पोखरामा नेसनल प्याब्सन कास्की जिल्ला तदर्थ समिति गठन, रोशन कोइराला अध्यक्षमा चयन
काठमाडौं । पोखरामा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को कास्की जिल्ला तदर्थ समिति गठन भएको छ । समिति गठन कार्यक्रम नेशनल प्याब्सनकी राष्ट्रिय अध्यक्ष तथा संविधान सभा सदस्य गीता राणा क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो । गीता राणा कानुन, योजना तथा नीति निर्माण विभाग र मधेश प्रदेश समन्वय उपसमिति संयोजक समेत हुन् । तदर्थ समितिको अध्यक्षमा रोशन कोइराला चयन भएका छन् । यस्तै उपाध्यक्षमा विकल पौडेल, सचिवमा प्रतिभा केसी र कोषाध्यक्षमा कमल थापा रहेका छन् । सदस्यमा अर्जुन आचार्य, मार्कण्ड अधिकारी र जीवन गोर्खाली रहेका छन् । समितिका पदाधिकारीहरुलाई केन्द्रीय अध्यक्ष राणाले पदस्थापन गराउँदै सपथ ग्रहण गराइ प्रमाणपत्र प्रदान गरेकी थिइन् । कार्यक्रममा बोल्दै अध्यक्ष राणाले सरकारले ल्याएको पूर्ण छात्रवृत्तिमा संशोधन आवश्यक रहेको बताइन् । उनले शिक्षक क्षमतावृद्धि, पाठ्यक्रम सुधार र नीति निर्माणमा केन्द्रबाट अघि बढाइरहेको कामको जानकारीसमेत गराएकी थिइन्। साथै, कम्पनीबाट गुठी जाने विद्यालयले फरफारक गरेर मात्र जानुपर्ने धारणा व्यक्त गरिन् । कार्यक्रम संयोजक तथा केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराईले स्वागत मन्तव्य राखेका थिए। कास्कीका पूर्व जिल्ला अध्यक्ष तथा सल्लाहकार रामप्रसाद शर्माले एन प्याब्सन कास्कीको विगतदेखि वर्तमानसम्मका अनुभव सुनाउँदै बधाई ज्ञापन गरे। लेखनाथ पत्रकार मञ्चका अध्यक्ष बिष्णुहरि पौडेल, केन्द्रीय उपाध्यक्ष तथा कोसी प्रदेश समन्वय उपसमिति संयोजक कुमार भट्टराई, गण्डकी प्रदेश समन्वय उपसमिति संयोजक तिलक चौहान, लुम्बिनी प्रदेश समन्वय उपसमिति संयोजक सुबोध डाँगी, बागमती प्रदेश समन्वय उपसमिति संयोजक सुर्यबहादुर अधिकारी, पूर्व राष्ट्रिय अध्यक्ष ऋतुराज सापकोटा, पूर्व राष्ट्रिय अध्यक्ष कर्ण बहादुर शाही, निवर्तमान राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरीले समेत शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको व्यवस्थापन केन्द्रिय उपसमिति संयोजक कमल रानाभाटले गरेका थिए। यसै क्रममा तनहुँ जिल्ला तदर्थ समितिका अध्यक्ष बिश्वेश्वर खनालले पनि शुभकामना मन्तव्य राखेका थिए। उक्त कार्यक्रममा तनहुँ जिल्ला शाखाबाट उत्साहजनक उपस्थिति रहेको थियो । समितिका अध्यक्ष कोइरालाले आफ्ना प्रतिबद्धता र आगामी योजनासँग सम्बन्धित मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन केन्द्रीय सहकोषाध्यक्ष शिवदत्त तिवारीले गरेका थिए ।
निःसन्तान उपचारका लागि मापदण्ड जारी, डोनरको उमेर २० देखि ३५ वर्ष बीचको हुनुपर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निःसन्तान उपचार ९आइभीएफ० सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै उक्त मापदण्ड स्वीकृत गरेका हुन् । यो मापदण्डले नेपालमा निःसन्तान उपचार सेवा र यसका लागि आवश्यक प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा संवेदनशील मानिएको शुक्रकिट तथा अण्डा दान(डोनर) प्रक्रिया थप व्यवस्थित हुने भएको छ । मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माले यो मापदण्डले निःसन्तान उपचार केन्द्रहरूको कानुनी आधारमा प्रभावकारी नियमन र निःसन्तान उपचार सेवामा एकरूपता ल्याउने बताए । उनका अनुसार न्यूनतम भौतिक पूर्वाधार, जनशक्ति र प्रयोगशालाको स्तर तोक्ने, सेवा शुल्कलाई पारदर्शी बनाउने तथा सेवाग्राही र दाताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले यो मापदण्ड जारी गरिएको हो । उनले भने, ‘निःसन्तानपन एक संवेदनशील स्वास्थ्य समस्यामात्र नभएर गहिरो सामाजिक र मनोवैज्ञानिक विषय पनि हो । यस मापदण्डले निःसन्तान उपचार सेवालाई थप सुरक्षित, पारदर्शी र अन्तरराष्ट्रियस्तरको बनाउन लागि एक कोशेढुङ्गाका रुपमा काम गर्ने छ ।’ डा. शर्माले मापदण्डबमोजिम सेवा प्रदायकलाई पूर्ण जिम्मेवार बनाइने छ । तोकिएको मापदण्ड पालना नगर्ने जोसुकैलाई कडा कानुनी दायरामा ल्याउने बताए। मन्त्रालयका प्रवक्ता डा। प्रकाश बूढाथोकीले प्रजनन स्वास्थ्यको क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन यस मापदण्डले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । ‘पछिल्लो समय निःसन्तानपनको समस्या बढ्दो छ । तर यसको उपचार दिने संस्थाहरूको गुणस्तर र प्रक्रियामा थुप्रै प्रश्न उठेका थिए । धेरै दम्पतीहरू ठगिनसक्ने र गुणस्तरीय सेवा नपाउँदा उनीहरुको जीवन समेत जोखिममा पर्नसक्ने खतरा थियो,’ उनले भने, ‘यो मापदण्डले सेवालाई सुरक्षित र विश्वसनीय बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’ मापदण्डमा ‘आइयुआई’ र ‘आइभीएफ’ जस्ता विशिष्ट सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयबाट अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । प्रत्येक अनुमति प्राप्त केन्द्रमा निःसन्तान रोग विशेषज्ञ, तालिम प्राप्त ‘इम्ब्रायोलोजिष्ट’ र ‘एनेस्थेसियोलोजिष्ट’ लगायतका दक्ष जनशक्ति अनिवार्य हुनुपर्नेछ । भ्रुणको विकासमा प्रत्यक्ष असर पार्ने प्रयोगशाला र शल्यक्रिया कक्षको वातावरणीय गुणस्तरका लागि प्राविधिक मापदण्ड तोकिएको छ । सेवा शुल्क मन्त्रालयले निर्धारण गरेबमोजिम मात्र लिन पाइनेछ भने प्रत्येक संस्थाले १० प्रतिशत सेवा गरिब तथा विपन्न वर्गलाई निःशुल्क उपलब्ध गराउनुपर्नेछ । सेवाको गुणस्तर, जनशक्ति र उपकरणको अवस्थाबारे मन्त्रालयको समितिले नियमित अनुगमन गर्ने र मापदण्ड पालना नगर्ने संस्थाको अनुमति खारेज गर्नसक्ने व्यवस्था गरिएको छ । शुक्रकिट वा अण्डा दान गर्ने दाताका लागि समेत स्पष्ट मापदण्ड तोकिएको छ । दाताको उमेर २० देखि ३५ वर्षको बीचमा हुनुपर्ने, कुनै पनि सरुवा रोग नभएको स्वास्थ्य परीक्षणबाट प्रमाणित हुनुपर्ने र विवाहितको हकमा दम्पतीको लिखित मञ्जुरीजस्ता विषयलाई अनिवार्य गरिएको छ । एक व्यक्तिले दान गर्न पाउने पटकको सङ्ख्या सीमित गरिएको छ र दाताको पहिचान पूर्ण रूपमा गोप्य राख्नुपर्नेछ । साथै कुनै पनि व्यक्तिलाई प्रलोभनमा पारी वा दबाबमा राखी दान गराउन पूर्ण रूपमा निषेध गरिएको छ ।
नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले उक्त जानकारी दिएका हुन् । 'नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ, यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुनेछ', प्रधानमन्त्री ओलीले भनेका छन् । उनका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ । सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेसँगै सरकारले केही दिन अघि सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनका लागि दस्तुर निर्धारण गरेको थियो । जसअनुसार सङ्घीय राजधानी प्रवेश गर्ने कार र भ्यानले ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । साथै मिनिबस र मिनिट्रकलाई राजधानी आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले आउँदा २६० रुपैयाँ र फर्कँदा २०० रुपैयाँ तिर्नुपर्नेछ । त्यसैगरी भारी उपकरणका सवारीसाधनको हकमा भने काठमाडौं आउँदा ६०० रुपैयाँ र फर्कँदा २०० रुपैयाँ दस्तुर निर्धारण गरिएको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि यात्रामा समयको बचत हुनुका साथै ढुवानी मूल्य पनि घट्ने अपेक्षा गरिएको छ । कूल २ दशमलव ६८८ किलोमिटर लम्बाइको उक्त सुरुङमार्गमा तीन दशमलव पाँच मिटर चौडाइका दुई वटा लेन छन् । सुरुङमार्गको दुवैतर्फ नाली पनि बनाइएको छ ।
कलश स्टक मार्केटको पहिलो शाखा बुटवलमा
