अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालन
गुल्मी । लगातारको वर्षाका कारण पहिरो गएपछि बुधबार बिहानदेखि अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीखण्डको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा सडक माथिबाट चट्टानसहितको पहिरो खसेपछि उक्त सडक दुई दिनदेखि पुर्णरुपमा अवरुद्ध बनेको थियो । अवरुद्ध सडक सञ्चालन गर्नका लागि उक्त क्षेत्रमा काम गर्दै आएको सडक निर्माण कम्पनीले स्काभेटरको माध्यमबाट सडकमा थुप्रिएको पहिरो पन्छ्याएपछि केहीबेर अघिदेखि उक्त सडक पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए । त्यसैगरी अविरल वर्षाका कारण पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध मदनभण्डारी राजमार्ग सडकअन्तर्गत गुल्मीको रिडी–तम्घास सडक भने अझै सञ्चालनमा आउन सकेको छैन । उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ स्थित बाख्रे भीरमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । अवरुद्ध सडक सञ्चालनका लागि प्रयास भइरहे पनि पानी पहिररहेको र सडक माथिबाट पहिरो खस्ने क्रम नरोकिएकाले सडक सञ्चालन गर्न समस्या परेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सारुले जानकारी दिए । सडक अवरुद्ध बनेपछि अहिले त्यस क्षेत्रमा रुरुक्षेत्र‐३ स्थित पानी ट्यङ्कीबाट थोर्गाहुँदै सालबिसौनाको वैकल्पिक सडक प्रयोग गरि सवारी साधन सञ्चालन भइरहेका छन् । मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडकखण्डमा समानान्तर जेभी र इलाइट कम्पनीद्वारा २५ किलोमिटर सडक फराकिलो र कालोपत्रको काम भइरहेको छ । गुल्मीसहित आसपासका क्षेत्रमा तीन दिनदेखि निरन्तर रूपमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । निरन्तर वर्षाका कारण बडिगाड खोला र कालीगण्डकी नदी किनारमा पानीको सतह बढ्दै गएको छ । बाढी र पहिरोको जोखिम बढ्नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन र सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गर्दै आइरहेको छ । रासस
सूर्यज्योति लाइफको नाफा ३५.२ कराेड रुपैयाँ, यस्ता छन् अन्य वित्तीय सूचक
काठमाडौं । सूर्यज्योति लाइफको नाफा गत आर्थिक वर्ष २०८१/८२ मा १.४५ प्रतिशतले बढेर ३५ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा ३४ करोड ५२ लाख रुपैयाँ नाफा संकलन गरेको थियो । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनीले गत आर्थिक वर्षमा ११ अर्ब ३५ करोड ५१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ९ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमा शुल्क आर्जन १९.८५ प्रतिशतले बढेको छ । त्यस्तै समीक्षा वर्षमा कम्पनीको खुद बीमा शुल्क आर्जन २२.८३ प्रतिशतले बढेर ११ अर्ब १८ करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ९ अर्ब १० करोड ५९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको रिटेन्ड अर्निङमा ४७ करोड २० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब १५ करोड ५ लाख रुपैयाँ थियो । त्यस्तै गत आवमा कम्पनीको महाविपत्ति कोषमा ३९ करोड ४६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको महाविपत्ति कोषमा ३७ लाख ७१ हजार रुपैयाँ थियो । गत आवमा कम्पनीको शेयरपुँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ६.९९ रुपैयाँ रहेको छ । त्यस्तै पीई रेसियो ६३.९१, प्रतिशेयर नेटवर्थ १२६.८५ रुपैयाँ रहेको छ ।
