विकासन्युज

उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौं । काठमाडौं उपत्यकाको  सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । साथै सुरक्षा निकायलाई ‘हाइअलर्ट’ हुन निर्देश गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा निकायलाई सुरक्षा व्यवस्था कडा पार्न र शान्ति सुव्यवस्था खलल हुन नदिन निर्देशन दिइएको जानकारी दिए । जिल्ला सुरक्षा समितिमार्फत समन्वयात्मक रूपमा सुरक्षा व्यवस्था कडा पार्न सबै सुरक्षा निकायलाई भनिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।  जेनजी पुस्ताको सोमबार भएको प्रदर्शनमा झडप समेत थियो ।  उपत्यकाका तीनै जिल्ल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निश्चित क्षेत्र तोकेर निषेधाज्ञ जारी गरिसकिएको छ ।  गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले काठमाडौंलगायत देशका विभिन्न भागमा भएको घटना र मानवीय क्षतिप्रति दुःख व्यक्त गरे । उनले यस विषम अवस्थामा सम्पूर्ण युवा विद्यार्थी, अभिभावक, शिक्षक, नागरिक समाज साथै सरोकार भएकाले संयमता र धैर्यता अपनाउन र शान्ति कायम गर्न आग्रह पनि गरेका छन् ।

धनगढीमा रहेको देउवाको घरमा ढुङ्गामुढा

काठमाडौं । धनगढीमा रहेको नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको  घरमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका छन् । नयाँ पुस्ताका युवामाथि प्रहरीले गरेको दमनको विरोधमा मंगलबार देउवाको निवासमा जेनजीले ढुङ्गामुढा गरेका हुन् । अहिले देशभरका विभिन्न स्थानमा जेनजीका प्रदर्शनहरू जारी छन् । 

बानेश्वरमा फेरि गोली चल्यो

काठमाडौं । नयाँ बानेश्वरमा फेरि गोली चलेको छ । जेनजीको प्रदर्शन उग्र बनेपछि प्रहरीले फेरि गोली चलाएको हो । प्रदर्शनमा सहभागी हाम्रा सम्वाददाताका अनुसार प्रहरीले भर्खरै गोली चलाउन सुरु गरेको हो ।   

काभ्रेपलाञ्चोकमा पनि लगाइयो कर्फ्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पनि कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार मंगलबार दिउँसो करिब १२:१५ बजेदेखि कर्फ्यु लागू भएको हो । बिहानैदेखि प्रदर्शन उग्र बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु जारी गरेको जनाएको छ। कर्फ्यु लागू भएपछि काभ्रे हुँदै चल्ने राजमार्गहरू पूर्णरूपमा बन्द भएका छन् । सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिइएको छ ।  

एमाले सचिव रघुवीर महासेठको घरमा ढुङ्गामुढा

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव रघुवीर महासेठको घरमा प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् । मंगलबार महासेठको जनकपुर स्थित घरमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका छन् । सोमबार जेन–जी समूहले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध गरेको आन्दोलन आज म‌‍गलबार थप चर्केको छ । देशभर प्रर्दनशनकारी थप आक्रामक बन्दै गइरहेको छ । 

राष्ट्रपति भवनमा गोली चल्यो, भित्र पस्ने तयारीमा प्रदर्शनकारी

काठमाडौं । राष्ट्रपति भवन परिसरमा गोली चलेको छ। प्रदर्शनकारीले राष्ट्रपति भवनको पर्खाल भत्काउन थालेपछि प्रहरीले गोली चलाएको हो ।  जेनजीहरु अहिले राष्ट्रपति भवनमा पनि पुगेका छन् । उनीहरुले विभिन्न शीर्ष नेताहरुको घर घेराउ गरिरहेका छन् ।  विभिन्न नेताहरुको निवासमा पुगेर उनीहरुले तोडफोड तथा आगजनी गरिरहेका छन् ।

युनियनपे अन्तर्राष्ट्रियको क्षेत्रीय परिषद बैठकमा नेपालको प्रतिनिधित्व गर्दै एससिटीका सीईओ घिमिरे

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ)  मनोज घिमिरेले युनियनपे अन्तर्राष्ट्रियको क्षेत्रीय परिषद बैठकमा नेपाल र दक्षिण एशियाको प्रतिनिधित्व गरेका छन् । यस प्रतिष्ठित मञ्चमा एशिया–प्रशान्त क्षेत्रका अग्रणी व्यक्तिहरू भेला भई डिजिटल भुक्तानीको भविष्य र क्षेत्रीय सहकार्यका विषयमा छलफल गरिएको छ । कार्यक्रममा घिमिरेले क्षेत्रीय सहकार्यलाई अझ गहिरो बनाउने र भुक्तानी प्रणालीबीच आपसी पहुँच र प्रयोग बढाउने आवश्यकतामा जोड दिए । उनले सुरक्षित, समावेशी र जोडिएको भुक्तानी वातावरण निर्माणको महत्त्वबारे आफ्नो विचार प्रस्तुत गरे। उनले अष्ट्रेलियाको कमनवेल्थ बैंक, डीबीएस बैंक लिमिटेड (सिङ्गापुर), र इन्टर्नेसनल फाइनान्स संस्थाका प्रतिनिधिहरूसँगै उच्चस्तरीय छलफलमा वक्ताको रूपमा सहभागी हुँदै नयाँ भुक्तानी प्रवृत्ति, सहकार्यका अवसरहरू, र एशिया–प्रशान्त क्षेत्रमा भुक्तानी प्रणालीको विकासबारे आफ्नो दृष्टिकोण राखे । यससँगै घिमिरेले एससिटीको तर्फबाट अन्य महत्त्वपूर्ण संस्थागत प्लेटफर्महरू पीसीआई सुरक्षा मापदण्ड परिषद  र एससिटी–युनियनपे बोर्डमा पनि निरन्तर प्रतिनिधित्व गर्दै आएका छन् । उनको सक्रिय सहभागिताले डिजिटल भुक्तानी क्षेत्रमा एससिटीको नेतृत्वलाई मजबुत तुल्याएको छ र नेपालसहित क्षेत्रीय स्तरमा नवप्रवर्तन, सहकार्य, र दिगो विकासप्रति कम्पनीको प्रतिबद्धतालाई थप प्रष्ट पारेको छ ।

रमेश लेखकको घरमा पनि आगजनी

काठमाडौं । गृहमन्त्रीबाट राजीनामा दिएका रमेश लेखकको घरमा पनि आगजनी भएको छ । जेनजी प्रदर्शनकारीले उनको घरमा आगजनी गरेका हुन् ।  अहिले प्रदर्शनकारी उनको घरको अगाडि प्रदर्शन गरिरहेका छन् । उनले सोमबार रातिमात्रै गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।  उनले सोमबार भएको प्रदर्शनबाट १९ जनाको मृत्यु भएको र सयौं घाइते भएको भन्दै नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए ।