विकासन्युज

पिटर नवारोको आरोप– भारतले रुसलाई वित्तीय सहयोग गरिरहेको छ

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पीटर नवारोले भारतले रूसको युद्धलाई वित्तीय सहयोग गरिरहेको आरोप लगाएका छन् । साथै उनले यस युद्धलाई ‘मोदीको युद्ध’ समेत भने । नवारोले बुधबार ब्लूमबर्ग टेलिभिजनको कार्यक्रममा भनेका छन्, ‘यदि भारतले रूसी तेल किन्ने काम बन्द गर्छ भने उसले २५ प्रतिशत छुट पाउन सक्छ ।’ ‘मोदी एक महान नेता हुन्, भारत एक परिपक्व लोकतन्त्र हो, तर पनि उनीहरू हामीलाई सिधा हेरी भन्छन् कि उनीहरूको देशमा विश्वकै सबैभन्दा बढी ट्यारिफ छैन, जबकि वास्तविकता त्यस्तो छैन,’ उनले थपे । पिटर नवारोले रुसले  भारतको पैसा आफ्नो युद्ध मेसिन चलाउन प्रयोग गर्ने र बढी युक्रेनी मारिने पनि बताए । साथै उनले अमेरिका र युरोपकोमा आएर युक्रेनले पैसा माग्ने पनि बताए । ‘यसरी अमेरिकी जनतालाई नोक्सान हुन्छ किनभने हामी मोदीको युद्धलाई फन्ड गर्न बाध्य हुन्छौं,’ उनले भने । ‘जब भारतले सस्तो रूसी तेल किन्छ र भारतीय रिफाइनरीहरूले रूसी रिफाइनरीसँग मिलेर त्यसलाई विश्वका अन्य ठाउँमा महँगो मूल्यमा बेच्छन्, तब प्रत्येक अमेरिकी नागरिकको नोक्सान हुन्छ,’ उनले थपे ।

हिमस्टार उर्जा कम्पनीको सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमस्टार उर्जा कम्पनी लिमिटेडको सेयर सूचीकृत भएको छ । बिहीबार कम्पनीकाे ३७ लाख ३० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत गरिएको हो । यसमा सर्वसाधारणलाई बिक्री गरिएको ११ लाख १९ हजार कित्ता र संस्थापक सेयरधनीले लगानी गरेको २६ लाख ११ हजार कित्ता सेयर समावेश छन् । कम्पनीको सेयर आगामी भदौ ११ गते देखि नेप्सेमा कारोबार हुनेछ । पहिलो कारोबारका लागि नेप्सेले ९९ रुपैयाँ १७ पैसा देखि २९७ रुपैयाँ ५१ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको छ । यसै आधारमा आइतबारको स्पेशल प्रि–ओपन सेसनपछि नियमित बजारमा कारोबार सुरु हुनेछ ।

दक्षिण कोरियाली कम्पनीले नेपालमा हरित हाइड्रोजन र फ्युल सेल प्लान्ट स्थापना गर्ने

काठमाडौं । नेपालमा कोरियन कम्पनीले हरित हाइड्रोजन र फ्युल सेल प्लान्ट स्थापना गर्ने भएको छ । लगानी बोर्ड नेपाल  र दक्षिण कोरियाको जी–फाइलोस को–अपरेटिभ लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भयो  बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा दुई पक्षबीच विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारी गर्न सहमति भएको हो ।  यो परियोजना सफल भएमा नेपालमा पहिलोपटक हरित हाइड्रोजन उत्पादन र फ्युल सेल प्रविधि भित्रन सक्नेछ । सम्झौताअनुसार कोरियाली कम्पनीले प्रविधि, अनुभव र लगानीका सम्भावनाहरू प्रस्तुत गर्नेछ भने लगानी बोर्ड नेपालले आवश्यक नीतिगत तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ । हरित हाइड्रोजनलाई भविष्यको शुद्ध ऊर्जा स्रोत मानिँदै आएको छ, जसले नेपालमा नवीकरणीय ऊर्जाको दायरा थप विस्तार गर्ने अपेक्षा गरिएको छ । यस परियोजनाले नेपालमा वातावरणमैत्री उद्योग विस्तार, रोजगार सिर्जना र दिगो उर्जा सुरक्षामा योगदान पु¥याउने विश्वास गरिएको छ ।  लगानी बोर्डकाअनुसार फिलोसले सात अर्ब बढी लगानीको प्रश्ताव गरेको छ । जसमा कम्पनीले ग्रिन हाइड्रोजन अध्ययन लगायतका काम गर्नेछ । कम्पनीले २० मेगावाट क्षमताबाट हाइड्रोजन उत्पादन सुरु गर्नेछ । कम्पनीले कहाँ प्लान्ट बनाउने यकिन भइसकेको छैन । ग्रिन हाइड्रोजन प्लान्ट स्थापनाको लागि आएको यो पहिलो विदेशी लगानीसम्बन्धी प्रस्ताव हो ।  उक्त प्लान्टले नेपालको खेर जाने जलविद्युत्बाट प्रयोग गरी इलेक्ट्रोलाइसिस विधि (पानी र विद्युतको रासायनिक प्रक्रिया) मार्फत हरित हाइड्रोजन उत्पादन गर्ने लक्ष्य राखेको छ । उत्पादित ग्रिन हाइड्रोजनलाई स्टिल तथा मल उद्योग, अमोनियम नाइट्रेट उत्पादन एवं भण्डारणमा गर्न सकिनेछ ।  जेठ १३ मा बसेको लगानी बोर्डको ६३ औं बैठकले उक्त कम्पनीलाई नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको पाइलट प्लान्ट र फ्युल सेल प्लान्ट स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययनको अनुमति दिएको थियो ।  एमओयुकार्यक्रममा लगानी बोर्डका सीईओ सुशील ज्ञवाली, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतको उपस्थिति रहेको थियो।  

सेयर बजारमा ८ अर्बको कारोबार, २४ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले घटेर २७८१ बिन्दुमा झरेको छ ।  आज २४ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको सेयर मूल्य घटेको छ । बिहीबार ३२२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९ कारोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रिइन्स्योरेन्सको ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको ६० करोड, हिमालयन डिस्टीलरीको ३५ करोड, शिवम् सिमेन्टको २२ करोड र युनाइटेड मोदीको १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै सेक्टरका सूचक घटेका छन् । विकास बैंक सबैभन्दा धेरै २.३८ प्रतिशतले घटेको छ । बैंकिङ ०.८७, फाइनान्स १.९७, होटल तथा पर्यटन १.६०, हाइड्रोपावर १.४४, लगानी १.५८, जीवन बीमा १.६५, उत्पादन तथा प्रशोधन १.७०, माइक्रोफाइनान्स १.४०, अन्य १.७० र व्यापार १.२६ प्रतिशतले घटेको छ । निर्जीवन बीमा जम्मा ०.०१ प्रतिशतले बढेको छ । आज विकास हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

आईसिएफसी फाइनान्सले ५० करोड बराबरको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । आईसिएफसी फाइनान्स लिमिटेडले ५० करोड रुपैयाँ बराबरको ऋणपत्र '८ प्रतिशत आईसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर–२०८९' निष्कासन गर्ने भएको छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । यस सम्बन्धमा बिहीबार कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुई पक्षबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा आईसिएफसी फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पन्त र कुमारी क्यापिटल लिमिटेडका सीईओ पुष्प शर्माले हस्ताक्षर गरेका छन् । कम्पनीका अनुसार नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्बन्धित नियामक निकायको स्वीकृति प्राप्त भएपछि मात्र ऋणपत्र निष्कासन गरिनेछ । हाल आईसिएफसी फाइनान्सले २१ शाखा कार्यालय र १८ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

एम्बार्क अनम्याथले भैरहवा र बुटवलका विद्यालयमा गणित शिक्षामा परिवर्तन ल्याउँदै

काठमाडौं । एम्बार्क अनम्याथले गणित शिक्षालाई परम्परागत पाठ्यपुस्तकबाट बाहिर निकाल्दै रोचक र वास्तविक जीवनसँग जोडिएको सिकाइमा रूपान्तरण गर्ने अभियानलाई निरन्तरता दिएको छ । यही मिशनअनुसार, अनम्याथ टिमले अगस्त ३ देखि ८ गतेसम्म रुपन्देही जिल्लाका भैरहवा र बुटवलमा २५ भन्दा बढी विद्यालयमा गणित शिक्षासम्बन्धी पहुँच कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमका क्रममा प्रधानाध्यापक, शैक्षिक संयोजक र शिक्षकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै गणितलाई कसरी व्यावहारिक, सजिलो र आकर्षक बनाउन सकिन्छ भन्नेबारे छलफल गरियो । यस अवसरमा ‘अनम्याथ जिल्ला योजना’, ‘गणितको कथा भन्ने’, ‘उद्यमशील गणित’ र ‘म्याथ म्युजियम’ जस्ता अनुभवमूलक सिकाइ कार्यक्रमहरूको परिचय गराइयो । अनम्याथका मार्केटिङ तथा व्यापार विकास प्रबन्धक प्रज्वल पोखरेलले भने, 'हामीलाई विश्वास छ कि गणित यस्तो विषय हुनुपर्छ जसबाट विद्यार्थीहरू नडराउँन् । विद्यालय भ्रमणले हामीलाई विशेष आवश्यकताहरू बुझ्न र त्यसअनुसार समाधान तयार गर्न मद्दत गरेको छ ।' कार्यक्रममा सहभागी भएका शिक्षकहरूले पुरानो तरिकाले गणित पढाउँदा हुने समस्या समाधान गर्ने र विद्यार्थीहरूको जिज्ञासा बढाउने गतिविधिमूलक सिकाइ प्रभावकारी हुने विश्वास व्यक्त गरे । लुम्बिनी वर्ल्ड स्कूलका योग तथा प्राणायाम प्रशिक्षक शिवसुन्दर पोखरेलले भने, 'गणितलाई व्यावहारिक र वास्तविक जीवनसँग जोड्ने यो तरिका विद्यार्थीहरूका लागि निकै उपयुक्त छ ।' विद्यालयहरूको मागअनुसार अनम्याथले प्रयोगात्मक कक्षा सञ्चालन गर्ने, निरन्तर सम्पर्कमा रहने र आवश्यकता अनुसार विशेष योजना बनाउने लक्ष्य राखेको छ । यस पहलमार्फत रुपन्देहीका कक्षाकोठामा दीर्घकालीन रूपमा नयाँ र गुणस्तरीय गणित शिक्षा प्रवर्द्धन गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

युरोपेली कार बिक्री जुलाईमा बढ्यो : टेस्लाको हिस्सा झर्दा बीवाईडीले मार्यो बाजी

काठमाडौं । युरोपमा नयाँ कार बिक्री जुलाईमा ५.९ प्रतिशतले बढेको युरोपेली अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (एसीईए) को तथ्यांकले बिहीबार देखाएको छ । तथ्यांकअनुसार जर्मनीमा भएको वृद्धिले ब्रिटेन, फ्रान्स र इटालीमा भएको गिरावटलाई मात दिएको छ । टेस्लाले लगातार सातौं महिनासम्म बजार हिस्सा गुमायो, यद्यपि विद्युत कारको कुल बिक्री बढेको थियो । यस अवधिमा टेस्लाको प्रतिस्पर्धी बीवाईडीभन्दा पछि पर्‍यो, जसको बिक्री पहिलोपटक मासिक तथ्यांकमा समावेश गरिएको थियो । फक्सवागनजस्ता घरेलु निर्माताहरू युरोपको बढ्दो ईभी बजारमा चिनियाँ प्रतिस्पर्धीलाई रोक्न र लाभदायक तरिकाले सवारीसाधनलाई प्रोत्साहन दिने नियमनसँग तालमेल मिलाउन नयाँ मोडेलहरू ल्याउने तयारीमा छन् । एसीईएका सीईओ ओला केल्लेनियसले बुधबार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लायनलाई पठाएको पत्रमा सह(हस्ताक्षर गर्दै भनेका छन्— २०३५ सम्म कारहरूमा १०० प्रतिशत सीओटू कटौती गर्ने युरोपेली संघका लक्ष्य अब सम्भव छैनन्। युरोपेली अटो निर्माताहरूले अर्बौं घाटा बेहोरेका छन् र नाफा घट्ने चेतावनी दिएका छन्, जसमा अमेरिकी आयात शुल्कको असर पनि देखिएको छ । तथ्यांकअनुसार युरोपेली संघ, बेलायत र युरोपेली स्वतन्त्र व्यापार संघमा जुलाईमा बिक्री बढेर १०।९ लाख कार पुगेको एसीईएले जनाएको छ । फक्सवागन र रेनोको दर्ता क्रमशः ११.६ प्रतिशत र ८.८ प्रतिशतले बढ्यो, तर स्टेलान्टिसको दर्ता १.१ प्रतिशतले घट्यो । टेस्लाको बिक्री ४०.२ प्रतिशतले घटेर बजार हिस्सा गत वर्षको १.४ प्रतिशतबाट ०.८ प्रतिशतमा झर्‍यो । बीवाईडीको बिक्री भने २२५.३ प्रतिशतले बढ्दै बजार हिस्सामा १.२ प्रतिशत पुगेको छ । कुल ईयू कार बिक्री ७.४ प्रतिशतले बढ्यो । ब्याट्री इलेक्ट्रिक, हाइब्रिड इलेक्ट्रिक र प्लग(इन हाइब्रिड कार दर्ता क्रमशः ३९.१ प्रतिशत, ५६.९ प्रतिशत र १४.३ प्रतिशतले बढ्दै समग्रमा ५९.८ प्रतिशत पुग्यो, जुन गत जुलाई ९२०२४० को ५१.१ प्रतिशतभन्दा बढी हो । जर्मनीमा कुल बिक्री ११.१ प्रतिशतले बढ्यो भने बेलायतमा ५ प्रतिशत, फ्रान्समा ७.७ प्रतिशत र इटालीमा ५.१ प्रतिशतले घट्यो । स्पेन, पोल्याण्ड र अष्ट्रियामा भने क्रमशः १७.१ प्रतिशत, १६.५ प्रतिशत र ३१.६ प्रतिशत वृद्धि भयो । पोर्शेमा नयाँ सीईओको खोज सुरु, फक्सवागनसँगको दोहोरो भूमिका अन्त्य हुने संकेत निसानमा मर्सिडिज-बेन्जको हिस्सेदारी समाप्त, ३२५ मिलियन डलरमा डिल अटो पाइलट दुर्घटना मुद्दा : सम्झौता प्रस्ताव अस्वीकार गर्दा टेस्लालाई घाटा, २४३ मिलियन डलर क्षतिपूर्ति

यो भन्दा अर्को स्थिर शक्तिशाली सरकार बन्नै सक्दैन : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८४ सम्म वर्तमान सरकार भन्दा अर्को स्थिर शक्तिशाली सरकार बन्न नसक्ने बताएका छन् ।  काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार एमाले र नेपाली काँग्रेस मिलेर बनेको शक्तिशाली सरकार भएकाले २०८४ सम्म अर्को सरकारको परिकल्पना नै गर्न नसकिने बताएका हुन् ।  उनकाअनुसार वर्तमान सरकारले बजेट विनियोजनदेखि प्राथमितामा देखिएको विकृतिलाई निर्मम रुपमा सुधारेको छ । मुलुकमा अहिले स्थिर सरकार भएकै कारण कानूनी सुधार गरिएको र लगानीकर्तामा समेत मनोबल बढेको पौडेलको भनाइ छ । सरकारले योजना बनाउँदा प्राथमिकतालाई आधार मान्ने बताए । उनकाअनुसार योजना आयोगले योजना बनाइदिएपछि त्यो योजना ठिकठाक हुन्छ भन्ने ठान्नु हुँदैन ।  योजना निर्माण गर्दा प्राथमिकतामा आधारित छ वा छैन त्यसमा ख्याल गर्नुपर्ने उनको भनाइ छ । उहाँले अहिले योजना निर्माण र विनियोजनमा गम्भीर समस्या समेत रहेको बताए । त्यो समस्याबाट बाहिर निस्कनका लागि प्रयास भइरहेको उनको भनाई छ ।  मन्त्री पौडेलले भने–'काँग्रेस–एमाले दुई वटा दलको शक्तिशाली सरकार छ । अहिलेको संसदबाट यो भन्दा शक्तिशाली सरकार बन्नै सक्दैन । २०८४ सम्म यो सरकार भन्दा अर्को स्थिर शक्तिशाली सरकारको परिकल्पना गर्न सकिन्न । स्थिर शक्तिशाली सरकार यही हो । यतिबेला के काम गर्नुपर्ने भन्ने हिसावले काम गरिएको छ ।'   चालु आवको बजेट ल्याउँदा योजना बैंकबाट बाहिर रहेर बजेट नल्याइएको उनले दाबी गरे ।