विकासन्युज

भीआईपीहरु सैनिक मुख्यालयमा

काठमाडौं । भीआईपी नेताहरुले सैनिक मुख्यालय भद्रकालीमा आश्रय लिएका छन् । प्रदर्शनकारीहरुले प्रदर्शन बढाएपछि उनीहरु हेलिकप्टरमा सैनिक मुख्यालय पुगेका हुन् ।  प्रधानमन्त्रीबाट राजीनामा दिएका केपी शर्मा ओलीसँगै उनको सल्लाहकार डा. युवराज खतिवडा लगायतका मन्त्रीहरु मुख्यालयमा पुगेको स्रोतले बतायो ।   

बार एसोशिएसनको भवनमा पनि आगजनी

काठमाडाैं । प्रदर्शनकारीले बार एशोसिएसनको भवनमा पनि आगजनी गरेका छन् । उनीहरुले सिंहदरबारपछि बार एसोशिएसनको भवनमा पनि आगजनी गरेका हुन् । 

पूर्वउपराष्ट्रपति पुनको घरमा आगजनी

काठमाडौं । पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका वरिष्ठ नेता नन्दबहादुर पुनको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । आन्दोलनकारीहरूको समूहले मंगलबार बिहानै काठमाडौंको दहचोकस्थित पुनको घरमा पुगेर आगजनी गरेको स्थानीयहरूले बताएका छन् । ‘जेनजी’ आन्दोलन अन्तर्गत सोमबारदेखि सुरु भएको विरोध प्रदर्शन सामाजिक सञ्जालमाथि सरकारको प्रतिबन्ध, देशभर फैलिएको भ्रष्टाचार र बेथितिको विरोध, साथै नेताहरू र उनका सन्तानहरूको विलासी   जीवनशैलीप्रतिको आक्रोशका कारण चर्किएको हो । सोमबार प्रहरीको गोली लागेर १९ जनाको मृत्यु र सयौँ घाइते भएपछि आज देशभरै प्रदर्शन तीव्र बनेको छ ।

प्रधानमन्त्री ओलीले राजीनामा दिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । देशभर जारी जेनजीको आन्दोलनको दबाबले प्रधानमन्त्रीले राजीनामा दिएका हुन् । प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिसमक्ष पुगिसकेको शीतलनिवासले जनाएको छ । सोमबार भएको जेनजीको आन्दोलनमा १९ जनाले ज्यान गुमाएका छन् भने सयौं घाइते भएका छन् ।

प्रचण्डकी छोरी गंगाको घरमा आगजनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा आगजनी भएको छ । जेनजी युवाहरूको समूहले ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजनी गरेका हुन् । उग्र बनेका युवाहरूले घरभित्र पार्किङमा राखिएको बीवाईडीको गाडीमा समेत आगजनी गरी नष्ट गरेका छन् । सोमबार ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरीले गरेको दमनमा १९ जनाको मृत्यु र ४०० भन्दा बढी घाइते भएपछि आज बिहानदेखि प्रदर्शन झन् आक्रामक बनेको हो।  राजधानी काठमाडौंसहित देशका विभिन्न सहरमा प्रदर्शनकारीहरूले नेताहरूको घर, पार्टी कार्यालय र प्रहरी कार्यालयलाई निशाना बनाउँदै विरोध जारी राखेका छन् ।

संसद् भवनमा आगजनी

काठमाडौं । जेनजीले नयाँ बानेश्वरमा रहेको संसद् भवनमा आगजनी गरेका छन् । हजारौंको संख्यामा संसद् प्रवेश गरेका जेजनीले भवनभित्रै आगजनी गरेका हुन् ।

रास्वपाका सबै सांसदले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसदले सामूहिक रूपमा राजीनामा दिएका छन् ।  मंगलबार दिउँसो आकस्मिक संसदीय दलको बैठकपश्चात उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । हिजो सभापति रवि लामिछानेले सबै सांसदहरूलाई सामूहिक राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने भन्दै तयार रहन निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार रास्वपाका सांसदले राजीनामा दिएका हुन् । देशभर जेनजीको आन्दोलन आक्रामक बनेपछि नेताहरूका घर र निवासहरूमा तोडफोड भइरहेको छ ।   

सिंहदरबारमा आगजनी, अवस्था तनावग्रस्त

काठमाडौं । सिंहदरबारमा आगजनी भएको छ । प्रदर्शनकारीले सिंहदरबारमा आगजनी गरेका हुन् ।  अहिले सिंहदरबारको अवस्था तनावग्रस्त छ ।