विकासन्युज

निर्दोष युवाको विरोध देखाएर जन निर्वाचित संसद विघटन गर्नु गैर संवैधानिक

काठमाडौं । सभामुख देवराज घिमिरेले आजको नेपाली जनताले संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न सके मात्रै संविधानको रक्षा र विधिको शासनको प्रवर्द्धन हुने विश्वास व्यक्त गरेका छन् ।  संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजु भाइहरूमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले संविधान घोषणाको एक दशक पुग्न १० दिन बाँकी रहँदा नै गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताले गरेको आन्दोलनले मुलतः समाज र राष्ट्रलाई नयाँ सोचका साथै पारदर्शिता र सुशासन दिनुपर्ने महत्त्वपूर्ण चेतना दिएको उल्लेख गरेका छन् ।  उनले भ्रष्टाचार र कुशासन अन्त्यको माग अघि सारेका निर्दोष युवाहरूको विरोधलाई देखाएर देशमा असामान्य स्थितिको सृजना गरिएको र जन निर्वाचित सर्वोच्च विधायिकी संस्थालाई विघटन गर्ने गैर संवैधानिक कार्य भएको उल्लेख गरे ।  सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मार्ग चित्रलाई कार्यान्वयन गर्दै सङ्घ, प्रदेश र स्थानीय तहमा निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरूको सहभागितामा सरकार सञ्चालनको नयाँ प्रणाली अगाडि बढेको र अधिकार प्रत्यायोजन सहित स्थानीय तहलाई सबल बनाउँदै सेवा प्रवाह नागरिकको ढोका ढोकामा पुग्ने वातावरण बनेको उनको भनाइ छ । सभामुख घिमिरेले विगतमा पनि नेपाली जनताबाट खोसिएको अधिकार संसदमार्फत नै पुनर्स्थापित गरेको तर्फ स्मरण गराउँदै लोकतान्त्रिक शासन प्रणालीको विकल्प अझ उन्नत लोकतन्त्रमात्र हुने तर्फ ध्यानाकर्षण पनि गराए ।  विसं २०७२ असोज ३ गते नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको फलस्वरुप जारी भएको संविधान नेपालको मौलिक यथार्थ र लोकतान्त्रिक प्रणालीमा आधारित महत्त्वपूर्ण संवैधानिक दस्तावेज हो । यस संविधानले सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्दै विविधतामा एकता, समान अधिकार र साझा गौरवको मार्ग प्रशस्त गरेको छ ।

समुन्नत राष्ट्रको अग्रस्थानमा छिट्टै पुग्छौं : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनका अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधता युक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना आज सन्देश दिँदै उनले सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा दिनेछ भनी शुभकामना व्यक्त गरे । राष्ट्रपति पौडेलले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समता मूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको बताए । उनले संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ-आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आह्वान गरे । राष्ट्रपति पौडेलले मुलुकको संस्कृति र प्रकृतिले देशमा रोजगारी र आम्दानी दिने असीमित सम्भावनाको ढोका खोलेको छ भन्दै सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र ऊर्जा शक्तिको उचित व्यवस्थापन गर्न सकेमात्र पनि नेपाल समुन्नत राष्ट्रको अग्रस्थानमा छिट्टै नै पुग्न सक्ने विश्वास व्यक्त गरे ।  हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संरचनाको बहु जाति, बहुभाषी एवं बहु संस्कृतिलाई संविधानले समान संरक्षण प्रदान गरेको छ । यस्तो अवस्थामा नेपालीहरूबीच रहेको आपसी सद्भाव, भ्रातृत्व र सह अस्तित्वमा आँच आउने काम कोही कसैबाट नहुने उनको अपेक्षा छ । विसं २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानमा आज संविधान दिवस (राष्ट्रिय दिवस) मनाइँदैछ । दिवसका अवसरमा राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजु भाइहरूमा शुभकामना व्यक्त गरे ।  उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ विभिन्न आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन आहुति दिने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे  साथै उनले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेताहरूप्रति सम्मान एवं श्रद्धा प्रकट गर्दै लोकतान्त्रिक आन्दोलनमा सहभागी आमनागरिक एवं राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गरेका छन् । 

आज संविधान दिवस मनाइँदै, प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आथित्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने छिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् । नेपाली जनताको लामो बलिदानी पूर्ण र लामो सङ्घर्षको उपलब्धि स्वरूप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वर स्थित तत्कालीन संविधानसभा बैठक स्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामचरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए । 

बजार झरे लेकाली भेडा च्याङ्ग्रा, प्रतिकिलो १ हजार ३०० रुपैयाँ

काठमाडौं । दसैँ नजिकिदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडा च्याङ्ग्रा बजार झर्न थालेका छन् । किसान तथा व्यापारीहरू भेडा च्याङ्ग्राको बथान लिएर देशका विभिन्न बजारमा आइपुगेका हुन् । हिमाली भेडा च्याङ्ग्रा बजार झरेपछि दसैँ पर्व आगमनको झल्को दिन्छ । मुस्ताङबाट बेनी-जोमसोम सडक भएर म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइएका भेडा च्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौंलगायत ठूला सहरमा ढुवानी गर्न थालिएको छ । नेपाल चौपाया खरिद बिक्री सङ्घका संस्थापक अध्यक्ष ज्ञान कुमार श्रेष्ठले बिहीबारसम्म १ हजार ३०० भेडा च्याङ्ग्रा काठमाडौं पठाइएको र थप १ हजार ७०० पठाउने क्रममा रहेको जानकारी दिए ।  ‘दसैँका लागि काठमाडौं, पोखरा, चितवन र बुटवलका बजारमा आउने भेडा च्याङ्ग्राको मुख्य स्रोत मुस्ताङ, जुम्ला र डोल्पा हो,’ २० वर्षदेखि भेडा च्याङ्ग्राको व्यापार गर्दै आएका श्रेष्ठले भने, ‘तातोपानी र रसुवा नाका बन्द भएकाले ठूला सहरमा यसपालि मुस्ताङी भेडा च्याङ्ग्रामात्र झरेका छन् ।’ मुस्ताङको लोमान्थाङ गाउँपालिका-३ नामग्यालबाट ४६५ वटा भेडा च्याङ्ग्रा पैदल हिँडाएर ल्याएको श्रेष्ठको टोली बिहीबार म्याग्दीको बैसरी आइपुगेका छ । डोल्पाको काइके गाउँपालिका-२ सहर ताराका सञ्जय बुढाले २५ दिनको पैदल यात्रा गरेर १६० वटा च्याङ्ग्रा बेच्न पोखरा हिँडेको बताए ।  ‘समुद्री सतहदेखि ४ हजार मिटरभन्दा माथि उचाइमा किसानले पालेका च्याङ्ग्रा ल्याएर बेच्न आएको हो । भिर, खोल्सा, साँघुरो बाटोमा च्याङ्‍ग्रालाई हिँडाएर बजार पुर्याएर बिक्री गर्नु हाम्रो परम्परादेखिकै पेसा हो,’ उनले भने । डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट भेडा च्याङ्ग्रा बेच्न र देशका विभिन्न शहरबाट आएका व्यापारीको जोमसोममा चहलपहल छ । मुस्ताङमा आकारअनुसार प्रतिगोटा ३२ देखि ३७ हजार रुपैयाँमा च्याङ्ग्रा बिक्री भइरहेको छ । काठमाडौं पुग्दा गत वर्षको दरमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो १ हजार ३०० रुपैयाँका दरले बिक्री गरिने व्यवसायी श्रेष्ठले बताए । मुस्ताङस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले यस वर्ष दसैँमा डोल्पा र जुम्लाका ३ हजार तथा मुस्ताङका किसानले पालेका १२ हजार भेडा च्याङ्ग्रा बिक्री हुने अनुमान गरेको छ । जोमसोममा भेडा च्याङ्‍ग्राको स्वास्थ्य परीक्षण गरेर बजार पठाउने व्यवस्था मिलाएको केन्द्रका प्रमुख पशु चिकित्सक लालमणि अर्यालले बताए । चाडपर्वका अवसरमा जडीबुटी युक्त बुकीमा चरेका हिमाली च्याङ्‍ग्राको मासु उपभोग गर्ने चलन छ । पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि अपभोगी मानिन्छ । मुस्ताङको नामग्यालका किसान तेन्जिङ गुरुङले च्याङ्ग्रा पालनबाट जीविकोपार्जन गरेको बताए । यसपालि ५० वटा च्याङ्ग्रा बिक्री गरेको उनको भनाइ छ । मुस्ताङी भेडा च्याङ्ग्राको ठूलो बजार पोखरा हो । म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, लमजुङका बजारमा पनि भेडा च्याङ्‍ग्राको खपत बढी हुने गरेको छ । मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदर कुुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङ्ग्रा पालिएका छन् । उपल्लो मुस्ताङका किसानको मुख्य आयस्रोत च्याङ्ग्रा पालन हो । च्याङ्‍ग्राको शरीरबाट निस्कने भुवा पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ । हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट बचाउनु च्याङ्ग्रा पालक किसानको प्रमुख चुनौती हो । त्यसैगरी पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रिएकाले भेडा च्याङ्‍ग्राको लागि आहारको अभाव हुन थालेको छ । हिउँदमा आवश्यकताभन्दा बढी हिउँ पर्दा भेडा बाख्रा आहारको अभावमा मर्ने समस्या पनि छ । रासस

यी ४ प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । विभागका अनुसार आज मुलुकभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

दशैं-तिहारमा टाटा जेन्युइन पार्ट्स किनेर जित्नुहोस् बाइकदेखि स्मार्टफोनसम्म

काठमाडौं । मोटर्सका टाटा जेन्युइन पाट्र्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पाट्र्सका आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले दशैं–तिहार तथा छठ पर्व लक्षित विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले स्थगित गरिएको योजनालाई पुनः सुरु गर्दै ‘पर्वको बेला टाटा जेन्युइन पाट्र्सको मेला’ नामक आकर्षक अभियान ल्याएको हो ।  यस योजनाअन्तर्गत ग्राहकहरूले टाटा जेन्युइन पाट्र्सको हरेक खरिदमा ग्यारेन्टीसहित एक हजारसम्मका क्यासब्याक कुपन प्राप्त गर्न सक्नेछन् । साथै लक्की ड्रमार्फत बम्पर उपहारसहित विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पनि पाउनेछन् । अफरहरू : एक लाखभन्दा बढीको खरिदमा १५० सीसीको बजाज पल्सर (बम्पर उपहार) ७५ हजारभन्दा बढीको खरिदमा – १२५ सीसीको टीभीएस स्कुटर २५ हजारभन्दा बढीको खरिदमा – स्मार्ट टिभी ५ हजारभन्दा बढीको खरिदमा – स्मार्टफोन कम्पनीका अनुसार टाटा जेन्युइन पार्ट्सले गाडीका इन्जिन, ब्रेकलगायतलाई दिगो संरक्षण दिनुका साथै मर्मत खर्चमा बचत गर्ने र गाडीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउँछ र 

ऊर्जामन्त्री घिसिङको आग्रह- बिजुली उत्पादन रोक्न हुँदैन, १० वर्षपछि समस्या आउँछ, बढाइहालौं

