डोङफेङ नामीको सफलता : ४० भन्दा बढी देशमा १२ हजार भन्दा बढी युनिटहरू निर्यात
काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता डोङफेङ नामीको जेएफ-एस३ मोडलले अहिले सम्म १२,००० भन्दा बढी युनिट ४० भन्दा धेरै देश तथा क्षेत्रहरूमा निर्यात भइसकेको छ । जुनफेङ कम्पनीका अनुसार यो सफलताले कम्पनीको अन्तर्राष्ट्रिय रणनीतिक विस्तारमा नयाँ गति दिएको छ । सन् २०२४ को डिसेम्बरबाट युरोपमा डेलिभरी सुरु भएको जेएफ-एस ३, अहिले युरोपेली बजारमा उल्लेखनीय उपस्थितिमा पुगिसकेको छ । नेदरल्याण्डमा जनवरी महिनामै यो मोडल सबैभन्दा धेरै बिक्री हुने चिनियाँ इभी बन्न सफल भयो, जहाँ ३०० युनिटभन्दा बढी डेलिभर गरियो । डिलरहरूका अनुसार, सन्तुलित सवारी अनुभव र पर्याप्त भित्री स्थानले उपभोक्ताहरूको मन जितेको छ । नर्वेमा पहिलो महिनामै १०० भन्दा बढी अर्डर प्राप्त गर्दा, चेक गणतन्त्रमा यसको सेग्मेन्टमा अग्रता कायम भएको छ । लाट्भियामा त यो चिनियाँ इभीहरूमध्ये शीर्ष १०% बजार हिस्सा ओगट्न सफल भएको छ । यस मोडलको प्रयोग क्षेत्रीय आवश्यकताअनुसार फरक-फरक ढंगले भइरहेको छ । मेक्सिको सिटीमा साझा यातायात सेवा प्रदायकहरूको लागि यो मोडल आधिकारिक सवारी बनेको छ भने बैंककमा यो मोबाइल कफी वर्कशपको रूपमा प्रयोग भइरहेको छ । अफ्रिकामा सौर्य चार्जिङ किटसहित प्रयोग भैरहेको यस मोडलले पूर्वाधार अभाव झेलिरहेका देशहरूमा नयाँ आशा देखाएको छ । जुनफेङ कम्पनीले उत्पादन विस्तार पनि तीव्र गतिमा अघि बढाइरहेको छ । युरोपमा इन्टेलिजेन्ट सवारी प्रविधिको अनुसन्धान केन्द्र निर्माणको अन्तिम चरणमा पुगेको छ । यसैबीच, कम्पनीले नयाँ मोडल जेएफ-०६ सार्वजनिक गरेको छ । ‘इन्टरस्टेलर जियोमेट्रिक’ डिजाइन भाषामा बनेको यो मोडल तारामय प्रकाश दिने लाइट स्ट्रिप, २५६-रङको एम्बियन्ट लाइट, र 'लाइट डोमेन सराउन्डिङ ककपिट' ले सुसज्जित छ । जुनफेङ कम्पनीले आगामी दिनहरूमा मागअनुसार नयाँ मोडलहरूको विकास गर्ने, उदीयमान बजारमा प्रवेश बढाउने र स्थानीय सहकार्यमार्फत नवप्रवर्तनलाई प्राथमिकता दिने योजना सार्वजनिक गरेको छ । डोङफेङलाई विश्वका अग्रणी नयाँ ऊर्जा सवारी ब्रान्डहरूमध्ये एक बनाउन यो निरन्तर योगदान दिन तयार रहेको कम्पनीको प्रतिबद्धता छ ।
डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो 'इबिएल भर्चुअल क्रेडिट कार्ड'
काठमाडौं । एभरेष्ट बैंकले विद्युतीय सेवा विस्तार गर्ने क्रममा मंगलबारदेखि ग्राहकको लागि इबिएल भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । इबिएल भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एप्लिकेसनमार्फत प्रत्यक्ष रूपमा उपभोग गर्न सकिने एक पूर्ण डिजिटल कार्ड हो । यस बैंकका ग्राहकहरूले न्यूनतम जारी गरिएको मापदण्ड प्रयोग गरी उक्त सेवा लिन सक्नेछन् । सो सेवामार्फत न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको भर्चुअल क्रेडिट सीमा प्रयोग गरी फोन पे क्यू आर स्क्यान गरेर वस्तु तथा सेवाको भुक्तानी, अनलाइन ट्रान्जेक्सन, तथा कार्ड व्यवस्थापन कार्यहरू सजिलै गर्न सक्नेछन् । यस सेवाअन्तर्गत ग्राहकले आफूले प्रयोग गरेको क्रेडिट सुविधा ४५ दिनसम्म उपभोग गर्न सक्नेछन् । साथै, ग्राहकको चाहनाअनुसार कुल बक्यौता रकमको न्यूनतम १० प्रतिशतदेखि शतप्रतिशत भुक्तानी गर्न सक्ने लचिलो सुविधा प्रदान गरिएको बैंकद्वारा जानकारी गराइएको छ ।
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
