जोशी हाइड्रोले साउन १५ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साउन १५ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँको ६५ प्रतिशत अर्थात् हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.६५ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका २४ लाख १४ हजार १०० कित्ता सेयर बिक्री गर्नेछ । हकप्रद सेयर निष्काशनपश्चात् कम्पनीको चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो । त्यसैले असार ५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको कार्यालय र लक्ष्मी सनराइज बैंकको इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
बुङ्गल हाइड्रोको आईपीओ बिक्री खुला, कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । बुङ्गल हाइड्रोले आज असार २९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २९ लाख ५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८ करोड ३० लाख रुपैयाँको ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । आयोजना प्रभावितलाई छुट्याइएको सेयरमध्ये ५ लाख ३९ हजार ५ सय कित्ता सेयरमा अति प्रभावित क्षेत्र बझाङको बुङ्गल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गा.वि.स. वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गा.वि.स. वडा नं. १) का स्थानीय र २ लाख ९० हजार ५ सय कित्ता सेयरमा सामान्य प्रभावित क्षेत्र बुङ्गल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १०, ११ का स्थानीयहरूले आवेदन दिन पाउनेछन् । साथै, सर्वसाधारणलाई छुट्याइएको २० करोड ७५ लाख रुपैयाँको २० लाख ७५ हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ७ हजार ५ सय कित्ता सेयरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीले आवेदन दिन पाउने छन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा साउन ११ गते गतेसम्म आवेदन दिनुपर्नेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई छुट्याएको सेयर पूर्ण बिक्री नभएमा आवेदन दिने समय साउन २६ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकसँगै बुङ्गल हाइड्रोको रजिस्टर्ड कार्यालय धोबी घाट ललितपुर, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको केदारस्युँ शाखा, कृषि विकास बैंकको बुङ्गल शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा र आयोजना स्थान खौलाधारबाट समेत आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
भाषा, साहित्यमार्फत नेपाल एकीकरण गरेका भानुभक्तको २१२औँ जन्मजयन्ती मनाइँदै
काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेका रामायण अहिले पनि नेपालीहरूको घर घरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए । ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्त माला’, ‘राम गीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिला सुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए- ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनुमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ । त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नातकोत्तरमा थुप्रै शोध ग्रन्थ लेखिएका छन् । यस उपलक्ष्यमा आज बिहान काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको जनाइएको छ । घर घरमा आदिकवि आचार्यले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदै छन् । आदिकवि आचार्यभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । भानुभक्तका विषयमा अध्ययन, अनुसन्धान गरिरहेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञान निष्ठ ज्ञवाली रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्त्वपूर्ण योगदान गरेकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउँछन् । रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युग निर्माण गरेको मानिन्छ । आदिकवि आचार्यको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, साइबर सुरक्षा र औद्योगिक सम्पत्ति विधेयक पेस गरिने
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ । यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्ने छन् । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
टिचिङमा १५ शैय्याको नयाँ इमर्जेन्सी वार्ड र थ्री टेस्ला एमआरआई सेवा सुरु
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा थपिएको १५ शैय्याको इमर्जेन्सी ग्रीन एरिया वार्डको शुरुवात गरेका छन् । साथै मन्त्री पौडेलले अस्पतालमा शुरु गरिएको आधुनिक थ्री टेस्ला एमआरआई सेवा समेत शुरु गरेका छन् । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० करोड रुपैयाँ दिएको थियो । सेवा शुरुवात गर्दै मन्त्री पौडेलले टिचिङ अस्पतालमा नागरिकको भरोसा बढी भएको भन्दै सरकारी अस्पतालहरुमा धेरै आउनुको कारण यही भएको बताए । अस्पतालमा थपिएको सेवाले धेरै नागरिकलाई सुपथ र शुलभ सेवा प्राप्त गर्न सहज हुने भन्दै मन्त्री पौडेलले थप सेवा विस्तार र आधुनिकीकरणमा मन्त्रालयले साथ दिने बताए । 'टिचिङको सेवा अझ आधुनिक र क्षमता विस्तारमा मेरो साथ रहनेछ,' मन्त्री पौडेलले भने । अस्पतालका निर्देशक प्राडा सुभाष आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मेसिन प्राप्त भएको भन्दै बिरामीले धेरै पैसा तिरेर अब अस्पताल बाहिर जानु नपर्ने बताए । बिरामी संख्या अधिक भए पनि इमर्जेन्सीमा शैय्या अभाव हुँदा एकै बेडमा दुई जनासम्म भर्ना गर्नु परे पछि अस्पतालले शैय्या थप गरेर इमर्जेन्सी ग्रीन एरियामा १५ शैय्या पुर्याएको हो । यसअघि आठ बेड मात्र हुँदा कतिपय अवस्थामा एउटै बेडमा धेरैले उपचार गाउनुपर्ने बाध्यता थियो । अब क्षमता दोब्बर भएकाले बढी बिरामीले राहत पाउनेछन् । कम गम्भीर बिरामी रहने एल्लो एरियामा भने अब २० शैय्या रहनेछ ।
अहिले परोपकारी काम गरौँ, मर्दा मानिसले केही लैजाँदैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागिरथा बुद्धशान्ति अस्पतालको शुभारम्भ गरेका छन् । शनिबार झापामा पुगेर प्रधानमन्त्री ओलीले भागिरथा बुद्धशान्ति अस्पतालको शुभारम्भ गरेका हुन् । अस्पताल भवनको उद्घाटन भने प्रधानमन्त्री ओलीले जग्गादातालाई उद्घाटन गर्न लगाए । गत असोज १० गते उक्त अस्पताल भवनबाट सेवा शुभारम्भ गर्दा भागिरथा न्यौपानेका छोराहरू हरिप्रसाद तथा कुलप्रसादले संयुक्त अस्पताल भवनलाई रिबन काटेर त्यहाँबाट सेवा शुभारम्भ गराएका थिए । त्यो बेला विधिवत रुपमा उक्त अस्पतालको नाम भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल भइसकेको थिएन । यसअघि पटक/पटक प्रयास गर्दा पनि जग्गादाताको नाम जोडेर उक्त अस्पतालको नामकरण हुन सकेको थिएन । गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठक उक्त अस्पतालको नाम भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल स्वीकृति प्रदान गरेपछि स्वीकृत नामसहित अस्पताल भवनको शनिबार विधिवत उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले परोपकारी कार्य सबैले गर्न सिक्नुपर्ने बताए । मानिसले मर्दा केही नलैजाने भन्दै आफ्ना कामहरुबाट स्मरण गर्नसक्ने बनाउनुपर्ने जानकारी दिए । प्रधानमन्त्री ओलीले भने, ‘परोपकारी कार्य गर्नुपर्छ । यस कार्यबाट अरुले पनि परोपकारी कार्य सिक्नुपर्छ, अनुशरण गर्नुपर्छ । मानिसले मर्दा केही पनि लाँदैन, काम कृतिहरु स्मरण गर्ने हो । अहिले भन्दा १०२ वर्षअघि जन्मिएकी भागिरथा न्यौपानको नाममा अहिले हामी अस्पतालको नामाकरण गर्दैछौँ ।’ २०७७ जेठ ३२ गते नेपाल रेडक्रस सोसाइटीको सानो भवनबाट सेवा शुभारम्भ भएको उक्त अस्पताल अहिले १० शैय्यामा सञ्चालित छ । अस्पतालले बीमा सुविधा, ल्याव, इको, भिडियो एक्सरेलगायत सुविधा उपलब्ध गराउने गरेको छ ।
चन्द्रागिरीका तीन वडा पहिरो उच्च जोखिममा
कीर्तिपुर । वर्षा लागेसँगै चन्द्रागिरी नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका छन् । यस वर्षको वर्षामा चन्द्रागिरी १, २ र ३ पहिरोको उच्च जोखिममा परेका छन् भने गत वर्ष असोजमा आएको अविरल वर्षाले पहिरो गएका वडा नं १, २, ३, ५ र ९ का केही स्थान पुनः जोखिममा परेका हुन् । यसअघि पहिरोको समस्या नदेखिएका कतिपय स्थानमा यसपटक पहिरो गई जनधनको क्षति हुने देखिएको नगरपालिकाको व्यवस्थापन शाखा प्रमुख भद्रा अर्यालले बताए । उच्च जोखिम मानिएका तीन वटा वडामध्ये वडा नं २ बढी उच्च जोखिममा छ । गत वर्ष सोही स्थानमा पहिराका कारण घरहरू पुरिनुका साथै दुई जनाको मृत्युसमेत भएको थियो । 'नगरका दुई सय स्थानमा पहिरो रोकथामका लागि प्लाष्टिक पठाइएको छ', अर्यालले भने । वडा नं १ का वडाध्यक्ष हरि मगरले वडाको खहरे, भट्टेडाँडा र गणेश मन्दिर वरिपरिको क्षेत्र उच्च जोखिममा रहेको जानकारी दिए । खास गरी विकास निर्माणका क्रममा डोजर लागेका स्थानमा पहिरो जाने, भू-क्षयलगायतको समस्या देखिएको उनले बताए । आफ्नो घर पहिरोले लड्न लागेकाले बचाइदिन आग्रह गर्दै नगरपालिका आएकी वडा नम्बर २ की अम्बिका सञ्जेलले विकास गर्ने भन्दै जमिनमा जथाभावी डोजर चलाउने र वर्षा अगाडि निर्माण नगरिदिँदा पहिरो जाने गरेको बताए । वडा नं ५ स्थित राधाकृष्ण टोलमा झण्डै १०० मिटर बाटोको भाग खोलामा खसेको छ । नजिकै कर्बड हल बनाउँदा माटो खोस्रिएका कारण त्यहाँ पहिरो गएको स्थानीयले बताएका छन् । वडा नं ९ स्थित शान्ति स्तूपाका कारण कीर्तिपुर नगरपालिकातर्फ गएको पहिरोको हालसम्म पनि व्यवस्थापन भएको छैन । जोखिम न्यूनीकरणका प्रारम्भिक काम भए पनि दीर्घकालीन समाधानका लागि बायो इञ्जिनियर गर्नुपर्ने भएकाले केही समय लाग्ने अर्यालले जानकारी दिए । वडा नं ८ का केही भाग पनि पहिराको उच्च जोखिममा रहेका उनले बताए । नगरपालिकाका प्रमुख घनश्याम गिरीले यस वर्ष आकस्मिक विपद् व्यवस्थापनका लागि तीन करोड रुपैयाँ बजेटमा व्यवस्था गरिएको जानकारी दिए । दीर्घकालीन समाधानका लागि भिरालो जमिनमा वृक्षरोपण र जोखिमयुक्त स्थानमा बायो इञ्जिनिरिङ गर्न खोजिएको उनले बताए । 'जथाभावी डोजर चलाउँदा पहिरोको जोखिम बढेकाले आगामी दिनमा प्राविधिक जाँचका आधारमा मात्र अनुमति दिइनेछ', उनले भने ।