विकासन्युज

जोशी हाइड्रोको हकप्रद सेयर खरिद गर्ने समय लम्बियो, अब कहिलेसम्म आवेदन दिन पाइन्छ ?

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । साउन १५ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा अब लगानीकर्ताकहरुले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँको ६५ प्रतिशत अर्थात् हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.६५ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका २४ लाख १४ हजार १०० कित्ता सेयर बिक्री गरेको हो । हकप्रद सेयर निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो । त्यसैले असार ५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको कार्यालय र लक्ष्मी सनराइज बैंकको इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।  केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

क्रेस्ट माइक्रो लाइफको सेयर लकइन असोज ५ गते सकिने

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर लकइन अवधि सकिने भएको छ । कम्पनीको सामूहिक लगानी कोषका लागि छुट्याएको सेयरको लकइन सकिने भएको हो ।  कम्पनीले ७५ करोड रुपैयाँमध्ये ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोष (म्युचुअल फण्ड)लाई बिक्री गरेको थियो ।  सामूहिक लगानी कोषलाई छुट्याएको सेयरको लकइन असोज ५ गते सकिने कम्पनीले जनाएको छ । त्यसपश्चात् उक्त सेयर साधारण सेयर सरह कारोबारमा आउनेछ । 

राष्ट्रिय सहकारी बैंकले घटायो नोक्सानी, जगेडा कोष साढे ४ अर्ब रुपैयाँ

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ४ करोड ८१ लाख ६१ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा नोक्सानी घटाएको हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ६६ करोड ६७ लाख ९९ हजार रुपैयाँ नोक्सानी बेहोरेको थियो ।  बैंकको खराब कर्जा बढेसँगै नाफामा प्रभाव परेको देखिन्छ । अघिल्लो वर्ष २२.११ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ३९.३७ प्रतिशत पुगेको छ ।  गत वर्ष बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५७ करोड १९ लाख २ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब १५ करोड ९१ लाख ११ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३ करोड ७० लाख ३३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १ अर्ब ६० करोड ८९ लाख ३६ हजार रुपैयाँ गरेको छ । बैंकको सञ्चालन नाफा ९ करोड २ लाख रुपैयाँ ऋणात्मक छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा ४ अर्ब ३३ करोड ५५ लाख ४७ हजार रुपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३९ करोड ६५ लाख २४ हजार रुपैयाँ ऋणात्मक थियो ।  २ अर्ब ८९ करोड १५ लाख ७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ५४ करोड१४ लाख ६३ हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकले ४७ अर्ब ५ करोड ६२ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ४ करोड ८१ लाख ७६ हजार रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्ष बैंकले ६१ अर्ब ७ करोड ७८ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब २३ करोड ८३ लाख ८८ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  बैंकको नाफासँगै प्रतिसेयर आम्दानी १.६७ रुपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ५९.७६ रुपैयाँ ऋणात्मक थियो । 

१२.६३ प्रतिशत लाभांश पारित गर्न हाथवे इन्भेष्टमेन्टले डाक्यो १७ औँ वार्षिक साधारण सभा

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न हाथवे इन्भेष्टमेन्ट नेपालले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको भदौ ३ गते बसेको बैठकले भदौ २५ गते बिहान १० बजे आम्रपाली ब्याङ्केट काठमाडौंमा १७ औँ वार्षिक साधारण सभा बोलाएको हो ।  कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँको १२ प्रतिशतका दरले १६ करोड ९८ लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशतका दरले ८९ लाख ४१ हजार रुपैयाँ नगद गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।  कम्पनीको सभाले अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा शंसोधन गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को बाह्य लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ती पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना संचालकको निर्वाचन गर्ने र स्वतन्त्र संचालकको रिक्त पदमा प्रतिनिधित्व गर्ने स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ १३ गते एक दिनका लागि बुक क्लोज गर्न निर्णय गरेको छ । त्यसैले भदौ १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको सभामा सहभागीता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् । 

मालसामान बोकेका कन्टेनर र ट्रक बाटोमै अलपत्र, ७ वटा उत्तरी नाका खोल्न माग

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी सङ्घले बाढीपहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका रसुवागढी र तातोपानी वर्षायाममा बर्सेनि बन्द हुने गरेकोले मित्रराष्ट्र चीनसँग स्थल मार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्था गर्न माग गरेको छ । गत असार २४ गतेको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि रसुवागढी नाकाबाट मानिस र व्यापारिक सामानको आवागमन ठप्प भएको छ । बाढी पहिरोकै कारण सिन्धुपाल्चोकको तातोपानी नाका दुई सातादेखि अवरुद्ध छ । प्राकृतिक प्रकोपका कारण अकस्मात् नाका बन्द हुँदा नेपालका लागि आयात भएका मालसामान बोकेका सयौं कन्टेनर र ट्रकहरूबीच बाटोमै अलपत्र परेका छन् । चीनसँगको आयात-निर्यात सहज बनाउन अन्य नाकाहरू खोल्नु जरुरी रहेकाले कूटनीतिक पहलमार्फत ती नाकाहरू अविलम्ब सञ्चालनमा ल्याउन र अन्य वैकल्पिक नाकामा पूर्वाधारको व्यवस्था गर्न सङ्घले सरकारलाई आग्रह गरेको हो । व्यवस्थापिका संसदको विकास समितिले विसं २०७२ मा उत्तरी नाकाहरूको अवस्था अध्ययन गरी कोरला र ओलाङचुङगोला नाका सञ्चालनमा ल्याउन सकिने सुझाव दिएको थियो । नेपाल र चीन सरकारका उच्च अधिकारीहरू एक दशकअघि नै द्विपक्षीय छलफलका क्रममा ७ वटा उत्तरी नाका खोल्न सहमत भएका थिए । ती नाकाहरूमा तातोपानी, मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, दोलखाको लामाबगर, ताप्लेजुङको ओलाङचुङगोला, मुगुको आम्जापास, हुम्लाको यारी हिल्सा र गोरखाको लार्के थिए । कोरला नाका १२ महिना नै सञ्चालन गर्न सकिने अवस्थामा छ । कोरला नाकामा चीनतर्फ पूर्वाधार पनि तयार छ । नेपालतर्फ कोरालासम्म सडक पुगिसकेको छ । ताप्लेजुङको ओलाङचुङगोला नाकाबाट दुई मुलुकबीचको व्यापार सञ्चालन गर्न सकिने अध्ययनले देखाएको छ । ती नाका छिटो भन्दा छिटो व्यापारिक प्रयोजनका लागि खुला गर्न र व्यापारिक हिसाबले उपयुक्त अन्य नाका  सञ्चालनमा ल्याउने वातावरण तयार गर्न सङ्घले सरकारको ध्यानाकर्षण गराएको छ । आयात व्यापारमा चीन नेपालको दोस्रो ठूलो साझेदार हो । पछिल्लो समय पूर्वाधार तयार भएसँगै चीनसँगको व्यापार उत्तरी नाकातर्फ सर्ने क्रम बढेको तथ्याङ्कले देखाउँछ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा तातोपानीबाट ५० अर्ब रुपैयाँभन्दा बढीको र रसुवागढी नाकाबाट ८५ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको छ । चीनबाट चाडपर्व लक्षित सामान आयात हुने दुवै नाका बन्द हुँदा व्यापारिक गतिविधि अपेक्षाकृत बढ्न नसक्ने, आम उपभोक्ता सुपथ मूल्यमा वस्तु प्राप्त गर्नबाट वञ्चित हुने र सरकारले पाउनुपर्ने राजस्व गुम्ने अवस्था रहेकोतर्फ ध्यानाकर्षण गराउँदै सङ्घले उत्तरका थप नाकाहरू व्यापारिक प्रयोजनको लागि खुला गर्नेतर्फ अविलम्ब पहल गर्न माग गरेको छ । 

दक्षिण कोरियाले नेपाललाई सवा १ अर्ब अनुदान दिने

काठमाडौं । दक्षिण कोरिया सरकारले नेपाल सरकारलाई गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका निम्ति १ अर्ब २५ करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानअन्तर्गतको उक्त शिक्षालयलाई प्रदान गरिने अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर हुने कार्यक्रम रहेको अर्थ मन्त्रालय, वैदेशिक सहायता समन्वय महाशाखाले जनाएको छ ।

मनसुन क्रमशः कमजोर हुँदै, कोशी र गण्डकीमा भारी वर्षा

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम जारी छ ।  आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र तराईका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।  त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र अन्य भागमा आंशिक बदली रहने छ । मधेस, कोशी, वाग्मती र गण्डकी प्रदेशका तराई र पहाडी भेगका केही स्थानमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ । 

नेपाल रुबेलामुक्त देश

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई रुबेलामुक्त भएको देशका रूपमा घोषणा गरेको छ । योसँगै नेपाल रुबेला उन्मुलन गर्ने विशिष्ट देशहरूको सूचीमा सामेल भएको छ ।  भुटान, उत्तर कोरिया, माल्दिभ्स र तिमोर लेस्टे योभन्दा अगाडि नै रुबेला मुक्त भइसकेका छन् । नेपाल दिक्षणपूर्वी एशियामा छैटौं देशका रूपमा रुबेला मुक्त घोषणा भएको डब्ल्यूएचओले जनाएको छ ।  नेपालले सन २०१८ मै रुबेला र जन्मजात रुबेलाका लक्षणलाई नियन्त्रणमा ल्याइसकेको थियो । सन २०१२ मा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी खोप अभियान सुरु गरेको थियो । सन् २०१६ मा नियमित तालिकामा रुबेला खोपको दोस्रो मात्रा थप गरिएको थियो ।  त्यसपछि सरकारले नियमित रूपमा खोप कार्यक्रम अगाडि बढाएको थियो । जसको परिणाम सन् २०२४ मा नेपालले कम्तीमा एकमात्र रुबेला खोपको ९५ प्रतिशत भन्दा बढीले खोप पाएका थिए  ।  नेपालले सन २००४ देखि नै रुबेला रोकथामका लागि काम गरेको थियो । नेपालले कार्यक्रम सुरु गरेको २१ वर्षपछि सफलता हात पारेको छ । के हो रुबेला ? रुबेला  संक्रामक रोग हो । यसलाई जर्मन मिजल्स पनि भनिन्छ । चाँडै महामारीको रूपमा फैलने यो रोग पहिले पहिले नेपालमा डरलाग्दो रोगका रूपमा देखिने गर्थ्यो ।  विशेषगरी यो रोग पाँच वर्षमुनिका बालबालिकामा देखा पर्छ । भाइरस शरीरमा गएको छोटो समयमा छालामा रातो बिबिरा देखिने ज्वरो आउने हुन्छ । एक पटक दादुरा संक्रमण भएको व्यक्तिमा अर्को पटक यो रोग लाग्दैन । धेरै वर्ष पहिले महामारीको रुपमा देखिने यो रोग पछिल्ला केही समयमा निकै कम हुँदै गएको छ ।  यो रोग बिरामीले खोक्दा हाच्छयुँ गर्दा श्वासप्रश्वासबाट सर्ने गर्छ । यो रोग लाग्दा आँखा रातो हुने, शरीरमा बिमीरा आउने,हल्का ज्वरो आउने, आँसु बग्ने हुन्छ । यो रोग गर्भवती महिलाका लागि निकै गम्भीर मानिन्छ । किनकि यसले गर्भपतन, मृत शिशु जन्म वा जीवनभर असर गर्ने गम्भीर जन्मजात विकृति ल्याउन सक्छ।