बीमा दावी सहजीकरणका लागि नेको इन्स्योरेन्सले प्रदेशमा तोक्यो कर्मचारी
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले जेनजी आन्दोलनबाट भएको आगजनी र तोडफोडको क्षतिको छिटो र सहज तरिकाले दाबी होस् भनी कर्मचारी नियुक्त गरेको छ । कम्पनीले एक सूचना जारी गरेर आन्दोलनको क्रमममा आगजनी तथा तोडफोड भई व्यापार, व्यवसाय, सवारीसाधन, मानवीय क्षति तथा अन्य सम्पत्तिको नोक्सानी भएको बताउँदै दाबी सकजीकरणको लागि कर्मचारी तोकिएको जनाएको हो । कम्पनीका अनुसार बागमती प्रदेश र केन्द्रीय कार्यालयका लागि वीरन सिंह गडतौला, कोशी प्रदेशका लागि सरोज पोखरेल, मधेश प्रदेशका लागि सुरज कुमार भट्टराई, गण्डकी प्रदेशका लागि धिरज थापा, लुम्बिनी प्रदेशका लागि रमेश बहादुर थापा, सुदूरपश्चिम प्रदेशका लागि भरत बहादुर रावल र कर्णाली प्रदेशका लागि रमेशराज शर्मालाई नियुक्त गरिएको छ । ग्राहकहरूले दावीसम्बन्धी जानकारी र सहयोगका लागि इमेलमार्फत पनि सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ । जेनजी प्रदर्शनमा भएको क्षतिमा सुदूरपश्चिममा १६ करोडको बीमा दाबी
सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न, ५ महिनामै सवारीसाधन गुडाउन सकिने
तानसेन । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधीन सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सकिएको छ । सुरुङ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो । हालसम्म लाइनिङ र ढलानको काम सकिएको सद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख दूध अधिकारीले जानकारी दिए । उनका अनुसार एक हजार १२६ मिटर टनेलमध्ये सुरुङ एक हजार ८९ मिटर रहेको छ । सुरुङको भित्री पर्खालमा गरिने संरचनात्मक लाइनिङको काम सबै सकिएको उनले जानकारी दिए । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको हालसम्म ६१ दशमलव छ प्रतिशत भौतिक प्रगति भएको छ भने वित्तीय प्रगति ५१ दशमलव एक प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ । 'सुरुङभित्रको पर्खाललाई कङ्क्रिट, सटक्रिट, ब्लक वा अन्य सामग्रीले छोप्ने काम भएको छ । इन्भर्टको काम पनि एक हजार ८९ मिटर सकिएको छ । यससँगै उत्तर र दक्षिण पोर्टलको कामसमेत अघि बढाइएको छ । उत्तरतर्फ १९ मिटर र दक्षिणतर्फ १८ मिटर पोर्टलको काम गर्नुपर्ने छ', आयोजना प्रमुख अधिकारीले भने । उत्तर र दक्षिणतर्फ हेलिप्याड निर्माण भइरहेको जनाउँदै उनले पाँच–सात महिनामा मुख्य टनेलबाट सवारीसाधन गुडाउन सकिने बताए । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन खण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार १२६ मिटर सुरुङमार्गको विसं २०७९ देखि निर्माण सुरु भएको हो । यो आयोजनअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ । सुरूङमार्ग पाँच वर्षमा सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँको लागतमा सुरु गरेको थियो । सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्मको क्षेत्रमा अत्यधिक पहिरो झर्ने गर्दछ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो । रासस
