सानिमा बैंकका सेयरधनीलाई तिहार अघि नै लाभांश, २ अर्बको अग्राधिकार सेयर बिक्री गर्ने
काठमाडौं । सानिमा बैंकले तिहार अघि नै सेयरधनीहरूलाई प्रतिफल वितरण गर्ने भएको छ । बैंकले तिहार अघि नै सेयरधनीहरूलाई लाभांश वितरण गर्ने गरी साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज १० गते बसेको बैठकले कात्तिक २ गते बिहान १० बजे काठमाडौंमा २१औँ वार्षिक साधारण सभा डाकेको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँको करसहित ७.३६ प्रतिशतका दरले १ अर्ब ७ लाख ५४ हजार ७ सय रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, संचालक समितिले प्रस्ताव गरे बमोजिम नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही तोकिएको अन्य व्यवस्था तथा शर्तहरू सहित १ सय रुपैयाँ अंकित मूल्य दरले २ अर्ब रुपैयाँको ‘८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार सेयर’ सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात् जारी गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । बैंकको अधिकृत पुँजी २० अर्ब रुपैयाँलाई वृद्धि गरी २२ अर्ब रुपैयाँ पुर्याउने, अग्राधिकार सेयर जारी गरे पश्चात् सोहि हदसम्म बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, बैंकको सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, सहायक कम्पनी सानिमा क्यापिटल र सानिमा सेक्युरिटिजको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । साथै, संस्थापक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना संचालकहरूको निर्वाचन गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले असोज २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
सोकोन नेपालको दशैं अफर : ईभी भ्यान खरिदमा उपहार र इन्स्योरेन्स सुविधा
काठमाडौं । दशैंलाई विशेष बनाउन सोकोन नेपालले ग्राहकका लागि ईभी भ्यान खरिदमा अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत नयाँ ईभी भ्यान खरिद गर्ने ग्राहकले यामाहा बाइक, टेलिभिजन र वासिङ मेसिन जस्ता उपहार पाउने छन् । साथै, ईभी भ्यान बुकिङ गर्ने ग्राहकलाई सामसुङ ग्यालेक्सी स्मार्टफोन स्योरशट उपहारका रूपमा उपलब्ध गराइनेछ । सोकोन नेपालले ग्राहकलाई सजिलो बनाउन १ वर्षको फुल इन्स्योरेन्स (अटो प्लस) र क्यासलेस इन्स्योरेन्स निःशुल्क उपलब्ध गराउने जनाएको छ। यससँगै, यो आर्थिक वर्षको सम्पूर्ण रोड ट्याक्स पनि कम्पनीले नै व्यहोर्नेछ । फाइनान्स सुविधा, उपहार र इन्स्योरेन्सको सहज व्यवस्थासहित ल्याइएको यो विशेष दशैं अफरले ग्राहकलाई थप निश्चिन्ततासँग नयाँ ईभी भ्यान खरिद गर्ने अवसर दिने सोकोन नेपालको दाबी छ । यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुने भएकाले इच्छुक ग्राहकलाई नजिकैको सोकोन शो–रुममा पुगेर बुकिङ गर्न आग्रह गरिएको छ । थप जानकारीका लागि ९८०२३७५४२१ वा ९८०२३४०६७१ मा सम्पर्क गर्न सकिनेछ ।
नेपाल बैंकका कर्मचारी र ग्राहकलाई हुन्डाई गाडी किन्दा छुट हुने
काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई हुन्डाई ब्रान्डका गाडी खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र हुन्डाई गाडीका अधिकृत वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिबीच बिहीबार भएको सम्झौताअनुसार कर्मचारी तथा ग्राहकहरूले कम्पनीबाट उपलब्ध नियमित छुटबाहेक थप ५० हजारदेखि ८१ हजार रुपैयाँसम्मको छुट पाउने भएका छन् । सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रबन्धक दिपक थपलियाले हस्ताक्षर गरेका छन् ।
मनसुनी वायूको प्रभाव कमजोर, यी ३ प्रदेशमा मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँसो मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने र कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
दसैँ, तिहार र छठमा दैनिक ४० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेटमा रकम जम्मा गर्न सीमा बढाएको छ । भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा (संख्या)लाई अस्थायी रुपमा वृद्धि गरिएको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कामु कार्यकारी निर्देशक शुभाषचन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेको छ । तर, चाडपर्वका अवसरमा एक दिनमा ४० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरेको उनले बताए । ‘बडा दसैँको अवसरमा असोज १३ गतेदेखि असोज २१ गतेसम्म, शुभ दिपावली तथा छठ पर्वको अवसरमा कात्तिक ३ गतेदेखि कात्तिक १० गतेसम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ४० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ,’ भुक्तानी प्रणाली विभागले जारी गरेको सूचनामा उल्लेख छ । उक्त समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई जानकारी गराउन परिपत्र जारी गरिएको छ ।
सुदूरपश्चिम सरकारले रोक्यो १० लाख कमका आयोजना, बैठक र भ्रमण भत्तामा ५० प्रतिशत कटौती
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले १० लाख रुपैयाँ भन्दा कम रकम विनियोजन भएका आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कमल बहादुर शाहको निवास धनगढीमा आज बसेको मन्त्रिपरिषद् बैठकले १० लाख रुपैयाँभन्दा कमका आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेको हो । साथै प्रदेश सरकारमातहतका निकायबाट सञ्चालन हुने कुनै पनि आयोजना उपभोक्ता समितिमार्फत कार्यान्वयन नगराउने, एउटै क्रियाकलाप नम्बरमा समावेश भएका दुई वा दुईभन्दा बढी खानेपानी तथा सिँचाइ बाहेकका अन्य आयोजना तथा कार्यक्रम कार्यान्वयन नगर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । हाल विनियोजित रकममा छपाइ तथा प्रकाशनतर्फ ७० प्रतिशत र बैठक भत्ता, भ्रमण भत्ता, अनुगमन तथा मूल्याङ्कन खर्च, तालिम, गोष्ठीतर्फ विनियोजित बजेटको ५० प्रतिशत कटौती गर्ने, अनुभव आदानप्रदान तथा अन्तर प्रदेश भ्रमण, दिवस, समारोह, उत्सव मनाउने लगायत कार्यक्रम पनि कार्यान्वयन नगर्ने निर्णय गरेको छ । यसैबीच मुख्यमन्त्री शाहको उपस्थितिमा आजै बसेको प्रदेश सुरक्षा समितिको बैठकमा नेपाल प्रहरीले लागू गरेको चाडपर्व लक्षित सुरक्षा योजनाका बारेमा छलफल भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्कीको अध्यक्षतामा बसेको बैठकमा मुख्यमन्त्री शाहले चाडपर्वको समयमा अवाञ्छित एवं आपराधिक क्रियाकलाप बढ्न सक्ने तर्फ ध्यान दिई शान्ति सुरक्षालाई चुस्तदुरुस्त पार्नका लागि पहल गर्न सरोकार भएका सबैलाई निर्देशन दिए । गत भदौ २३ र २४ गते भएको घटनापछि उत्पन्न परिस्थितिलाई समान्यीकरण गर्न, नागरिकलाई शान्ति सुरक्षाको अनुभूति दिन नेपाल प्रहरी र मातहतका निकाय, कार्यालय र अन्य सरकारी कार्यालय, नागरिक समाज, पेसागत समूहसँग नागरिक संवाद कार्यक्रम र सद्भाव प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न, चाडपर्वमा हुनसक्ने कालोबजारीका साथै भारतसँग जोडिएका प्रदेशका सीमा नाकामा हुन सक्ने लुटपाटका घटना रोकथाम गर्न, नागरिकको आवागमनमा हुनसक्ने समस्यालाई समाधानका लागि पहल गर्न पनि मुख्यमन्त्री शाहले निर्देशन दिए ।
सिङ्गापुरको औद्योगिक उत्पादनमा ७.८ प्रतिशतको गिरावट
काठमाडौं । सिंगापुरको औद्योगिक उत्पादनमा ७.८ प्रतिशतको गिरावट आएको छ । सिङ्गापुरको आर्थिक विकास बोर्डले शुक्रबार यस वर्षको अगस्ट महिनामा सिङ्गापुरको निर्माण उत्पादन गत वर्षको सोही अवधिको तुलनामा ७.८ प्रतिशतले कमी आएको जनाएको छ । मासिक आधारमा, मौसमी समायोजनपछि उत्पादनमा ९.७ प्रतिशतको गिरावट देखिएको छ। अगस्ट महिनामा ट्रान्सपोर्ट इन्जिनियरिङ र रसायन क्षेत्र बाहेक अन्य सबै निर्माण समूहमा वर्षेनी कमी देखिएको छ। विशेष गरी जैविक चिकित्सा निर्माण क्षेत्रमा ३७.३ प्रतिशतले उल्लेखनीय कमी आएको छ। यस समूह भित्र मेडिकल प्रविधि क्षेत्रमा निर्यातको स्थिर मागका कारण ५.३ प्रतिशत वृद्धि भए पनि, औषधि निर्माण क्षेत्रमा उत्पादन ५९.३ प्रतिशतले घटेको छ, जसको प्रमुख कारण उत्पादन हुने सामग्रीहरूको मिश्रणमा आएको परिवर्तन रहेको बताइएको छ । त्यसैगरी, ट्रान्सपोर्ट इन्जिनियरिङ क्षेत्रमा उत्पादनमा १८.९ प्रतिशत वृद्धि देखिएको छ भने रसायन क्षेत्रले पनि ३.५ प्रतिशत सुधार गरेको छ। यो तथ्याङ्कले सिङ्गापुरको निर्माण क्षेत्रमा केही चुनौतीहरू रहँदै आएको देखाउँछ भने केही क्षेत्रहरूमा सकारात्मक प्रगतिको संकेत पनि मिलेको छ। सरकार र सम्बद्ध निकायहरूले यस स्थितिलाई ध्यानमा राख्दै आवश्यक कदम चाल्ने आशा गरिन्छ।
प्रतिकूल मौसम र जेनी आन्दोलनले ३ हप्ता उडान स्थगन, आजदेखि पुनः सञ्चालन
काठमाडौं । प्रतिकूल मौसम र जेनजी युवाहरूको प्रदर्शनले उत्पन्न परिस्थितिका कारण स्थगित पोखरा-जोमसोम हवाई सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । अनुकूल मौसमसँगै पर्यटकीय याम सुरु भएपछि सञ्चालनमा आएको पोखरा-जोमसोम हवाई सेवा प्रतिकूल मौसम र प्रदर्शनको प्रभावका कारण स्थगन गरिएकामा आजदेखि पुनः सञ्चालनमा आएको हो । सो क्षेत्रमा उडान भर्दै आएका निजी वायु सेवा कम्पनी समिट एयरलाइन्स र तारा एयरलाइन्स कम्पनीले उडान स्थगित गरेकोमा करिब एक महिनापछि समिट एयरको ट्वीनअटर जहाजले नियमित उडान सञ्चालनमा ल्याएको समिट एयरलाइन्सका जोमसोम स्टेसन इन्चार्ज सुमन थकालीले जानकारी दिए । प्रतिकूल मौसम र जेनीद्वारा गरिएको प्रदर्शनपछि तीन हप्ता उडान स्थगन गरिएकामा आजदेखि नियमित सेवा सञ्चालनमा ल्याइएको उनले बताए । पोखरा-जोमसोम नियमित हवाई सेवा सञ्चालनमा आएसँगै पहिलो दिन समिटका जहाजले दुइवटा उडान भरेका छन् । यहाँ १० भारतीय पर्यटकसहित अन्य तेस्रो मुलुकका २४ जना विदेशी पर्यटक बोकेर सेवा सञ्चालनमा ल्याइएको स्टेसन इन्चार्ज थकालीले जानकारी दिए । ‘जेनजी प्रदर्शन हुनुअघि पोखरा-जोमसोम हवाई सेवा प्रतिकूल मौसमका कारण उडान हुनसकेको थिएन । प्रर्दशनपछि भारतीय सीमानाका बन्द गरिएपछि टिकट बुकिङ गरेका पर्यटकले पनि टिकट रद्द गरेसँगै हवाई सेवा प्रभावित बनेको थियो,’ उनले भने । हवाई सेवाका लागि पर्यटक टिकट बुकिङ भइरहेकाले नियमित उडानमा कुनै समस्या नहुने स्टेसन इन्चार्ज थकालीले जनाए । ‘प्रदर्शनपछि परिस्थिति सामान्य बन्दै जान थालेको छ, विदेशी पर्यटकको बुकिङ पनि भइरहेको छ, अब समिट एयरलाइन्सको जहाजले नियमित सेवा रोक्दैन, यहाँ हवाई पर्यटक बढेपछि उडानसमेत वृद्धि हुँदै जानेछ,’ उनले भने । जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले स्थगित पोखरा-जोमसोम हवाई सेवा आजदेखि नियमित सञ्चालनमा आएको उल्लेख गरे । समिट एयरलाइन्सका जहाजले दुई उडान र माउन्टेन वायर फायर तालिम सकिएर फर्किन लागेका स्वदेशी तथा विदेशी सेनालाई लिन नेपाली सेनाको ट्वीनअटर जहाज जोमसोम अवतरण भएका उनले बताए । तारा एयरलाइन्सले पनि नियमित सेवा सञ्चालनमा ल्याउने तयारी गरेको जोमसोमस्थित स्टेसन इन्चार्ज सुजन लालचनको भनाइ छ । उनका अनुसार यहाँ तारा एयरलाइन्सले आगामी अक्टोबर १ देखि सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ । प्रतिकूल मौसम र जेनजी प्रदर्शनले उत्पन्न परिस्थितिका कारण प्रभावित बनेको पोखरा-जोमसोम हवाई सेवा सञ्चालनमा आएसँगै यहाँका पर्यटन व्यवसायीमा उत्साह थपिएको छ । जोमसोमस्थित होटल मेजस्टीका सञ्चालक निसान तुलाचनले प्रदर्शनका कारण सुस्ताएको यहाँका पर्यटन व्यवसाय हवाई उडान सुरु भएसँगै चलायमान हुने विश्वास व्यक्त गरे ।