प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता हुँदै, काम फाष्ट ट्र्याकमा अगाडि बढाउने रणनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान हुनेछ । गत वर्ष भदौ २७ गते यस प्रकारको कार्यसम्पादन सम्झौता भएको थियो भने यस वर्ष झण्डै एक महिना अगाडि सम्झौता हुन लागेकाले वर्षभरी गरिने काम तथा सम्पादनलाई छिटो र प्रभावकारी बनाउन सम्झौता मुख्य आधार बन्ने प्रधानमन्त्री ओलीका निजी सचिव विनोदबहादुर कुँवरले जानकारी दिए । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको हो । प्रधानमन्त्रीसँग मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरुले सम्बन्धित सचिवहरुसँग कार्यसम्पादन सम्झौता गर्नुपर्नेछ ।
गार्डियन माइक्रो लाइफको कुल बीमाशुल्क ९८५ प्रतिशतले बढ्यो
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१ /८२ मा ४५ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले संकलन गरेको कुल बीमा शुल्क अघिल्लो आवको तुलनामा ९८५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । कम्पनीले सार्वजनिक गरेको चौंथो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको खुद बीमा शुल्क पनि बढेको छ । कम्पनीले समिक्षा वर्षमा ३९ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९८२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । गत आवमा कम्पनीको खुद नाफा पनि बढेको छ । कम्पनीले समिक्षा वर्षमा ६ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवमा कम्पनीले २२ लाख २९ हजार रुपैयाँ नाफा गरेको थियो । समिक्षा वर्षम कम्पनीको रिडेन्ड अर्निङमा ४ करोड ८१ लख ५७ हजार रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको महाविपत्ती कोषमा ६२ लाख ११ हजार रुपैयाँ रहेको छ ।
स्वास्थ्य सेवाका कर्मचारीको पद हेरफेर
काठमाडौं । स्वास्थ्य सेवाका कर्मचारीको पद हेरफेर गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले कर्मचारीको पद हेरफेर गरिएको हो । जसमा कोशी प्रदेशका स्वास्थ्य सचिव राधिका थपलियालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ भने प्युठान अस्पतालका प्रमुख डा. अर्याललाई मधेश प्रदेशको स्वास्थ्य सचिवका रूपमा सरुवा गरिएको छ । मधेश प्रदेशका तत्कालीन स्वास्थ्य सचिव डा. श्रवण मिश्रलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका डा. यदुचन्द्र घिमिरेलाई कोशी प्रदेशको सचिवका रूपमा पठाइएको छ।
युनिलिभर नेपालको नाफा २ अर्ब रुपैयाँ, सञ्चित नाफा ५ अर्ब नाघ्यो
काठमाडौं । युनिलिभर नेपालले गत वर्ष २ अर्ब रुपैयाँ हाराहारीमा नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ९६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ९५ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ०.३५ प्रतिशत अर्थात् ६९ लाख रुपैयाँ बढी आर्जन गरेको हो । गत वर्ष कम्पनीको बिक्री आम्दानी ०.०७ प्रतिशत बढेर ८ अर्ब २४ करोड ५७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ८ अर्ब २३ करोड ९८ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो । समीक्षा वर्षमा कम्पनीको अन्य आम्दानी ३०.७४ प्रतिशत घटेर १६ करोड ६७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले २४ करोड ७ लाख रुपैयाँ अन्य आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको कुल आम्दानी ०.८० प्रतिशत घटेर ८ अर्ब ४१ करोड २४ लाख रुपैयाँ र कुल खर्च १.५९ प्रतिशत घटेर ५ अर्ब ९८ करोड ७९ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ८ अर्ब ४८ करोड ६ लाख रुपैयाँ कुल आम्दानी गर्दा ६ अर्ब ८ करोड ४८ लाख रुपैयाँ कुल खर्च गरेको थियो । ९२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सञ्चित नाफा ५ अर्ब १२ करोड ४१ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको सञ्चित नाफा ४ अर्ब ७५ करोड ४५ लाख रुपैयाँ थियो ।
