वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो
पर्सा । पर्साको वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा चार पाङ्गे सवारीसाधनको आयात ह्वातै घटेको छ । चालु आर्थिक वर्षको वैशाखसम्म यो नाका हुँदै एक अर्ब ५३ करोड मूल्य पर्ने सात सय ३५ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएका छन् । जबकि आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्मको अवधिमा भने दुई अर्ब सात करोड मूल्य पर्ने एक हजार २६७ वटा जिप, कार र भ्यान सवारीसाधन आयात भएर भित्रिएका थिए । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पछिल्लो समय वीरगञ्जभन्दा मुलुकका अन्य नाकाबाट धेरै सवारीसाधन आयात हुने बताउँछन् । इन्धनबाट चल्ने चार पाङ्ग्रे सवारीसाधनको आयात घटेसँगै कार्यालयले प्राप्त गर्ने राजस्वको रकममा पनि गिरावट देखिएको छ । चालु आर्थिक वर्षको १० महिनामा इन्धनबाट चल्ने चार पाङ्ग्रे सवारीसाधनबाट चार अर्ब तीन करोड राजस्व सङ्कलन भएको छ । तर, गत आवको सोही अवधिमा भने चार अर्ब ३९ करोड राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्षको १० महिनामा ट्रक, मिनि ट्रकको आयात पनि खुम्चिएको छ । सो अवधिमा ५३ करोड मूल्यका २३१ वटा ट्रक, मिनिट्रक आयात भएका छन् । जबकि गत आर्थिक वर्षको सोही अवधिमा भने दुई अर्ब १२ करोड मूल्य पर्ने ७६४ वटा ट्रक तथा मिनि ट्रक आयात भएको थियो । चालु आर्थिक वर्षको १० महिनामा विद्युत्बाट चल्ने जीप, कार र भ्यानको आयातमा पनि उच्च गिरावट देखिएको छ । सो अवधिमा ४२ करोड मूल्य पर्ने १७४ वटा विद्युतीय जिप, कार र भ्यानको आयात भएको छ । जबकि गत आर्थिक वर्षको १० महिनामा भने ९५ करोड मूल्यका ४४८ वटा विद्युतीय जिप, कार र भ्यानको आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा २६ थरिका साना-ठूला सवारीसाधन गरेर १८ अर्ब ५२ करोड मूल्यका दुई करोड १४ लाख ७५ हजार रुपैयाँका ४ सय ७१ वटा सवारीसाधन आयात भएका छन् । ती सवारीसाधन आयात हुँदा कार्यालयले भने १५ अर्ब २४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा १७ अर्ब ५ करोड मूल्यका २६ थरिका दुई करोड ७० लाख २२ हजारका २ सय २२ वटा साना/ठूला सवारीसाधन आयात भएका छन् । ती सवारीसाधनको आयातबाट कार्यालयले १३ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको छ । रासस
अमेरिकाले स्टिल र आल्मुनियमको भन्सार दोब्बरले बढाएर ५० प्रतिशत पुर्यायो
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा भन्सार दोब्बरले बढाएर ५० प्रतिशत पुर्याउने योजना बनाएको बताएका छन् । जुन विदेशी प्रतिष्पर्धाबाट घरेलु उद्योगलाई थप जोगाउने उद्देश्यले गरिएको कदम भएको बताएका छन् । ट्रम्पले पेन्सिलभेनियाको वेस्ट मिफ्लिनमा रहेको अमेरिकी स्टील प्लान्टको भ्रमणको क्रममा यो घोषणा गरे । जहाँ अमेरिकी स्टिल र जापानको निप्पोन स्टिल बीचको १४ अर्ब डलरको साझेदारीको अनावरण गरिएको थियो । ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा यो निर्णयको पुष्टि गर्दै नयाँ दर जुन ४ देखि लागू हुने बताए । ट्रम्प प्रशासनले मार्च १२ मा सबै स्टील र एल्युमिनियम आयातमा २५ प्रतिशतको व्यापक कर लगाएको थियो । जसको अमेरिकी अटो उद्योगबाट तीब्र आलोचना भएको थियो । क्यानडाले तुरुन्तै प्रतिशोधात्मक उपायहरू अपनायो ।
सिटिजन्स बैंक र सारंग हेल्थ केयरबीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरस्थित सारंग हेल्थ केयरबीच विशेष छुट सुविधा दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहकार्य अन्तर्गत सिटिजन्स बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले सारंग हेल्थ केयरमा उपचार सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकले यस्तो सहकार्यलाई डिजिटल कारोबार प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास लिएको छ । बैंकका अनुसार सहकार्यबाट ग्राहकलाई नगद कारोबारको सट्टा डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन हुने तथा सेवा उपयोगमा अतिरिक्त सुविधा प्राप्त हुने अपेक्षा गरिएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न सिटिजन्स बैंकले समय–समयमा ग्राहक हितमा विभिन्न किसिमका छुट योजना तथा सहकार्य गर्दै आएको छ । बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड भुक्तानी लगायतका माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन दिनेगरी सेवा विस्तार गरिरहेको जनाएको छ । ग्राहकमैत्री योजनाहरू मार्फत बैंकले ग्राहक अनुभवमा सुधार ल्याउन खोजिरहेको छ भने सारंग हेल्थ केयरसँगको सहकार्य स्वास्थ्य सेवाको पहुँचलाई अझ सहज बनाउने प्रयासस्वरूप लिइएको बैंकले उल्लेख गरेको छ ।
नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नागरिक सामुदायिक र ह्याम्स अस्पतालमा छुट
काठमाडौं । नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नागरिक सामुदायिक शिक्षण अस्पताल र ह्याम्स अस्पतालको उपचार सेवामा छुट प्रदान गरिने भएको छ । ह्याम्स अस्पतालद्वारा सञ्चालित भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक शिक्षण अस्पतालमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता हस्ताक्षर गरिएको हो । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि १२ प्रतिशतसम्म छुट दिइने छ । सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र नागरिक सामुदायिक शिक्षण अस्पतालको तर्फबाट कार्यकारी निर्देशक भुवन जोशीले हस्ताक्षर गरे ।
हिमालय रोडिज सिजन ७ 'हेल अर हेभन' को टाइटल स्पोन्सरका रूपमा यामाहा नेपालको निरन्तरता
काठमाडौं । यामाहा नेपालले नेपालकै चर्चित रियालिटी शो हिमालय रोडिज को सातौं सिजनका लागि पुनः टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ । यसपटकको सिजन 'हेल अर हेभन' भन्ने थिमसहित फर्किएको छ । यो यामाहाको हिमालय रोडिजसँगको साझेदारीको लगातार छैटौं वर्ष हो, जसले ब्रान्डको साहसिक र युवा-केन्द्रित पहिचानलाई झन् सुदृढ बनाएको छ । हिमालय टिभीमा साप्ताहिक रूपमा प्रसारण हुने हिमालय रोडिज, अन्तर्राष्ट्रिय शो एमटीभी रोडिजबाट प्रेरित, नेपालकै सबैभन्दा लोकप्रिय रियालिटी शो मानिन्छ । कठोर चुनौती, अप्रत्याशित मोड र सशक्त स्टोरीटेलिङले भरिएको यस शोले प्रतियोगीहरूलाई नेपालको असभ्य र सुन्दर भूगोलमा शारीरिक र मानसिक रूपमा परिक्षण गर्छ । यामाहा नेपालले सधैं पर्फर्मेन्स, स्टाइल र एडभेन्चरसँग जोडिएको ब्रान्ड छविको रूपमा युवा यात्रुहरूलाई आकर्षित गर्दै आएको छ । MT-15 V2 र FZ-S V3 जस्ता सडकमा लोकप्रिय बाइकदेखि ट्रयाक-प्रेरित R15 V4, अफ-रोड WR 155R, स्पोर्टी Aerox 155 र इन्धन-कुशल RayZR 125FI Hybrid जस्ता मोडेलहरूले यामाहालाई आधुनिक यात्रुहरूको पहिलो रोजाइ बनाएका छन् । एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालका अनुसार, 'यामाहा र रोडिज दुबै सीमाना पार गर्ने, जोखिम लिने र आफ्नै बाटो रोज्ने सोचसँग जोडिएका छन् । ‘हेल अर हेभन’ थिमले जीवन र यात्रा दुबैमा गरिने छनोटहरूको महत्वलाई झल्काउँछ । हामी फेरि यो सहकार्यमा सहभागी हुन पाउँदा गर्व गर्छौं ।' एमएडब्ल्यू अन्तर्गत सञ्चालित यामाहा नेपाल देशकै अग्रणी र भरपर्दो दुईपाङ्ग्रे सवारी ब्रान्डमध्ये एक हो। प्रविधिमा नवीनता, इन्जिनियरिङ सटीकता र उत्कृष्ट बिक्रीपछिको सेवा सहित, यामाहा नेपालले अझ सुरक्षित, शक्तिशाली र रोमाञ्चक राइडिङ संस्कृतिको प्रवर्द्धनमा निरन्तर काम गरिरहेको छ।
