क्यान महासंघ र नेपाल चेम्बरबीच आईटी समझदारी
काठमाडौं । नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) को सूचना प्रविधि समितिबीच रणनीतिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । नेपालको डिजिटल अर्थतन्त्रलाई सशक्त बनाउने दीर्घकालीन लक्ष्यसहित गरिएको यो समझदारी ऐतिहासिक रूपमा महत्वपूर्ण मानिएको छ । समझदारी हस्ताक्षर कार्यक्रम क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डे र एनसीसीका अध्यक्ष कमलेश कुमार अग्रवालको विशेष उपस्थितिमा सम्पन्न भयो । समझदारीपत्रमा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारी र एनसीसी आईटी समितिका अध्यक्ष विज्ञान श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यो सहकार्यको अवधारणा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीको पहल र दूरदृष्टिमा आधारित छ । उनले नेपालको आईटी उद्योगमा दीर्घकालीन र दिगो इकोसिस्टम निर्माणका लागि साझा संस्थागत प्रयासको खाँचो रहेको बताउँदै आएकोमा यस समझदारीमार्फत त्यो प्रयास औपचारिक रूपमा अघि बढाइएको हो । समझदारीको मुख्य उद्देश्य नेपालमा सूचना प्रविधिको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा क्षमतामा वृद्धिका लागि नीति निर्माण, लगानी प्रवर्द्धन, नेटवर्किङ, जनसरोकार र सदस्यता अभिवृद्धि जस्ता कार्यहरूलाई साझा रुपमा अगाडि बढाउनु हो । दुवै संस्थाले यी क्षेत्रहरूमा संयुक्त कार्यक्रम, संवाद र पहलमार्फत आईटी इकोसिस्टमलाई थप बलियो बनाउने प्रतिबद्धता जनाएका छन् । नीति निर्माणतर्फ, क्यान र एनसीसीले नेपाल सरकारसँग संयुक्त रुपमा डिजिटल रूपान्तरणका लागि आवश्यक नीति सिफारिस, नियम तथा कार्यान्वयनको खाका प्रस्तुत गर्नेछन् । रचनात्मक नीति संवादका माध्यमबाट निजी क्षेत्रको दृष्टिकोण सरकारसमक्ष पुर्याउने उद्देश्य राखिएको छ । लगानी परिचालनका पक्षमा समझदारीले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षण गर्न संयुक्त प्रवर्द्धनात्मक गतिविधिहरू गर्नेछ। नेपाललाई दक्षिण एशियामा एक नवप्रवर्तनशील आईटी गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ । आईटी स्टार्टअप, पेशेवर र व्यवसायहरूबीच सहकार्य तथा ज्ञान आदान–प्रदानको वातावरण सिर्जना गर्न हरेक ६ महिनामा संयुक्तरूपमा फोरम, सम्मेलन तथा प्राविधिक कार्यक्रम आयोजना गरिनेछ । यसले नेटवर्किङको अवसर मात्रै होइन, व्यावसायिक सशक्तिकरणमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ । साझा ब्रान्डिङ र दृश्यता अभिवृद्धिका लागि दुवै संस्थाले एकअर्काको प्रदर्शनी, कार्यक्रम तथा सम्मेलनहरूमा लोगो र पहिचान समावेश गर्ने छन् । यसले संस्थागत सशक्तिकरण र सार्वजनिक संलग्नतालाई नयाँ स्तरमा पुर्याउनेछ । साथै, आईटी पेशेवर, उद्यम र नवप्रवर्तनकर्तालाई दुवै संस्थाको सदस्यता लिन प्रेरित गर्ने योजना पनि यो समझदारीले समेटेको छ। सदस्यता लिनेले स्रोत, एक्सपोजर र समुदायको समर्थन प्राप्त गर्न सक्नेछन् । समझदारीको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न दुवै संस्थाले आ–आफ्नो संयोजक नियुक्त गर्नेछन् । ती संयोजकहरूले कार्यक्रमको योजना, कार्यान्वयन र अनुगमनको जिम्मेवारी लिने छन् । प्रत्येक तीन महिनामा प्रगतिका समीक्षात्मक बैठकहरू आयोजना गरिनेछ । यो समझदारी आजैदेखि तीन वर्षका लागि लागू हुनेछ भने दुवै पक्षको सहमतिमा यसको अवधि थप गर्न सकिनेछ । डिजिटल अर्थतन्त्रमा नेपालको भविष्य सुरक्षित गर्न यो सहकार्यले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ । क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्स आईटी समितिबीचको यो रणनीतिक सहकार्यले नेपाललाई नवप्रवर्तन, नीति, लगानी र समावेशी विकासका दृष्टिले एक अग्रणी सूचना प्रविधि राष्ट्र बनाउने दिशामा सशक्त पाइला टेकेको छ ।
यामाहा नेपालको ७०औं वार्षिकोत्सवमा राष्ट्रव्यापी एक्सचेन्ज अफर
