विकासन्युज

उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता, सबैभन्दा पहिले मङ्गोल नेशनल अर्गनाइजेशन

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ । दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका २६ दललाई आयोगको सोमबारको निर्णयअनुसार दर्ता गरिएको सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए ।  उनका अनुसार नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम उपनिर्वाचनका लागि दल दर्ता गरिएको हो । आयोगले सबैभन्दा पहिले मङ्गोल नेशनल अर्गनाइजेशन दर्ता हुन आएको जनाएको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका लागि नेपाली पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनप्रजातान्त्रिक पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवाद) दर्ता भएका छन् । साथै नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल), संयुक्त नागरिक पार्टी,  नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), नेकपा (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय मातृभूमि पार्टी, नेपाली जनता दल दर्ता भएको छ । त्यस्तै, राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल जनमुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, बहुजन शक्ति पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल उपनिर्वाचनका लागि दर्ता भएको आयोगले जनाएको छ । आयोगले उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै आगामी असोज २१ गते उम्मेदवार मनोनयन दर्ताको दिन तय गरेको छ । 

ल्याण्ड पुलिङको काम अघि नबढ्दा नयाँ सहर आयोजना खारेज हुने जोखिम

काठमाडौं । बैतडीको पाटनमा रहेको नयाँ सहर आयोजनाको ‘ल्याण्ड पुलिङ’ (जग्गा एकीकरण) अघि नबढ्दा कार्यालय खारेज हुने जोखिम बढेको छ । बसाइँसराइ रोक्ने मुख्य योजनाका रूपमा हेरिएको ल्याण्ड पुलिङको काम अगाडि नबढ्दा कार्यालय खारेज हुने जोखिममा परेको हो । पछिल्ला केही वर्षयता नयाँ सहर आयोजनाको कार्यालयले ल्याण्ड पुलिङका लागि स्थानीयसँग सहमति जुटाउने प्रयास गरिरहे पनि सहमति नहुँदा काम रोकिएको आयोजना प्रमुख रुद्र नारायण दासले जानकारी दिए । उनका अनुसार मन्त्रालयबाट ल्याण्ड पुलिङको काम अघि बढ्न नसक्ने भए सोको जानकारी यथाशीघ्र गराउन मौखिक आदेश आइसकेको छ । ‘मन्त्रालयबाट फोन आएको छ । ल्याण्ड पुलिङको काम नहुने भए, त्यो कार्यालयको औचित्य छैन, सबै कार्यक्रम रोकिने छन्, ल्याण्ड पुलिङको काम सकिँदैन भनेर पत्र पठाउनुहोस्, भनेर मौखिक आदेश आएको छ,’ प्रमुख दासले भने । नगर प्रमुखको संयोजकत्वमा रहेको नगर विकास समितिले स्थानीयसँग समन्वय गरी सहमति जुटाउनुपर्नेमा हालसम्म ठोस सहमति हुन नसकेको उनको भनाइ छ । स्थानीयको सहमति जुटाउने प्रयास भइरहेको बताउँदै उनले नगर विकास समिति र जनप्रतिनिधिले समस्या समाधानका लागि समन्वय गरिदिन आग्रह गरे । समस्या समाधान गरी काम अगाडि बढाउन स्थानीयसँग छलफलको तयारी भइरहेकाले शीघ्र विकल्प आउने पाटन-६ का वडाध्यक्ष राजेन्द्र सिंह विष्टले विश्वास व्यक्त गरे । ल्याण्ड पुलिङका लागि वडा नं ६ को नङाडीबाटाका नागरिकसँग छलफलको तयारी भइरहेको भन्दै उनले बिहीबार औपचारिक रूपमा छलफल गरिने जानकारी दिए ।  ‘यहाँ ल्याण्ड पुलिङको काम गर्ने विषयमा विसं २०८० चैत १ गते निर्णय गरिसकेको छ । त्यसअघि पाटन-६ को विष्ठेउडासहितका क्षेत्रमा पुलिङको काम गर्ने तयारी भएको थियो । त्यहाँका स्थानीयसँग सहमति जुट्न सकेको थिएन । त्यसपछि नङाडीबाटाका स्थानीयले जग्गा दिन इच्छा देखाएका थिए । उनीहरूसँग थप छलफल गर्ने तयारी भइरहेको हो,’ उनले भने ।  नगर विकास ऐन, २०४५ ले व्यवस्थित गरेको जग्गा एकीकरण आयोजनाअनुसार जग्गा एकीकरण गर्दा निश्चित क्षेत्रभित्रका सबै जग्गालाई सर्भे गरेर फराकिलो सडक, ढल, खुला क्षेत्र, पार्क, सामुदायिक स्थललगायत सुविधा विकास गर्नुपर्ने उल्लेख छ । ‘सोही अनुसार सडक र खुला क्षेत्रलाई केही प्रतिशत जग्गा छुट्याएर व्यवस्थित बनाइएको घडेरी सम्बन्धित जग्गाधनीलाई फिर्ता गर्नुपर्ने हुन्छ । आयोजनाको खर्च जुटाउन प्रत्येक कित्ता जग्गाबाट न्यून हिस्सा काटेर बिक्री गरिन्छ । ल्याण्ड पुलिङ क्षेत्रका घडेरी र बाटाघाटा मिलेका हुन्छन् । भूमि सङ्केन्द्रपछि बन्ने बस्तीमा सडक, विद्युत्, खानेपानी, सञ्चार, सुरक्षासँगै खेलमैदान, स्वास्थ्य संस्था, बैंक, सपिङ कम्प्लेक्सलगायत सुविधा विस्तार हुन्छ,’ वडाध्यक्ष विष्टले भने । नेपालमा योजनाबद्ध शहरीकरणका लागि जग्गा एकीकरण आयोजना (ल्याण्ड पुलिङ प्रोजेक्ट) सञ्चालन हुन थालेको तीन दशक जति भइसकेको छ ।

उद्योगमार्फत आत्मनिर्भर बन्दै महिला

गोपालप्रसाद बराल काठमाडौं । बर्दिबास नगरपालिका-१२ का महिलाले सामूहिक रूपमा ‘पञ्च धुरा होममेड अचार उद्योग’ सञ्चालन गरी आत्मनिर्भर बन्दै गएका छन् । आफूले जानी राखेको भान्साको सीपलाई उद्योगका रूपमा विस्तार गरी यहाँका ११ जना महिला आत्मनिर्भर बनेका हुन् । राजनीतिमा सक्रिय बर्दिबास-१२ चल्कीबिजलपुराकी प्रतिमा कोइरालाले दुई वर्षअघि दसैँताका केही गर्नुपर्छ भन्ने सोचसहित स्थानीय सामग्रीको सदुपयोग गरी विभिन्न किसिमका अचारका परिकार बनाएर बजारीकरण गर्ने योजना बनाएको बताइन् ।  ‘त्यसपछि घरमा विभिन्न थरीका अचार बनाउन थालेँ । विस्तारै बजारीकरणमा पहल थालेपछि अचारले राम्रो बजार पायो र यसलाई निरन्तरता दिन थालेकी हुँ,’ उनले भनिन ।  नेपाली कांगेस महासमिति सदस्यसमेत रहेकी कोइरालाले तिहारमा अचारको माग बढेसँगै पर्व लक्षित परिकार बनाउने र बेच्ने योजना बनाएको उल्लेख गरिन् । ‘सेल, अनर्सा, खजुरी, पत्रे र नमकिनका विभिन्न परिकार बनाउन थालेँ । बजारमा माग पनि प्रशस्त हुन थाल्यो । त्यसपछि महिला दिदी बहिनीसँग सेल, अनर्सा, खजुरी, पत्रे र नमकिनसहित आचार उद्योग सञ्चालनका लागि ‘पञ्चधुरा होममेड अचार’ उद्योग दर्ता गरेका हौँ,’ उनले भनिन् ।  पूर्व-पश्चिम लोकमार्गसँगै बर्दिबास–१ मा सञ्चालित ‘पञ्च धुरा होममेड अचार’ उद्योगको पृष्ठभूमिबारे जानकारी दिँदै उनले भनिनु, ‘पहिले एक्लै थिएँ, अहिले आफूजस्तै केही गरौँ भन्ने सोचका साथीहरूको समूहमा सहभागी भएका छौँ ।’ आफूले थालेको उद्योगबाट उत्पादित वस्तुको माग धान्न नसकेपछि कोइरालाले छर छिमेकका दिदीबहिनी जुटाएर समूह बनाइन् । यो समूह बन्न झण्डै एक वर्ष लागेको उनको अनुभव छ । विसं २०८१ भदौमा समूह बनेपछि पहिलेको नाममा पछाडि ‘उद्योग’ थपिएको उनले जानकारी दिइन् ।  ‘११ जना महिलाको समिति बन्यो । यत्रो जनशक्ति थप्दा पनि समूहका महिलालाई काम भ्याइनभ्याइ छ,’ उनले भनिन् ।  कोइरालाका अनुसार अहिले आँप, अमला, खोर्सानी, लसुन, अदुवा, सस्र्यू, लप्सीलगायत विभिन्न किसिमका अचार उत्पदान हुँदै आएको छ । महिला उद्यमीलाई प्रोत्साहित गर्ने आर एण्ड डी संस्थाकी अगुवा सुनिता निमाफुकीले थप हौसला दिएको उनको भनाइ छ । ‘सबैतिरबाट हौसला मिल्यो, मन मिल्दा मेहनती साथी मिले, हामी अघि बढ्यौं,’ कोइरालाले भनिन्, ‘मेरो परिकल्पना अब उद्योग बन्यो, ‘म’ थिएँ, अब हामी भइयो, यसलाई अब हामी नमुना बनाएर देखाउँछौँ ।’ समूहमा आबद्ध भएपछि महिला आत्मनिर्भर बन्दै गएको उनले बताइन् । गृहिणीबाट सामूहिक प्रतिबद्धतामा स्थापित उद्योगलाई अष्ट्रेलियन दातृसंस्था आइसिमोडले अचार बनाउन, मसला पिँध्न, पिठो तयार गर्न र चिस्यान राख्न फ्रिजसहित आवश्यक उपकरण (यान्त्रिक साधन) उपलब्ध गराएको छ । विसं २०८१ भदौमा समूह बने पनि घरबाट सञ्चालन हुँदै आएको उद्योग गत साउनदेखि पूर्व-पश्चिम लोक मार्गसँगै जोडिएको घरभाडा लिएर सञ्चालित छ । अहिले उद्योगको प्रदर्शनी तथा बिक्री कक्ष उत्पादित अचारका बट्टाले सजिएका देखिन्छन् । उद्योगमा सेल र बदाम (चना) को घुगनी (तरकारी) खान टाढाटाढाबाट ग्राहक आउने गरेका समूहकी सदस्य शारदा कोइरालाले जानकारी दिइन् । बिहान बेलुका अचार बनाउने र दिउँसो सेल र चनाको घुगनी बनाएर बेच्न गरेको उनले बताइन् ।  बर्दिबासस्थित मालपोत, यातायात, आन्तरिक राजस्व तथा नापी कार्यालय, नेपाल टेलिकम र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आउने सेवा ग्राही र कर्मचारी नियमित ग्राहक बनेका उनको भनाइ छ । ‘यहाँको सेल र चनाको तरकारीको स्वाद जिब्रोमै झुण्डिएको छ,’ मालपोत कार्यालय परिसरमा लेखापढी काम गर्ने रामबाबु न्यौपानेले भने, ‘दिदी बहिनीले उदाहरणीय कामसँगै आयआर्जन पनि गर्दै जानुभएको छ ।’ पञ्च धुरा ‘होममेड’ अचार उद्योगमा आबद्ध ११ जना महिलाले एक वर्षअघि प्रतिव्यक्ति रु १० हजारका दरले लगानी गरी कारोबार सुरु गरिएको समूहकी सचिव उषा ढकालले बताइन् । उनका अनुसार यो समूह अहिले महिलाका लागि सिक्ने र सिकेको सीप काममा लगाउने केन्द्र बनेको छ ।  ‘समूहमा भएपछि एक अर्काको सीप र आपसी सल्लाहबाट धेरै कुरा जानिने रहेछ,’ समूहमा आबद्ध लक्ष्मी कोइरालाले भनिन्, ‘आगामी दिनमा थप परिकार विस्तार गरी महिलाको सङ्ख्य पनि थप्दै जाने योजना छ ।’ उद्योगमा महिलाको सामूहिक आबद्धताले आफ्नो आवश्यकता पूरा गर्न सहज हुनुका साथै आत्मनिर्भर बन्दै गइएको समूहका महिला बताउँछन् । प्रतिमाका अनुसार समूहमा आबद्ध महिलाको केही गर्ने अठोट र त्यसअनुसारको जाँगर देखेपछि आइसीमोडले सहयोग गरेको हो । ‘यहाँका महिलामा केही गरौँ भन्ने सङ्कल्प छ, हामी उहाँहरूको यो प्रयत्नमा सहयोगी बन्न पाउँदा खुसी छौँ,’ आइसीमोड मधेस कार्यालयका कृषि उपनिर्देशक इजाबेला कोजेलले भनिन्, ‘यो उद्योगले राम्रो सफलता पाउने हाम्रो विश्वास छ ।’ समूहका महिलाको सङ्कल्प र लगन उदाहरणीय रहेको बर्दिबास नगरपालिकाका उपप्रमुख तारादेवी महतोले बताइन् ।  ‘दिदी बहिनीले उदाहरणीय काम गरी हौसला देखाउनुभएको छ, उद्योगलाई अझ सुदृढ बनाउन र अन्य महिलालाई पनि विभिन्न आर्जनमूलक सीप सिकाएर काममा जोड्नका लागि म समन्वय गर्नेछु,’ उनले भनिन् ।  ‘उहाँहरूमा सुदृढ सङ्कल्प र कामप्रतिको निष्ठा देखिन्छ,’ उपपमुख महतोले भनिन्, ‘यो सिको अरु महिलाले पनि अनुसरण गरून्, नगरपालिकामा महिलाले प्रतिबद्धता सहितको प्रस्ताव ल्याएमा हामी सहयोग र समन्वय गर्नेछौँ ।’ ‘यो काममार्फत राजनीति पेसा नभएर सेवाको क्षेत्र हो भन्ने सन्देश दिँदैछौँ,’ बर्दिबास नगरपालिकाको नगर कार्यसमिति सदस्य लक्ष्मी कोइरालाले भनिन्, ‘आय आर्जनमूलक काम व्यावसायिक रूपमा गर्दा आर्थिकस्तर सुधार हुनुका साथै आत्मनिर्भर बन्न सकिन्छ ।’ आफूहरूप्रति समुदाय र विभिन्न निकायमा बनेको विश्वास समूहको ताकत भएको आबद्ध महिलाको भनाइ छ । उद्योगको सफल सञ्चालन गरेर महिला यतिसम्म गर्न सक्छन् भन्ने देखाउन पनि आफ्नो सामथ्र्य समूहमा लगानी गर्ने महिलाले प्रतिबद्धता व्यक्त गरेका छन् । रासस