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बजार अभाव देखाएर विद्युत उत्पादनलाई रोक्न नहुने बताएका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नवनियुक्त ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्ना मागहरू पेश गरेपछि उनले देशको लागि अझै धेरै बिजुली आवश्यक रहेको बताएकोले उत्पादन रोक्न नहुने बताएका हुन् । ‘देशका लागि अझै धेरै बिजुली चाहिएको छ, २०/३० हजार मेगावाट बिजुली चाहिन्छ, निजी क्षेत्रले लगानी गर्यो भने सरकारले लगानी नै गर्नुपरेन,’ घिसिङले भने ‘बिजुलीको बजार छैन भन्ने होइन, बजार सिर्जना गर्ने हो । अहिले उत्पादन रोक्न तिर लाग्यौ भने १० वर्षपछि ठूलो समस्या झेल्नुपर्छ ।’ इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले बिजुलीको बजार नभएको भन्दै लामो समयदेखि विद्युत खरिद सम्झौता (पीपीए) नै रोकिराखेको बताउँदै निजी क्षेत्रका लगानीकर्ताको मनोबल उच्च बनाउने गरी लगानी गर्ने वातावरण बनाउन मन्त्री घिसिङलाई आग्रह गरेका थिए ।  यसबारे प्रतिक्रिया दिँदै मन्त्री घिसिङले निजी क्षेत्रलाई अझ बढी लगानीका लागि प्रोत्साहन गरिने बताए । ‘नियमावली निर्देशिका परिवर्तन भए हामी मन्त्रिपरिषदबाटै गर्छौं, ऐन नै परिवर्तन गर्नुपरेपनि अध्यादेशबाट गर्छौं।’ उनले ऊर्जा लगायतका पूर्वाधार क्षेत्रको विकासका लागि वन क्षेत्रको समस्या समाधान नगरेमा असम्भव देखिएको बताउँदै यसका लागि प्रधानमन्त्रीसँग सल्लाह गरेर नियमावली, निर्देशिकादेखि ऐन संशोधनसम्मको काम अघि बढाउने बताए ।  मन्त्री घिसिङले ऊर्जा, पूर्वाधार लगायतका क्षेत्रमा वनसँग ठोक्किने ठोस समस्या र समाधानका उपायसहित अघि बढ्न पनि इप्पानलाई आग्रह गरे ।  भेटमा मन्त्री घिसिङले आफू केही न केही परिवर्तन गर्ने हुटहुटीसहित मन्त्रि नियुक्त भएको भन्दै निर्णय गर्ने ठाउँमा आइसकेपछि यो वा त्यो भनेर समस्याबाट नभाग्ने स्पष्ट पारे । उनले पीपीए, आरसीओडी म्याद थप, कन्टीजेन्सी लगायतबारे आफूहर" जानकार रहेको बताउँदै समस्या समाधानका लागि पहल गर्ने बताए ।  भेटघाट कार्यक्रममा इप्पान अध्यक्ष कार्कीले ऊर्जा क्षेत्रको विकासका लागि मन्त्रालय, विद्युत विकास विभाग र नेपाल विद्युत प्राधिकरणले गर्नुपर्ने कामहरूबारे बुँदागत रूपमा बताएका थिए ।  जसमा ऊर्जा मन्त्रालयले गर्ने कामहरुमा वन मन्त्रालयसँग सम्बन्धित इआईएरआइईईमा सहजीकरण गर्नुपर्ने, विद्युत खपत वृद्धिको योजना ल्याउनुपर्ने, प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने, विद्युत नियमन आयोगले स्वीकृत दिइसकेपछि पनि लामो समयदेखि धितोपत्र बोर्डमा रोकिएका जलविद्युत कम्पनीको सेयर यथाशीघ्र निष्काशनको लागि पहल गर्नुपर्ने र विद्युत व्यापारमा निजी क्षेत्रलाई बाटो खुलाउनुपर्ने लगायतका मागहरू रहेका थिए । त्यस्तै, विद्युत विकास विभागले गर्नुपर्ने कामहरूमा विद्युत ऐन २०४९ अनुसार नै अनुमतिपत्रको अवधि ५० वर्ष पुर्‍याउनुपर्ने, उत्पादन अनुमतिपत्रको समय आरसीओडीसँग मेल खाने गरी अनुमति दिने व्यवस्था गर्नुपर्ने र जथाभावी दण्ड जरिवानालाई निरुत्साहित गरी अनुमतिपत्र सम्बन्धी निर्देशिका संसोधन गर्नुपर्नेलगायतका मागहरू थिए । निजी क्षेत्रले धेरै ठोक्किनुपर्ने विद्युत प्राधिकरणले गर्नुपर्ने कामहरुमा अहिलेसम्म कनेक्सन एग्रिमेण्ट र पीपीएका लागि आवेदन दिएका आयोजनाहरूको पीपीए अघि बढाउनुपर्ने, आरसीओडी म्याद ३ बर्ष थप गर्नुपर्ने, १० मेगावाटसम्मका आयोजनाको पीपीए तुरुन्तै अघि बढाउनुपर्ने,  कन्टिन्जेन्सी व्यवस्था खारेज गर्नुपर्ने, हाइड्रोलोजी पेनाल्टी खारेज गर्नुपर्ने, इनर्जी टेबल परिमार्जन गर्ने व्यवस्था गर्नुपर्ने र निर्माणमा रहेका आयोजनाको क्षमता २५ प्रतिशतसम्म वृद्धि हुँदा बढी क्षमतामा क्यूमा नबसी स्वत: पीपीए हुने व्यवस्थालाई निरन्तरता दिनुपर्ने लगायतका मागहरु समावेश गरिएको थियो ।  

जेनजी आन्दोलन : हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दाबी भुक्तानी प्रक्रिया

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दावी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ ।  जेनजी आन्दोलनका क्रममा भएका क्षतिको दावी गरेका बीमितिहरुलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो । विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका लागि शीघ्र भुक्तानी प्रक्रिया थालेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले जनाएको छ । बीमा दाबीका लागि आवश्यक कागजात र प्रक्रिया पुर्‍याई आफूलाई पायक पर्ने शाखामा सम्पर्क गर्न हिमालायन एभरेष्ट इन्स्योरेन्सले अनुरोधसमेत गरेको छ । दाबी विभागका प्रमुख रोजराज लुइँटेलले बीमासम्बन्धी आवश्यक सेवा र दाबी प्रक्रियामा सहजताका लागि ग्राहकको समन्वयमा रहि पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । दाबी प्रक्रियाको सहजताका लागि केन्द्रीय र प्रादेशिक कार्यालयमा समेत सम्पर्क गर्न सकिनेछ ।  आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।