काठमाडौं। यामाहाको इनोभेसन, स्टाइल र पर्फर्मेन्सले भरिएको ७० वर्षको गौरवमय यात्रालाई स्मरणीय बनाउन यामाहा नेपालले ‘जीता एक्सचेन्ज अफर’ अभियान सार्वजनिक गरेको छ । असार २५ देखि ३२ गतेसम्म सञ्चालन हुने यो राष्ट्रव्यापी एक्सचेन्ज इभेन्ट यामाहाका सबै शोरूममा एकैसाथ आयोजना हुनेछ । अभियान अन्तर्गत ग्राहकले पुरानो कुनै पनि ब्राण्डको बाइक वा स्कुटर साटेर यामाहा ब्राण्डको नयाँ सवारी किन्न सक्नेछन् । एक्सचेन्ज गर्दा न्यूनतम २५ हजारको मूल्याङ्कन, अतिरिक्त १० हजारसम्मको भ्यालुएसन बोनस, विशेष मोडेलमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई योजना, लचिलो फाइनान्स सुविधा, र २ वर्षसम्मको ट्याक्स–फ्री–राइड–फ्री अफरसहित विभिन्न सुविधा उपलब्ध छन् । त्यसैगरी, ग्राहकले नयाँ बाइक वा स्कुटर किन्दा ७ हजारसम्मको नगद छुट तथा ७.९९ प्रतिशत ब्याजदरमा आकर्षक किस्ताबन्दी योजना पनि पाउन सक्नेछन् । एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीइओ दीपककुमार अग्रवालले यामाहा सधैंभरि पर्फर्मेन्स, भरोसा र इनोभेसनको प्रतीक बनेको उल्लेख गर्दै भने, '७०औं वार्षिकोत्सवको अवसरमा सुरु गरिएको राष्ट्रव्यापी एक्सचेन्ज क्याम्पेन ग्राहकलाई यामाहाको लिजेन्डरी यात्रासँग जोड्ने रमाइलो अवसर हो । यो अभियान विश्वसनीय जापानी इन्जिनियरिङ, पुस्तौंदेखि कायम गुणस्तर, र नवप्रवर्तनशील सोचको उत्सव पनि हो ।' नेपालमा यामाहाले आधुनिक प्रविधि, बलियो सेवा सुविधा र व्यापक डिलर नेटवर्कमार्फत दुईपाङ्ग्रे सवारीको बजारमा सुदृढ उपस्थिति बनाउँदै आएको छ । दैनन्दिन प्रयोगमा उपयुक्त स्कुटरदेखि एडभेन्चरका लागि डिजाइन गरिएका मोटरसाइकलसम्म, यामाहाका सवारी साधनले ग्राहकलाई सन्तोषजनक मूल्य र उत्कृष्ट राइडिङ अनुभव प्रदान गरिरहेका छन् ।
आठ रोगका बिरामीले स्वास्थ्य बीमामार्फत २ लाखको सुविधा पाउने
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् । मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न सक्ने उल्लेख गरेका छन् । ‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट ८ प्रकारका बिरामीले हाम्रो पूर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौँ,’ मन्त्री पौडेलले आज बिहान आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् । मन्त्री पौडेलका अनुसार अब क्यान्सर, मुटु,मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्नेछन् । मन्त्री पौडेलले आठ जटिल रोगका बिरामीलाई राहत हुने हिसाबले रकम वृद्धि गर्ने घोषणा गरेका थिए । सोहीअनुसार मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई पत्राचार गरेको थियो । मंगलबार राती बसेको बोर्ड बैठकले आठ जटिल रोगीलाई २ लाख उपचार खर्च दिने निर्णय गरेको कार्यकारी निर्देशक डा। रघुराज काफ्लेले जानकारी दिए । उनका अनुसार साउन १ गतेबाट यो निर्णय लागु हुनेछ । मन्त्री पौडेलले यसअघि स्वास्थ्य बीमाका सदस्यले आफू बसेकै ठाउँबाट उपचार लिन मिल्ने गरी प्रथम बिन्दु कायम गर्ने तथा हरेक तहमा बीमा सुविधा लिन सक्ने गरी नीतिगत निर्णय गरेका थिए । ‘स्वास्थ्य बीमालाई थप परिष्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गराउन हामी निरन्तर प्रयत्नशील छौँ,’ मन्त्री पौडेलले भनेका छन्, ‘तपाईंको रचनात्मक सल्लाह, सुझाव र प्रतिक्रिया सदैव स्वागत गर्दछौँ ।’ आयश्रोत र आबद्धता बढाउने बीमा बोर्डको योजना मन्त्री पौडेलले स्वास्थ्य बीमाबाट उपचार सहायता वृद्धिसँगै स्वास्थ्य बीमा कोषको आयश्रोत बढाउने नीतिगत निर्णय पनि गरेका छन् । हालैको नीति तथा कार्यक्रममार्फत सबै सरकारी तथा संगठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने उल्लेख छ । स्वास्थ्य बीमा ऐनमा भए पनि लागु नभएको यस व्यवस्थाले आबद्धता वृद्धि भइ कोषमा हुने आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ । यसका अलावा वैदेशिक रोजगारीमा गएका तथा उनीहरुका परिवारलाई समेत स्वास्थ्य बीमामा आबद्ध गराउन मन्त्रालयको पत्राचारपछि सरकारका विभिन्न मन्त्रालयहरुले स्थानीय तहसम्मै प्रयास थालेका छन् । साथै नयाँ बजेटमार्फत बीमा बोर्डको बक्यौता शून्यमा झार्ने घोषणा सरकारले गरिसकेको छ । संघीय अस्पताल विकास समितिको आम्दानीको १ प्रतिशत स्वास्थ्य बीमा कोषमा