नाडा अटो शो २०२५ मा टाटाका चार विद्युतीय मोडेल प्रदर्शन गरिने
काठमाडौं । टाटा इभीको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ नाडा अटो शो २०२५ मा तयारीसहित सहभागी हुने भएको छ । प्रदर्शनीको स्टल आ४८ मा टियागो ईभी, पन्च ईभी, नेक्सन के ३ ईभी र कर्भ ईभीजस्ता लोकप्रिय विद्युतीय मोडेलहरू प्रदर्शन गरिनेछन् । प्रदर्शनी अवधिभर टाटाले एक्सक्लुसिभ अफर, सजिलो फाइनान्स योजना र विशेष उपहार उपलब्ध गराउने जनाएको छ । २०२५ टियागो ईभीमा दुई एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल–होल्ड कन्ट्रोल, कूल्ड ग्लोभबक्स, क्रुज कन्ट्रोल र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू छन् । पन्च ईभीमा भ्वाइस–असिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड लेदर सिट, ६ एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले सुविधा रहेको छ । यसले १९० मिमि ग्राउन्ड क्लियरेन्स र ५-स्टार सेफ्टी रेटिङ पाएको छ । नेक्सन के ३ ईभीमा १९० मिमि ग्राउन्ड क्लियरेन्स, ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, १२ इन्च टचस्क्रिन र नेपाली भौगोलिक अवस्थालाई सुहाउने अन्य सुविधाहरू छन् । कर्भ ईभीमा ५५ किलोवाट आवर ब्याट्री प्याक, ९८ किलोवाट मोटर, ५०० लिटर बुटस्पेस, १८६ मिमि ग्राउन्ड क्लियरेन्स र एडिएएस लेभल २ सहितका अत्याधुनिक सुरक्षा सुविधा उपलब्ध छन् । नाडा अटो शो २०२५ मा अटोप्रेमीहरूले यी गाडी प्रत्यक्ष अवलोकन गर्ने र तत्काल बुकिङ गर्ने अवसर पाउनेछन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने यो प्रदर्शनीले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउने लक्ष्य राखेको छ ।
निजी विद्यालय सञ्चालकले गरे आन्दोलन घोषणा, विद्यालय बन्द गर्नेसम्मको चेतावनी
काठमाडौं । निजी विद्यालयका विषमा विद्यालय शिक्षा विद्येयकमा लेखिएका केही बुँदाप्रति आपत्ती जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलन घोषणा गरेका छन् । तीन दिनभित्र विद्येयकमा लेखिएका कुरा संसोधन गर्न माग गरेपनि सुनुवाइ नभएको भन्दै प्याब्सन र ऐन प्याब्सनले संयुक्त रुपमा आन्दोलन घोषणा गरेको हो । घोषणा कार्यक्रममा भदौ ७ सम्म बौद्धिक रुपमा ज्ञापनपत्र बुझाउँदै आन्दोलन गर्ने जनाएको छ । असार १३ गते बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले निजी विद्यालयलाई सेवा मुलक, लोक कल्याणकारी,र क्रमशः नाफामुलक गर्ने भन्दै विधेयक पारित गरेको थियो । निजी विद्यालय सञ्चालकहरूले यसमा आपत्ती जनाउँदै यि बुँदा हटाउन तीन दिनको समय दिएको थियो । उनीहरूले विज्ञप्ति निकाल्दै विधेयकमा लेखिएको निजी विद्यालयलाई क्रमशः गैर नाफामुलक बनाइनेछ भन्ने वाक्यंश हटाइनुपर्ने, पूर्ण छात्रवृति दिने शब्द हटाइनुपर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने छाज्ञवृति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने भनेका थिए । ति बुँदामा समिति मौन हुँदा प्याब्सन, ऐन प्याब्सनले आन्दोलन घोषणा गरेको हो । बिहीबार पालिका प्रमुख र शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाउने जनाएको छ । निजि विद्यालय सञ्चालकहरूले शुक्रबार भोलि जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापनपत्र बुझाउने, भदौ १ गते प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको छ । यस्तै भदौ २ गते आफ्ना क्षेत्रका सांसदहरूलाई ज्ञापनपत्र बुझाउने भदौ तीन, चार र पाँच प्रदेश स्तरिय आन्दोलन तयारी बैठक बस्ने र ६, ७ गते केन्द्र र प्रदेशस्तरमा अन्तक्रिया गर्ने उल्लेख छ । यति गर्दा पनि यि कुरा हटाइएन भने विद्यालय बन्दसम्म गर्ने चेतावनी दिएको छ ।