विकासन्युज

प्रतिनिधिसभाको बैठक १ बजे बस्दै, निजामती सेवा विधेयक पारित गर्ने

काठमाडौं । आज दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दैछ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो । सो प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ । लामो समयपछि सङ्घीय निजामती विधेयक पारित हुन लागेको हो । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची निर्धारण गरिएको छ ।

धानको मूल्य प्रतिक्विन्टल २८ सय ६९ रुपैयाँ, किसानले १५ सय मात्रै पाउँदै

काठमाडौं । किसानले चैते धानको उचित मूल्य नपाएको गुनासो गरेपछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीबीच सोमबार वाणिज्य मन्त्रालयमा छलफल भएको छ । छलफलमा दुवै मन्त्रालयका सचिव, खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायतको सहभागिता थियो । चैते धानको हालको अवस्था, किसानले उचित मूल्य नपाउनुका कारण, भारतबाट चामल आयातको अवस्था, खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान, चामलको मौज्दात अवस्था, खाद्यले किसानको चैते धान खरिद गर्नसक्ने अवस्था, भण्डारण क्षमतालगायत विषयमा छलफल भएको कृषिमन्त्रीका प्रेस सल्लाहकार प्रवीण पोखरेलले जानकारी दिए ।  हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग पर्याप्त भण्डारण क्षमता नभएकाले यसका लागि पहल गर्ने, चामल, चिउरा र भुजिया निर्यात गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने, खाद्य मार्फत धान खरिद गर्न अर्थ मन्त्रालयसँग बजेटलगायत विषयमा पहल गर्ने निर्णय भएको उनले बताए ।  बैठकमा कृषिमन्त्री अधिकारीले जसरी र जुन व्यवस्था गरेर हुन्छ किसानले चैते धानको उचित मूल्य पाउन सम्बन्धित निकायको पहल आवश्यक रहेकामा जोड दिए । उद्योगमन्त्री भण्डारीले कृषि, उद्योग, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसमेत बसेर समस्याको समाधान र यस विषयमा आगामी रणनीति तय गर्नुपर्ने बताए ।  बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मा, वाणिज्य तथा आपूर्ति सचिव डा रामप्रसाद घिमिरे र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले हालको अवस्थाबारे जानकारी गराएका थिए ।  सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८६९ रुपैयाँ तोके पनि झापासहित पूर्व र पश्चिमका जिल्लामा किसानले १ हजार ५ सय रुपैयाँदेखि १ हजार ६०० रुपैयाँमा बिक्री गर्नुपर्ने अवस्था आएको बताएका छन् ।  हाल डेढ लाख मेट्रिकटनको हाराहारीमा किसानसँग चैते धान बिक्रीका लागि रहेको अनुमान गरिएको छ । पछिल्लो समय भारतबाट मात्र करिब ३१ अर्ब रुपैयाँको चामल आयात भएको जनाइएको छ  ।

६ करोडमा बनेको ‘वनजङ्गल एडभेञ्चर’, साहसिक पर्यटनका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य