वीरगञ्ज । वीरगञ्जलाई विरुप बनाएका बिजुलीका खम्बाका तार आगामी १५ दिनमा हटाइने भएको छ । स्थानीय प्रशासनले बिजुलीका खम्बामा लत्रिएका टेलिफोन, इन्टरनेट र केबलका तार हटाउने निर्णय गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा मङ्गलबार भएको जिल्ला विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायसँगको बैठकले नगर क्षेत्रका अव्यवस्थित तारलाई १५ दिनभित्र व्यवस्थित गर्ने निर्णय गरेको हो । तार व्यवस्थापनको अनुगमनका लागि प्रहरी नायब उपरीक्षक किशोर लम्सालको संयोजकत्वमा नेपाल टेलिकम, वीरगञ्ज महानगर, नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्र, ग्रिनिसिटी सामुदायिक सेवा केन्द्र र आइस्पानका प्रतिनिधि सम्मिलित कार्यान्वयन एवं अनुगम टोली गठन गरी बुधबारदेखि नै परिचालन गर्ने निर्णय भएको छ । नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश दुवेले वीरगञ्ज सहरमा अव्यवस्थित रूपमा रहेका तारमा आगजनीका घट्न बढ्दै आइरहेको पनि नियन्त्रण गर्न आवश्यक रहेको बताए । नेपाल टेलिकम वीरगञ्ज कार्यालय प्रमुख मनिष गुप्ताले सामूहिक प्रयासले मात्र अव्यवस्थित तार व्यवस्थापन गर्न सकिने बताए । वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले अव्यवस्थित तार हटाउने कार्यमा सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए । नेपाल टेलिकम मधेस प्रादेशिक कार्यालय प्रमुख कुसुमप्रसाद भण्डारीले एकअर्का निकायबीच समन्वय नहुँदा तार व्यवस्थापनमा जटिलता थपिएको बताए । पर्साका प्रहरी प्रमुख गौतम मिश्रले सरोकारवाला निकायले तोकिएको समयसीमाभित्र नै तार व्यवस्थापन नगरेको खण्डमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताए । वल्र्डलिङ्क वीरगञ्ज र सिजिनेट वीरगञ्जका प्रतिनिधिद्वय सुचित पौडेल र शेख सजाजले तार व्यवस्थित गर्ने अभियानमा आफूहरूले पनि समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस
छुवाछूत अन्त्य गर्न तीनवटै तहका सरकार सक्रिय हुनुपर्ने
काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले छुवाछूत अन्त्य गर्न राज्यले गरेका घोषणा र सङ्कल्पलाई व्यवहारमा कार्यान्वयन गर्न तीनवटै तहका सरकार सक्रिय हुनुपर्नेमा जोड दिएका छन् । जातीय भेदभाव तथा उन्मूलन दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट नेपाली समाजमा रहेका सबै प्रकारका असमानता, उत्पीडन, विभेद र विकृति, विसङ्गतिको अन्त्य गर्ने सङ्कल्पका साथ नयाँ संविधान जारी भएको बताएका छन् । साथै अध्यक्ष विश्वकर्माले छुवाछूत अन्त्य गर्न संविधानले गरेका सबै व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
बङ्गलादेशबाट पौने ५ अर्बको आयात, निर्यात ३५ करोड मात्रै
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बङ्गलादेशबाट ४ अर्ब ७५ करोड ८ लाख ६ हजार ८७१ रुपैयाँको मालसामान आयात भएको छ । नेपालबाट ३५ करोड ६२ लाख ९७ हजार ८२७ रुपैयाँका उत्पादन बङ्गलादेश निर्यात भएका छन् । काँकडभिट्टा स्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सबैभन्दा धेरै १ अर्ब ७८ करोड ४२ लाख रुपैयाँको अप्रशोधित जुट आयात भएको छ । यसैगरी, आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजलगायतका सामग्री रहेका छन् । काँकडभिट्टाबाट ३० करोड २७ लाख ७९ हजार रुपैयाँ बराबरको खुदो बङ्गलादेश निर्यात भएको छ । यहाँबाट अन्य जडीबुटी, अनिमल फिड, घरायसी सामान निर्यात भएका कार्यालय प्रमुख पाण्डेयले बताए ।
आजसम्म सेयरधनी बने नेशनल लाइफ र एनएलजीको लाभांश पाउने, बरुण हाइड्रोको हकप्रद सेयर
