इम्बार्क कलेजलाई दिल्लीमा उदाउँदो बी–स्कूल को उपाधी
काठमाडौं । इम्बार्क कलेजले अन्तर्राष्ट्रिय स्तरमा अर्को ठूलो सफलता हात पारेको छ । अगस्ट १९–२०, २०२५ मा भारतको नयाँ दिल्लीस्थित इरोस होटलमा आयोजित 'इलेट्स वर्ल्ड एजुकेशन समिट २०२५' मा इम्बार्क कलेजलाई 'इमर्जिङ बी–स्कूल' उपाधिबाट सम्मान गरिएको हो । उक्त सम्मानले इम्बार्क कलेजले व्यवसायिक शिक्षा क्षेत्रमा पुर्याएको योगदान, नवीन शैक्षिक दृष्टिकोण, र छोटो अवधिमा प्राप्त उल्लेखनीय प्रगतिको उच्च मूल्यांकन गरेको छ। अन्तर्राष्ट्रिय मञ्चमा इम्बार्क कलेजको पहिचान 'यस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित हुन पाउँदा हामी अत्यन्त गौरवान्वित छौं,' इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ आशिष ठाकुरले बताए । 'यो सम्मानले व्यवसायिक शिक्षाको क्षेत्रमा हाम्रो दृष्टिकोण, प्रतिबद्धता र नवाचारको प्रमाण प्रस्तुत गर्दछ । हामी विद्यार्थीहरुलाई विश्वस्तरको शिक्षा प्रदान गर्दै जिम्मेवार व्यवसायिक नेतृत्व विकास गर्न प्रतिबद्ध छौं,' ठाकुरले थपे । इम्बार्क कलेजः नवीन शिक्षा र व्यावसायिक अभ्यासको संगम, इम्बार्क कलेजले कठोर शैक्षिक मापदण्ड र व्यावहारिक औद्योगिक अनुभवलाई समेट्दै व्यवसायिक शिक्षामा नयाँ उचाइ हासिल गरेको छ । कलेजको पाठ्यक्रमले नवीनतम सोच, नैतिक नेतृत्व, र विश्वव्यापी व्यवसायिक क्षमताको विकासमा विशेष ध्यान केन्द्रित गरेको छ । यस सम्मानले कलेजलाई थप प्रेरित गर्दै शैक्षिक कार्यक्रमहरूलाई विस्तार गर्न, अग्रणी उद्योगहरू सँग सहकार्य बढाउन र विद्यार्थीहरूलाई अझ सशक्त बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। इलेट्स वर्ल्ड एजुकेशन समिटः शैक्षिक उत्कृष्टताको अन्तर्राष्ट्रिय मञ्च, वर्ल्ड एजुकेशन समित एक वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन हो, जसले शिक्षा क्षेत्रका नीति निर्माता, शैक्षिक नेता तथा उद्योग विशेषज्ञहरुलाई एउटै मञ्चमा ल्याएर शिक्षा सम्बन्धी समसामयिक विषयहरूमा छलफल गर्छ । यस सम्मेलनले शैक्षिक उत्कृष्टतामा योगदान पुर्याउने संस्थाहरूलाई विभिन्न श्रेणीमा सम्मानित गर्ने गर्दछ ।
म्याग्दीमा २३ हेक्टरमा सिँचाइ सुविधा विस्तार
म्याग्दी । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनामार्फत आर्थिक वर्ष २०८१/०८२ मा म्याग्दी, बागलुङ, मुस्ताङ र पर्वतमा थप २३ हेक्टरमा सिँचाइ सुविधा विस्तार भएको छ । सिँचाइ पूर्वाधार निर्माण तथा मर्मतसम्भार कार्यक्रममार्फत ५९ वटा साना सिँचाइ योजना भएका परियोजना कार्यान्वयन एकाइले जनाएको छ । परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले पानी सङ्कलन गर्ने पोखरी, नहर निर्माण र पाइपलाइन जडानका लागि कूल लागतको ८५ प्रतिशतका दरले रु ९३ लाख ८१ हजार अनुदान वितरण गरिएको जानकारी दिए । बेनी, बागलुङ नगरपालिका, काठेखोला, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण र जलजला गाउँपालिकामा सुन्तला, थासाङको ३, ४ र ५ बाहेक मुस्ताङको २२ वटा वडामा स्याउ, म्याग्दीको छ वटै पालिकामा बङ्गुर, मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा च्याङ्ग्रा ‘जोन’ लागू भएको छ । यसैगरी म्याग्दीको अन्नपूर्णको सबै वडा, रघुगङ्गाको ५, ६, ७, ८ र बेनी नगरपालिकाको १० नम्बर वडा मुस्ताङको सबै क्षेत्रमा आलु जोन लागू भएको छ । सुन्तला, स्याउ, आलु, च्याङ्ग्रा र बङ्गुरको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम लागू भएका स्थानका किसानलाई चिस्यानगृह, फलफूल प्रशोधन, कृषि उपकरण, साना सिँचाइ, नर्सरी स्थापना, गोठ सुधारका लागि गत आर्थिक वर्षमा रु दुई करोड ९२ लाख १६ हजार अनुदान वितरण गरिएको थियो ।
रिभर फल्स पावरले भदौ २३ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने
काठमाडौं । रिभर फल्स पावरले भदौ २३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ७० करोड रुपैयाँको १ प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ रुपैयाँ अंकित मूल्य दरका ७० कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
एक्सपाइरी डेट भएका २ सयका रिचार्जमा एनटीसीले थप्यो समय
काठमाडौं । नेपाल टेलिकम (एनटीसी)ले रिचार्ज कार्डको समयावधि (एक्सपाइरी डेट) बढाएको छ । कम्पनीले नमस्ते रिचार्ज कार्डहरूमा उल्लेख भएको समयावधि समाप्त भएता पनि सिस्टमबाट थप गरिएको जनाएको छ । कम्पनीका अनुसार २ सय रुपैयाँ मूल्य भएका नमस्ते रिचार्ज कार्डहरूमा उल्लेख भएको समयावधि समाप्त भइसकेको छ । तर, उक्त रिचार्ज कार्डहरूको समयावधि कम्पनीको सिस्टमबाटै थप गरिएको कम्पनीले जनाएको हो । थप गरिएको समयसम्ममा उक्त रिचार्ज कार्डहरू प्रयोगमा ल्याई यस कम्पनीको सेवाहरू रिचार्ज गर्न सकिने कम्पनीले बताएको छ । कम्पनीका अनुसार १११७०१००८२०४७००१ देखि १११७०१००८२०६०००० सम्म, १११६०८०३२४१२०२०१ देखि १११६०८०३२४२००००० सम्म, १११६०६००५०२००००१ देखि १११६०६००५०२२००००सम्म, १११६०६००५०२४१२०१ देखि १११६०६००५०२५०००० सम्म, १११६०६००५०२५०६०१ देखि १११६०६००५०२५६००० सम्म, १११६०६००५०२५७६०१ देखि १११६०६००५०२६०००० सम्म, १११६०६००५०३२६८०१ देखि १११६०६००५०३४०००० सम्म सिरियल नम्बर भएका रिचार्ज कार्डको समयावधि थप गरिएको हो । यस्तै, १११७०१००९१८०१००१ देखि १११७०१००९१८२०००० सम्म, १११७०१००९१८४०००१ देखि १११७०१००९२३००००० सम्म, ११२१०५००१०२६८६०१ देखि ११२१०५००१०२८०००० सम्म, ११२१०५००१०२४७४०१ देखि ११२१०५००१०२६८४०० सम्म सिरियल नम्बर भएका रिचार्ज कार्डको अवधि थप गरिएको कम्पनीले जनाएको छ ।
‘गुन्द्रुकको सुप र तोमयाम सुप सँगसँगै’
काठमाडौं । नेपाली गुन्द्रुकको सुप र थाई सुप तोमयाम एउटै मेनुमार्फत प्रस्तुत गरिएको छ । भक्तपुरको रोयल थाईमा बुधबार सम्पन्न भोजनलिपि स्वादको छैटौँ संस्करणमा ऊर्जामन्त्री दीपक खड्का र नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नले संयुक्त रूपमा स्वाद लिएर दुवै परिकारको प्रवर्द्धन अभियान सुरु गरेका हुन् । नेपाली खाना प्रवर्द्धन अभियानको संयोजकत्वमा भोजनलिपि स्वाद र रोयल थाई हस्पिटालिटीले दुवै देशका खानाको प्रस्तुत गरेका हुन् । यहाँ दुवै देशका गरी करिब एक दर्जन परिकार प्रस्तुत गरिएका छन् । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाली र थाई खानाको सांस्कृतिक महत्त्वलाई जोड दिँदै नेपाल र थाइल्यान्डको आपसी सम्बन्धलाई थप सुदृढ बनाउन र नेपाली भोजनको अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि भोजनलिपि स्वाद कार्यक्रमले भूमिका खेल्ने विश्वास व्यक्त गरे । नेपालका लागि थाई राजदूत सुवापोङ सिरिसोर्न र रोयल थाईका सञ्चालक गणेश ढकालले नेपाली र थाई खाद्य संस्कृतिबीचको सम्बन्धलाई सुदृढ बनाउन दुवै देशका तर्फबाट प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्नुपर्ने बताए । यसअघि नेपाली खानाका परिकार मात्र प्रस्तुत गर्दै आएको अभियानले छैटौँ संस्करणमा नेपाली र थाई खानालाई संयुक्त रूपमा प्रस्तुत गरी दुवै देशका खाना पारखीको इच्छा पूरा गरिएको अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताए । खाना प्रदर्शनीका अतिरिक्त हरितालिका तीजका अवसरमा महिलालाई दर खुवाउने विशेष कार्यक्रम पनि राखिएको थियो । भोजनलिपि स्वादका सर्जक सेफ घनश्याम कँडेलले नेपाली खानालाई नेपालभित्र र नेपाल बाहिरका तारे होटलमा बिक्रीको व्यवस्था मिलाउन खानाको गुणस्तर सुधारमा लाग्ने प्रतिबद्धता जनाए । प्रस्तुत नेपाली खानाको तयारीमा सेफ टङ्कराज मगर, इङ्वा सुब्बा, मानबहादुर तामाङलगायतले सहयोग गरेका थिए । भोजनलिपि स्वाद अन्तर्राष्ट्रिय सेफद्वय घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित प्रस्तुति हो ।
१० प्रतिशत लाभांश बाँड्ने भेन्चरको घोषणा
काठमाडौं । भेन्चर हायर पर्चेज लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको साउन २७ गते बसेको बैठकले १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले भदौ २७ गते दिउँसो ३ बजे पानी पोखरी काठमाडौंमा नवौँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले पुँजी संरचना परिवर्तन गर्ने र सो बमोजिम प्रबन्ध पत्र तथा नियमावलीमा शंसोधन गर्ने, संशोधनमा नियमनकारी निकायबाट निर्देशन भएमा आवश्यक संशोधन तथा परिमार्जन गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ । साथै, कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री गर्ने प्रस्ताव गरेको छ । यस्तै, संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित, लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने र संचालक नियुक्ति गरि संचालक समिति पुनर्गठन गर्ने प्रस्ताव पारित गर्नेछ ।
सिटि होटलले भदौ २३ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने, १ कित्ता हुनेले ०.८० कित्ता पाउने
काठमाडौं । सिटि होटलले भदौ २३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको ८० प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ ०.८० कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँको प्रतिकित्ता १ रुपैयाँ अंकित मूल्य दरका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले कम्पानीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
संघीय सरकारलाई सबैभन्दा बढी राजस्व मधेसबाट जान्छ, आवश्यक बजेट दिँदैन : मुख्यमन्त्री सिंह
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले इँटा उत्पादनमा मधेस प्रदेश देशकै अग्रणी रहेको बताएका छन् । नेपाल इँटा उद्योग महासङ्घ, मधेस प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाको बुधबार जनकपुर धाममा उद्घाटन गर्दै उहाँ उखु, आँप, माछा, धान लगायतको उत्पादनमा जस्तै इँटा उत्पादनमा पनि मधेस प्रदेशको योगदान महत्त्वपूर्ण रहेको बताए । मुलुक भर रहेका करिब १ हजार ३ सय इँटा उद्योगमध्ये ७ सय मधेस प्रदेशमा रहेको र तीमध्ये हाल ३२० भन्दा बढी उद्योग सञ्चालनमा रहेको मुख्यमन्त्री सिंहले उल्लेख गरे । इँटा उद्योगहरूलाई प्रदेश सरकारले तोकेको न्यूनतम् मापदण्ड पूरा गर्न उनले आग्रह गरे । मुख्यमन्त्री सिंहले मधेस प्रदेशबाट संघीय सरकारलाई सबैभन्दा बढी राजस्व जाने गरेको भए पनि सोअनुसार बजेट प्राप्त नभएको भन्दै गुनासो गरे । उनले स्थानीय तहबाट पनि प्रदेश सरकारको भागको कर नपाएको भन्दै कर बुझाउन आग्रह गरे । ‘निकासी पैठारी, खोला र मनोरञ्जनलगायतका कर उठाउने पालिकाले त्यसको ४० प्रतिशत प्रदेश सरकारमा पठाउनुपर्नेमा हालसम्म प्राप्त हुने गरेको छैन । केन्द्र सरकारले पनि आवश्यक बजेट दिने गरेको छैन, अनि कसरी प्रदेश सरकारले काम गर्ने ?,’ मुख्यमन्त्री सिंहले प्रश्न गरे ।