काठमाडौं । काठमाडौं उपत्यका नजिकै पर्ने तारकेश्वर नगरपालिका-३ स्थित योग गन्तव्यको साहसिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । ‘वनजङ्गल एडभेञ्चर’ स्थापना भएसँगै साहसिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको हो । पर्यटनमा पछिल्लो साहसिक पर्यटनमा रूचि राख्नेको आगमन बढ्दै गएको छ । यहाँ जिपलाइन, रकक्लाइमिङ र बञ्जीजम्प गर्न उपत्यका बाहिरका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक पुग्न थालेका हुन् । योसँगै काठमाडौंमा बसोबास गरिरहेकाले साहसिक पर्यटनका लागि टाढाटाढा जानुपर्ने बाध्यता अन्त्य भएको छ । काठमाडौंकै रिङरोडभित्र बसोबास गर्नेका लागि साहसिक गन्तव्य काठमाडौं रिङरोड बाइपासबाट १० किलोमिटरभित्र ककनी राजमार्गमा पर्ने पाँचमाने स्थित ‘वनजङ्गल एडभेञ्चर’ बनेको छ । यहाँ पुगेपछि प्रकृतिको आनन्द र हरियाली वातावरणमा स्वच्छ हावा पनि लिन सक्नेछन् । ८ महिनादेखि काठमाडौंभित्र रहेका र साहसिक पर्यटनमा रूचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकलाई प्रकृतिसँगै नजिक राखेर सेवा दिँदै आइएको वनजङ्गल एडभेञ्चरका सञ्चालक एलिसा ढकालले बताइन् । उनले काठमाडौंमा बसोबास गरिरहेकालाई प्रकृति र साहसिक पर्यटनप्रति रूचि बढाउन एडभेञ्चर सञ्चालन गरिएको धारणा राखे ।  हिजोआज साहसिक पर्यटनको ‘प्याकेज’ बनाएर आउनेको सङ्ख्या बढिरहेको भन्दै उनले एडभेञ्चरले काठमाडौंभित्रका पर्यटकलाई लक्षित गरेर यो व्यवसाय सञ्चालन गरिरहेको बताए ।  काठमाडौंका मानिस यहाँ आउँदा समयको बचत र जङ्गलभित्र सबै एडभेञ्चरको फरक महसुस गर्न पाउने भएकाले सेवाग्राहीको सङ्ख्या बढ्दै गइरहेको ढकालले बताए । उनका अनुसार ३० रोपनीमा फैलिएको वनजङ्गलमा सेवाग्राहीले जिपलाइन, रोलर कोस्टर, क्लाइमिङ वाल, अब्स्टयाक्ल कोर्ष, हाइरोप कोर्ष, किड्स एडभेञ्चर्स कोर्ष जिपलाइन ट्रिपटप एडभेञ्चर र जाइन्ट स्वीङको अनुभव लिन पाउनेछन् । साहसिक पर्यटनका लागि नेपालमा पहिलोपटक रोलर कोस्टरको अनुभव लिन पाउने सञ्चालक ढकालले जानकारी दिए । फलाममा चक्का राखी बाँधेर छोड्ने गरिन्छ । पर्यटकले एक मिनेटसम्म फलामको डण्डामा घुमेर मनोरञ्जन लिन सक्नेछन् ।  पर्यटकले टेन्ट र मौलिक नेपाली घरमा बसेर फरक अनुभूति गर्न सक्छन् । एडभेञ्चरमा ११ टेन्ट र एक मौलिक घर रहेको छ । मौलिकताको जगेर्ना गर्दै वनजङ्गल एडभेञ्चरले मौलिक घरमा ढिकी, जाँतो, हलो तथा कृषकले प्रयोग गर्ने सामग्री देख्न पाइन्छ । शुक्रबार र शनिबार आन्तरिक पर्यटकको भीडभाड हुने गर्दछ । भारतीय अक्सो कन्सल्टेन्सीले एक वर्षको अवधिमा पूर्वाधार निर्माण गरेको र सबै पूर्वाधार पूर्ण रुपमा इञ्जिनिरियङ गरेर बनाइएको सञ्चालक ढकालले बताए ।  ‘वनजङ्गल एडभेञ्चरको विशेषता भनेको साहसिक पर्यटन हो । यहाँ भएका अधिकांश खेल खेलाउन पर्यटन विभागबाट अनुमति लिएका छौँ,’ उनले भने, ‘साहसिक खेलमा सहभागी प्रत्येक खेलाडीको बिमा गरिएको छ ।’  जङ्गलको बीचमा कूल ६ करोड रुपैयाँ लागतमा आफ्नै जग्गामा पर्यटकीय पूर्वाधार निर्माण गरिएको ढकालले जानकारी दिए । 

वर्षा याममा पनि मेलम्चीको पानी आपूर्ति हुने, बाह्रै महिना उपलब्ध

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले यस वर्षको वर्षा यामको समयमा मेलम्चीको पानी नियमित रूपमा काठमाडौंवासीका घर घरमा वितरण हुने बताएका छन् । सोमबार मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको स्थलगत अनुगमन पश्चात् उनले वर्षात्को समयमा पनि काठमाडौंवासीलाई स्वच्छ खानेपानीको निरन्तर आपूर्ति हुने बताए । उनले भने, ‘काठमाडौंमा पानी वितरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी ट्याङ्कीको सफल परीक्षण भएको छ । वर्षा याम सुरु भएसँगै उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै वैकल्पिक उपाय स्वरूप रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङ मार्ग हुँदै काठमाडौंमा आपूर्ति गर्ने व्यवस्था गरेका छौँ ।’ वर्षायाममा रिबर्माको पानी मेलम्चीको सुरुङ मार्गबाट पठाइने भएपछि अब निर्वाध रूपमा मेलम्चीको पानी बाह्रैमास उपत्यकाबासीलाई उपलब्ध गराइने मन्त्री यादवले जानकारी दिए ।  उनले भने, ‘यो व्यवस्थाले उपत्यकाबासीको खानेपानीसम्बन्धी समस्या दिगो रूपमा समाधान हुने अपेक्षा गरिएको छ । आगामी दिनमा काठमाडौंका नागरिकले वर्षायाममा पानीका लागि दुःख पाउनु पर्दैन । हामीले जनताका प्राथमिकता बुझेर जिम्मेवारी पूर्वक समाधान खोजिरहेका छौँ ।’  रिबर्माको पानी परीक्षण गरिएसँगै वर्षाका बेला मेलम्चीको पानी वितरणमा अवरोध आउने परम्परालाई तोड्दै वर्षायाममा पनि काठमाडौंमा नियमित पानी आउने सुनिश्चित भएको मन्त्री यादवले उल्लेख गरे ।  वर्षात्को समयमा मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न नसकिने अवस्थामा मेलम्चीकै टनेलबाट रिबर्माबाट दैनिक पाँचदेखि ७ करोड लिटर पथान्तरणको सम्भावना रहेको अनुगमनपछि मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवं इञ्जिनियर रत्नप्रसाद लामिछानेले प्रतिक्रिया दिए । उनले भने, ‘त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक संरचना तयार भइसकेका छन् । हाल उक्त खोलामा उपलब्ध पानी सुरुङमार्फत काठमाडौंमा पथान्तरणको सफल परीक्षण गरिएको छ । अब वर्षात्को समयमा पनि काठमाडौँमा पानी बन्द हुने छैन ।’ विगतमा वर्षा र बाढीका कारण मेलम्ची सुरुङ बन्द गर्नुपरेको इतिहासलाई ध्यानमा राख्दै, यसपालि प्रविधि र पूर्वतयारीमा विशेष ध्यान दिइएको कार्यकारी निर्देशक लामिछानेले बताए ।  मेलम्ची आयोजनाका प्राविधिक, सुरक्षाकर्मी र आपूर्ति टोलीहरू २४सै घण्टा खटिएका छन् भने बाढी, पहिरोलगायत मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै सुरुङ मार्ग र वितरण प्रणालीको मर्मत तथा सुरक्षा मजबुत बनाइएको छ । विसं २०७८ को बाढीले मेलम्चीको मुहानमा पुर्‍याएको क्षतिपछि वर्षा यामको समयमा नियमित खानेपानी आपूर्तिमा अवरोध उत्पन्न हुँदै आएको थियो ।