काठमाडौं । बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट (ब्रोकर नं ७४) ले रुपन्देहीको बुटवल, मिलनचोकमा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । श्रावण महिनाको अन्तिम सातादेखि स्वस्तिपूर्वक उद्घाटन गरी शाखा सञ्चालनमा आएको हो । बुटवल शाखामार्फत रुपन्देहीसहित पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँचीलगायतका नजिकका जिल्लाका सर्वसाधारणले दोस्रो बजारमा नयाँ प्रविधिमार्फत सेयर कारोबार गर्न अझ सहज हुने शाखा प्रमुख भानुभक्त पौडेल ‘कमल’ ले बताए । कम्पनीले निकट भविष्यमा अन्य सम्भावित स्थानहरूमा पनि शाखा विस्तार गर्ने योजना बनाएको जानकारी प्रबन्ध सञ्चालक शालिकराम अधिकारीले दिए । उनका अनुसार, कम्पनीले आम सर्वसाधारणलाई सहज र पहुँचयोग्य बनाउँदै सेयर कारोबार सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । नेपाल धितोपत्र बोर्डको अनुमति तथा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको धितोपत्र दलाल सदस्यता प्राप्त यस ब्रोकरले २०८० भाद्र १० गतेदेखि औपचारिक कारोबार शुभारम्भ गरेको हो । कम्पनीले ग्राहकलाई प्रविधिमैत्री ढंगले धितोपत्र ब्रोकरेज र निक्षेप सदस्य (डिपी) सेवा उपलब्ध गराउँदै आएको अध्यक्ष प्रदिप केसीले बताए ।
जीवन बीमाको महत्वसहित आईएमई लाइफले मनाइयो आठौँ वार्षिकोत्सव
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आठौँ वार्षिकोत्सवको अवसरमा देशव्यापी प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । 'स्वस्थ जीवनका लागि जीवन बीमा' भन्ने मूल सन्देशसहित काठमाडौंसहित सातै प्रदेशमा प्रभातफेरी आयोजना गरिएको हो । जीवन बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न उमेर समूहका ग्राहक, अभिकर्ता, सञ्चालक समिति, कर्मचारी तथा सर्वसाधारणको सहभागिता रहेको कम्पनीले जनाएको छ । कम्पनीले आफ्ना शाखा कार्यालय तथा स्थानीय साझेदार संस्थासँग सहकार्य गर्दै वार्षिकोत्सवलाई स्वास्थ्य सचेतना र बीमा अभिवृद्धिको महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ । प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले स्वास्थ्य र सुरक्षा दुवै जीवनको आधार भएको उल्लेख गर्दै, प्रभातफेरीमार्फत नागरिकलाई सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्ने र जीवन बीमाको आवश्यकता तथा फाइदाबारे बुझाउने उद्देश्य राखिएको बताए ।
नेरुडे मिर्मिरे लघुवित्तका सीईओ भोजराज बस्यालको कार्यकाल थपेन
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट भोजराज बस्यालको कार्याकाल सकिएको छ । कम्पनीले उनको कार्यकाल थप नगर्ने निर्णय लिएको छ । २०८२ साउन मसान्तमा बस्यालको कार्यकाल सकिएको कम्पनीका सचिव तुलसीराम पाठकले जानकारी दिए ।
शिव श्री हाइड्रोपावरले भदौ १९ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने
काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनीले भदौ १९ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँको १ सय प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको प्रतिकित्ता १ रुपैयाा अंकित मूल्य दरका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले कम्पानीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा असोज ८ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिटिजन्स बैंकको कुमारी पाटी, ठिमी, विराटनगर, बिर्तामोड, विरगंज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौंडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
प्रधानमन्त्री ओलीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ मा प्रस्तावित भारत भ्रमणको तयारी छलफलका लागि मिस्री नेपाल आएको बताइएको छ । नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।