तनहुँ जलविद्युतले फेदीखोलामा पुल निर्माण गर्ने

काठमाडौं । तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका-५ फेदी खोलामा पुल निर्माण हुने भएको छ । जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने फेदीखोलामा स्टिल ट्रस पुल निर्माण गर्न लागिएको हो । पुल निर्माणका लागि आयोजनाले गत साउन ३० गते बोलपत्र आह्वान गरी बोलपत्र दर्ता गर्ने अन्तिम मिति आगामी असोज १२ गतेसम्म निर्धारण गरिएको छ । आयोजनाको डुबान क्षेत्रका सर्वसाधारणको सहजताका लागि ५५ मिटर लम्बाइको पुल निर्माण गर्न लागिएको आयोजना प्रमुख श्यामजी भण्डारीले बताए । पुल नहुँदा खोला वार पार गर्न सर्वसाधारणलाई असहजता हुँदै आएकाले पहल थालिएको उनको भनाइ छ । भिमाद नगरपालिकाको वान्टाङ खोलामा पनि आयोजनाले पक्की पुल निर्माण गर्न लागेको छ । एसियाली विकास बैंकको सहयोगमा वान्टाङ खोलामा पुल निर्माण गर्न लागिएको भण्डारीले जानकारी दिए ।  भिमाद नगरपालिका हुँदै ऋषिङ गाउँपालिकाका विभिन्न वडा जाने भिमाद-ऋषिङ खण्डअन्तर्गत वान्टाङ खोलामा पुल नहुँदा वर्षायाममा हजारौं सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । खोला बढेको बेला वारपार गर्न समस्या हुने गरेको स्थानीय बताउँछन् । आयोजनाका कारण डुबानमा पर्ने सेती नदीमा रहेका ४ वटा झोलुङ्गे पुल पुनःस्थापना गर्न लठ्ठा खरिदका लागि बोलपत्र आह्वान गरी सम्झौता हुन लागेको भण्डारीले बताए ।

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको स्रोतले बताएको छ । ओझाको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता इन्दिरा धमलाले १७ चैतमा रिट दायर गरेकी थिइन् । त्यसपछि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा समिति गठन गरेको थियो ।  गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएलगत्तै सोमबार पदमुक्त गर्ने निर्णय गरेको हो । बीमा प्राधिकरणको अध्यक्षका लागि उनको योग्यता अपर्याप्त रहेको, कानुन अनुसारको योग्यताका लागि सम्बन्धित क्षेत्रमा थप काम गर्नुपर्ने र कार्यक्षमता लगायतका विषयमा प्रश्न उठाउँदै समितिले प्रतिवेदन बुझाएको स्रोतको भनाइ छ । ओझालाई अर्थमन्त्री विष्णु पौडेलको सिफारिसमा सरकारले गत फागुन १२ गते प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो ।

इन्फिनिक्स होरा ईस्पोर्ट्सको आधिकारिक ‘ईस्पोर्ट्स स्मार्टफोन पार्टनर’

काठमाडौं । स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले नेपालकै चर्चित ईस्पोर्ट्स टोली होरा ईस्पोर्ट्ससँग साझेदारी गरेको छ । यस सम्झौतापछि इन्फिनिक्स आधिकारिक रूपमा  होरा ईस्पोर्ट्स​​​​​​​को अफिसियल ईस्पोर्ट्स स्मार्टफोन पार्टनर बनेको छ । सञ्जन गौतमको नेतृत्वमा रहेको टोली अबदेखि इन्फिनिक्स होरा ईस्पोर्ट्सका नाममा परिचित हुनेछ ।  टोलीको जर्सी, कन्टेन्ट र लाइभ टुर्नामेन्टहरूमा इन्फिनिक्सको लोगो हुनेछ भने गौतम नेपालमा इन्फिनिक्सको गेमिङ फेसका रूपमा रहनेछन् । सञ्जन गौतमले यो सम्झौता नेपालमा ईस्पोर्ट्स संस्कृति बनाउन र खेलाडीलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्ने बाटो देखाउने प्रयास भएको बताए ।  इन्फिनिक्सका पियुष गिरीले सधैं नयाँ पुस्ताको साथमा रहनेमा विश्वास व्यक्त गरे ।  यो सहकार्यले इन्फिनिक्सलाई गेमरहरूबीच अझै भरपर्दो ब्रान्ड बनाउने उनको विश्वास छ ।

‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग

काठमाडौं । सोसाइटी इन्टरनेशनलले अटिजम भएका बालबालिकाका अभिभावकहरूको संस्था (एफपीसीए)लाई आर्थिक सहयोग गरेको छ ।  सोमबार एक कार्यक्रमका बीच सोसाइटी इन्टरनेशनलले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत एफपीसीएलाई आर्थिक सहयोग गरेको हो ।  वार्षिकरूपमा सहयोग गर्ने प्रतिबद्धताअन्तर्गत सोसाइटी इन्टरनेशनलका जिएसए अफेयर हेड सन्तोषविक्रम राणाले एफपीसीएकी अध्यक्ष एलिना बज्राचार्य तुलाधरलाई पहिलो चेक हस्तान्तरण गरे ।  एक वर्षसम्म हरेक महिना आर्थिक सहयोग गर्दै जाने कम्पनीले जनाएको छ ।  उनले अटिजम पीडित बालबालिका र व्यक्तिहरूलाई सामाजिक र आर्थिक रुपमा सहयोगको आवश्यकता रहेको बताए ।  चेक बुझ्दै एफपीसीएकी अध्यक्ष तुलाधरले अटिजम पीडित व्यक्ति र बालबालिका पनि यही देशका नागरिक भएकाले सरकारले पनि सुरक्षाको दायित्व निर्वाह गर्नुपर्ने बताइन्। विगत १० वर्षदेखि अटिजम भएका व्यक्ति र बालबालिकाका लागि एफपीसीएले डे-केयर र सिकाइ केन्द्र सञ्चालन गर्दै आएको छ ।  संस्थाले बालबालिकालाई व्यक्तिगत शिक्षा योजनाअनुसारको पठनपाठन र विशिष्ट थेरापीको सेवा पनि दिने गर्दछ । सोसाइटी इन्टरनेशनल ट्राभल्स नेपालमा एक प्रमुख एयरलाइन्स जीएसए  प्रतिनिधित्व गर्ने कम्पनी हो । यससँगै थाई एयरवेजको जेनरल सेल्स एजेण्ट (जीएसए) को रूपमा कार्यरत छ । 

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा छुट

काठमाडौं । एनआईसी एशिया बैंक र स्काइ ब्रोडब्याण्ड प्रालिबीच सम्झौता भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकले स्काइ ब्रोडब्याण्डको इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा १ हजार ५०० छुट प्राप्त गर्न सक्नेछन् ।  बैंकका ग्राहकले स्काइ ब्रोडब्याण्डको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेटको नयाँ सेवा लिँदा वा नवीकरण गर्दा वार्षिक शुल्कमा १ हजार ५०० रुपैयाँ छुट प्राप्त गर्ने जनाइएको छ । यस सुविधाको उपभोग गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।  स्काइ ब्रोडब्याण्डसँगको यस सहकार्यले ग्राहकलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।