विकासन्युज

मेटलाइफ इन्स्योरेन्स 'सोशल मिडिया इनिसिएटिभ अफ द इयर-नेपाल' बाट सम्मानित

काठमाडौं । मेटलाइफ नेपालले सिंगापुरमा गत साता आयोजित इन्स्योरेन्स एशिया अवार्ड २०२५ मा 'सोसल मिडिया इनीसिएटिभ अफ द इयर-नेपाल' उपाधि प्राप्त गरेको छ । यो सम्मान मेटलाइफ नेपालको वान बाई मेटलाइफ एपमार्फत 'हेल्थ रिस्क एसेस्मेन्ट' सुविधा प्रवर्द्धन गर्ने डिजिटल अभियानको उत्कृष्ट सफलताको कदर स्वरूप प्रदान गरिएको हो । कम्पनीका अनुसार पुरस्कृत अभियानले उपभोक्ताहरूलाई स्वास्थ्य निगरानीको महत्त्व बुझाउन र बिमितहरुले कसरी सक्रिय स्वास्थ्य व्यवस्थापनका साझेदार बन्न सक्छन् भन्ने सन्देश दिन केन्द्रित थियो ।  वान बाई मेटलाइफको हेल्थ रिस्क एसेस्मेन्ट सुविधाले प्रयोगकर्ताहरूलाई कुनै विशेष उपकरण बिना, केवल स्मार्टफोनको क्यामेराको प्रयोग गरेर रियल टाइममा आफ्नो स्वास्थ्य स्थिति जाँच गर्न सक्षम बनाउँछ । छोटो अनुहार स्क्यानमार्फत प्रयोगकर्ताहरूले आफ्नो स्वास्थ्यसम्बन्धी अन्तर्दृष्टि प्राप्त गर्न सक्छन्, जसले मेटलाइफको दैनिक जीवनमा रोकथाममुखी स्वास्थ्य सेवा पुर्याउने लक्ष्यलाई समर्थन गर्छ । पाँच हप्ते यो अभियानले उल्लेखनीय परिणामहरू हासिल गरेको थियो । १० हजार नयाँ एप रेजिस्ट्रेसन, थप इच्छुक ग्राहकहरु, र प्रयोगकर्ता संलग्नता तथा एप रोजाइका स्पष्ट प्रमाणहरू प्राप्त भए । यी उपलब्धिहरूले समावेशी र पहुँचयोग्य डिजिटल समाधानमार्फत वास्तविक अनुभव प्रदान गर्ने मेटलाइफ नेपालको प्रतिबद्धता झल्काउँछन् । 'यो सम्मानले हामीले मानिसहरूलाई अझ आत्मविश्वासपूर्ण भविष्य निर्माण गर्न सहयोग गर्ने उद्देश्यमा अडिग रहेको पुष्टि गर्छ । हामी हाम्रा ग्राहकहरूलाई स्वस्थ जीवनयापनमा सहयोग गर्न प्रतिवद्ध छौं । स्वास्थ्य सेवा र सुरक्षा केवल पहुँचयोग्य मात्र होइन, उनीहरूको डिजिटल जीवनशैलीमा सहज रूपमा समाहित हुने बनाउने हाम्रो लक्ष्य हो,' मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने ।  

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा : ४९ करोड ५९ लाख बजेट स्वीकृत

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि ४९ करोड ५९ लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो । विश्वविद्यालयको हालको बेरुजु शून्य दशमलव पाँच मात्रै भएको बैठकलाई अवगत गराइयो । कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय (प्रतिष्ठान)हरुले नयाँ आव लाग्नुअगावै आगामी आव बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिका लागि छोटो सूचनामा विश्वविद्यालयको सभा राखिएको हो ।  

महानगर यातायातको विद्युतीय बस सञ्चालनमा

काठमाडौं । महानगर यातायात प्रालिले बुधबारदेखि  विद्युतीय बस सञ्चालनमा ल्याएको छ । ती १२ बस चक्रपथभित्र सञ्चालन हुनेछन् ।   भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज यहाँ आयोजित कार्यक्रममा  नयाँ बस सेवाको शुभारम्भ गर्दै पेट्रोलियम इन्धनमा निर्भरता कम गर्दै वातावरणमैत्री र ‘स्मार्ट’ सहर निर्माणका लागि विद्युतीय सार्वजनिक यातायात आवश्यक भएको बताए ।  उनले भने, 'सरकारले विद्युतीय बस सञ्चालन गर्न प्रोत्साहन गर्नेछ, आवश्यक नीति तथा संरचनात्मक सहयोग प्रदान गर्नेछ । यातायात क्षेत्रमा प्रविधिको उपयोग गर्दै नागरिकको पहुँच सहज, सुरक्षित र भरपर्दो बनाउनु प्राथमिकता हो ।' कार्यक्रममा कम्पनीका सचिव केशव नेपालले महानगर यातायात प्राली  पहिलो सार्वजनिक यातायातमा आधारित पब्लिक लिमिटेड कम्पनी भएको बताए ।  कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले निकट भविष्यमै उपत्यका र आसपासका अन्य क्षेत्रमा समेत विद्युतीय बस सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।  सो कम्पनीले चन्द्रागिरी, थानकोट हुँदै बनेपा र धुलिखेलसम्म बससेवा सञ्चालन गरिसकेको छ । कम्पनीले स्वस्थ वातावरणको प्रवर्द्धन र सहरी यातायातको दिगो विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।  

चन्द्रागिरीको बजेट २ अर्ब ९३ करोड पारित

काठमाडौं । चन्द्रागिरी नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०८२/८३ को लागि कूल दुई अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ ।  नगरसभाको १६ औँ अधिवेशनले चालुखर्चतर्फ एक अर्ब २२ करोड ७८ लाख रुपैयाँ र पुँजीगत खर्च एक अर्ब ७० करोड ६८ लाख रुपैयाँ रहेको छ । सभामा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले सो बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।  नगरप्रमुख घनश्याम गिरी बहुमतबाट आव २०८२/८३ को बजेट तथा कार्यक्रम पारित भएको जानकारी दिँदै बजेटले नगरवासीको माग सम्बोधन हुने विश्वास व्यक्त गरे ।   उनले बजेट कार्यान्वयनमुखी रहेको स्पष्ट पार्दै सहमति, सहकार्य र एकताको माध्यमबाट नगरको समृद्धिमा जुट्न आह्वान समेत गरे ।   

टक्सार पिखुवाले पायो अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र, कार्बन व्यापारमा सूचिकृत

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । यस उपलब्धिसँगै कम्पनी कार्बन व्यापारमा सूचिकृत हुने नेपालको पहिलो जलविद्युत् आयोजना बनेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले कम्पनीलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेको छ । मंगलबार सम्पन्न इप्पानको २३औं वार्षिक साधारणसभाको अवसरमा आयोजित समारोहमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले टक्सार पिखुवालाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कम्पनीले अब छिट्टै कार्बन व्यापार वापतको राजस्व पनि प्राप्त गर्नेछ । टक्सार पिखुवा खोला जलविद्युत् आयोजना, भोजपुरमा ८.५ मेगावाट क्षमतासहित सञ्चालित छ, जसले २०७७ सालको चैतदेखि नियमित रूपमा विद्युत् उत्पादन गरिरहेको छ । नेपालकै पहिलो कार्बन व्यापारमा सूचिकृत आयोजना बन्न सफल टक्सार पिखुवा अब स्वच्छ ऊर्जा, दिगो विकास र राष्ट्र निर्माणमा अग्रणी भूमिका खेल्ने लक्ष्यसाथ अघि बढिरहेको कम्पनीले जनाएको छ ।

