सुजुकीको पहिलो विद्युतीय कार ‘ई-भिटारा’ सार्वजनिक हुँदै
काठमाडौं । मारुती सुजुकीको पहिलो विद्युतीय सवारीसाधन ईभी ‘ई-भिटारा’ नेपालमा सार्वजनिक हुने भएको छ । नेपालका लागि सुजुकीको आधिकारिक वितरक सिजी मोटोकर्पले यसलाई आगामी शुक्रबार सार्वजनिक गर्न लागेको हो । यो मोडल मारुती सुजुकीले गत जनवरीमा सम्पन्न ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२४’ मा पहिलो पटक प्रदर्शन गरेको थियो । ई-भिटारामा अत्याधुनिक एलएफपी ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ । यो गाडी ४९ किलोवाट आवर र ६१ किलोवाट आवर गरी दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ । कम्पनीका अनुसार एक पटकको फुल चार्जमा यसले ५०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । फ्रन्ट–ह्विल ड्राइभ प्रणालीमा आधारित यो कार १०६ किलोवाट, १२८ किलोवाट र १३५ किलोवाटका तीन फरक मोटर विकल्पमा उपलब्ध छ । ई-भिटाराको लम्बाई ४ हजार २७५ एमएम, चौडाइ १ हजार ८०० एमएम र उचाइ १ हजार ६३५ एमएम रहेको छ । यसको क्याबिनमा नयाँ अपरेटिङ सिस्टमसहितको डुअल–स्क्रिन लेआउट र विस्तृत जानकारी दिने डिजिटल डायल जस्ता आधुनिक फिचरहरू छन् । गाडीमा १८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीको दावी छ । गाडीको पछिल्लो भागमा स्प्लिट-फोल्डिङ सिट, एड्जस्टेबल हेडरेस्ट, सबै यात्रुका लागि थ्री-पोइन्ट सिटबेल्ट र आइसोफिक्स चाइल्ड सिट माउन्ट जस्ता व्यावहारिक सुविधाहरू पनि दिइएका छन् । सुरक्षाका लागि यसमा अत्याधुनिक फिचरहरूको लामो सूची छ । सबैभन्दा महत्त्वपूर्ण रूपमा यसमा लेभल २ को एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध छ । जसमा लेन किप असिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोल र ब्लाइन्ड स्पट मनिटरिङ सिस्टम जस्ता फिचर रहेका छन् । यसका साथै गाडीमा ७ वटा एयरब्याग, ३६०-डिग्री क्यामरा, टायर प्रेसर मनिटरिङ सिस्टम, अगाडि र पछाडि पार्किङ सेन्सर, अटो होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, ड्राइभ मोड, हिल डिसेन्ट कन्ट्रोल, वायरलेस फोन चार्जर र हिटेड मिरर जस्ता अन्य महत्त्वपूर्ण सुरक्षा तथा सुविधाका फिचरहरू पनि समावेश छन् ।
काठमाडौंको एभरेस्ट कलेजलाई आईएलटीएस परीक्षा सञ्चालनको अनुमति
काठमाडौं । काठमाडौंमा रहेकाे एभरेस्ट कलेजले आधिकारिक रूपमा आईएलटीएस परीक्षा सञ्चालनको अनुमति पाएको छ । २७ वर्षदेखि शिक्षण क्षेत्रमा सक्रिय रहेको एभरेस्ट कलेज अब आधिकारिक ब्रिटिश काउन्सिल आईएलटीएस परीक्षा केन्द्र बनेको हो । यस सुविधाले अन्तर्राष्ट्रिय अध्ययन र रोजगारीका अवसर खोज्ने विद्यार्थीलाई तयारीदेखि परीक्षा सम्मको सम्पूर्ण प्रक्रिया स्थानीयस्तरमै सहज र विश्वासिलो बनाउन मद्दत गर्ने कलेजको विश्वास छ । अन्तर्राष्ट्रिय आईएलटीएस तयारीमा संलग्न विद्यार्थीका लागि कलेजले थापाथलीस्थित आफ्नो क्याम्पसमा सम्पर्क गर्न आह्वान गरेको छ ।
क्लियर स्याम्पु ब्रान्ड मार्फत इङ्लिस प्रिमियर लिग प्रत्यक्ष प्रसारण हुने
