विकासन्युज

हवाई इन्धनको मूल्य २२ डलर घट्यो, २ रुपैयाँ बढ्यो पेट्रोल

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिर ३ रुपैयाँ र अन्तर्राष्‍ट्रियतर्फ अमेरिकी डलर २२ ले घटाइएको निगमले जनाएको छ । मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर १४०.५० रुपैयाँ, १४२ रुपैयाँ र १४३ रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर १५६.५० रुपैयाँ, १५८ रुपैयाँ र १५९ रुपैयाँ तोकिएको छ ।   आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर ११८ रुपैयाँ कायम भएको छ । अन्तर्राष्‍ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर काठमाडौंमा अमेरिकी डलर ९०१, पोखरामा ७२१ र भैरहवामा ७०६ तोकेको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढेर तथा हवाई इन्धनको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।  

रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै, आज उपत्यका बिदा

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब ८ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो ।  जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उहाँले बताउनुभयो । मच्छेन्द्रनाथको यात्रा भने करिब १ हजार ३०० वर्ष अघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।  डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे, पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आपूmले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो । आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ ।  पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यस अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

हवाई भाडादरमा लाग्ने भ्याट नहटाएकामा नाट्टाको असन्तुष्टि

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले हवाई भाडादरमा लाग्ने भ्याट नहटाएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । नाट्टाका महासचिव युविका भण्डारीले शनिबार विज्ञप्ति जारी गरी सरकारद्वारा सार्वजनिक गरिएको आव २०८२/८३ को वार्षिक बजेटप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । 'दुई वर्षदेखि निरन्तर रूपमा सरकारसमक्ष उठाइएका विविध विषयमध्ये विशेषतःराष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई भाडादरमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट)सम्बन्धी जटिल र प्रतिकूल व्यवस्थालाई निरन्तर बेवास्ता गर्दै आइएको अवस्थामा, यस वर्ष पनि सो कर कायम राखिएकामा पर्यटनसम्बद्ध सरोकार भएका सबैलाई स्तब्ध बनाएको छ', विज्ञप्तीमा भनिएको छ । प्रस्तुत बजेटले पर्यटन क्षेत्रका विभिन्न पक्षमा सकारात्मक नीति र व्यवस्था ल्याएको देखिएको बताउँदै महासचिव भण्डारीले नेपाल प्रवेशको सुरुआती चरणमा पर्ने हवाई सेवामा प्रत्यक्ष असर गर्ने भाडादरमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी प्रबन्धले पर्यटकको आवागमनमा निरुत्साहित गरेको धारणा राखे । 'पर्यटकको सम्पूर्ण भ्रमण खर्चको तीन चौथाइभन्दा बढी हवाई यात्रामा खर्च हुने अवस्था सिर्जना भएको छ । पर्यटकको यथेष्ट आवागमनबिना बजेटमा पर्यटन प्रवर्द्धनसम्बन्धी उल्लेख गरिएका सकारात्मक पक्ष ओझेलमा पर्नसक्ने र तिनको कार्यान्वयनमा प्रत्यक्ष अवरोध आउने सम्भावना रहन्छ । जसले गर्दा ती व्यवस्था केवल घोषणामा सीमित रहने सम्भावना प्रबल देखिन्छ', महासचिव भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नाट्टाले अर्थमन्त्री, पर्यटनमन्त्री, सांसद तथा विभिन्न राजनीतिक दलका नेताले सार्वजनिक मञ्चमा हवाई भाडामा लाग्ने भ्याट अत्यन्त अनुचित रहेको, यसले अन्तरराष्ट्रिय मूल्य मान्यतासँग मेल नखाने, पर्यटन प्रवर्द्धनमा प्रतिकूल असर पार्ने र भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका नेपालीको हवाई पहुँचमा बाधा पुर्‍याउने भन्दै भ्याट खारेजीका पक्षमा धारणा राख्दै आएपनि कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो । हवाई भाडामा लगाइएको भ्याट खारेजीको प्रक्रिया नथाल्नुले सरकार पर्यटन उद्योगप्रति उदार र गम्भीर नदेखिएको नाट्टाले जनाएको छ । नाट्टाले आव २०८०/८१ देखि निरन्तर रूपमा हवाई भाडादरमा लागू भ्याट हटाउनका लागि पहल लिँदै आएको छ । 

काँग्रेसमा देउवाको भन्दा राम्रो प्रधानमन्त्री चलाउने मान्छेहरू छन् : महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कहिल्यै पनि नेपालको राजसंस्थालाई संवैधानिक बनाउन नसकिने बताएका छन् । ललितपुरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।  नेपालको राजसंस्थालाई न हिजो, न भोलि कसैले पनि संवैधानिक बनाउन नसक्ने बताए । संवैधानिक राजसंस्था, राजतन्त्र छान्ने की गणतन्त्र छान्ने भन्नेमा बहस गर्न नहुने बताए । अहिलेको बहस नेपालमा की राजतन्त्र रहन्छ की गणतन्त्र रहन्छ भन्नेमा हुनुपर्ने बताए । राजतन्त्र पुनःस्थापनका लागि पूर्वराजा शाहलाई मैदानमा उत्रिन चुनौति दिए । राजतन्त्र आएपछि हुन्छ के ? भन्ने प्रश्नको जवाफ चाहिने जानकारी दिए ।  महामन्त्री थापाले भने, ‘म लामो समयसम्म नेपाल विद्यार्थी संघको राजनीतिमा लाग्दै गर्दा हामी नेपालमा संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्था दुई वटा पिल्लरहरु छ,यसैबाट अघि बढ्ने भन्नेकुरालाई खालि यो ट्याक्टिल कुरा मात्रै होइन, विश्वासका साथ मान्दै आएको राजनीतिक दल भयौँ । म अहिलेको मेरो पार्टीको सभापति भन्दा म अबको १२, १५ महिनापछि उहाँ प्रधानमन्त्री हुने भन्ने छ । म के विश्वास गर्दछु भने उहाँ भन्दा मेरो पार्टीभित्र अरु दर्जनौँ मान्छेले राम्रो प्रधानमन्त्री चलाउँछ ।’ महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवाको भन्दा राम्रो प्रधानमन्त्री चलाउने व्यक्तिहरू काँग्रेसमा दर्जनौँ रहेको जानकारी दिए । 

चालीस वर्ष मुनिका कम्तीमा ४० प्रतिशत महिलालाई सङ्गठित गर्न अध्यक्ष ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ४० वर्षभन्दा कम उमेरका कम्तीमा ४० प्रतिशत महिलालाई सङ्गठित गर्न अखिल नेपाल महिला सङ्घको नेतृत्वलाई आग्रह गरेका छन् । अनेमसङ्घ, केन्द्रीय कमिटीको पूर्ण बैठकमा आज सम्बोधन गर्दै अध्यक्ष ओलीले ४० वर्ष मुनिका ४० प्रतिशत र ३० वर्ष मुनिका कम्तीमा ३० प्रतिशत महिलालाई सदस्य बनाएर देशव्यापी अभियानमा लाग्न आग्रह गरेका हुन् । उनले महिलावादका नाममा जुनसुकै विचारका महिलालाई पनि समर्थन जनाउने खालको सोच गलत भएकाले सङ्घलाई निष्ठावान्, क्षमतावान् र सक्रिय सङ्गठनका रुपमा स्थापित गर्नुपर्नेमा पजि जोड दिए । अध्यक्ष ओलीले पार्टीका विपक्षमा नभई पक्षमा सामाजिक सञ्जालमा प्रस्तुति दिन पनि आग्रह गर्दै नेपालले दुई कार्यकाल महिलालाई राष्ट्रपति र सबै तहमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गराएर कतिपय विकसित मुलुकभन्दा अग्रगामी रुपमा आफूलाई उभ्याएको स्पष्ट गरे ।  मिसन २०८४ को अभियानमा जुट्न महिला वर्गलाई आव्हान गर्दै अध्यक्ष ओलीले एमालेलाई एकल बहुमतको पार्टीका रुपमा स्थापित गरी मुलुकको विकास, सुशासन र समृद्धितर्फको यात्रालाई सशक्त बनाउनुपर्नेमा जोड दिए ।

अष्ट्रेलियाको हरितगृह उत्सर्जनमा वृद्धि, नवीकरणीय ऊर्जामा सुधार

काठमाडौं । अष्ट्रेलियाको सङ्घीय सरकारले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार सन् २०२४ मा देशको हरितगृह ग्यास उत्सर्जनमा सामान्य वृद्धि देखिएको छ । जलवायु परिवर्तन, ऊर्जा, वातावरण तथा पानी मन्त्रालयद्वारा शुक्रबार प्रकाशित प्रतिवेदनअनुसार सन् २०२४ मा अष्ट्रेलियाबाट जम्मा ४४६ दशमलव चार लाख टन बराबरको कार्बन डाइअक्साइड ग्यास उत्सर्जन भएको छ, जुन सन् २०२३ मा ४४६ दशमलव दुई लाख टन थियो । यो वृद्धि करिब शुन्य दशमलव ०५ प्रतिशतको हो । उद्योग र उत्पादनसम्बन्धी प्रक्रियाबाट उत्सर्जन सन् २०२३ को तुलनामा पाँच प्रतिशतले घटेको छ भने कृषिक्षेत्रबाट हुने उत्सर्जनमा पनि दुई प्रतिशतले कमी आएको छ । तर, विद्युत् उत्पादन र यातायातका साधनहरूमार्फत उत्सर्जन बढेको उल्लेख गरिएको छ । विद्युत् क्षेत्रबाट उत्सर्जन दुई दशमलव दुई प्रतिशतले र यातायात क्षेत्रबाट उत्सर्जन एक दशमलव नौ प्रतिशतले बढेको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार सन् २००५ को तुलनामा अष्ट्रेलियाको कुल उत्सर्जन २७ प्रतिशतले घटिसकेको छ भने प्रतिव्यक्ति उत्सर्जनमा ४६ दशमलव तीन प्रतिशतको कमी आएको छ । सरकारले सन् २०३० सम्ममा सन् २००५ को तुलनामा कम्तीमा ४३ प्रतिशत उत्सर्जन घटाउने लक्ष्य राखेको छ । जलवायु परिवर्तन तथा ऊर्जा मन्त्री क्रिस बोवेनले उक्त प्रतिवेदनबारे प्रतिक्रिया दिँदै सरकार उक्त लक्ष्य प्राप्त गर्ने दिशामा अगाडि बढिरहेको जानकारी दिएका छन् । उनले भने, “हामीले निरन्तर प्रयास गर्न जरुरी छ, ताकि सम्पूर्ण अर्थतन्त्रभर हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन सकियोस् ।” मन्त्रालयद्वारा प्रस्तुत अद्यावधिक विवरणअनुसार सन् २०२४ मा नवीकरणीय ऊर्जाबाट उत्पादन पाँच दशमलव ६ प्रतिशतले बढेको छ । तर, तास्मानिया राज्यमा परेको खडेरीका कारण जलविद्युत् उत्पादनमा कमी आएको र त्यसको भरपर्दा कोइला तथा ग्यासबाट उत्पादनमा केही वृद्धि भएको उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार सन् २०२५ को मार्च सम्मको १२ महिनाको अवधिमा अष्ट्रेलियाबाट हुने उत्सर्जन ४४२ लाख टन बराबर रहने प्रारम्भिक अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब एक दशमलव दुई प्रतिशतले कम हो । रासस  

ठूला दलका शिर्ष नेताहरूले विश्राम लिएको दिनदेखि नै अहिलेका आन्दोलन हराउँछन् : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालका ठूला राजनीतिक दलका शिर्ष नेताहरूले राजनीतिबाट विश्राम लिएको दिनदेखि नै अहिलेका असन्तुष्टीहरु हट्ने बताएका छन् ।  ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले शिर्ष राजनीतिक दलका शिर्ष नेताहरूले आजकै दिनबाट आफ्नो तहबाट विश्राम लिन्छाैँ भनेको दिनदेखि नै अहिले भइरहेका आन्दोलनहरू हराउने दाबी गरे । गणतान्त्रिक संस्कृतिको कुराकानी गर्दा अहिलेको समस्या लामो समयदेखि एउटै अनुहार शासन सत्तामा देखिनु रहेको बताए । राजनीतिक दलहरुका नेताहरुले नेतृत्वबाट विश्राम लिन नसक्नु नै लोकतन्त्रको सबैभन्दा ठूलो समस्या रहेको जानकारी दिए ।  महामन्त्री थापाले भने, ‘हामीले गणतान्त्रिक संस्कृतिको कुराकानी गर्यौँ । अहिलेको समस्या भनेको राजनीतिक दलहरुमा विरलै मात्र हुन्छ होला । यति लामो समयसम्म समाजले अस्वीकार गरेको एउटै भुमिकामा, एउटै अनुहारमा देखिरहेका छाैँ । भोलिबाट सबै घर फर्किन्छन् । केही पनि बाँकी रहँदैन । त्यसको सबै सुध्रिन्छ भन्ने होइन । त्यो भन्दा धेरै समस्या छन् ।’ महमन्त्री थापाले शिर्ष नेताहरुले नेतृत्व छोड्ने बित्तिकै सबै समस्या समाधान भने नहुने तर धेरै समस्या बुझेर समाधान गर्न सकिने बताए । 

राजावादीहरूसँग सरकार डरायो : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरुसँग सरकार डराएको बताएका छन् । पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।  उनले आन्दोलन उत्साहप्रद रहेको र आगामी कार्यक्रमलाई झनै मजबुत बनाउने बारेमा छलफल भएको जानकारी दिए । आन्दोलन समितिको निर्देशनअनुसार सबै परिचालित हुने निर्णय गरेको पनि बताए । एक दिन अघिसम्म निषेधित क्षेत्र नरहेको स्थानमा राजसंस्था पक्षधरहरुको प्रदर्शनका कारण निषेधित क्षेत्र घोषणा गर्नुले सरकार कमजोर भएको र सरकार डराएको प्रमाण रहेको बताए । आन्दोलन उत्कर्षतर्फ उन्मुख रहेको जानकारी दिए ।  अध्यक्ष लिङदेनले भने, ‘कार्यक्रम उत्साहप्रद छ । आज र आगामी कार्यक्रमलाई पनि मजबुत बनाउने र आन्दोलन समितिको निर्देशनअनुसार सबै परिचालित हुने भन्ने हो । हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजसंस्था पक्षधरहरुको प्रदर्शन हुन्छ भनेर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डरायो ।’ अध्यक्ष लिङदेनले जेठ १५ गते प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि काठमाडौं आह्वान गर्दा गणतन्त्रको पक्षधर स्पष्ट भएको बताए । दुई दिनको आन्दोलनको प्रभावका कारण सरकारले निषेधित क्षेत्र बनाएको बताए । गणतन्त्र झन कमजोर हुँदै गएको प्रमाणित भएको जानकारी दिए ।