जुम्लामा पहिलो पटक विद्युतीय सवारीसाधन पुर्‍याउँदै दिगो

काठमाडौं । दिगो ग्रुप अफ कम्पनीले पहिलो पटक जुम्लामा ९ वटा डीएफएसके डाफे विद्युतीय भ्यान हस्तान्तरण गरेको छ । यो उपलब्धिले ग्रामीण भेगमा विद्युतीय सवारी पुर्‍याउँदै स्वच्छ ऊर्जा, दिगो यातायात र प्रदूषण न्यूनीकरणतर्फको प्रतिबद्धतालाई झल्काएको कम्पनीले जनाएको छ । यी विद्युतीय भ्यानहरू जुम्लाका छोटो दूरीका सार्वजनिक रुटहरूमा सञ्चालन गरिनेछन्, जसले यात्रुहरूलाई शान्त, स्वच्छ र किफायती यात्रा सुविधा दिनेछ । साथै, इन्धनमा निर्भरता घटाउनुका साथै वायु प्रदूषण न्यूनीकरणमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । चार्जिङ पूर्वाधार विकासलाई ध्यान दिँदै, दिगोले ८० किलोवाट क्षमताको फास्ट चार्जर जुम्लामै जडान गर्दैछ । साथै, आगामी दिनमा चार्जिङ स्टेशनहरू जुम्ला बसपार्क, नाग्मा बजार, र नाग्मा-गमगढी सडक खण्डको गोठिज्युला क्षेत्रमा निर्माण गर्ने योजना रहेको छ । दिगो ग्रुप अफ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सौरभ श्रेष्ठ भन्छन्, 'जुम्ला जस्तो दुर्गम क्षेत्रमा विद्युतीय भ्यान पुर्‍याउनु हाम्रो लागि गर्वको कुरा हो । यस उपलब्धिले विद्युतीय सवारीसाधनको सम्भावनालाई पुष्टि गरेको छ। आगामी दिनमा हामीले देशभरि यसको पहुँच विस्तार गर्दै लैजानेछौं ।' दिगोले ‘मिसन जेरो एमिसन’ भन्ने अभियानअन्तर्गत विद्युतीय सवारीसाधनको सम्पूर्ण इकोसिस्टम निर्माण गरिरहेको छ । जहाँ बिक्री, वितरण, सर्भिस, स्पेयर पार्ट्स, लिजिङ, चार्जिङ पूर्वाधारदेखि राजमार्गका लागि आधुनिक रेस्ट स्टपको व्यवस्थासम्म समेटिएको छ । स्वच्छ ऊर्जा र आधुनिक प्रविधिको प्रयोगमा समर्पित दिगोले नेपाललाई स्वच्छ, दिगो र आत्मनिर्भर भविष्यतर्फ डोर्याउने लक्ष्य राखेको छ ।

'अब इभीको कारखाना नेपालमै खोल्नुपर्छ, अबौँ रकम बाहिर जानबाट जोगिन्छ'

