विकासन्युज

सुरक्षित भएर रहन नेपाली सेनाको आग्रह

काठमाडौं । देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुन नदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ । सूचना निर्देशनालयले आज जारी गरेको सूचनामा सुरक्षा संयन्त्र पुग्नु अगावै स्थानीय समुदायले एकजुट भई स्थितिको खबर आदानप्रदान गरी आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरेको छ । देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरूमा उच्छृङ्खल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरू आफ्नो समुदायमा देखिएमा यथाशीघ्र नेपाली सेनाको ९८६३०२९०२९ नम्बरमा सन्देश पठाउन सेनाले अनुरोध गरेको हो । सूचनामा भनिएको छ, ‘केही उच्छृङ्खल तत्वले भ्रामक खबर सामाजिक सञ्जालमा राखेर स्थितिलाई अतिरञ्जित बनाउने तथा त्रासको वातावरण सिर्जना गर्न खोजेको हुँदा त्यस्ता क्रियाकलापलाई निस्तेज गर्न आ-आफ्नो क्षेत्रबाट सही खबर मात्र सम्प्रेषण गरी सहयोग गर्न सूचित गरिन्छ ।’

जेनजी आन्दोलनले कठिन परिस्थितिमा पर्यटन क्षेत्र

काठमाडौं । पर्यटन क्षेत्रका दुई अगुवा संस्था नेपाल पर्वतारोहण सङ्घ र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले नेपालको पर्यटन क्षेत्र अत्यन्त कठिन परिस्थितिमा रहेको जनाएका छन् । दुवै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै जेनजीले उठाएको मागको सम्बोधन गरी शान्ति सुव्यवस्था कायम गर्दै पर्यटन मैत्री वातावरण सिर्जना गर्न अपिल समेत गरेका छन् । ‘जेनजीका मागहरु सम्बोधन गर्न एक पल पनि ढिला गर्नुहुन्न र देशलाई अरु थप क्षति हुनबाट जोगाउनु आवश्यक भइसकेको छ, अब उपरान्त ध्वंसको बाटो सदाका लागि अन्त्य हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।  जेनजीका माग सम्बोधन गर्ने गरी निश्कलंक र सर्व स्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकार गठन गर्न र देशमा अबिलम्ब शान्ति र अमन चयन कायम गर्न अनुरोध पनि विज्ञप्तिमा गरिएको छ । सङ्घ र टानले जेनजी प्रदर्शनका क्रममा निधन भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण  गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

त्रिभुवन विमानस्थल आज १२ बजेसम्म बन्द, यात्रुको पैसा फिर्ता हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ । देशको विषय परिस्थितिले गर्दा हुन नसकेको उडानका कारण आन्तरिक तर्फ विभिन्न गन्तव्यमा जाने वायुसेवा कम्पनीको पनि उडान हुन नसकेको कम्पनीले जनाएको छ । टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने जनाइएको छ । सेवाका लागि तयार छौ: वायुसेवा सञ्चालक सङ्घ वायुसेवा सञ्चालक सङ्घले जस्तोसुकै विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिने प्रतिवद्धता जनाएको छ । सङ्घका अध्यक्ष मनोज कार्कीले आज एक विज्ञप्ति जारी गर्दै सङ्घका सदस्य कम्पनीहरू सदैव आम जनसमुदायको सेवामा तत्पर रहने जानकारी गराए ।  सङ्घले यही भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा युवाहरूमाथि भएको दुःखद घटना र त्यसबाट सृजित हिंसाप्रति गहिरो चिन्ता र दुःख व्यक्त गर्दै उक्त दुर्घटनामा दिवंगत भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।  यसैबिच सङ्घले छुट्टै विज्ञप्ति निकालेर उडान सञ्चालनमा रहेका हेलिकप्टरबाट कुनै पनि राजनीतिज्ञ, मन्त्री लगायतलाई उडान सेवा नदिएको दाबी गरेको छ ।रासस

राष्ट्रहितका खातिर क्रियाशील रहौं, क्षतिको पुनर्निर्माणमा जुटौं : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको साथ र सहयोग अपरिहार्य भएको जनाउँदै राष्ट्रहितका खातिर क्रियाशील रहन अनुरोध गरेको छ । मङ्गलबार राति प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्तिमार्फत् सोमबार जेनजीको आव्हानमा आयोजित शान्तिपूर्ण विरोधप्रदर्शनका क्रममा भएका दुःखद घटनाबाट प्रहरी सङ्गठन मर्माहत भएको बताएको छ । ‘यस घडीमा प्रहरी र आम नेपाली दाजुभाइ, दिदी बहिनी नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रहित र अपराध न्यूनीकरणका लागि जिम्मेवारी बोधका साथ मुलुकप्रति समर्पित हुन आवश्यक भएको छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।  प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी विज्ञप्तिमा प्रदर्शनका क्रममा भएको जनधनको क्षति अपूरणीय एवं दुःखद भएको, त्यसबाट उत्पन्न परिणामस्वरुप परिस्थितिलाई बिग्रन नदिन, नागरिक र प्रहरीका साझेदारी पूर्ण, शान्तिपूर्ण, सहकार्यका माध्यमले आन्दोलनका क्रममा भएका घाइतेहरूको उद्धार, उपचार, क्षतिको पुनर्निर्माण गर्नुपर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ ।  साथै, कुनै पनि आपराधिक समूहबाट हुने क्षतिलाई रोकी शान्ति पुनःस्थापनार्थ निर्वाह गर्नुपर्ने दायित्वमा एकाकार भई प्रहरीलाई सार्वजनिक शान्ति अमन चयन, अपराध नियन्त्रण र अनुसन्धान गरी कानुन कार्यान्वयनका माध्यमले कानूनी शासन स्थापित गर्ने कार्यमा सबैको साथ सहयोगका निम्ति प्रहरले अनुरोध गरेको छ ।

बैंक, सुपरमार्केट र होटल लुटपाट गर्ने २६ जना पक्राउ

काठमाडौं । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौं तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ । भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई पनि सेनाले पक्राउ गरेको छ ।

राति १० बजेदेखि सेना सडकमा, सम्पत्ति लुटपाट र आगजनी नगर्न आग्रह

काठमाडौं । आज राति १० बजेदेखि नेपाली सेना सडकमा प्रवेश गर्ने जानकारी दिएको छ । नेपाली सेनाले सूचना जारी गर्दै आज राति १० बजेदेखि सडकमा आउने बताएको हो ।  सेनाले सबैलाई यस कार्यमा सहयोग गर्न पनि अनुरोध गरेको छ । साथै, विभिन्न व्यक्ति तथा सार्वजनिक सम्पत्ति लुटपाट, तोडफोड तथा आगजनी नगर्न पनि अनुरोध गरेको छ ।  यस्तो छ सूचना  

नागरिकलाई सम्बोधन गर्दै के भन्यो सेनाले ?

काठमाडौं । प्रधान सेनापति महारथी अशोक सिग्देलले प्रदर्शनकारीलाई सहमतिमा आउन आग्रह गरेका छन् । मंगलबार राति नागरिकका नाममा सम्बोधन गर्दै उनले सबैको सहकार्यले देशको विकास हुने भएकोले वर्तमान परिस्थिति र समस्याको समाधान गर्न वार्तातमा आउन आग्रह गरेका हुन् ।  उनले देशको सांस्कृति सम्पर्दा, निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति नगर्न पनि आग्रह गरेका छन् । उनले नेपाली सेना देशको रक्षाका लागि तत्पर रहेको पनि बताएका छन् ।     

राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखामा तोडफोड, सीईओ भन्छन्: आगजनी भयो भन्ने सुनियो

काठमाडौं । प्रदर्शनकारीले बैंकमा पनि तोडफोड गर्न थालेका छन् । जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा तोडफोड गरेका छन् ।  बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालले बैंकको शाखामा तोडफोड र आगजनी बैंक भएको सुनिएको बताए । उनका अनुसार कर्मचारी भने सो शाखामा छैनन् । उनका अनुसार बैंकको तराईतिर पनि तोडफोड भएको छ ।