हत्याकाण्डपछि कुशका राजा स्थापना गरियो, ज्ञानेन्द्र असली राजा होइनन् : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह असली राजा नभएको बताएका छन् । आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहमा उनले शाहलाई कुसको राजाको रूपमा स्थापना गरेको बताए । ‘दरबार हत्यकाण्ड भनेको सानो कुरा हो? त्यसपछि एउटा कुशको राजा स्थापना गरेको भन्छु मैले। त्यो असली राजा नै होइन,’ उनले भने, ‘राजा मारियो, रानी मारिए, युवराज मारिए। यता उता नभएको भाइ चाहीँ खोजेर ल्याएर बनाएको छ । दरबार हत्याकाण्डको परिकल्पना गरेको छ। अनि त्यस बाटोबाट आएको राजाले जनताको अधिकार खोस्छ ।' शाहले कांग्रेस सभापति शेरबहादुर देउवामाथि मुद्दा चलाउन खोजेको पनि उनले बताए । ‘एउटा कठपुतली आयोग बनाएर अख्तियार बाँकी छोडेर, शेरबहादुर देउवामाथि मुद्दा चलाउँदै थियो । अख्तियारले चलाएर नहुने, यो सबै २००७ सालमा राजा फर्काएको परिणाम हो,’ उनले भने, ‘दिल्ली गइसकेका थिए, उतै बस्न दिएको भए भइहाल्थ्यो नि । राजा फर्काउँदैनौँ, अरु कुरामा सम्झौता गर्छौं भनेको भए पनि हुन्थ्यो होला ।’
दीपल एस–०७ अब एलएफपी ब्याट्रीमा, खरिदमा ५ वर्षसम्म सबै खर्च कम्पनीले बेहोर्ने
काठमाडौं । दीपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी एस–०७ आईसीए सार्वजनिक गरेको छ । कम्पनीले ‘५ वर्षे शून्य ओनरशिप कस्ट’ को अभूतपूर्व योजनासहित गाडी सार्वजनिक गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक विवेक सिकारियाका अनुसार ग्राहकले ५ वर्षसम्म गाडीको स्वामित्वसँग सम्बन्धित कुनै पनि खर्च बेहोर्नु पर्दैन । यो योजनाअन्तर्गत ५ वर्षको अवधिका लागि सवारी बीमा, सडक कर, आवधिक मर्मतसम्भार र चार्जिङका लागि आवश्यक बिजुलीसमेत निःशुल्क उपलब्ध गराइने प्रबन्ध निर्देशक सिकारियाले जानकारी दिए । ‘नयाँ दिपल एस-०७ आईसीए एपग्रेड मात्र होइन, यो नेपालको हालसम्मकै सबैभन्दा बढी कनेक्टेड र सुन्दर इभी हो,’ सिकारियाले भने, ‘नेपालमा सार्वजनिक भएको डेढ वर्षमै अहिले ९५० वटा दिपल सडकमा गुडिरहेका छन् र यसले सेग्मेन्टको ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ । यो नयाँ इभीको सार्वजनिकीकरणले एमएडब्लु नेपालको इभी क्रान्तिलाई नेतृत्व दिन प्रतिबद्ध छ भन्ने दर्शाउँछ ।’ यो अफरले ग्राहकलाई खरिदपछिको खर्चको चिन्ताबाट पूर्ण रूपमा मुक्त गराउने उनको दाबी छ । गाडीमा (लिथियम आइरन फस्फोट) एलएफपी ब्याट्री राखिएको छ । यसअघि गाडी एनसीएम ब्याट्रीमा मात्र उपलब्ध थियो । सिकारियाले दीपलले छोटो समयमै नेपाली बजारमा बलियो उपस्थिति जनाएको र ग्राहकको विश्वास जित्न सफल भएको बताए । कार्यक्रममा ब्राण्ड एम्बेसडर पारस खड्काले यो गाडी चलाउँदाको आफ्नो अनुभव सुनाएका थिए । याे गाडी ‘निबोला ब्लू’ रङमा उपलब्ध छ । सार्वजनिक गाडीमा ६८.८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्याक जडान गरिएको छ । जसले डब्लुएलटीपी मापदण्डअनुसार एक पटकको फुल चार्जमा ४१० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ । यसअघि बजारमा उपलब्ध एलएफपी ब्याट्रीयुक्त संस्करणमा ६६.८ किलोवाट–आवरको ब्याट्री थियो र त्यसको रेन्ज पनि समान ४१० किलोमिटर नै थियो । ब्याट्री प्रविधि र रङको विकल्पबाहेक गाडीको डिजाइन, फिचर र अन्य प्राविधिक पक्षमा कुनै परिवर्तन नगरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एस–०७ फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक फिचरका कारण नेपाली बजारमा स्थापित भइसकेको मोडल हो । कुपे–स्टाइल बनावट, फ्रेमलेस ढोका, २० इन्चको टायर, र क्वालकम स्न्यापड्रागन ८१५५ चिपसेटयुक्त १५.६ इन्चको विशाल सनफ्लावर टचस्क्रिन यसका मुख्य आकर्षण हुन् । साथै एडीएएस २.५, अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले, ३६०–डिग्री क्यामेरा र एक्टिभ इमर्जेन्सी ब्रेकिङजस्ता सुरक्षा फिचरले यसलाई आफ्नो सेग्मेन्टमा अब्बल बनाएको छ । गाडीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । ‘शून्य ओनरशिप कस्ट’ योजना यो योजनाले ग्राहकलाई गाडी खरिदपछिको ५ वर्षसम्म आर्थिक भारबाट पूर्ण रूपमा मुक्त गर्ने लक्ष्य राखेको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधाहरू दिएको छ । जसमा ५ वर्षको पूर्ण बीमा (अटोप्लस), ५ वर्षको वार्षिक सवारी कर, ५ वर्षको निःशुल्क सर्भिसिङ र आवश्यक पार्टपुर्जा, ५ वर्षसम्म गाडी चार्ज गर्न लाग्ने बिजुलीको खर्च समेत दिएको छ । यसका साथै कम्पनीले ५ वर्षसम्म गाडी चार्ज गर्दा लाग्ने इन्धन (बिजुली) को खर्चसमेत तिरिदिने घोषणा गरेको छ । कम्पनीका अनुसार दुर्घटना नभएको खण्डमा ग्राहकले ५ वर्षसम्म गाडीमा एक पैसा पनि खर्च गर्नुपर्ने छैन ।
अंग्रेजी र गणित विषय पढाउने शिक्षक पाउनै छोडे : खेलकुदमन्त्री चौधरी
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा अंग्रेजी र गणित विषय पढाउने शिक्षकको अभाव हुन थालेको बताएका छन् । राष्ट्रिय युवा परिषदद्वारा आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । हाल नेपाली पढाउने शिक्षकहरु प्रशस्त रहेपनि अंग्रेजी र गणित विषय पढाउने शिक्षकहरु नपाउने अवस्था सिर्जना भएको बताए । सीपयुक्त जनशक्ति नेपालमा अभाव हुँदै जाँदा विदेशबाट श्रमीकहरु आएर उद्योग कलकारखानामा काम गर्ने गरेको बताए । तालिम दिने संस्थाहरु नेपालमा धेरै नै भएपनि तालिम प्रभावकारी नभएको उनको भनाई छ । ती संस्थाहरुले कति मान्छेहरुले तालिम लिए भन्ने तथ्यांक पनि राख्न नसकेको उनले बताए । खेलकुदमन्त्री चौधरीले तालिम दिने संस्थाहरुलाई केही समय आफ्नै संस्थामा प्रयोगात्मक प्रशिक्षण गर्न लगाउन पनि आग्रह गरे । सीपयुक्त