अटोमोबाइल उद्योगका लागि मैत्रीपूर्ण बजेट, नाडा उत्साहित
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटप्रति नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सकारात्मक प्रतिक्रिया व्यक्त गरेको छ । नाडाले विगतमा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागमा अटोमोबाइल क्षेत्रसम्बन्धी नीतिगत सल्लाह र सुझावहरू पेश गरेको थियो, जसलाई बजेटले समेटेको भन्दै नाडाले सरकारलाई धन्यवाद दिएको हो । नाडाका अनुसार यस वर्षको बजेट व्यवसायमैत्री मात्रै नभई अटोमोबाइल व्यवसायको दीर्घकालीन माग र आवाजलाई सम्बोधन गर्न सफल भएको छ । नाडाले यस बजेटले उद्यमी, व्यवसायी र समग्र अटोमोबाइल उद्योगलाई मात्र होइन, राष्ट्रिय अर्थतन्त्रलाई समेत गतिशील बनाउने विश्वास व्यक्त गरेको छ । नाडाले अब आगामी मौद्रिक नीति पनि यसै अनुरूप व्यवसायमैत्री हुने अपेक्षा व्यक्त गर्दै बजेटमार्फत आफ्नो आवाज सुनिएकोमा नेपाल सरकारप्रति हार्दिक आभार प्रकट गरेको छ । यस्ता नीतिगत पहलकदमीहरूले निजी क्षेत्रको मनोबल उच्च बनाउने र लगानीमैत्री वातावरण निर्माणमा टेवा पुर्याउने कम्पनीको भनाइ छ ।
बेष्ट फाइनान्स नेपाल पे कार्डमा आवद्ध, एनसीएचएलसँग प्रिन्सिपल मेम्बरसिप सम्झौता
काठमाडौं । बेष्ट फाइनान्स लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस एनसीएस तथा नेपाल पे कार्ड को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्डको पूर्वाधार तयार भएसँगै, एनसीएचएलले बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त प्रणालीमा आवद्ध हुन आग्रह गरेको थियो । सोही अनुरूप बेष्ट फाइनान्सले नेपाल पे कार्ड इस्यु र अक्वायर गर्ने प्रक्रियामा अग्रसरता देखाएको हो । नेपाल पे कार्ड पूर्वाधारको व्यावसायिक सञ्चालन (कमर्सियल रोलआउट) पश्चात बेष्ट फाइनान्सले आफ्ना ग्राहकहरूलाई नेपाल पे कार्ड सेवा प्रदान गर्न सक्नेछ । एनपीएस एनसीएस प्रणालीले विभिन्न कार्ड स्विचहरूबीच अन्तरसंयोजन सुनिश्चित गर्दै, डोमेस्टिक कार्ड कारोबारको राउटिङ र सेटलमेन्टका लागि एकीकृत कार्ड स्विचको रूपमा काम गर्नेछ । यसको कार्यान्वयन पश्चात कार्ड कारोबार लागत घटाउने, डाटा स्थानीयकरण सुनिश्चित गर्ने तथा डिजिटल इकोसिस्टममा नवीनतम प्रविधिको विकास र प्रवर्द्धन हुने विश्वास लिइएको छ । बेष्ट फाइनान्सको यस कदमले डिजिटल कारोबारलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।
एनएमबि बैंक र हिल्टन काठमाडौंबीच सम्झौता, ग्राहकलाई १५ प्रतिशतसम्म छुट
काठमाडौं । एनएमबि बैंक लिमिटेड र हिल्टन काठमाडौंबीच एनएमबि बैंकका कर्मचारी तथा ग्राहकहरूलाई छुट प्रदान गर्ने सहमति भएको छ । सम्झौता अनुसार एनएमबि बैंकका कार्ड (डेबिट, क्रेडिट तथा प्लाटिनम क्रेडिट) प्रयोग गर्ने ग्राहकहरू वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले हिल्टन काठमाडौंमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । बैंकले यस प्रकारको सहकार्यले ग्राहकहरूलाई नगद कारोबारबाट डिजिटल कारोबारमा प्रवाहित गर्ने विश्वास लिएको छ । साथै, डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई प्रोत्साहित गर्न समय–समयमा यस्ता ग्राहकमैत्री र दीगो सुविधा सञ्चालन गर्दै आएको जनाएको छ । बैंकका अनुसार ग्राहक लाभका साथै डिजिटल कारोबार विस्तार एनएमबि बैंकको प्राथमिकतामा पर्छ, र यस्ता सहकार्यहरूले त्यसलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ ।