मन्त्री पन्थीको पत्र गैरकानुनी हो : अध्यक्ष पोखरेल
काठमाडौं । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा कृषि मन्त्री दिनेश पन्थीले सडक पूर्वाधार कार्यालय गुल्मीलाई लेखेको पत्रको बारेमा विभिन्न प्रतिक्रिया आउन थालेका छन् । धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले मन्त्री पन्थीको चिठी कानूनी दृष्टिले विपरीत रहेको बताएका छन् । विकास न्यूजसँग प्रतिक्रिया दिँदै पोखरेलले भने, 'मन्त्रीले यस्ता चिठी लेख्नै मिल्दैन ।' उनका अनुसार पूर्वाधार कार्यालयलाई पठाइएको पत्रमा 'प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरी गुणस्तरीय काम गर्नू' भन्नु उपयुक्त हुने थियो । मन्त्रीलाई सोधेर मात्रै काम गर्नू भन्ने शैली अनैतिक र गैरकानूनी रहेको उनको भनाइ छ ।
४ अर्ब ३ करोड प्रिमियम आर्जन गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स
काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्र दिनप्रतिदिन प्रतिस्पर्धी र चुनौतीपूर्ण बन्दै गएको सन्दर्भमा पनि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म वित्तीय सुदृढता र व्यावसायिक सफलता कायम राख्न उल्लेखनीय उपलब्धि हासिल गरेको छ । उक्त अवधिमा कम्पनीले ४ अर्ब ३ करोड रुपैयाँ बराबरको बीमा प्रिमियम आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोहोरो अंकको वृद्धि हासिल गर्दै प्रतिस्पर्धात्मक बजारमा पनि आफूलाई सफलतापूर्वक उभ्याएको देखिएको छ । कम्पनीले यो सफलता ग्राहकको विश्वास, उत्कृष्ट सञ्चालन व्यवस्थापन र कर्मचारीको मिहिनेतको प्रतिफलका रूपमा लिएको जनाएको छ । समीक्षा अवधिमा १ अर्ब ६५ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । छिटो, छरितो र पारदर्शी प्रणालीमार्फत दाबी फछ्र्यौट गर्दै ग्राहक सेवामा उत्कृष्टता कायम राख्ने प्रतिबद्धता कम्पनीले जनाएको छ । वार्षिक उपलब्धिपछि भिडियो सन्देशमार्फत सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले भनिन्, 'यो उपलब्धिले हामी सबैलाई नयाँ ऊर्जा, आशा र आत्मविश्वास प्रदान गरेको छ । यो उपलब्धि भविष्यका लागि बेञ्चमार्क बन्नेछ र हामी यसैको आधारमा अझ उचाइमा पुग्नेछौं ।' श्रेष्ठका अनुसार नयाँ आर्थिक वर्षमा ग्राहक सन्तुष्टि, सम्बन्ध सुदृढीकरण, साथै डिजिटाइजेसन र प्रविधिको आधुनिकीकरणमा प्राथमिकता दिनेछ। प्राकृतिक प्रकोपलगायतबाट भएको क्षतिको दाबीलाई उच्च प्राथमिकतामा राखिने उनले जानकारी दिइन् । वित्तीय चुनौती, प्राकृतिक प्रकोप, तथा बढ्दो दाबी भुक्तानी र सञ्चालन खर्चका बाबजुद कम्पनीले समयमै दाबी भुक्तानी गर्दै प्रति शेयर आम्दानीमा निरन्तर वृद्धि गर्न सफल भएको छ । यसरी सेयरधनीहरूलाई स्थिर प्रतिफल दिन सक्ने आत्मविश्वास व्यक्त गरेको छ । ग्राहकको विश्वास, सञ्चालन उत्कृष्टता र दूरदर्शी रणनीतिमार्फत देशकै उत्कृष्ट निर्जीवन बीमा कम्पनीहरूमा आफ्नो स्थान सुरक्षित राख्न सफल भएको छ । आगामी दिनमा बीमाको पहुँच तल्लो तहसम्म पुर्याउँदै, ग्राहककेन्द्रित सेवा विस्तार गर्ने लक्ष्यमा कम्पनी प्रतिबद्ध रहेको बताइएको छ ।
प्राधिकरणका नव नियुक्त अध्यक्ष भन्छन् - साउनभरीमा सहकारी प्राधिकरणले काम गर्छ भन्ने झल्को दिन्छौं