जनशक्ति नहुँदा रोजगारी समेत समस्या भएको उनले जानकारी दिए । मन्त्री चौधरीले भने,‘युवाहरु धेरै विदेश पलायन भएपनि स्किल मेनपावर पुग्न सकेन, हाम्रो देशमा तालिम दिने थुप्रै संघसंस्थाहरु छ, तालिम दिने तर स्किल मेनपावर हामीले अझै पुरा गर्न सकेनौ । हामी तालिम दिन्छौ, त्यो तालिम दिईसकेपछि त्यो के गरिरहेको छ भन्ने कुराहरु, अहिलेसम्म हामीसँग डाटा पनि छैन ।’ खेलकुदमन्त्री चौधरीले सरकारले युवालाई स्वरोजगार बन्नको लागि ३ देखि ५ लाख रुपैयाँसम्म ऋण दिने तयारी गरेको पनि बताए ।
निर्मला हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सीआइबीलाई गृहमन्त्री लेखकको निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लाई निर्देशन दिएका छन् । आइतबार सीआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सुक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । 'निर्मला पन्तको हत्यालगायत ब्युरोले अनुसन्धान गरिरहेका सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु', गृहमन्त्री लेखकले भने, 'नेपाल प्रहरीभित्र पनि सीआइबीप्रति आमजनताको भरोसा बढेको छ, यसलाई अटल राखेर काम गर्नुपर्छ ।' सीमित स्रोतसाधनका बीच प्रहरीमा सीआइबीले कार्यसम्पादनमा सफलता हासिल गर्दै गएकोप्रति खुसी व्यक्त गर्दै मन्त्री लेखकले सीआइबीलाई साधनस्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको उल्लेख गरे । मुलुकमा पछिल्लो समय वित्तीय अपराधका घटना बढेकाले आफूले वित्तीय अपराध नियन्त्रणका लागि वित्तीय अपराध अनुसन्धान महाशाखा गठन गरेको जानकारी दिए । 'प्रहरीप्रतिको भरोसा बढेर गएकै कारण देशभरबाट प्रहरी चौकी माग हुँदै आएको छ', उनले भने, 'प्रहरीलाई सुविधा सम्पन्न बनाउन विगतकोभन्दा चालु आर्थिक वर्षमा तुलनात्मक रुपमा बजेट बढी विनियोजन गरिएको छ ।' प्रहरीभित्र सिआइबीको महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै उनले जिम्मेवारी पूरा गर्न प्रविधि, जनशक्तिलगायतका विकास गरिनेमा जोडदिए । त्यस अवसरमा सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सीआइबीले गरिरहेको काम, कारबाही, पाइरहेको सफलता र कार्यसम्पादनमा रहेका चुनौतीलगायत विषयमा प्रस्तुति राखेका थिए । वरिष्ठ उपरीक्षक बोगटीले सीआइबीले निर्मला पन्त हत्या प्रकरणका साथै अन्य घटनाका सम्बन्धमा पनि अनुसन्धान जारी रहेको जानकारी गराएका थिए । कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा, सीआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङलगायत सीआइबीका कार्यरत प्रहरी अधिकारीको उपस्थिति थियो ।
६३ अंकले घट्यो नेप्से, १३ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६३ अंकले घटेर २८५८ बिन्दुमा झरेको छ । आज १६ कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको मूल्य घटेको छ । आइतबार ३१९ कम्पनीको ३ करोड २२ लाख कित्ता सेयर किनबेच हुँदा १३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ७५ करोड रुपैयाँको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको ७१ करोड, हिमालयन डिस्टीलरीको ५८ करोड, शिवभ् सिमेन्टको ५५ करोड र न्यादी गुप्रको ४२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहका सूचक घटेका छन् । अन्य समूह सबैभन्दा धेरै ३.४८ प्रतिशतले घटेका छन् । बैंकिङ २.२७, विकास बैंक १.६६, फाइनान्स १.६६, होटल तथा पर्यटन १.१७, हाइड्रोपावर १.३०, लगानी २.१९, जीवन बीमा २.१६, उत्पादन तथा प्रशोधन २.४४, माइक्रोफाइनान्स ३.०५, निर्जीवन बीमा १.७३ तथा व्यापार १.४३ प्रतिशतले घटेका छन् । आइतबार २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । ट्रेड टावर र शिभा श्री हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पायो ८१४ परीक्षण प्यारामिटरमा एक्रिडिटेशन
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन लेबोरेटोरीजबाट ८१४ परीक्षण प्यारामिटरमा एक्रिडिटेशन (प्रत्यायन) प्राप्त गर्दै नेपालकै सबैभन्दा ठूलो प्रमाणित खाद्य प्रयोगशालाको मान्यता पाएको छ । विभागले आइतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले ६७२ केमिकल र १४२ माइक्रोबायोलोजिकल गरी कुल ८१४ परीक्षण प्यारामिटरमा प्रत्यायन प्रमाणपत्र गरेको जानकारी दिए । उनका अनुसार नेपाल र भारतबीच भएको समझदारीअन्तर्गत भारतको फुड सेफ्‌टी एण्ड स्ट्यान्डड्र्स अथोरिटी अफ इण्डियाले २०८१ चैत्र २२ मा परीक्षण गरी जारी गरिने प्रमाणपत्र र खाद्य गुणस्तर तथा स्वच्छता निर्यात प्रमाणपत्रलाई आधिकारिक मान्यता दिएको हो । उनले प्रारम्भिक चरणमा जुस, जाम, जेली, अचार, क्यान्डी, तयारी चाउचाउ, अदुवा र ताजा फलफूल तथा तरकारी जस्ता ८ प्रकारका खाद्य वस्तुहरूमा प्रयोगशालाको प्रमाणपत्रलाई मान्यता दिने निर्णय लिएको छ । उनले २२ वटा खाद्य तथा दाना समूहहरू अन्तर्गत प्रयोगशालामा परीक्षण हुने सबै प्रकारका केमिकल तथा माइक्रोबायोलोजिकल परीक्षण प्यारामिटरहरूमा पनि प्रत्यायन प्रमाणपत्र प्राप्त गरिएको बताए । यो उपलब्धिले नेपाललाई खाद्य परीक्षणको अन्तराष्ट्रिय विश्वसनीयता प्राप्त राष्ट्रको रूपमा स्थापित गर्ने दिशामा सहयोग पुर्याउने महर्जनको विश्वास छ ।
२०३० सम्ममा वार्षिक १६ लाखको हाराहारीमा पर्यटक भित्रन सक्ने प्रक्षेपण
काठमाडौं । पछिल्लो सयम पर्यटकहरुको आवागमनमा उल्लेख्य वृद्धि भएसँगै आगामी २०३० सम्ममा नेपाल घुम्न आउने पर्यटकको संख्या १६ लाखको हाराहारीमा पुग्ने सरकारी अधिकारीहरु प्रक्षेपण गरेका छन् । उनीहरुकाअनुसार हवाई पूर्वाधारदेखि नेपाल एयरलाइन्ससम्मले गन्तव्य बढाउनसके पर्यटकको संख्यामा भारी रुपमा वृद्धि हुनेछ । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रवन्धक सूर्य थपलियाकाअनुसार अहिले पर्यटक आगागमनको क्रमलाई हेर्दा सन् २०२५ को जुलाइमा मात्रै ७० हजार भन्दा बढी पर्यटक आगागमन भएको छ । उनले सन् २०२४ को जुलाइको आँकडा हेर्दा बढेको बताए । यसरी पर्यटक वृद्धि २०२५ मा करिव १२ लाख पर्यटक आगागनको हाराहारीमा पुगिनेछ । त्यसो त, नेपाल एयरलाइन्स बाहेक अन्य हवाई उडान सेवा प्रदायकको उडानका कारण पर्यटकको संख्या पनि बढ्ने हुन्छ । तर नेपाल एयरलाइन्सको गन्तव्यमा बढाउनैपर्छ । नेपाल पर्यटन बोर्डकाअनुसार सन् २०२५ को जुलाइमा मात्रै ७० हजार भन्दा बढी पर्यटक नेपाल आएका छन् । जुलाईमा कुल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार १ सय ५२ अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् । दोस्रो स्थानमा चीनबाट ६ हजार ८ सय ९० जना, तेस्रोमा अमेरिकाबाट ६ हजार ६ सय २६ जना, बंगलादेशबाट ४ हजार ४ सय १३ जना र बेलायतबाट ३ हजार ५ सय ४७ जना पर्यटक नेपाल आएका छन् । बोर्डका वरिष्ठ प्रवन्धक थपलियाले भने–‘भारत चीन अमेरिका श्रीलका बंगलादेशका लगायतबाट नेपालमा बढि पर्यटक आउने गरेका छन् । हवाई यात्रा हुँदै भारतबाट कम पर्यटक आएको देखिएपनि सडकमार्ग हुँदै भारतीय पर्यटक धेरै आउने गरेका छन् । २०१९ मा १२ लाखसम्म पर्यटक आएको आकडा थियो । २०२५ अहिले १२ लाखको नजिक नजिकमा छौं ।’ भारत, चीन, श्रीलंकादेखि अमेरिकनहरु नेपाल घुम्न आउनेक्रम ह्वात्तै बढेको छ । यसले पर्यटन क्षेत्रलाई राम्रो फाइदा पुर्याएको छ भने अर्बौं लगानीमा खुलेका होटलहरु समेत चलायमान हुन पाएका छन् । पर्यटक आउनेक्रम बढ्दा मुुलुकलाई भित्रने विदेशी मुद्रामा समेत वृद्धि हुने गरेको छ ।
नारायणघाट-बुटवल सडक निर्माण फेरि लम्बियो, १८ महिना लाग्ने निर्माण कम्पनीको दावी
नवलपुर (नवलपरासी) । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व-पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट-बुटवल सडक आयोजनाको म्याद एक वर्ष थप गरेको छ । तेस्रोपटक थपिएको म्याद सकिँदा सडक निर्माण ७० प्रतिशत मात्रै पूरा भएपछि विसं २०८३ साउन ७ गतेसम्मका लागि सडकको म्याद थप गरिएको हो । नारायणघाट-बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले आयोजनाको चौथो पटक म्याद थपिएको बताए । ‘चौथोपटक थप भएको म्याद अन्तिम हो,’ उनले भने, ‘निर्माण कम्पनीले यस अवधिमा सडक निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएकाले म्याद थप गरिएको हो ।’ हालसम्म पूर्वीखण्डमा दाउन्ने बाहेकका सबै ठाउँमा कालोपत्रको काम सकिएको जानकारी दिँदै उनले बाँकी काम पनि एक वर्षभित्र सकिने बताए । ‘पछिल्लो समय निर्माण कम्पनीले सडक विस्तारमा तीव्रता दिएको छ,’ उनले भने, ‘अहिले जनशक्ति दाउन्ने सडकको ढलान गर्न र बाँकी रहेका दुई वटा पुल निर्माण गर्न केन्द्रित भएका छन् ।’ थप गरिएको समयमा पूर्वी खण्डको करिब ६५ किलोमिटर चार लेन सडक, सडकको बीचमा रहने डिभाइडर, साढे १७ किलोमिटर सर्भिस लेनको काम सकिने खनालको भनाइ छ। सडक विस्तारको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले भने थप भएको समयभित्र सबै काम सकाउन कठिन भएको जनाएको छ । कर्पोरेसनका ठेक्का सह व्यवस्थापक राकेश झाले आफूहरुले काम पूरा गर्न १८ महिना लाग्ने भन्दै सोहीअनुसार म्याद थप मागेको भए पनि सरकारले एक वर्षमात्रै म्याद थप गरेको बताए । ‘थपिएको समयमा सडकको काम पूरै सकाउन कठिन छ,’ उनले भने, ‘हामीले तोकिएकै समयमा काम सक्ने प्रयास गर्छौं तर, योजनाअनुसार काम गर्दा फुटपाथ निर्माण र सडक सुन्दर बनाउने काम बाँकी हुनसक्छ ।’ अहिले सडकको दाउन्ने खण्डमा ढलानको काम भइरहेको उनले बताए । ‘पूर्वी खण्डको दाउन्ने क्षेत्रमा चार किलोमिटर बाटो ढलान गर्नुपर्नेछ,’ उनले भने, ‘अहिलेसम्म सवा ६ मिटर चौडाइको नौ सय मिटर ढलान गरिसकेका छौं, बाँकी ढलान पनि भइरहेको छ ।’ दाउन्ने क्षेत्रको ढलानसँगै अरुणखोला र गिरुवारी खोलामा पुल निर्माण भइरहेको उनले बताए । गिरुवारी खोलाको पुलमा ढलानका लागि ६ वटा स्ल्याप राख्नुपर्ने उल्लेख गर्दै उनले दुईवटा पूरा भएको र बाँकी चार वटा निर्माणको चरणमा रहेको जानकारी दिए । दाउन्ने क्षेत्रमा बन्नुपर्ने २२ वटा कल्भर्टमध्ये तीनवटा, सडकको दुवैतर्फ ६ मिटर चौडाइको १७ दशमलव चार किलोमिटर सर्भिस लेनको काम बाँकी रहेको उनले जानकारी दिए । गैंडाकोटको नारायणी नदीको पुलसँग जोडिने करिब एक सय मिटर सडक कालोपत्र गर्न बाँकी छ । उक्त सडकको किनारमा ग्याबिन राखेर माटो भर्ने काम सकिएको छ । ‘अब गैँडाकोटको बाँकी रहेको ठाउँमा सब बेस, बेस कोर्ष सकिन्छ र कालोपत्रले नारायणीको पुललाई जोड्नेछौं,’ उनले भने, ‘त्यस्तै गैंडाकोटकै जयश्रीको ठूलो पुल दशैं अगाडि सञ्चालन गर्नेगरी काम भइरहेको छ ।’ तीन सय जना श्रमिक राखेर सडक विस्तार भइरहेको उल्लेख गर्दै उनले अब सडक विस्तारमा कुनै पनि कुराको अवरोध नभएकाले तीव्र गतिमा काम हुने बताए । ‘निर्धारित समयमा सडक विस्तारको काम नसकिए कामको प्रगतिको आधारमा ६ महिना म्याद थप गर्न माग गर्छौं,’ उनले भने, ‘त्यस अवधिमा भने सबै काम सकाएर सबै सडक सरकारलाई हस्तान्तरण गर्ने अवस्थामा पुग्छौं ।’ निर्माण कम्पनीले सात वर्ष अगाडि नेपाल सरकारसँग ४२ महिनाभित्र सडक विस्तार पूरा गर्ने सम्झौता गरी विसं २०७५ साल माघ २४ गतेदेखि काम सुरु गरेको थियो । कूल ११४ किलोमिटर सडकमध्ये पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने) ६५ किलोमिटरको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार तथा पश्चिम खण्ड–दाउन्ने–बुटवल) ४९ किलोमिटरको लागत रु सात अर्ब ८६ करोड ३४ लाख गरी जम्मा १६ अर्ब ९९ करोड ५२ लाख रहेको छ ।