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अब विद्युतीय गाडीहरू नेपालमै बनाउनुपर्ने बताएका छन् । महानगर यातायातको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले पछिल्लो समय नेपालमा विद्युतीय गाडी (इभी) को प्रयोग बढेर गएको बताउँदै नेपालमै कारखाना खोल्दा गाडीको मूल्य कम पर्ने र व्यवस्थापनमा समेत सघाउ पुग्ने बताए ।  उनकाअनुसार अब साना गाडीहरु प्रतिस्थापन गर्नुपर्छ । शहरमा वातावरणमैत्री ठूला सिटी बसहरु चलाउनुपर्छ । सरकारले सार्वजनिक यातायातमा धेरै लगानी गर्न नसकेको बताउँदै निजी क्षेत्रले गरेको लगानी प्रभावकारी रहेको बताए । सचिव शर्माले भने–‘विद्युतीय यातायात नेपालको परिपक्षेमा महत्वपूर्ण छ । किनकी इन्धन आयातमा ठूलो रकम बाहिरीरहेको अवस्थामा यसलाई विस्तार गरियो भने बिजुलीको सदुपयोगसँगै अबौँ रकम बाहिर जानबाट जोगिन्छ ।  सार्वजनिक यातायातमा महानगरले जुन सुरु गरेको छ, यो सकारात्मक छ । काठमाडौं सानो छ, पाकिङ गर्न समस्या छ । साना गाडीहरु हटाउनुपर्छ ।’ विदाको दिन आफू महानगर यातायात चढ्ने गरेको बताउँदै उनले यातायात क्षेत्रलाई भरपर्दो, सुरक्षित, वातावरण मैत्री बनाउनुपर्ने बताए । कार्यक्रममा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायात सुधारका लागि सरकारले बनाएका कार्यदलहरुका प्रतिवेदन त्यतिकै दराजमा थन्काइएकोप्रति असन्तुष्टी पोखे ।  त्यस्ता प्रतिवेदनहरु कार्यान्वयनमा लगिए अहिले सार्वजनिक यातायातमा देखिएका धेरैजसो समस्या हल हुने दाबी गरे । अध्यक्ष स्वाँरले भने–‘सार्वजनिक यातायात सुधार सुझाव प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ । रुट परिवर्तनसँगै नीतिहरु पनि परिवर्तन गरिएन भने अस्वस्थ प्रतिष्पर्धा बढ्छ । त्यस्तो अस्वस्थ्य प्रतिष्पर्धा हटाउनुपर्छ होइन भने व्यवसायीहरुको लगानी डुब्छ । यातायात क्षेत्रको सुधारका लागि बनेका प्रतिबेदनहरु अहिले दराजमा थन्काउने काम भएको छ । यो ठिक होइन ।’ सोही कार्यक्रममा सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालले पछिल्लो समय इभी गाडीहरु चिनबाट आएको तर त्यसको गुणस्तर परिक्षण हुन नसकेको बताए । उनकाअनुसार भारतबाट आउने गाडीमा खासै समस्या छैन तर चीनबाट आउने गाडीहरुमा आशंका छ । अध्यक्ष खनालले भने–‘विद्युतीय सबारी साधन व्यवस्थापन गर्न राज्य चुक्नु हुँदन । विद्युतीय सवारी सम्बन्धिको नीति बन्दैछ । यो सकारात्मक  छ । आफ्नो मनपरीमा गाडीहरु भित्र्याउने र कम्पनीहरु भाग्ने प्रवृत्ति देखिन थालेको छ यसमा राज्य सजग हुनुपर्छ ।’ उनले राइड शेयरिङ व्यापार भएकाले त्यसलाई कडा नियमन गर्नुपर्ने बताए । खनालकाअनुसार यातायात ऐनले कालो प्लेट राख्नेले यातायात बोक्न पाउने नीति छ । जुनसुकैले प्लेटले व्यापार गर्ने हो भने कानूनको अर्थ रहँदैन । राइड शेयरिङले पुँजी पलायन गरिरहेको बताउँदै यसमा राज्यको ध्यान जानुपर्ने उहाँको भनाइ रहेको छ ।   

बेलायतको विश्वविद्यालयबाट डाक्टर बनीन् अभिनेत्री मनिषा कोइराला

काठमाडौं । लोकप्रिय अभिनेत्री मनिषा कोइरालाले मानार्थ डाक्टरको उपाधि हासिल गरेकी छन् । उनलाई बेलायतको युनिभर्सिटी अफ ब्राडफोर्डले उक्त उपाधि प्रदान गरेको हो । नेपाली राजनीतिमा चर्चित कोइराला परिवारबाट सिने क्षेत्रमा प्रवेश गरेकी मनिषा पछिल्लो समय विभिन्न कारणले चर्चामा रहेकी छन् । मनिषा भारतीय सिने क्षेत्रकी लिजेन्ड अभिनेत्री हुन् । त्यसैले होला, धेरै भारतीय सञ्चारमाध्यमहरूले मनिषाको उक्त उपलब्धिलाई महत्वका साथ प्रकाशन तथा प्रसारण गरेका छन् । मनिषालाई दीक्षित गरिएको तस्वीरलाई इन्डिया टुडे ले विशेष रूपमा छापेको छ । यस्तै, टाइम्स नाउ ले मनिषाको एउटा पुरानो तस्वीर र दीक्षित भएर गाउन लगाएको अर्को तस्वीर प्रकाशित गर्दै 'बधाई लिजेन्ड्री नायिका' लेखेको छ । बोल्लीवुड हंगामा, दैनिक जागरण लगायत धेरै भारतीय सञ्चारमाध्यममा आज मनिषा छाएकी छन् ।