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिभित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।   

एउटै बुबाआमाका ५ छोराछोरीसहित ६ जनाले आरोहण गरे मकालु, कीर्तिमानी दाबी

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिका-२ का एकै परिवारका छ जनाले मकालु हिमाल आरोहण गरेका छन् ।  मकालु गाउँपालिका-२ का चार दाजुभाइ, एक बहिनी र एक छोरीले विश्वको पाँचौँ अग्लो ८ हजार ४८५ मिटरको मकालु हिमाल आरोहण गरेका हुन् । विश्व कीर्तिमानका लागि मकालु-२ का ङिमा ओङ्जुक शेर्पाका चार छोरा, एक छोरी र एक नातिनीले गत वैशाख २६ मा मकालु हिमाल आरोहण गरेको आरोही दलका सदस्य मुक्टुक लाक्पा शेर्पाले जानकारी दिए । कीर्तिमानका लागि मुक्कुट, उनका भाइहरुरू ङिमा दोर्ची शेर्पा, आङ डी शेर्पा, पेछुम्वे शेर्पा, बहिनी पासाङ शेर्पा र उनकी २३ वर्षीया एनिमा शेर्पाले एकसाथ आरोहण गरेका हुन् ।  ‘एउटै बुबाआमाका पाँच छोराछोरीसहित ६ जनाले आरोहण गरेर कीर्तिमानी राख्ने हाम्रो परिवार पहिलो भएको छ,’ बहिनी पासाङ याङ्जीले दाबी छ,‘भदैनी २३ वर्षीया एनिमा मकालु हिमाल आरोहीमध्ये हालसम्मै कान्छी महिला भएको हाम्रो दाबी छ ।’ एकैसाथ आरोहण गरेर कीर्तिमान राखेको भन्दै उक्त परिवारलाई मकालु गाउँपालिका, नेपाल पत्रकार महासङ्घ सङ्खुवासभा र शेर्पा सङ्घले सम्मानसमेत गरेको छ । 

शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन  माग

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले शैक्षिक संस्था आसपासका क्षेत्रमा सुर्तीजन्य पदार्थ र मदिरा बेचबिखनमा रोक लगाउनुपर्ने बताएका छन् । भक्तपुर नगरपालिकाका जनप्रतिनिधिको तीन वर्षे कार्यकालको उपलब्धि कार्यक्रममा उनले शैक्षिक संस्था आसपासका त्यस्ता पसल तत्काल सञ्चालनमा रोक लगाउनुपर्ने बताए । नगरपालिकालाई आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्ने औंल्याउँदै सांसद सुवालले विद्यालय शिक्षा राम्रो भए विश्वविद्यालय शिक्षा स्वतः राम्रो हुने बताए । भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले संविधान र कानुनले दिएको अधिकारभित्र रहेर विभिन्न विकास निर्माण र अतिरिक्त क्रियाकलाप बाहेक हरेक वर्ष नगरस्तरीय महत्त्वपूर्ण योजना सम्पन्न गर्दै आएको जानकारी दिए ।  स्थानीय तह प्रजातन्त्रको जग भएको चर्चा गर्दै स्थानीय तह अधिकार सम्पन्न भए मात्र प्रजातन्त्र बलियो हुने उनको भनाइ छ । नगरपालिकाले भक्तपुरको शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, विकास निर्माण लगायतलाई उच्च प्राथमिकतामा राखेको प्रमुख प्रजापतिको भनाइ छ ।

नागढुङ्गा-नौबिसे सडक दिउँसो साढे ४ घण्टा बन्द गरिने, धार्के-सितापाइला मार्ग प्रयोग गर्न अनुरोध

काठमाडौं । राजधानी भित्रिने सडक मार्गको मुख्य नाका नागढुङ्गा-नौबिसे सडक खण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडक खण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए । यसअघि उक्त खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो । आयोजनाले नागढुङ्गा-पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा यसरी काम गर्नका लागि अनुमति भएको उनले जानकारी दिए । ‘निर्माण आयोजनाले नागढुङ्गा-पिपलामोड सडक निर्माणका लागि यसअघि राति भत्काउने काम भएको र अब निर्माण दिउँसो गर्नुपर्ने भनेर प्रस्ताव आएको थियो । प्राविधिक रुपमा निर्माण दिउँसो नै गर्नुपर्ने भनेपछि, त्यसका लागि अनुमति दिइएको हो,’ प्रजिअ तिवारीले भने । नारायणगढ-मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले आज सूचना गरी काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ । बन्दको समयमा धार्के-सितापाइला तथा टोखा-छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ । 

कुनै समय नाक खुम्च्याउने अस्पतालमा बिरामीको चाप

काठमाडौं । कुनै बेला झापाको बिर्तामोडमा सरकारी स्वास्थ्य संस्था भन्ने बित्तिकै नाक खुम्च्याउने गरिन्थ्यो । सरकारी स्वास्थ्य संस्थाप्रति नगरवासीको विश्वास न्यून थियो । अधिकांश आर्थिक अवस्था कमजोर भएकाहरू मात्र सेवा लिन जान्थे । तर, अहिले अवस्था फेरिएको छ । सुविधा सम्पन्न नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदान हुन थालेपछि नगरवासीको आकर्षण बढ्न थालेको छ । नगर अस्पतालको सेवामा विविधतासँगै सुविधा सम्पन्न भवनबाट सेवा प्रदान हुन थालेपछि अहिले दैनिक चार सयदेखि पाँच सय जनाले सेवा लिन थालेका छन् । स्वास्थ्य क्षेत्रलाई नगरले विशेष प्राथमिकता दिइएको बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईँले बताइन् ।  ‘चौबिसै घण्टा सेवा सञ्चालनको तयारीमा छौँ । नयाँ भवन निर्माणको काम समयमै सम्पन्न नहुँदा समस्या भइरहेको छ,’ उनले भनिन् ।  निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेकाले समस्या भइरहेको नगर प्रमुख प्रसाईँले बताइन् । अहिले नगर अस्पताल १५ शय्याको छ । यसलाई २५ शय्याको बनाउने लक्ष्य रहेको छ । नगर अस्पताललाई विशेष प्राथमिकतामा राखेको उनको भनाइ छ ।  नगर अस्पतालबाट प्रभावकारी रूपमा सेवा प्रवाह हुन थालेपछि विभिन्न जिल्लाबाट नगर अस्पताल सञ्चालनको अवस्था बुझ्न र अनुभव साटासाट गर्न जनप्रतिनिधि आउने गरेका नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रालोले बताए ।  अस्पतालले चाँडै डायलाइसिस सेवा सञ्चालन गर्न लागेको छ । ६ वटा डायलाइसिस मेसिन दाताबाट प्राप्त भएको उनको भनाइ छ । नगरपालिकामा एक नगर अस्पताल र ८ वडामा आधारभूत स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ । ३ करोड ९६ लाख रुपैयाँको लागतमा ८ वटा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण भइसकेका छन् ।  १५ करोड ३४ हजार रुपैयाँको लागतमा नगर अस्पतालको भवन निर्माणको भइरहेको नगर प्रमुख प्रसाईँले बताइन् । भवन निर्माण भएपछि १५ शय्याबाट २५ शय्यामा स्तरोन्नति गरिने छ ।  आधारभूत स्वास्थ्य केन्द्रबाट १२७ प्रकारका औषधि निःशुल्क वितरण हुँदै आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजीव विष्टले बताए। नगरपालिका मातहतका स्वास्थ्य संस्थामार्फत हालसम्ममा ८९ हजार ७६४ जनाले स्वास्थ्य सेवा लिएको नगरपालिकाले जनाएको छ । बिर्तामोड नगर क्षेत्रमा घरमा प्रसूति गराउनेको दर ‘शून्य’मा झरेको प्रमुख विष्ट बताउँछन् । नगर अस्पतालमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म आकस्मिक सेवा सञ्चालित छ । अस्पतालमा चिकित्सकसहित ६० जनाको जनशक्ति रहेको छ । 

साढे १० करोडमा हाम्रो माया घर निर्माण हुँदै, महायज्ञबाट २ करोड संकलन

काठमाडौं । बर्दिबास-२ हङकङ डाँडामा ‘हाम्रो माया घर’ निर्माणले गति लिएको छ । भवन तयार हुना साथ आश्रय पाइने अशक्त, बेसहाराले आस सँगालेका छन् । नौ महिनाअघि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिलान्यास गरेसँगै निर्माण थालिएको ‘हाम्रो माया घर’को ५० प्रतिशत काम सम्पन्न भएको छ । हाम्रो माया घर निर्माण समितिका अध्यक्ष शम्भुप्रसाद भट्टराईका अनुसार १० करोड ६९ लाख रुपैयाँको लागतमा दुईवटा भवन निर्माणको काम अघि बढेको छ । दुई वर्षभित्र भवन निर्माण गर्ने लक्ष रहेको उनको भनाइ छ ।  पहिलो भवन निर्माणको काम गत वर्ष साउनमा आयोजित शिवपुराण महायज्ञबाट प्राप्त रकमबाट थालिएको हो । २ करोड रुपैयाँ रकम सो महायज्ञबाट सञ्चित भएको थियो । त्यसयता निर्माण कार्यमा विभिन्न दाताबाट जुटेको सहयोगबाट काम निरन्तर अघि बढेको अध्यक्ष भट्टराई बताउँछन् । केही दिनअघि बर्दिबास नगरपालिकाका प्रमुख प्रहलादकुमार क्षेत्रीले २५ लाख रुपैयाँ सहयोगको घोषणा गरे । यस्तै ॐ समाज डेण्टल अस्पताल, बर्दिबासका सञ्चालक डा सुवास घिमिरेले ७ लाख ५० हजार रुपैयाँ उपलब्ध गराए । पहिलो भवन निर्माण सम्पन्न गरेर प्रयोगमा ल्याएर अर्को भवन निर्माण थालिने अध्यक्ष भट्टराईले बताए ।  असहाय बालबालिका, सडक मानव, अशक्त र बेसहाराका लागि ‘हाम्रो माया घर’ आश्रय हुने हाम्रो माया घर बर्दिवास समितिका अध्यक्ष कृष्णप्रसाद गौतम बताउँछन् ।  ‘हाम्रो माया घर’ निर्माण गर्न ५ कट्ठा १० धुर जग्गा निःशुल्क प्राप्त भएको छ । दाताहरु भेटिएपछि अर्को भवन निर्माण कार्य अघि बढ्ने उनको भनाइ छ । यहाँ निर्मित ‘हाम्रो माया घर’ मा मधेसका जुनसुकै ठाउँमा भेटिने सडक मानव, असहाय बालबालिका, अशक्त, बेसहारा एवं परिवारबाट हेपिएका, त्यागिएका वृद्धवृद्धालाई खानपान, बास, उपचार र लत्ताकपडासहित बन्दोबस्त गरेर राखिने हाम्रो माया घर बर्दिवास समितिका अध्यक्ष गौतम बताउँछन् । ‘हाम्रो माया घर’ मा दुई सय जना बेसहारालाई मानवोचित व्यवस्थापनसहितको आश्रय दिने लक्ष्य छ । दुबै भवन बालबालिका र अपाङ्गमैत्री हुनेछन् । खेलकुद, मनोरञ्जन र विद्यालय शिक्षासँग यहाँ ल्याइने बालबालिकालाई तत्काल जोडिने छ ।

