काठमाडौंसहितका केही स्थानमा घाम लाग्यो, नदीमा बाढी आउने क्रम जारी
काठमाडौं । काठमाडौं उपत्यकासहित अन्य केही स्थानहरुमा अहिले जनजीवन सामान्य बन्दै गएको छ । आइतबार बिहानैबाट उपत्यकामा घाम लागेको छ । वर्षा हुन रोकिएसँगै सडकमा सवारी साधनहरुको चाप पनि बढेको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौंसहित देशभरको जनजीवन विकराल बनेको थियो । भीषण वर्षालाई मध्यनजर गरी सरकारले काठमाडौं उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने सवारी साधन आवागमनमा रोक लगाएको छ । सवारी आवागमन आइतबार पनि रोक लगाइएको छ । उपत्यकामा पानी पर्न छोडेपनि उपत्यकाका नदीहरुमा बाढी उस्तै छ । केही नदीहरुमा बाहेक अन्य नदीहरुमा बाढीको जोखिम त्यत्तिकै छ । मौसमविद्हरुका अनुसार आइतबार पनि काठमाडौं उपत्यकासहितका पूर्वी भूभागमा पानी पर्ने सम्भावना छ ।
बाँकेका पाँच स्थानमा निषेधाज्ञा जारी
खजुरा । जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासनले शनिबार साँझ ७ः०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि डुडवा गाउँपालिका वडा नम्बर–६ को सम्पूर्ण क्षेत्र, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर– १४ को सम्पूर्ण क्षेत्र, वडा नम्बर–१५ को सुइया पिप्रहवा क्षेत्र, वडा नम्बर–२३ को भज्जीपुरुवा, जङ्गलीसिंहपुरुवा र लोहरनपुरुवा तथा नरैनापुर गाउँपालिका वडा नम्बर–५ को सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । गत शुक्रबार दुर्गाको मूर्ति बिसर्जनका क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । यसैबीच, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले अहिले स्थिति सामान्य रहेको बताएका छन् । शनिबार सबै राजनीतिक दल तथा स्थानीय प्रतिनिधि, नागरिक अगुवासहितको छलफल भएको जानकारी दिँदै छलफलमा घटनाको दोषीलाई पहिचान गरि कानुनबमोजिम कारवाही गर्ने, धार्मिक सद्भाव कायम गर्ने तथा प्रशासनको स्वीकृति विना जुलुस, सभा, सम्मेलन, र्याली आयोजना नगर्ने सहमति बताए ।
सुन अहिलेसम्मकै महँगो, तोलामा २ लाख ३० हजार नाघ्यो
काठमाडौं । दसैँको बिदापछि पुनः सुचारु भएको सुनचाँदी बजारमा आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ । असोज १२ गते तोलामा २ लाख २३ हजार २०० रुपैयाँ कायम रहेको सुनको मूल्य आइतबार एकैदिन ७ हजार ४०० रुपैयाँले बढेको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो । यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ । असोज १२ मा तोलामा २ हजार ८१० रुपैयाँ रहेको चाँदी आइतबार २ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सफा देखियो काठमाडौं, आन्तरिक उडान पनि सुरु
काठमाडौं । शनिबार काठमाडौंसँगै देशभर व्यापक वर्षा भएपछि प्रभावित बनेको जनजीवन सामान्य बन्दै गएको छ । आइतबार बिहानैदेखि काठमाडौंको आकाश खुलेसँगै जनजीवन सामान्य बन्दै गएको हो । भारी वर्षापछि काठमाडौं उपत्यका सफा देखिएको छ । शनिबार बन्द भएको हवाई उडान पनि आइतबारबाट सुरु भएको छ । आन्तरिक उडान सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल बढेको छ । आइतबार बिहान ७ः३१ बजे पहिलो उडान यती एयरलाइन्सले भद्रपुरका लागि गरेको थियो। उक्त उडानपछि काठमाडौं बाहिरका अधिकांश सुगम विमानस्थलहरूमा पनि उडान सञ्चालन सुरु भएको हो ।