नेपाल मेडिसिटीमा ५२ वर्षीय शान्तमान व्यञ्जनकारको सफल कलेजो प्रत्यारोपण
काठमाडौं । च्यासल ललितपुर निवासी ५२ वर्षीय शान्तमान व्यञ्जनकारको नेपाल मेडिसिटी अस्पतालमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ । उनलाई आफ्नै श्रीमती ५० वर्षीया नानु व्यञ्जनकारले कलेजो दान गरेकी हुन् । विगत ८ वर्ष देखि कलेजो समस्यासँग जुझिरहेका व्यञ्जनकारलाई गत भदौ ४ गते प्रत्यारोपण गरिएको थियो भने उनलाई भदौ २३ गते अस्पतालबाट डिस्चार्ज गरिएको हो । 'मेलै मदिरा सेवन गरेकै कारण मेरो कलेजो बिग्रिएको हो । बिरामी भएर पटक पटक बेहोस हुँदा विभिन्न अस्पतालमा जचाएँ, तर कलेजो पुरै विग्रिइसकेको कारण प्रत्यारोपण नै गर्नुपर्यो,’ व्यञ्जनकारले भने । व्यञ्जनकारले प्रत्यारोपणका लागि भारत जाने सोचेका थिए, तर नेपाल मेडिसिटीमा चिकित्सकलाई भटेर सल्लाह लिएपछि यहीँ प्रत्यारोपण गर्ने निधो गरे । 'भारतको डाक्टरसँग सल्लाह लिँदा नेपालमै उत्कृष्ठ प्रत्यारोपण गर्न सकिने थाहा पाएँ । भारतमा जाँदा ज्यादा खर्च लाग्ने, बस्न तथा यातायातको दुविधा, भाषामा आउने कठिनाई सम्झिएर पनि मेडिसिटीमै उपचार गर्ने निर्णय गरेको हो, ' व्यञ्जनकारले भने । यस प्रत्यारोपणमा ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख तथा वरिष्ठ कन्सल्ट्यान्ट प्रोफेसर डा. उमिद कुमार श्रेष्ठ, कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साह, डा. सञ्जय कुमार यादव, ट्रान्सप्लान्ट एनेस्थेसियोलोजिस्ट डा. अपूर्व शर्मा, डा. निराजन महासेठ, वरिष्ठ रेडियोलोजिस्ट प्रा.डा. राम कुमार घिमिरे सहितको टोलीले सघाएको हो । 'नेपाली नागरिकहरूले यस्तो जटिल उपचारका लागि विदेश जानुपर्ने आवश्यकता छैन । नेपालमै उच्चस्तरीय दक्ष चिकित्सक टोली र अत्याधुनिक प्रविधिसहित निरन्तर प्रत्यारोपण सेवा प्रदान गर्दै, यस सफल प्रत्यारोपणले हाम्रो स्वास्थ्य सेवामा नयाँ उपलब्धि जोडेको छ ,' कलेजो प्रत्यारोपण सर्जन, डा. रामबाबु साहले भने । नेपाल मेडिसिटीले गुणस्तरीय उपचार सेवाप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै, आगामी दिनमा पनि निरन्तर कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्नेछ ।
भिभोले दराजसँग दशैंको लागि गर्यो सहकार्य, स्मार्टफोनमा ७ हजारसम्म छुट
काठमाडौं । भिभोले दराजसँग सहकार्य गर्दै दशैं ९.९ क्याम्पेन सार्वजनिक गरेको छ । क्याम्पेन आश्विन २ देखि १८ गतेसम्म सञ्चालन हुनेछ । यस अन्तर्गत ग्राहकहरूले विशेष छुट, एक्सक्लुसिभ डिल्स र भर्खरै बजारमा आएको भिभोका स्मार्टफोनमा आकर्षक अफर पाउनेछन् । क्याम्पेनमा सहभागी हुने ग्राहकहरूले ७ हजारसम्मको डिस्काउन्ट भौचर प्राप्त गर्न सक्नेछन् । भर्खरै बजारमा ल्याइएका दुई नयाँ मोडल भिभो भी६० र वाई२१डि पनि दराजमार्फत आधिकारिक रूपमा उपलब्ध हुनेछन् । यी स्मार्टफोनहरूमा प्रिमियम डिजाइन, उन्नत फिचर र नयाँ पुस्तालाई लक्षित उत्कृष्ट प्रदर्शन रहेको कम्पनीले जनाएको छ । यस अवसरमा, भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले भने, 'दशैं क्याम्पेनका लागि दराजसँगको सहकार्यले ग्राहकहरूको चाडपर्वलाई अझ विशेष बनाउन योगदान पुर्याउनेछ । आकर्षक अफर, रोमाञ्चक पुरस्कार र हाम्रो फ्ल्यागशिप भी६० तथा युवालाई लक्षित वाई२१डिको उपलब्धतामार्फत हामीले यो दशैंलाई अझै स्मरणीय बनाउन चाहेका छौँ ।' भिभोले यो सहकार्यमार्फत नेपालमा आफ्नो डिजिटल उपस्थितिलाई थप मजबुत बनाउँदै सहज सेवा र आकर्षक अफरमार्फत ग्राहकसम्म पुग्ने लक्ष्य राखेको छ । कम्पनीले विजय दशमीलाई लक्षित गर्दै उपभोक्ताले नयाँ स्मार्टफोनमार्फत अत्याधुनिक प्रविधिसँग दशैंको खुसीयाली मनाउने अवसर पाउने विश्वास व्यक्त गरेको छ ।
जेनजी प्रदर्शनमा भएको क्षतिमा सुदूरपश्चिममा १६ करोडको बीमा दाबी
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएको क्षतिबाट सुदूरपश्चिम प्रदेशमा १६ करोड रुपैयाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश प्रमुख केदारनाथ भट्टका अनुसार क्षतिको विवरण अझै पूर्ण रूपमा आइनसकेको हुँदा यो रकम अझै बढ्न सक्ने छ । प्रमुख भट्टले भने, ‘बीमा कम्पनीहरूसँगको छलफलको क्रममा हालसम्म १५ देखि १६ करोडको दाबी परिसकेको भन्ने कुरा छ, अझै धेरै दाबी पर्न बाँकी भएको हुँदा यो रकम अझै बढ्ने अनुमान छ ।’ प्रमुख भट्टका अनुसार बीमा प्राधिकरणको केन्द्रीय कार्यालयबाटै बीमा कम्पनीहरूबाट परेको दाबी रकम संकलन भइरहेको छ । प्राधिकरणले यसअघि नै असहज परिस्थितिका सिर्जित सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिको बीमा दाबी विवरण साप्ताहिक रूपमा (प्रत्येक हप्ता बुधबार) एक्सेल सिटल ढाँचामा गुगल फर्ममार्फत पेस गर्नसमेत निर्देशन दिएका थियो । प्राधिकरणले बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै सोबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फर्छ्यौट गर्न निर्देशन दिइसकेको छ । त्यस्तै, प्राधिकरणले बीमा लेखमा उल्लेख भएको सर्तअनुसार कम्पनीले दाबी भुक्तानी नगरेमा आफूकहाँ उजुरी गर्नसमेत आग्रह गरेको छ ।
रेसिङ अटोमोबाइल्सको नयाँ ‘नो एक्सिडेन्टल रेकर्ड’ प्रमाणपत्र वितरण सुरू
काठमाडौं । रेसिङ अटोमोबाइल्सले नयाँ पहल सुरु गरेको छ । बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी रेसिङ अटोमोबाइल्सले नयाँ पहल सार्वजनिक गरेको हो । रेसिङ अटोमोबाइल्सले अबदेखि बिक्री गर्ने हरेक गाडीको 'नो एक्सिडेन्टल रेकर्ड सर्टिफिकेट' वितरण गर्ने घोषणा गरेको हो । यस प्रमाणपत्रमार्फत ग्राहकले खरिद गर्ने गाडी कुनै पनि दुर्घटनामा नपरेको थाहा पाउनेछन् । यदि भविष्यमा गाडी दुर्घटनामा परेको पुष्टि भयो भने कम्पनीले ग्राहकलाई गाडीको खरिद मूल्य फिर्ता गर्ने ग्यारेन्टी पनि दिने जनाएको छ । कम्पनीका अनुसार यो कदम पुराना सवारीसाधनमा सामान्यतया रहने 'गम्भीर दुर्घटना र गुणस्तर नहुने' धारणा हटाउन र पारदर्शिता सुनिश्चित गर्न लिइएको हो । यस अवसरमा कम्पनीले आफ्नो नयाँ प्रमोसनल जिङ्गल पनि सार्वजनिक गरेको छ । जुन रेडियो तथा सामाजिक सञ्जालमार्फत प्रसारण गरिनेछ । सरकारले शोकको दिन घोषणा गरेको भए पनि विश्वकर्मा पूजाको परम्पराअनुसार कार्यक्रम अघि बढाइएको कम्पनीले जनाएको छ ।
चीनमा उड्ने कार एक-आपसमा ठोक्किँदा एक पाइलट घाइते, एउटा कारमा लाग्यो आगो
काठमाडौं । उत्तरपूर्वी चीनमा हवाई प्रदर्शनको अभ्यासको क्रममा दुई उड्ने कार एक-आपसमा ठोक्किँदा एक पाइलट घाइते भएका छन् र एक कार जमीनमा खसेर आगो लागेको छ । अनलाइनमा भाइरल भिडियोहरू र चिनियाँ सरकारी मिडियामा देखाइएका दृश्यमा एउटा कारबाट बाक्लो धुवाँ उठिरहेको देखिन्छ, जबकि दमकल र एम्बुलेन्स घटनास्थलमा दौडिरहेका छन् । यो दुर्घटना मंगलबार अपराह्न चाङचुन, जिलिन प्रान्तमा भएको हो, जहाँ सहरले शुक्रबारबाट सुरु हुन लागेको पाँच दिने हवाई प्रदर्शनको तयारी गरिरहेको थियो । उड्ने कारहरू वा इलेक्ट्रिक भर्टिकल टेक–अफ र ल्यान्डिङ (ईभीटीओएल) सवारीसाधनहरू, चिनियाँ इलेक्ट्रिक वाहन कम्पनी एक्सपेङको सहायक कम्पनी एक्सपेङ एरोहटद्वारा विकास गरिएका हुन् । सीएनएनलाई कम्पनीले दिएको बयानमा भनिएको छ– ‘अपर्याप्त दूरी’का कारण कारहरू ठोक्किँदा एउटा सवारीसाधनको फ्युजलेज क्षतिग्रस्त भयो र अवतरणको समयमा आगो लाग्यो ।’ ‘घटनास्थलमा रहेका सबै कर्मचारी सुरक्षित छन् र स्थानीय अधिकारीहरूले व्यवस्थित रूपमा आपतकालीन उपायहरू पूरा गरेका छन्,’ बयानमा भनिएको छ । साथै अनुसन्धान जारी रहेको जानकारी दिइएको छ । कम्पनीको एक कर्मचारी, जसले नाम नखुलाउने शर्तमा सीएनएनलाई भने कि दुई सवारीसाधनहरू नजिकैको फर्मेसनमा निकै स्टन्ट प्रदर्शन गर्दै थिए । यसैबीच, देशभरका सहरहरूले पार्सल, खाना र मेडिकल आपूर्ति वितरणको लागि बिना चालक ड्रोन परीक्षण गरिरहेका छन् । कम्युनिष्ट पार्टीको मिडिया पिपल्स डेलीका अनुसार २०२३ सम्म चीनमा २ हजारभन्दा बढी ड्रोन निर्माताहरू र २० हजारभन्दा बढी कम्पनीहरूले बिना चालक हवाई सवारीसाधन सञ्चालन गरिरहेका थिए ।
एलन मस्कको नेटवर्थ ४३७ अर्ब डलर पुग्यो, २०२७ सम्म पहिलो ट्रिलिनेयर बन्न सक्लान् त ?
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क यस वर्ष पहिलो पटक नाफामा पुगेका छन् । मंगलबार मात्र उनको कुल सम्पत्तिमा ८.१२ अर्ब डलरको वृद्धि भयो । यससँगै उनको नेटवर्थ ४३७ अर्ब डलर पुगेको छ । यस वर्ष मात्र उनको नेटवर्थमा ४.५७ अर्ब डलरले वृद्धि भएको छ । टेस्लाले मस्कका लागि १ ट्रिलियन डलरको पे प्याकेज प्रस्ताव गरेको छ । अनुमान गरिन्छ कि मस्क सन् २०२७ सम्म विश्वका पहिलो ट्रिलिनेयर बन्न सक्नेछन् । मस्क टेस्ला र स्पेसएक्सलगायतका धेरै कम्पनीहरू सञ्चालन गर्दै आएका छन् । विश्वका धनीहरूको सूचीमा लेरी एलिसन ३६५ अर्ब डलरसहित दोस्रो स्थानमा छन् । यस वर्ष उनको कुल सम्पत्तिमा सबैभन्दा धेरै १७३ अर्ब डलरको वृद्धि भएको छ । फेसबुकको माउ कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जकरबर्ग २७३ अर्ब डलरसहित तेस्रो स्थानमा छन् । यस वर्ष उनको कुल सम्पत्तिमा ६६ अर्ब डलरको वृद्धि भएको छ । जेफ बेजोस (२५५ अर्ब डलर) चौथो, लेरी पेज (२१९ अर्ब डलर) पाँचौं, सर्गेइ ब्रिन (२०५ अर्ब डलर) छैटौं, स्टीभ बाल्मर (१७५ अर्ब डलर) सातौं, बर्नार्ड अर्नल्ट (१७० अर्ब डलर) आठौं, जेनसन हुआङ (१५२ अर्ब डलर) नवौं र माइकल डेल (१५० अर्ब डलर) दशौं स्थानमा छन् । के भन्छन् विशेषज्ञ ? एलन मस्क यस वर्ष पहिलोपटक नाफामा देखिएका हुन् । उनका समर्थकहरूले उनलाई संसारको पहिलो ट्रिलिनेयर (नेटवर्थ १ ट्रिलियन डलर) बन्न सक्ने आशा राखिरहेका छन् । तर विशेषज्ञहरूका अनुसार यस विषयमा विशेष सावधानी अपनाउनु पर्छ । मस्कको नेटवर्थ मुख्य रूपमा टेस्ला र स्पेसएक्सका सेयरमा आधारित छ । टेस्लाको सेयर मूल्यमा ठूलो वृद्धि भएमा मात्र उनको नेटवर्थ ट्रिलिनेयर स्तरमा पुग्न सक्नेछ । त्यस्तै, निजी कम्पनी स्पेसएक्सको मूल्यांकन पनि यसमा ठूलो भूमिका खेल्छ । अर्थशास्त्रीहरूले भनेका छन् कि अमेरिकी बजारको अवस्था, मुद्रास्फीति, र आर्थिक वातावरणले पनि यसमा निर्णायक भूमिका खेल्छ । साथै मस्कका व्यक्तिगत निर्णय जस्तै सेयर बिक्री वा नयाँ लगानीले पनि उनको नेटवर्थमा प्रभाव पार्नेछ । हालको आँकडाअनुसार मस्कको नेटवर्थ ४३७ अर्ब डलर रहेको छ । विश्लेषकहरूका अनुसार ट्रिलिनेयर बन्नका लागि अझ ठूलो वृद्धि आवश्यक छ । इतिहासकै ठूलो तलब डिल : मस्कलाई टेस्लाको १ ट्रिलियन डलर प्रोत्साहन प्याकेज दुर्लभ खनिजमा चिनियाँ नियन्त्रणले युरोपेली कम्पनीलाई ‘लाखौं युरो’ घाटा, विश्व उद्योगमा असर