विकासन्युज

लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हो, यथार्थमा छैन : ऊर्जामन्त्री खड्का

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले  लोडसेडिङको  हल्ला सामाजिक सञ्जालको हल्ला मात्रै भएको बताएका छन् । बुधबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले बजारमा आएका हल्लाहरु सस्तो लोकप्रियताका लागि आएका बताए । उनले मर्मतसम्भारका लागि बाहेक अन्य कुनैपनि बहानामा लोडसेडिङ्ग नहुने बताए । बेला बखत विद्युत विच्छेद हुने अवस्था आजमात्रै नभइ यसअघिको वर्षहरुमा पनि भएको जानकारी दिए ।  उनले गत वर्षमा पनि वर्षमा ७ सय घण्टासम्म यसरी विभिन्न पटक विद्युत गएको दाबी गरे । कहिले हावाहुरी, कहिले ठूला ठूला पोल ढलेका कारण, कहिले मान्छेकै कारण पनि विद्युत आपूर्तिमा समस्या भएको उल्लेख गरे । मर्मत गरेको बेलामा विच्छेद हुने बाहेक लोडसेडिङको अवस्था नरहेको र आगामी वर्षहरुमा झनै नहुने दाबी गरे । मन्त्री खड्काले भने, ‘बजारमा केही चर्चा भएको छ । हामीले यो हिउँदमा १ हजार ५ मेगावाटसम्म विद्युत आयात गर्यौँ । आवश्यकताअनुसार ६ सय, सात सय घट्दै आएर यहाँको विद्युत बढ्दै जाने, आयात घट्दै जाने अवस्थामा छ । र थियो । अस्तिको दिनसम्म पनि हामी साढे ३ सय मेगावाट विद्युत आयात गरिरहेका थियौँ । तर आजको रेकर्डअनुसार १ सय ५० मेगावाट निर्यात गरेका छौँ । लोडसेङिको हल्ला यो सामाजिक सञ्जालको हल्ला मात्रै हो ।’ मन्त्री खड्काले मुलुकको भविष्य विद्युत क्षेत्रमा रहेको बताए ।  

गभर्नरलाई प्रश्न : अम्पाएर नै खेलाडी बनेर जित्नु भएको हो ?

काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्व पौडेलमाथि अहिले एउटा टिप्पणी भइरहेको छ- अम्पाएर नै खेलाडी बनेकाे। उनी यसअघि गभर्नर सिफारिस समितिको सदस्य भएपनि उनले सदस्यबाट राजीनामा दिएर अहिले गभर्नरमा नियुक्त हुन सफल भए । तर, उनले त्यो प्रश्नको सामना भने पदभार ग्रहण कार्यक्रममा पनि गर्नुपर्यो । सञ्चारकर्मीले तपाईं अम्पाएर नै खेलाडी बन्नुभयो भन्ने टिप्पणी छ, खेलाडी क्षमतावान नदेखेर फिल्डमा उत्रिनु भएको हो ? भनेर प्रश्न गरे । जवाफमा उनले भने, ‘तपाईंले कसरी लिनु भएको छ ? यसमा म केही भन्नँ चाहन्नँ, सबै मान्छे क्षमतावान छन्, कसैलाई क्षमतावान नदेखेको पनि  भन्दिनँ, मलाई जसले छान्नुभयो उहाँहरुलाई नै सोध्नुहोस् ।’  

गभर्नरलाई प्रश्न : गुणाकर भट्टको राजीनामा के गर्नुहुन्छ ?

काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्व पौडेलले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगर्ने संकेत गरेका छन् ।  बुधबार पदभार ग्रहण गर्न पुगेका उनलाई सञ्चारकर्मीले भट्टको राजीनामा स्वीकृत हुन्छ वा हुँदैन भन्ने जिज्ञासामा उनले भने, ‘मेरो हातमा हाइपुगेको छैन, अब सायद पहिलेको जस्तो अवस्था नहोला । मिलेर जानुपर्छ ।’  

नवनियुक्त गभर्नरले के गरे पहिलो निर्णय ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले नयाँ नोट डिजाइन सम्बन्धित निर्णय गरेका छन् ।  नयाँ मुद्रा छपाइका लागि आवश्यक पर्ने  डिजाइन अगाडि बढाउने निर्णय गरेका हुन् । डेपुटी गभर्नर बमबहादुर मिश्रले १ हजार र ५० रुपैयाँ दरका नोटको डिजाइन बनाउने तथा डिजाइन समितिमा पेस गर्ने निर्णय भएको जानकारी दिए । 

प्रधानन्यायाधीशबाट शपथ लिएर डा. पौडेलले सम्हाले गभर्नरको जिम्मेवारी

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले अर्थविद् डा पौडेललाई शपथ ग्रहण गराएका हुन् ।  मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा पौडेललाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले गभर्नर चयनका लागि  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा  तीन सदस्यीय समिति गठन गरेको थियो । 

ऐनले दिएको अधिकार प्रयोग गर्छु, कसैसँग झगडा गर्दिनँ : गभर्नर पौडेल

काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्व पौडेलले ऐनले दिएको अधिकार प्रयोग गरेर काम गर्ने बताएका छन् । बुधबार राष्ट्र बैंक पुगेर पदभार ग्रहण गर्दै उनले अब आफूले ऐनका अधिकार प्रयोग गरेर काम गर्ने र कुनै र कसैसँग झगडा नगर्ने धारणा राखेका हुन् । मौद्रिक नीतिले वित्तीय नीतिको लक्ष्य सफल बनाउन भूमिका खेल्ने बताएका हुन् ।  यस्तै, उनले कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत सम्बन्धीमा पनि धारणा राखेका छन् । उनले भने, ‘मेरो हातमा केही आएको छैन । अब पुरानो अवस्था नहोला ।’  

नवनियुक्त गभर्नर विश्व पौडेलको अर्थमन्त्रीसँग भेट, समन्वयमा काम गर्ने सहमति

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले भेटेका छन् । बुधबार बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेटेका हुन् । सो अवसरमा अर्थमन्त्री पौडेलले हार्दिक बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिए । अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रीक नीतिबीच समन्वय गरी अघि बढ्ने उल्लेख गर्दै नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रीक क्षेत्रमा देखा परेका समस्या समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास व्यक्त गरे ।  नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्याउने बताए । उनले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामा जोड दिने बताए ।  सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायत नवनियुक्त गभर्नर पौडेललाई बधाइ तथा शुभकामना दिएका थिए ।  

फूलमालासहित गभर्नरको पर्खाइमा राष्ट्र बैंकका कर्मचारी {तस्बिरहरू}

काठमाडौं । नेपाल राष्ट्र बैंकले नवनियुक्त गभर्नर डा. विश्व पौडेलको स्वागतको तयारी गरेको छ । राष्ट्र बैंकले कर्मचारीहरुलाई तयारका साथ फुलमालासहित प्रवेश द्वारमा तयार अवस्थामा राखेको छ ।  पौडेलले सर्वोच्च अदालतबाट सपथ लिएर राष्ट्र बैंक जाँदैछन् । उनले सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग सपथ लिएका थिए । अब उनी पदभार ग्रहणका लागि राष्ट्र बैंक जाँदैछन् ।  उनलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको थियो । उनीसँगै तीन जनाको नाम सिफारिस भएको थियो ।