काठमाडौं । युनिलिभर नेपालले आफ्ना प्रमुख हेयर केयर ब्रान्ड ‘क्लियर’ मार्फत इङ्लिस प्रिमियर लिगलाई नेपाली दर्शकमाझ प्रत्यक्ष रूपमा ल्याउने रोमाञ्चक सहकार्यको घोषणा गरेको छ । यो साझेदारी युनिलिभरको विश्वव्यापी फुटबलप्रतिको प्रतिबद्धता र उपभोक्तासँग अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने लक्ष्यको प्रतिविम्ब हो । युनिलिभरको पर्सनल केयर डिभिजन सन् २०२७ सम्मका लागि फिफाको आधिकारिक ग्लोबल पार्टनर रहँदै आएको छ, जसमा २०२६ को फिफा वल्र्ड कपसहित प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरू समावेश छन् । यस्ता सहकार्यहरूले खेलकुदको शक्ति समुदायलाई एकताबद्ध गर्न र आत्मविश्वास जगाउन मद्दत पुर्याउने कम्पनीको विश्वास छ । इपीएल साझेदारीअन्तर्गत, क्लियरले विश्व फुटबलका स्टार क्रिस्टियानो रोनाल्डो र एरलिङ हालान्डसँगको सहकार्यमार्फत आत्मविश्वास र प्रदर्शनको सन्देश फैलाउँदै आएको छ। अब नेपाली दर्शकहरूले कान्तिपुर मिडिया ग्रुपका टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष रूपमा रोमाञ्च अनुभव गर्न सक्नेछन् । युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले नेपाली दर्शकमाझ ल्याउन पाउँदा गर्व लागेको बताए । 'फुटबल केवल खेल मात्र नभई साझा भावना हो, जसले सीमाना नाघेर मानिसहरूलाई जोड्छ,' उनले भने । कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वरले पनि यो सहकार्यलाई नेपाली दर्शकका लागि उच्चस्तरीय फुटबल मनोरञ्जन उपलब्ध गराउने महत्वपूर्ण कदमको रूपमा व्याख्या गरे ।
अमेरिकी सेयर बजार पहिलोपटक ६ हजार ४०० अंक पार, १३.५ ट्रिलियन डलरको नाफा
काठमाडौं । अमेरिकी सेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ । मंगलबार एसएण्डपी ५०० र न्यास्ड्याक कम्पोजिट नयाँ रेकर्डमा पुगेका छन् । जुलाईमा महङ्गी दर अनुमानभन्दा राम्रो आउनुले आगामी महिना फेडरल रिजर्भले ब्याजदरमा कटौती गर्ने सम्भावना बढाएको छ । यसले सेयर बजारमा थप वृद्धि ल्याएको हो । एसएण्डपी १।१३ प्रतिशत वृद्धि भई ६ हजार ४४५.७६ अंकमा बन्द भयो भने टेक सेयरको दबदबामा रहेको न्यास्ड्याकमा १.३९ प्रतिशत उछाल आई २१ हजार ६८१.९० अंकमा पुग्यो । डाउ जोन्स इन्डस्ट्रियल एभरेज पनि ४८३.५२ अंक (१.१० प्रतिशत) बढेर ४४ हजार ४५८.६१ मा बन्द भयो । एसएण्डपी अप्रिलको न्यूनतम स्तरबाट ३३ प्रतिशत बढिसकेको छ । यस अवधिमा लगानीकर्ताको कुल सम्पत्तिमा १३.५ ट्रिलियन अमेरिकी डलरको वृद्धि भएको छ । लगानीकर्ताहरू ट्यारिफले देशमा महङ्गी बढाउने डरमा थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका धेरै देशहरूमा उच्च ट्यारिफ लगाएका छन् । भारत र ब्राजिल जस्ता प्रमुख व्यापार साझेदारमा ५० प्रतिशतसम्मको ट्यारिफ लगाइएको छ । तर मंगलबार सार्वजनिक भएको महङ्गीको तथ्याङ्कले लगानीकर्ताको विश्वास फर्काएको छ । डाउ जोन्सले जुलाईमा महङ्गी दर २.८ प्रतिशत हुने अनुमान गरेको थियो, तर उपभोक्ता मूल्य सूचकांक (सीपीआई) २.७ प्रतिशत मात्र बढ्यो । दर कटौतीको माग यो रिपोर्ट आएपछि ब्याजदर कटौतीको आशा बढेको छ । व्यापारीहरूको भनाइमा ब्याजदर घट्ने सम्भावना ९४ प्रतिशत छ, जुन रिपोर्ट आउनुअघि ८५ प्रतिशत मात्र थियो । अक्टोबर र डिसेम्बरमा पनि दर कटौतीको अपेक्षा छ। ट्रम्पले फेडरल रिजर्भसँग ब्याजदरमा ३ प्रतिशत कटौतीको माग गरेका छन् । अमेरिकी इतिहासमा एकैपटक यति ठूलो कटौती पहिले कहिल्यै भएको छैन । ट्रम्पको भनाइमा उच्च ब्याजदरका कारण अमेरिकाले आफ्नो ऋणमा ब्याजको रूपमा धेरै रकम तिर्नु परेको छ ।
स्वावलम्बन विकास केन्द्रको ३४औं वार्षिकोत्सव सम्पन्न, लघुवित्त क्षेत्रमा उत्कृष्ट योगदानकर्तालाई सम्मान
काठमाडौं । स्वावलम्बन विकास केन्द्रले आफ्नो ३४औं वार्षिकोत्सव काठमाडौंमा एक समारोहबीच सम्पन्न गरेको छ । अध्यक्ष शंकर मान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोर्ड सदस्य, संस्थागत तथा गैर–संस्थागत सदस्यका प्रतिनिधि र विभिन्न सरोकारवालासहित ७७ जना अतिथिहरूको उपस्थिति रहेको थियो । समारोहका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरे । मन्त्री गुरुङले चीन र स्विजरल्याण्ड भ्रमणको उदाहरण दिँदै 'स्वावलम्बन विकास केन्द्रको दृष्टिकोण ‘साना चीजहरू सुन्दर छन्’ भन्ने भनाइसँग मेल खान्छ' भन्दै व्यवसाय सुरु गर्न ठूलो लगानी वा आकारको आवश्यक नपर्नेमा जोड दिए । अध्यक्ष श्रेष्ठले केन्द्रले ३४ वर्षदेखि विपन्न समुदायलाई सेवा प्रदान गर्दै आएको र लघुवित्त मात्र होइन, समग्र सामाजिक–आर्थिक रूपान्तरणमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए । उनले नेपालको १५औं सामाजिक व्यवसाय राष्ट्रिय फोरममा सर्वसम्मतिले तयार गरिएको ९ बुँदे कार्ययोजनाबारे जानकारी दिँदै 'सिकाइ र कमाइ कार्यक्रम', फलफूलका बिरुवा रोपण र वातावरणमैत्री स्वावलम्बी गाउँलाई प्राथमिकतामा राखिएको बताए । कार्यक्रममा २०७९ सालमा स्थापित शंकर मान श्रेष्ठ लघुवित्त पुरस्कार २०८०/८१ मोरङ, धनपालथान गाउँपालिका–२ का प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डललाई प्रदान गरियो। यस पुरस्कारमा रु २ लाख नगद र कदरपत्र समावेश छ । साथै, उत्कृष्ट लघुउद्यमी सदस्य पुरस्कार २०८०/८१ सल्यानकी आशा बुढामगर, सर्लाहीकी जमुना घिमिरे र नवलपरासीकी विमला थारूलाई प्रदान गरियो, जसमा प्रत्येकले ५० हजार र प्रशंसा पत्र प्राप्त गरे । त्यस्तै, लघुउद्यमशीलता विकास पुरस्कार २०८०/८१ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्रदान गरिएको थियो। यस पुरस्कारमा २ लाख नगद र प्रशंसा पत्र समावेश छ । कार्यक्रममा लीला नाथ श्रेष्ठ, भगवती चौधरी, योगेन्द्र मण्डल, पूर्व राष्ट्र बैंक गभर्नर दीपेन्द्र बहादुर क्षेत्री लगायतको सहभागिता थियो।
मधेसमा ८२ प्रतिशत धान रोपाइँ सम्पन्न
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ को साउनसम्ममा मधेसमा धान रोपाइँ सम्पन्न भइसकेको थियो । तर यस वर्ष मनसुन अवधिमा पनि मधेसमा खडेरी परेपछि अझै धान रोपाइँ सम्पन्न हुन सकेको छैन । मधेसमा धान रोपाइँ हुने कुल ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमध्ये २ लाख ८५ हजार २ सय ३४ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालय मधेसले जनाएको छ । यस वर्ष मौसम प्रतिकूल बन्दा मधेसमा रोपाइँ हुन सकेको छैन । यतिबेला मधेसमा रोपाई सकि सक्नुपर्ने भएपनि अझै रोपाइँ सम्पन्न हुन सकेको छैन । कारण हो– समयमै पानी नपर्नु, सिँचाइको व्यवस्था नहुनु । सिँचाइको व्यवस्था नहुँदा र आकाशे पानीको भर पर्नुपर्ने बाध्यताले किसानले धान रोप्न नपाएका हुन् । कृषि विकास निर्देशनालयका वरिष्ठ वागवानी विकास अधिकृत प्रदीप यादवका अनुसार साउन सकिनै लाग्दा मधेसमा ८२ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको अनुमान गरिएको छ । अर्थात अझैपनि १८ प्रतिशत धान रोपाइँ मधेसमा बाँकी नै छ । कृषि विकास निर्देशनालयका अनुसार सबैभन्दा बढी बारामा ९५ प्रतिशत धान रोपाइँ भएको छ । बारामा रोपाइँ हुने कुल क्षेत्रफल ४६ हजार २० हेक्टरमध्ये ४३ हजार ७ सय १९ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको छ । पर्सामा धान रोपाइँ हुने ३९ हजार ७ सय ३१ हेक्टरमध्ये ३६ हजार ५ सय ५२ हेक्टरमा रोपाइँ भएको छ । सिरहाको धान रोपाइँ हुने कुल क्षेत्रफल ५४ हजार हेक्टरमध्ये ३७ हजार ८ सय हेक्टरमा जम्मा ७० प्रतिशत रोपाइँ भएको छ । धनुषामा ४३ हजार ७ सय हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये जम्मा ३० हजार ५ सय ९० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । उक्त क्षेत्रफलमा ७० प्रतिशत मात्रै रोपाइँ भएको छ । रौतहटमा ३५ हजार हेक्टरमध्ये ३० हजार ६५ हेक्टरमा अर्थात् ८६ प्रतिशत रोपाइँ भएको छ । त्यसैगरी, सर्लाहीमा ४३ हजार ६ सय ९४ मध्ये ३२ हजार ७ सय ७० हेक्टरमा रोपाइँ भएको छ । यो भनेको ६५ प्रतिशत हो । सप्तरीमा भने ७० प्रतिशत मात्रै रोपाइँ हुन सकेको छ । सप्तरीमा ६८ हजार हेक्टर क्षेत्रफलमध्ये ४७ हजार ६ सय हेक्टरमा मात्रै रोपाइँ हुन सकेको हो । महोत्तरीको धान रोपाइँ हुने कुल क्षेत्रफल ४२ हजार ५ सय हो । त्यसमध्ये २६ हजार १ सय ३७ हेक्टरमा अर्थात ६१.५ प्रतिशत रोपाइँ भएको छ ।
नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे र उपकार लघुवित्त आवद्ध
काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएका छन् । नेरुडे लघुवित्तमा कार्यरत करिब १ हजार १ सय जना कर्मचारी रहेका छन् भने उपकार लघुवित्तमा एकसय भन्दा बढी कर्मचारी रहेका छन् । कोषको यस योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारीहरू सहभागी हुन सक्ने व्यवस्था रहेको छ । यसअन्तर्गत योगदानमा वा गैर योगदानमा आधारित भएर संघ–संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन् । सोही व्यवस्था अनुसार दुवै लघु वित्त वित्तीय संस्था कोषको उपदान योजनामा आवद्ध भएका हुन् । यसअघि पनि कोषसँग नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भइसकेको छ । कोषले २०५५ देखि सुरु गरेको उपदान तथा पेन्सन योजनामा विभिन्न संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको उपदान तथा पेन्सनबापतको रकम संकलन गरी लगानी गर्ने र कर्मचारी निवृत भएपछि भुक्तानी गर्ने गरिएको छ । यस योजनामा योगदानमा आधारित र गैर योगदनामा आधारित रकम जम्मा गरी सहभागी हुन सकिने व्यवस्था छ । हाल यस योजनामा एक हजार १५० संगठित संस्था र त्यस्ता संस्थामा कार्यरत करिब ३३ हजार कर्मचारी सहभागी रहेका छन् । यस योजनामा व्यक्तिगत सहभागिता जनाउने कर्मचारीहरूले आवास कर्जा सुविधा, घर मर्मत, पुनर्संरचना, पुनर्तालिकीकरण र घर सजावटका लागि कर्जा सुविधा पाउनु हुनेछ । त्यसैगरी सहभागीहरूले आर्थिक, सामाजिक, सांस्कृतिक र पारिवारिक प्रकृतिका भइपरी आउने कार्यका लागि सरल कर्जा सुविधा पाउने व्यवस्था समेत रहेको छ ।
अपि पावरले विद्युत उत्पादन क्षमता बढाउँदै, ५० मेगावाटको दिव्य ज्योति हाइड्रो प्राप्त गर्ने
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले विद्युत उत्पादन क्षमता बढाउने योजना अन्तर्गत दिव्य ज्योति हाइड्रोपावर प्रालि प्राप्त गर्ने निर्णय गरेको छ । कम्पनीले लमजुङ जिल्लामा प्रवर्द्धन भइरहेको ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजना आफ्नो स्वामित्वमा ल्याउने भएको हो । कम्पनीका अनुसार, आयोजनाको आर्थिक र प्राविधिक मूल्यांकनपछि निर्माण र सञ्चालनका लागि उपयुक्त देखिएकाले दिव्य ज्योति हाइड्रोपावर प्रालिका विद्यमान सबै सेयर खरिद गर्ने निर्णय गरिएको हो । यसपछि कम्पनीको सम्पूर्ण व्यवस्थापन अपि पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहने छ ।