पठाउने निर्णय मन्त्री पौडेलले गरिसकेका छन् । यसैगरी, प्रगतिशिल करमार्फत स्वास्थ्य बीमा कोषमा जाने रकम बढाउने समेत मन्त्री पौडेलले घोषणा गरेका छन् । यसैगरी, सरकारले वितरण गर्ने उपचार सहायतासमेत स्वास्थ्य बीमा कार्यक्रममार्फत वितरण गरेर धेरै नागरिक आबद्ध हुने गरी काम भइरहेको छ । बीमा बोर्डले अनियमित रुपमा भुक्तानी माग्ने केही अस्पतालहरूलाई कारबाही गरेको छ भने निगरानी बढाउन आफ्नो प्रणालीमा सुधार समेत गरिरहेको कार्यकारी निर्देशका काफ्लेले बताए । यसैगरी कोषको आम्दानी वृद्धि गर्न विभिन्न उपायहरूको खोजी भइरहेको उनले बताए । यी सबैले हाल कोषमा रहेको प्रिमियम र आबद्धता वृद्धि हुने र बीमा कार्यक्रम निरन्तरता हुने अपेक्षा गरिएको छ ।
आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
भोजपुर । यहाँको षडानन्द १२–तुर्के पुल–साम्पाङ– फाली सडक धमाधम कालोपत्र भइरहेको छ । कोशी प्रदेश सरकारले रु ५१ करोड ६२ लाख खर्चेर थालेको कालोपत्रको काम ८५ प्रतिशत पूरा भएको छ । पूर्वाधार विकास कार्यालय प्रमुख राजनराज रेड्डीका अनुसार अस्फाल्ड प्रविधिबाट कालोपत्र भइरहेको छ ।हालसम्म ११ किलोमिटर कालोपत्र भइसकेको छ । बाँकी नौ किलोमिटर पनि यसै महिना पूरा गर्नेगरी युद्धस्तरमा काम जारी छ । सडक कालोपत्र हुन थालेपछि उत्तरी क्षेत्रका नागरिक उत्साहित भएका छन् । यो सडक २०८२ कात्तिकमा सम्पन्न गर्नेगरी निर्माण भइरहेको छ ।
बाढीपहिरोले प्रमुख १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध
काठमाडौं । बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक अवरुद्ध भएका छन् । नवलपरासीस्थितपूर्व पश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट-डोल्पा-भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन् । यसैबीच, बाढी पहिरोका कारण अवरुद्ध भएका बनेपा-नाला-भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका छन् ।
नवलपरासीको दाउन्नेमा सडक भासियो, राजमार्ग पूर्णरुपमा बन्द
काठमाडौं । पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत दाउन्नेको खुर्सानी खोलामा सडक भासिँदा बर्दघाट-दुम्किबास खण्डमा यातायात अवरुद्ध भएको हो । वर्षापछि खुर्सानी खोला नजिक सडक भाँसिएसँगै सोही ठाउँमा ट्रक फसेको थियो । उक्त खण्डमा रातिदेखि नै यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधनहरु बर्दघाटको टिसिएनचोकमा र पूर्वबाट आएका सवारी साधनहरु दुम्किबासतर्फ रोकिएका छन् । सडक खुलाउने प्रयास भएपनि वर्षाका कारण केही समय लाग्ने जनाएको छ ।
एशियन लाइफको हकप्रद सेयर बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आज असार २५ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको ४२ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ४.२ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ १६ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीका सेयरधनीहरुले साउन १३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा-चिप्लेढुङ्गा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा, एशियन लाइफ इन्स्योरेन्सका कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्स कम्पनीलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ ।
ब्राउन सुगर बोक्नेलाई प्रहरीले गोली हानेर समात्यो
काठमाडौं । झापाको भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली हानेर दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मङ्गलबार साँझ जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले शङ्का लागेर जाँच गर्न खोज्दा प्रहरीमाथि हातपात गर्दै भाग्ने प्रयास गरेपछि ६ राउण्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिइएको हो । गोली लागेर घाइते भएका एक जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर हिरासतमा राखिएको छ । भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको उनले जानकारी दिए । अभियुक्तद्वयबाट २०५ ग्राम ८० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।