नेपाली रुपैयाँमा यस्तो हुनेछ गभर्नर पौडेलको हस्ताक्षर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा.विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो ।  उनी गभर्नरमा नियुक्त भएसँगै अब उनको हस्ताक्षरको पनि चर्चा हुन थालेको छ । उनले सपथ र कार्यभार बुधबार सम्हाल्ने बुझिएको छ । उनले बुधबार सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिनेछन् ।  यस्तो छ उनको हस्ताक्षर

गभर्नर पौडेल : विदेशमा पढाइ, अब्बल अर्थशास्त्री

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा.विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो ।  गभर्नर सिफारिस समितिले पौडेलसँगै राष्ट्र बैंककी कामु गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव दिनेश भट्टराईलाई सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकले सिफारिसको एक नम्बरमा रहेका  पौडेललाई गभर्नरमा नियुक्त गरेको हो ।  उनी नेपाली काँग्रेसको सहयोगले गभर्नरमा नियुक्त हुन सफल भएका हुन् । यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनी २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए ।  ललितपुरमा परराष्ट्रमन्त्री आरजू राणाको एउटा महंगो निजी स्कुल युलेन्स स्कूल सञ्चालनमा छ । आरजूको उक्त युलेन्स स्कुलमा डा. पौडेलले अगस्ट २०१९ देखि जुलाई २०२१ सम्म बोर्ड अफ ट्रस्टीका रूपमा काम गरेका थिए ।  डा. पौडेलले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनले चीनको शाङ्हाइबाट पनि इन्जिनियरिङमा स्नातक तह अध्ययन गरेका छन् ।  लामो समय विदेशमा गरेको अध्ययनले उनलाई एक अर्थशास्त्री बनाउन भूमिका खेल्यो । उनी २०१२ देखि २०१३ सम्म सानिमा बैंकको सञ्चालक बनेको अनुभव पनि छ ।  उनले विश्व बैंकको परामर्शदार्ता, अन्तर्राष्ट्रिय श्रम संगठनको नेपालस्थित कार्यालयमा र मिलेनियम च्यालेन्ज कर्पोरेशनको नेपालस्थित कार्यालयमा पनि अर्थशास्त्रीको रूपमा काम गरिसकेका छन् ।  यस्तै, उनले काठमाण्डू विश्वविद्यालयको भिजिटिङ प्रोफेसर, युलेन्स स्कूलको बोर्ड अफ ट्रस्टी, सानिमा मिडिल तमोर हाइड्रोपावरको सञ्चालक भएर पनि काम गरिसकेका छन् ।  चितवन घर भएका उनी २०७९ को संघीय संसदका लागि चुनावमा होमिएका थिए । तर, उनी पराजित भए ।  डा. पौडेल विभिन्न समयमा अर्थतन्त्रका विविध विषयमा लेख रचना लेख्दै आएका छन् भने भने उनीसँग आर्थिक इतिहासमा गहिरो अध्ययन भएका एक काबिल अर्थशास्त्रीको रुपमा उनी परिचित छन् । अमेरिका र चीनमा गरेको अध्ययन, योजना आयोगको नेतृत्व गरेको अनुभव र अध्ययनशील मानिने पौडेलले राष्ट्र बैंकको गभर्नरका रुपमा प्रभावकारी काम गर्न सक्ने अनुमान धेरैले गरेका छन् ।