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको लाभांश र बरुण हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स, हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बरुण हाइड्रोपावरले भोलि जेठ २२ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आज जेठ २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले नेशनल र एनएलजीको साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्ने छन् भने बरुणको हकप्रद सेयर खरिद गर्न पाउने छन् । नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रुपैयाँको ५ प्रतिशतका दरले २६ करोड ६ लाख ६ हजार रुपैयाँ बोनस सेयर, १० प्रतिशतका दरले ५२ करोड १२ लाख १३ हजार रुपैयाँ नगद र कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले ४ करोड ११ लाख ४८ हजार रुपैयाँ गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले ३७ औँ वार्षिक साधारण सभा असार ५ गते काठमाडौंमा बिहान साढे १० बजे आह्वान गरेको छ । यस्तै, एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रुपैयाँको २.५० प्रतिशतका दरले ६ करोड २५ लाख ६६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.१३ प्रतिशतका दरले ३२ लाख ९२ हजार रुपैयाँ नगद गरी कुल २.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न जेठ २९ गते काठमाडौंमा बिहान ११ बजे १९ औँ वार्षिक साधारण सभा बोलाएको छ । यस्तै, बरुण हाइड्रोपावर कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।
बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने चालक प्रहरीको नियन्त्रणमा
काठमाडौं । बढी भाडा लिने चालकलाई प्रहरीले कारवाही गरेको छ । काठमाडौं उपत्यका प्रहरी ट्राफिक प्रहरी कार्यालयले यात्रुहरूबाट बढी भाडा लिने ३३१ जनालाई नियन्त्रणमा लिएको हो । विभिन्न राइड सेयरिङ एपको दुरुपयोग गरी यात्रुहरूबाट बढी भाडा लिने र अफलाइन बार्गेनिङ गरी यात्रुहरूलाई हैरानी दिने ३३१ जना चालकहरूलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका प्रहरी ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । साथै उनीहरुलाई विभिन्न प्रहरी कार्यालयमा समेत बुझाएको जनाएको छ । यस्तै, ट्राफिक नियम उल्लंघन गर्ने अन्य २७२ जना राइड सेयरिङ चालकहरूलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारवाही गरेको छ ।
यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने
काठमाडौं । यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् । आन्दोलन स्थगनसँगै सार्वजनिक सवारीसाधन आजैदेखि सञ्चालनमा आउने भएका छन् । सोमबार नै सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएको थियो । सहमति भए पनि आज सार्वजनिक यातायात नचल्दा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो । आन्दोलनका कार्यक्रम फिर्ता लिएसँगै आजैदेखि सार्वजनिक यातायात सहज रूपमा चल्ने छ । सोमबार गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका उच्च पदस्थ अधिकारी र यातायात व्यवसायीबीच पटक-पटक वार्ता पश्चात् सहमति भएको थियो । सहमतिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गण्डकी प्रदेश सरकार समक्ष पठाइएको थियो । सोही सहमतिका आधारमा गण्डकी सरकारले नियमावली स्थगन गरेको हो । सङ्घीय सरकारसँग सहमति भए पनि प्रदेश सरकारले नियमावली स्थगन नगर्दा सम्म आन्दोलन जारी रहने भन्दै व्यवसायीले आज दिनभर सवारी साधन नचलाउँदा त्यसको मारमा आम नागरिक परेका थिए ।