तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ
दमौली । तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी पक्राउ परेका छन् । गत भदौ २४ गते राति जेनजी आन्दोलनको बहानामा फरार भएका ३२७ जनामध्ये आजसम्म १०९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । पक्राउ पर्नेमा ६८ पुरुष, नौ महिला र ३२ पुरुष थुनुवा रहेको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । प्रहरीले जेनजी आन्दोलनको बहानामा तनहुँ कारागारबाट फरार रहेका कैदीबन्दीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । देशको विकसित असमान्य परिस्थितिको फाइदा लिई हिरासत र कारागारबाट फरार रहेका थुनुवा, कैदीबन्दीलाई स्वेच्छिक रुपमा नजिकको प्रहरी कार्यालय वा कारागार कार्यालयमा सम्पर्क आउन आग्रह गरिएको थापाले बताए । अन्यथा आवश्यकताका आधारमा बल प्रयोग गरी नियन्त्रणमा लिइने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । साथै कारागारबाट फरार रहेका कैदीबन्दीहरू छरछिमेकमा आएको थाहा पाएमा प्रहरीलाई सूचना दिन आम जनसमुदायमा अपिल गरिएको छ ।
आगजनी भएका संरचनाको दशैंअघि नै रङरोगन गरिने
काठमाडौं । आगजनीका कारण कुरूप देखिएका संरचनाको दशैंअघि नै रङरोगन हुने भएको छ । सहरी विकासमन्त्री कुलमान घिसिङले सोमबार मन्त्रालयको पदभारपछि सम्बोधन गर्दै तत्कालका लागि रङरोगन गरिने र त्यसपछि फर्निचरलगायत अत्यावश्यक सामान व्यवस्थापन गर्नुपर्ने बताएका हुन् । उनले पुनःनिर्माण कार्य अगाडि बढाउन विशेष कोष खडा गर्ने तथा त्यसमा स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई आग्रह गरिने बता‍ए । ‘गत साता जेनजी आन्दोलनका क्रममा आगजनी भएका संरचनाको पुनर्निर्माण गर्नुपर्ने र त्यसका लागि आर्थिक स्रोत व्यवस्थापन नै अहिलेको मुख्य चुनौती हो । हाम्रो संरचना हामी आफै बनाउन सक्छौं भन्ने सन्देश दिनका लागि पनि विभिन्न सहयोगीसँग आग्रह गर्नेछौं,’ उनले भने, ‘तत्काल पुन:निर्माणको काम अगाडि बढाउने गरी एक साताभित्र खाका तयार गरेर अगाडि बढ्नेछौं ।’ मन्त्री घिसिङले भ्रष्टाचार उन्मूलन र सुशासन कायम गर्ने तथा मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नु ठूलो चुनौती रहे पनि तिनको समाधान गर्न सबै लाग्नुपर्ने बताए। मन्त्रालयका सचिव गोपाल सिग्देलले पूर्वाधारमा भएको क्षति मूल्याङ्कन गर्ने, पुन: निर्माणका लागि स्थानीय र प्रदेश सरकारसँग समन्वय गरिने जानकारी दिए ।
चिरायु नेशनल हस्पिटलले गर्यो स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं । हालैको जेनजी आन्दोलनका क्रममा घाइते भई निजामती कर्मचारी अस्पतालमा उपचाररत बिरामीहरूको उपचारमा सहजता ल्याउन चिरायु नेशनल हस्पिटलले आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ। उक्त सामग्री चिरायु नेशनल हस्पिटलका अपरेसन डाइरेक्टर चण्डेश्वरा नन्दराज वैद्यले विशेष समारोहका बीच निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. मोहनचन्द्र रेग्मीलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा चिरायु नेशनल हस्पिटलतर्फबाट वसन्त खनाल र लोकनाथ रेग्मीको उपस्थितिसमेत रहेको थियो । सोही कार्यक्रममा निजामती कर्मचारी अस्पतालको तर्फबाट डा. दीपक पौडेलसमेत सहभागी भएका थिए । चिरायु नेशनल हस्पिटलले समाजप्रति आफ्नो उत्तरदायित्वबोधसहित विपद् वा आपतकालीन परिस्थितिमा समुदायलाई निरन्तर सहयोग गर्दै आएको छ । यसपटकको सामग्री हस्तान्तरणलाई पनि सोही निरन्तरताको रूपमा लिइएको छ ।
जनमतबाट हुने परीक्षण नै अबको विकल्प बन्नुपर्छ : एमाले उपाध्यक्ष पाण्डे
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले सडक छोडेर निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन् । उनले विकासन्यूजसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनका अनुसार जति छिटो निर्वाचनतर्फ लागियो त्यति छिटो देश राज्यविहीनताबाट बाहिर निस्कन्छ । उपाध्यक्ष पाण्डेले चुनावको पक्षमा उभिन ढिलो गर्न नहुनेमा जोड दिएका छन् । अब प्रतिनिधिसभा पुनःस्थापना सम्भव नभएकोले पाण्डेले सम्पूर्ण एमाले पङ्तिसहित देशलाई नै निर्वाचनतर्फ अग्रसर हुन आह्वान गरेका छन् । ‘अहिले हिजो राजा ज्ञानेन्द्र कालमा भएकोजस्तो जनअधिकार हनन नभएकोले प्रतिनिधि सभा पुनःस्थापनाको मागको औचित्य छैन,’ विकासन्युजसँग कुरा गर्दै पाण्डेले भने, ‘सडक संर्घषको धङ्गधङ्गिबाट छिटो निस्किएर निर्वाचनको तयारीमा लाग्नु नै अहिले देश र पार्टी दुवैका लागि हितकर छ ।’ सुशीला कार्कीको सरकारको गठन नै निर्वाचन प्रयोजनको सरकार भएकोले अबको छ महिनापछि देशले नयाँ जनमत प्राप्त गर्ने पाण्डेले बताए । एमालेको दवाव तोकिएको समयमा निष्पक्ष निर्वाचनको दिशामा अघि बढ्नुपर्ने उनको भनाइ छ । ‘यो सरकार अन्तरिम भएकाले उसको कर्तव्य चुनाव गराउने हो,’ पाण्डेले भने, ‘सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर, जनताको अभिमत प्राप्त गर्ने कुरामा प्रवेश गर्नुपर्छ ।’
शिवम् सिमेन्टले जिल्ला प्रशासन कार्यालयमा गर्यो सरसफाई
काठमाडौं । हालैको जेनजी आन्दोलन पश्चात काठमाडौंमा भएको आगजनी तथा तोडफोडका कारण उत्पन्न अव्यवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाई अभियान सञ्चालन गरेको छ । कम्पनीले सोमबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग समन्वय गर्दै कार्यालय परिसरमा सरसफाई गर्नुका साथै दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचरसमेत हस्तान्तरण गरेको जनाएको छ । शिवम् सिमेन्टका अनुसार वर्तमान विषम परिस्थितिमा सहयोग र श्रमदानमार्फत समुदायलाई साथ दिइरहेको छ र आगामी दिनमा समेत निरन्तर सरसफाई तथा श्रमदान कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । 'समुदाय र शहरको पुनर्निर्माणका लागि सहयोग गर्नु हाम्रो कर्तव्य हो । काठमाडौंलाई सफा, व्यवस्थित र सुरक्षित बनाउन निरन्तर योगदान गर्नेछौं,' कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
सरकार र निजी क्षेत्रको संयुक्त पहल, आपूर्ति सहज बनाउने तयारी तीव्र
काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वलाई लक्षित गर्दै मुलुकमा सहज आपूर्ति सुनिश्चित गर्न निजी क्षेत्रका छाता संगठनहरूसँग विशेष छलफल गरेको छ । सो छलफलमा मन्त्रालयका अधिकारीहरू, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई), नेपाल च्याम्बर अफ कमर्स (एनसीसी), महिला उद्यमी महासंघ नेपाल (एफडब्ल्यूईएएन) र नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई) का प्रतिनिधिहरू, कर पदाधिकारी एवं अन्य सरोकारवालाको सहभागिता रहेको थियो । बैठकले हालैको घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै आन्दोलनका क्रममा सरकारी र निजी संरचनामा भएको क्षतिको विवरण तयार गर्न, औद्योगिक वातावरण सुधार गर्न तथा लगानीकर्ताको मनोबल उकास्ने विषयमा गम्भीर छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार परिस्थिति क्रमशः सहज बन्दै गएको छ । अन्तर्राष्ट्रिय व्यापारका सीमा नाकामा भन्सार कार्यालय सञ्चालन भइसकेको र मालसामानको ढुवानी र वितरण सहज भइरहेको छ । चाडपर्वलाई लक्षित गर्दै साधन आपूर्ति तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत देशभर १५३ सहुलियत मूल्य पसल आजैदेखि सञ्चालनमा ल्याइएको छ । बजारमा दैनिक उपभोग्य सामग्री र पेट्रोलियम पदार्थको पर्याप्त आपूर्ति भएको मन्त्रालयको दाबी छ । मन्त्रालयले उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र व्यवसायीहरूलाई अत्यधिक वस्तु सञ्चयन नगर्न र आपूर्ति व्यवस्थामा अवरोध पुर्याउने काम नगर्न आग्रह गरेको छ । साथै बजार अनुगमनलाई कडा पार्दै उपभोक्ता अधिकार हनन हुने कुनै गतिविधि भएमा कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
क्षतिग्रस्त तारकेश्वर नगरपालिकाका कामकाज नियमित सञ्चालनमा
काठमाडौं । जेनजी युवाहरूको प्रदर्शनी र आगजानीका कारण क्षतिग्रस्त तारकेश्वर नगरपालिकाको कामकाज नियमित रूपमा सञ्चालनमा आएको छ । आन्दोलन र आगजानीका कारण तोडफोड भएको भौतिक संरचनालाई स्थानीयवासी र जनप्रतिनिधिले सफा गरेर आजदेखि कामकाज नियमित रूपमा सञ्चालन गरिएको नगरपालिकाका प्रवक्ता राधाकृष्ण खड्गीले जानकारी दिए । 'गत भदौ २३ गतेको ‘जेनजी’ युवाको प्रदर्शनका कारण २९ सम्म नगरपालिका र मातहतका वडाको काम स्थगित भएको थियो, परिस्थिति सामान्य बनेपछि आजदेखि नियमित रूपमा सरसफाइ गरेर काम सञ्चालनमा आएको हो,' उनले भने । आन्दोलनका क्रममा तारकेश्वर नगरपालिकाका पाँचवटा गाडी, एक डोजर र १२ मोटरसाइकलमा आगजनी भएको प्रवक्ता खड्गीले बताए । यसबाहेक राजस्व शाखा, कानुन शाखा र इन्जिनियरिङ शाखामा समेत क्षति पुगेको छ । जेनजी आन्दोलनका कारण तारकेश्वरका चारवटा वडा पूर्ण रुपमा ध्वस्त भएका छन् । नगरपालिकाका–१, ४, १० र ११ मा क्षति पुगेको छ । क्षतिग्रस्त वडामा पनि आजदेखि टेबुल र कुर्सी राखेर सेवा सञ्चालन गरिएको प्रवक्ता खड्गीले बताए ।
चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
काठमाडौं । सोमबारबाट काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले सपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । अघिल्ला वर्षहरुमा तामझामका साथ यस्ता पसलहरुको शुभारम्भ गरिने गरिएपनि यसपटक औपचारिक कार्यक्रम बिनै शुरु गरिएको हो । त्यस्ता पसलहरुमा नागरिकले ५–१० रुपैयाँ छुट पाउन सक्नेछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रादेशिक प्रमुख धर्मकुमारी राजवंशीले खाद्य व्यवस्था कार्यालयबाट चामल, मसलाजन्य सामाग्रीहरु, केराउ, दाल, तेलहरु विक्रिमा राखिएको बताइन् । उनकाअनुसार चामल, गहु दाल, केराउमा प्रतिकेजी ५ रुपैँया छुट दिइएको छ भने चिनीमा ५ रुपैयाँले छुट दिइएको छ । यस्तै, चिउरा, आटा, पिठो, मैदा, चियापत्ती जिरा, धनियाँ मसलाहरुमा प्रतिकेजी ७ रुपैयाँका दरले छुट दिइएको छ भने तेलमा प्रतिलिटर ७ रुपैयाँका दरले छुट दिएको छ । खाद्यले सिमि, फापर, मार्सि, बासमतिमा प्रतिकेजी १० रुपैयाँ छुट दिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रादेशिक प्रमुख राजवंशीले भनिन्–‘खाद्य व्यवस्था कार्यालयबाट विभिन्न ५१ आइटमहरु हामीले राखेका छौं । खाद्यवस्तुहरुमा चामल, मसलाजन्य सामाग्रीहरु पनि हामीले राखेका छौं । चामल गहुँ दाल, केराउमा प्रतिकेजी ५ रुपैँया छुट दिइएको छ । चिनीमा ५ रुपैयाँले छुट दिएका छौं । चिउरा, आटा, पिठो, मैदा, चियापत्ती जिरा, धनियाँ मसलाहरुमा प्रतिकेजी ७ रुपैयाँका दरले छुट दिएका छौं । तेलमा प्रतिलिटर ७ रुपैयाँका दरले छूट दिएका छौं । त्यसैगरी सिमि, फापर, मार्सि, बासमतिमा प्रतिकेजी १० रुपैयाँ छुट दिएका छौं ।’ उनले प्रतिकेजी १० रुपैयाँ छुट दिने निर्णय भएपनि यसपटक खसी बोका आउने/नआउने निश्चित नरहेको जानकारी दिइन् । आन्दोलनको प्रभावका कारण खसीबोका ल्याउन नसकिएको उनको भनाइ छ । यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले समेत सुपथ मूल्यका पसलहरु सञ्चालनमा ल्याएको छ । साल्टले सहुलियत दिएर आयो नुन २४ रुपैयाँमा विक्री गरेको छ भने २ केजीको चिनीलाई १९० रुपैयाँमा सहुलियतपसलहरुमार्फत विक्री गरेको छ । भान्साघर चामल, एसटीसी सोना मनसुली चामललगायतमा समेत छुट दिएको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ । साल्ट ट्रेडिङका अनुसार यस वर्ष देशभर तीन दर्जन स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । काठमाडौँ उपत्यकामा भने कालीमाटी, सतुङ्गल, जावलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुरको सल्लाघारी, कौशलटार, काँडाघारी, इमाडोल र महाराजगञ्जमा पसल खुलाइएका छन् । उपत्यकाबाहिर झापाको विर्तामोड, मोरङको विराटनगर, सप्तरीको राजविराज, सिरहाको लहान, धनुषाको जनकपुर र पर्साको वीरगञ्जमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ ।