विकासन्युज

युवा पुस्ताको सोच बमोजिम काम गर्नेछु : प्रधानमन्त्री कार्की

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताको सोच अनुसार आफूले काम गर्ने बताएकी छन् । जेनजी आन्दोलनका क्रममा युवा पुस्ताहरुले २७ घण्टाको आन्दोलनबाट विश्वमा नै नभएको कायापलट नेपालमा गरेको उल्लेख गर्दै उनले उनीहरुको सोचअनुसार आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी हुन् ।  प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको अन्त्य, सुशासन र आर्थिक समानताका कुराहरु नै जेनजी आन्दोलनको मुख्य माग रहेकाले त्यो पूरा गर्ने अठोटका साथ अघि बढ्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारिन् । उनले आन्दोलनका क्रममा भएका क्षतिहरुको मूल्यांकन गर्दै सरकार अघि बढ्ने कार्ययोजना तय गरिएको पनि बताइन् ।  प्रधानमन्त्री कार्कीले भनिन्, ‘आगामी दिनहरुमा युवा पुस्ताको सोच बमोजिम काम गर्नुपर्ने भएको छ । मलाई एकदम विचित्र लागेको छ–यो मुलुकमा यो जुन मुभमेन्ट आयो, यो वल्डमा कहीँ पनि भएको छैन । २७ घण्टाको आन्दोलनमा कायापलट गरेको मलाई थाहा छैन । त्यसैले यो समूहले मागेको कुरा के हो भने भ्रष्टाचारको अन्त्य, सुशासन र आर्थिक समानताका कुराका मागहरु गरेको हुनाले त्यो पूरा गर्नलाई हामीले अठोट गर्नुपर्ने अवस्था छ । र, यी क्षतिहरुको पनि मूल्यांकन गरेर आगामी कार्ययोजनाहरु तय गरिएको छ ।’ प्रधानमन्त्री कार्कीले आफूले सो आन्दोलनको क्रममा ज्यान गुमाएका परिवारहरुसँग पनि भेटेको उल्लेख गर्दै उनीहरुको पीडालाई सम्बोधन गर्ने पनि बताइन् ।  

तस्बिरमा हेर्नुहोस् प्रधानमन्त्रीको पदभार ग्रहण

काठमाडौं । प्रधानमन्त्री शुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । उनले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी हुन् ।  उनले पदभार ग्रहण गर्दै जेनजी आन्दोलनमा मृत्यु भएका सबैलाई शहीद घोषणा गर्ने निर्णय गरेकी छन् भने शहीदका परिवारलाई १० लाख राहत दिने निर्णय गरेकी छन् ।  पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री कार्कीले आफू रहरले प्रधानमन्त्री नभएको भन्दै परिस्थितिले बाध्य बनाएको धारणा राखेकी छन् ।  ‘रहरले म आएको होइन, सडक र जताततैबाट जिम्मा लेऊ भनेर सुझाव आयो । म विवश हुनुप¥यो । सत्ताको रसास्वादन गर्न आएको होइन,’ उनले भनिन् ।   

प्रधानमन्त्री कार्कीलाई पाकिस्तानले दियो बधाई

काठमाडौं । पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ ।  प्रधानमन्त्री शेहेबाज सरिफले नेपालको प्रधानमन्त्रीको उच्च पद सम्हालेकोमा हार्दिक बधाई व्यक्त गर्दै दुई देशबीचनको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री कार्कीसँग सहकार्य गर्न तत्पर रहेको बताएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ । पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री कार्कीलाई पठाएको  शुभकामना सन्देशमा नेपाली जनताको शान्ति र प्रगतिको कामना पनि गरेका छन् ।

तोलामा ७ सयले घट्यो सुनको मोल

काठमाडौं । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मोल रु दुई लाख १५ हजार १०० र प्रतितोला चाँदीको मोल दुई हजार ५७० रुपैयाँ कायम भएको छ ।  गत शुक्रबार एक तोला सुन दुई लाख १५ हजार ८०० रुपैयाँमा किनबेच भएको थियोभने सोही परिमाणको चाँदी दुई हजार ५६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन तीन हजार छ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।   

प्रधानमन्त्री कार्कीलाई चीनले दियो बधाई, सहकार्यको प्रतिबद्धता

काठमाडौं । चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ । साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  नेपालको अन्तरिम प्रधानमन्त्रीका रूपमा उनले शुक्रबार शपथ लिएको सन्दर्भमा विदेश मन्त्रालयका प्रवक्तासँग पत्रकारले गरेको प्रश्नको जवाफमा चीनले प्रधानमन्त्री कार्कीलाई बधाई दिएको हो । चीन र नेपालबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै विदेश मन्त्रालयका प्रवक्ताले सदा झै चीनले नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्ने बताएको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ ।   'हामी शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूलाई प्रवर्द्धन गर्न, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग बढाउन र द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउन नेपालसँग काम गर्न तयार छौँ,' उनले भनेको दूतावासको कथन छ ।   

जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गर्ने निर्णय, परिवारलाई १० लाख सहयोग

काठमाडौं । जेनजीको आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सरकारले शहीद घोषणा गर्ने भएको छ ।   आइतबार पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी हुन् ।  सरकारले  प्रत्येक शहीदका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । मुख्यसचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ ।  १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

काठमाडौं । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । प्रधानमन्त्री कार्कीले आइतबार विहान साढे ११ बजे सिंहदरबारस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेकी हुन् । सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गरिएको छ । उनी शनिबारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएकी छन् । जेन–जी पुस्ताको आन्दोलन चर्किएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २४ भदौमा पदबाट राजीनामा दिएका थिए । जेन–जी प्रदर्शनमा भएको अत्याधिक बल प्रयोग र एकैदिनमा ठूलो संख्यामा युवाहरु मारिएपछि उनले राजीनामा दिएका थिए । कार्की नेपालको ४२ औँ तथा प्रथम महिला प्रधानमन्त्री बनेकी हुन् ।