काठमाडौं । सहकारी प्राधिकरणका नव नियुक्त अध्यक्ष डा. खगराज शर्माले साउन मसान्तसम्म ‘सहकारी प्राधिकरणले काम सुरु गर्यो है’ भन्ने सन्देश दिनेगरी काम सुरु भइसकेको बताएका छन् । शर्माका अनुसार प्राधिकरणले सबैभन्दा पहिले समग्र सहकारीहरूलाई नियमन गर्नका लागि विधि निर्माणको काम सुरु गरिसकेको छ । सहकारीहरू यसरी असरल्ल बन्नुका पछाडिका कारण पत्ता लगाउने काम भइरहेको उनले बताए । ‘स्वनियमले चल्नुपर्ने अभियान किन असफल बन्यो, सहकारी नियमन गर्ने सरकारी निकाय प्रभावकारी हुन नसक्नुका कारणबारे पनि प्राधिकरणले सूक्ष्म अध्ययन सुरु गरेको छ,’ डा. शर्माले भने । अहिलेसम्मको अध्ययनमा सहकारीको अवधारणा विपरीत जग्गामा अत्यधिक लगानी गरिएको देखिएको छ । जग्गाको मूल्य उचालिएको बेला भएको लगानी र वर्तमानको वास्तविकताबीच ठूलो असमानता देखिएको भन्दै यसलाई व्यवस्थापन गर्नु नै सबैभन्दा ठूलो चुनौती भएको शर्माले बताए । 'विगतमा विधि निर्माण गरियो, तर पालना भएन । सञ्चालकहरू इमानदार बन्न सकेनन्,' शर्माले भने, 'अब त्यो विगतलाई बिर्साउने गरी म काममा जुटिएको छु ।' शर्माका अनुसार आफ्नो पहिलो काम स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरेर देशभरका सहकारीहरूको संख्या यकिन गर्नु रहेको छ। त्यसका लागि विधि र सफ्टवेयर निर्माणको काम भइरहेको उनले जानकारी दिए। सफ्टवेयर निर्माणपछि सबै सहकारीहरूलाई प्राधिकरणमा दर्ता गर्न आह्वान गरिनेछ। दर्ता प्रक्रियामा सहभागी नभएका सहकारीहरूबारे खोजी कार्य सुरु गरिनेछ । शंकास्पद सहकारीको विषयमा फिल्डमै पुगेर अध्ययन गरिने शर्माको भनाइ छ । 'म फेरि विकास न्यूजमार्फत जोड दिएर भन्छु, साउन मसान्तसम्म सहकारीको बिग्रिएको छवि सुधार्ने काम हुनेछ। सहकारी फेरि सहकारीकै अवधारणाअनुकूल चल्ने वातावरण बनेको सबै सहकारी अभियन्ताहरूले देख्न पाउनेछन्,' उनले भने । उनका अनुसार अब तुरुन्तै सहकारीलाई देशको अर्थतन्त्रको एक सशक्त खम्बा बनाउने आफ्नो एकसूत्रीय मिसन रहेको छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बेटर नेपाल संस्थालाई ५ लाख रुपैयाँ सहयोग
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौंको पिंगलास्थानमा रहेको बेटर नेपाल संस्थालाई विद्यालय सञ्चालनका लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बेटर नेपालद्वारा सञ्चालित बाल सारथी कार्यक्रमले अनाथ तथा अति विपन्न वर्गका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ । बुधवार बाल सारथीको कार्यालयमा सम्पन्न कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बेटर नेपालकी अध्यक्ष डा. माला खरेललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । चेक हस्तान्तरणपछि बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईले विशुद्ध सामाजिक सेवामा क्रियाशील संस्थालाई सहयोग गर्न पाउँदा कम्पनी खुशी भएको बताउँदै भने, 'हामीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आवश्यकता अनुसार सहयोग गर्दै आएका छौं र यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिनेछौं ।' कार्यक्रममा अध्यक्ष डा. माला खरेलले अनाथ तथा अति विपन्न बालबालिकाको शिक्षाको जिम्मा लिँदा पनि त्यो निरन्तरता प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लगायतका सहयोगी संस्था र मनकारी व्यक्तिहरुको साथबिना सम्भव नहुने बताउँदै धन्यवाद व्यक्त गरिन् । सो कार्यक्रममा इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति सदस्य श्रीमती सम्झना अर्याल (अस्मिता सुमार्गी), सुसन शेरचन, भावना बलायर, नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने, नायब महाप्रबन्धक सोनबहादुर मगर, ब्राण्डिङ विभाग प्रमुख विनोद घिमिरे, तथा बेटर नेपालका तर्फबाट कमला वली, आत्माराम पाण्डे लगायतको उपस्थिति थियो ।
एनआईसी एशिया बैंक र नगरकोट होमस्टेबीच सहकार्य, डिजिटल भुक्तानीमा ग्राहकलाई छुट
काठमाडौं । एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच सहकार्य गर्दै बैंकका ग्राहकहरूलाई डिजिटल भुक्तानीमा विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । अबदेखि एनआईसी एशिया बैंकका ग्राहकहरूले नगरकोटस्थित १७ घरपरिवारद्वारा सञ्चालित सामुदायिक होमस्टेमा बसोबास वा सेवा उपयोग गर्दा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गरेमा १० प्रतिशत छुटको सुविधा प्राप्त गर्न सक्नेछन् । नगरकोट, चाँगुनारायण नगरपालिका–६, भक्तपुरमा रहेको सामुदायिक होमस्टेमा प्रवास अनुभव गर्न चाहने ग्राहकहरूलाई डिजिटल भुक्तानीको सहजता र छुट सुविधा उपलब्ध गराउन यो सहकार्य गरिएको हो । डिजिटल सशक्तिकरण र वित्तीय समावेशीकरणमा अग्रसर रहेको बैंकले यस साझेदारीमार्फत सुरक्षित, सरल र आधुनिक डिजिटल भुक्तानी प्रणाली प्रवद्र्धन गर्नुका साथै दिगो ग्रामीण पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
एशियन ब्याट्रीजको आईपीओ निष्कासनका लागि हिमालयन क्यापिटलसँग सम्झौता
काठमाडौं । नेपालको ऊर्जा तथा औद्योगिक आत्मनिर्भरता क्षेत्रमा क्रियाशील एशियन ब्याट्रीज लिमिटेडले सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ । यसका लागि कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । असार ३१ गते काठमाडौंमा सम्पन्न सम्झौता समारोहमा हिमालयन क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र एशियन ब्याट्रीज लिमिटेडका अध्यक्ष सुरेश लोहनीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उद्योगको जारी पुँजी ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीले सोको २० प्रतिशत अर्थात १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । यसले एशियन ब्याट्रीजलाई नेपालकै भरोसायोग्य ऊर्जा समाधान प्रदायक कम्पनी बनाउने यात्रामा महत्वपूर्ण मोड थपेको कम्पनीको भनाइ छ । सन् २०१३ देखि व्यावसायिक उत्पादन सुरु गरेको एशियन ब्याट्रीज लिमिटेडको उत्पादन केन्द्र मोरङको बुढीगंगा गाउँपालिकामा छ भने सम्पर्क कार्यालय ललितपुरको सानेपामा अवस्थित छ । कम्पनीले सवारी साधन, इलेक्ट्रिक रिक्सा, मोटरसाइकल तथा सोलार प्रणालीमा प्रयोग हुने गुणस्तरीय लिड–एसिड ब्याट्री उत्पादन गर्दै आएको छ । नेपालकै सबैभन्दा विश्वसनीय ‘पावर सोलुसन ब्रान्ड’ बन्ने लक्ष्य लिएको कम्पनीले निकट भविष्यमै लिथियम आयन ब्याट्री उत्पादन तथा प्रयोग भइसकेका ब्याट्रीहरूको पुनःप्रशोधन सुरु गर्ने योजना बनाएको छ । कम्पनीले वारेन्टीसहित भरपर्दो उत्पादन र छिटो सेवा दिने प्रतिबद्धता जनाएको छ । देशका प्रमुख स्थानहरूमा फैलिएको १० वटा शाखामार्फत कम्पनीले सेवा र उत्पादनको सहज पहुँच सुनिश्चित गर्दै आएको छ । नेपालमै निर्माण भएका एशियन ब्याट्रीका उत्पादनहरू गुणस्तरमा अब्बल, मूल्यमा सुलभ तथा दिगो उपभोगका लागि उपयुक्त भएकाले घरायसी तथा व्यवसायिक दुवै ग्राहकका लागि पूँजीगत र सञ्चालन खर्च घटाउन मद्दत पुग्ने कम्पनीको विश्वास छ ।
देवघाटमा साउने मेला, भक्तजनको भीड
नारायणगढ । देवघाटधाममा आजदेखि साउने मेला सुरु भएको छ । मेला भर्न बिहानैदेखि भक्तजनको भीड लागेको छ । आजैदेखि बोलबम मेला पनि प्रारम्भ भएको छ । भक्तहरू देवघाटमा स्नान गरी शिवालयमा जल चढाउने तथा शिवको आराधना गर्ने गर्छन् । साउन महिनालाई शिवको प्रिय महिना मानिन्छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार साउनमा करिब पाँच लाख भक्तजन मेला भर्न आउने अनुमान गरिएको छ । सोमबार अधिक भक्तजन आउने अपेक्षा छ । भक्तजनको भीडलाई मध्यनजर गर्दै स्थानीय प्रशासनको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । साउन महिनामा स्नान गरी व्रत बसेर देवघाटको जल र बेलपत्रले शिवको पूजाआराधना गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।
११.३३ प्रतिशत बढेर पौने १२ खर्ब पुग्यो राजस्व संकलन, आजदेखि बजेट कार्यान्वयनमा
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि भएको अर्थमन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अर्ध वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको छ । अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरू हुँदा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रुपमा राजस्व संकलन भएको बताए । ’तयारी सुरु गरिसकेका छौं । चालू आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौँ,’ उनले भने । चालू आर्थिक वर्षमा १३ खर्ब १५‍ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य छ । आर्थिक वर्ष २०७१/७२ मा ४ खर्ब ५ अर्ब रुपैयाँ, आर्थिक वर्ष २०७२/७३ मा ४ खर्ब ८१ अर्ब रुपैयाँ, आर्थिक वर्ष २०७३/७४ मा ६ खर्ब ९ अर्ब रुपैयाँ, आर्थिक वर्ष २०७४/७५ मा ७ खर्ब २६ अर्ब रुपैयाँ, आर्थिक वर्ष २०७५/७६ मा ८ खर्ब २९ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा ७ खर्ब ९३ अर्ब रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा ९ खर्ब ३५ अर्ब रुपैयाँ, आव २०७८/७९ मा १० खर्ब ६६ अर्ब रुपैयाँ, आव २०७९/८० मा ९ खर्ब ५७ अर्ब रुपैयाँ र आव २०८०/८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ संकलन भएको थियो । आजदेखि नयाँ बजेट कार्यान्वयनमा गत आर्थिक वर्ष बुधबारबाट सकिएपछि आज बिहीबारदेखि नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ । गत जेठ १५ मा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको बजेट आजदेखि कार्यान्वयनमा आउने भएको छ । अर्थ मन्त्रालयले यस आवमा बजेट कार्यान्वयन मार्गदर्शन बनाइसकेको छ । आज साउन १ गते नै सबै मन्त्रालय, विभाग, निकायहरूलाई सर्कुलर गरेर बजेट कार्यान्वयनमा लैजाने अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आव २०८२/८३ का लागि १९ खर्ब ६४ अर्बको बजेट ल्याएका छन् । सरकारले अगामी वर्षामा चालु शीर्षकमा ११ खर्ब ८० अर्ब, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च गर्ने योजनासहित बजेट छुट्याएको छ । उक्त बजेटका लागि स्रोतका रूपमा राजश्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ, वैदेशिक अनुमानबाट ५३ अर्ब ४५ करोड रुपैयाँ व्यहोरिने सरकारी योजना छ । यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब रुपैयाँ र आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट व्यहोर्ने योजना छ । सरकारले जेठ १५ मा २०८२/८३ का लागि ल्याएको बजेटमध्ये करसम्बन्धी व्यवस्था कार्यान्वयनमा गइसकेका छन् । सरकारले बजेट कार्यान्वयनमा लगेर आर्थिक गतिविधि विस्तार, निजी क्षेत्रको लगानी वृद्धि, रोजगारीको अवसर वृद्धि, पूर्वाधार आयोजना निर्धारित समयमै सम्पन्न हुने सहित ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।