तेस्रो सुपर ओभरमा नेदरल्याण्ड्ससँग नेपाल पराजित

काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्डससँग पराजित भएको छ । स्कटल्याण्डको टिटउट रङ्गशालामा सम्पन्न खेलमा नेपाल नेदरल्याण्डसँग तेस्रो सुपर ओभरमा पराजित भएको हो । खेलको निर्धारित २० ओभरको खेल टाई भएपछि त्यसपछिका दुई सुपर ओभर पनि टाई भएको थियो । तेस्रो सुपर ओभरमा भने नेदरल्याण्ड्सले नेपाललाई पराजित गरेको हो । पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएर २० रनको लक्ष्य दिँदा जवाफमा नेदरल्याण्ड्सले पनि १९ रन बनाएको थियो । त्यसैगरी दोस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १७ रन बनाएको थियो । जवाफमा नेपालले पनि १७ रन जोडयो र खेल फेरी तेस्रोपटक सुपर ओभरमा पुग्यो । तेस्रो सुपर ओभरमा भने नेपालले रन जोड्न सकेन । पहिलो बलमा कप्तान रोहित पौडेल आउट भए भने रुपेश सिंह त्यसपछि दुई बल डट खेलेर चौथो बलमा आउट भए । एक रनको लक्ष्य पाएको नेदरल्याण्ड्सले पहिलो बलमा छक्का प्रहार गरेर जितेको हो । त्यसअघि निर्धारित २० ओभरको खेलमा एक सय ५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा सर्वाधिक ४८ रन बनाए । त्यस्तै कुशल भूर्तेलले ३४ तथा रुपेश सिंहले १९ रन जोडे । नेपालले जितका लागि अन्तिम बलमा पाँच रन आवश्यक थियो । तर नन्दन यादवले काइल क्लेनका बलमा चौका प्रहार गरेपछि खेल टाई भएको थियो । नेदरल्याण्ड्सका डानियल डोरामले तीन विकेट लिए भने विक्रमजित सिंहले दुई विकेट लिए । त्यस्तै काइल क्लेइन, बेन फ्लेचर र जाँच लायनले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि तेजा निदामनुरुले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ३७ बलमा एक छक्का प्रहार गदै ३५ रन बनाएका हुन् ।  त्यस्तै विक्रमजित सिंहले ३० रन बनाए । उनले २९ बलमा दुई छक्काको सहयोगमा ३० रन बनाएका हुन् । सकिब जुल्फिकरले २५, माइकल लेभिट २० तथा म्याक्स ओ डाउडले १९ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने नन्दन यादवले दुई तथा कुशल भूर्तेल र ललित राजवंशीले समान एक/एक विकेट हात पारे । यस सिरिजअन्तर्गत हिजो भएको पहिलो खेलमा भने नेदरल्यान्ड्स स्कटल्याण्डसँग ३९ रनले पराजित भएको थियो । 

असार ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौं । असार ६ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने भएको छ ।  सोमबाार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले असार ६ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने जानकारी दिएका हुन् ।   साथै बैठकले विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ । उक्त प्रस्ताव उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए ।  साथै विनियोजन विधेयक, २०८२ माथिको विभिन्न मन्त्रालय एवम सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथि छलफल गर्न र सम्बन्धित मन्त्रीले आफ्नो मन्त्रालय र सचिवालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिनको लागि आगामी असार ५, ६ र ७ गतेका दिनहरू तोकिएको सभामुख घिमिरेले जानकारी दिए ।  

सिटिजन्स बैंकका ग्राहकलाई द सोल्टी होटल एण्ड रिर्सोटमा छुट

काठमाडौं । सिटिजन्स बैंक र काठमाडौंस्थित द सोल्टी होटल एण्ड रिर्सोटबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले द सोल्टी होटल एण्ड रिर्सोटको सम्पूर्ण आउटलेटमा १० प्रतिशत छुट पाउनेछन् ।  यो सुविधा प्राप्त गर्न ग्राहकहरूले सोल्टी हेरिटेज क्लबमा पहिलो पटक आफ्नो नाम दर्ता भने गराउनुपर्नेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।  बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ। हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको छ । सिटिजन्स बैंकले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १८ लाख ९८ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

नेशनल ओपन स्काउट क्रुको आँखा शिविर सम्पन्न, ७५ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया

काठमाडौं । नेपाल स्काउट अन्तर्गतको नेसनल ओपन स्काउट क्रूले तीलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहकार्यमा आयोजना गरेको निःशुल्क मोतियाविन्दु शल्यक्रियासहितको आँखा शिविर भव्य रूपमा सम्पन्न भएको छ। ७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया वरिष्ठ नेत्ररोग विशेषज्ञ डा। सन्दुक रुइत नेतृत्वको टोलीले गरेको हो । शिविर बाल गीताञ्जली स्कूल, अल्पाइन एकेडेमी र त्रिकोण पब्लिक माध्यमिक विद्यालयको सहकार्यमा सफल भएको हो । शल्यक्रियाबाट सेवा पाएका धेरैजसो लाभग्राहीहरूले नेसनल ओपन स्काउट क्रू र तीनवटै विद्यालय अनि सम्पूर्ण स्वयंसेवकहरूलाई हार्दिक धन्यवाद प्रकट गरेका छन् । उनीहरूले बिना अर्थिक भार आँखा उपचार पाउनु भाग्यको कुरा भन्दै आयोजक संस्थाप्रति कृतज्ञता व्यक्त गरे । तीलगंगाले शिविरमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने सबै स्काउटहरू, शिक्षकहरू, अभिभावकहरू, विद्यालय परिवार, र तिलगंगा आँखा प्रतिष्ठानलाई विशेष धन्यवाद दिएको छ ।