दुई दिन सेयर बजार बन्द, दशैंपछि बजार बढ्ने अपेक्षा
काठमाडौं । आइतबार र सोमबार सेयर बजार नखुल्ने भएको छ । सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेसँगै दुई दिनका लागि नेप्से बन्द हुने भएको हो । दशैं बिदापछि आइतबारदेखि सेयर बजार सञ्चालनमा आउने अपेक्षा गरिएको थियो । तर, देशभर अविरल वर्षासँगै सिर्जित प्रतिकूल अवस्थाका कारण सरकारले थप दुई दिन सार्वजनिक बिदा दिएको छ । यससँगै आज र भोलि सेयर कारोबार नखुल्ने भएको हो । दशैंपछि बजार बढ्न सक्ने अनुमान लगानीकर्ताको छ । दशैंमा ठूलो परिमाणको रकम चलायमान भएकोले त्यो रकम सेयर बजारमा आएर बजार बढ्न सक्ने अपेक्षा लगानीकर्ताको छ । भारी वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने लामो दूरीका सवारीसाधन सञ्चालनमा समेत रोक लगाएको छ । यसले दशैं मनाउन गाउँ गएका सर्वसाधारणलाई काठमाडौं फर्कन कठिन हुने भएपछि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
भारतको विदेशी मुद्रा सञ्चिति २.३३ अर्ब अमेरिकी डलरले घट्यो
काठमाडौं । भारतको केन्द्रिय बैंक, भारतीय रिजर्भ बैंकले जारी गरेको साप्ताहिक तथ्याङ्कअनुसार सेप्टेम्बर २६ मा समाप्त भएको हप्तामा भारतको विदेशी मुद्रा (विदेशी मुद्रा) सञ्चिति २.३३ अर्ब अमेरिकी डलरले घटेर ७००.२४ अर्ब डलरमा पुगेको छ । यो लगातार दोस्रो हप्ता थियो जब विदेशी मुद्रा सञ्चिति घटेको थियो । तथ्याङ्कअनुसार विदेशी मुद्रा सम्पती ४.३९ अर्ब डलरले घटेर ५८१.७६ अर्ब डलरमा पुगेको छ । जबकि सुनको सञ्चिति २.२४ अर्ब डलरले बढेर ९५.०२ अर्ब डलरमा पुगेको छ । विशेष आह्वान अधिकार ९० मिलियन डलरले घटेर १८.७९ अर्ब डलरमा पुगेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषमा रहेको रिजर्भस्थिति ८९ मिलियन डलरले घटेर ४.६७ अर्ब डलरमा पुगेको छ ।
ललितपुर महानगरद्वारा सुरक्षा निकायलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण
ललितपुर । ललितपुर महानगरले बाढीपहिरोजन्य विपद्का बेला प्रयोग हुने विभिन्न प्रकारका सामग्रीहरु सुरक्षा निकायलाई हस्तान्तरण गरेको छ । महानगरले शनिबार कार्यक्रम आयोजना गरी नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीलाई ती सामग्री हस्तान्तरण गरेको हो । विभिन्न खालका डोरी, डुङ्गा लगायतका सामग्री महानगरले हस्तान्तरण गरेको हो । देशभर शुक्रबारदेखि निरन्तर पानी परिरहेको छ । निरन्तरको वर्षाको कारण देशको विभिन्न ठाउँमा बाढी पहिरो गइरहेको छ भने धेरैजसो ठाउँ बाढी पहिरोको जोखिममा छ । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले अघिल्लो असोजको अविरल वर्षापछिको बाढी पहिरोबाट ललितपुर महानगरले विपद् व्यवस्थापनका लागि थप सिकेको बताए । उनले भने, ‘हामीले डुङ्गा लगायत थप सामग्री किन्यौं, तालिम दिएर जनशक्ति तयार बनायौँ ।’ उनले नगरबासीलाई संयमित हुन आग्रह गरे । केहीदिनदेखि अविरल परेको पानीका कारण गएको बाढीपहिरो नियन्त्रण, उद्धार र व्यवस्थापनका लागि यी सामग्रीले सहयोग गर्ने बताए । ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्रोतसाधन नभई विपद्का बेला खोज र उद्धार गर्न गाह्रो हुने बताउँदै तीनवटा सुरक्षा निकायलाई खोज उद्धार सामग्री उपलब्ध गराइदिएकोमा महानगरलाई धन्यवाद दिए । उनले भने, ‘उद्धार र प्रकोप व्यवस्थापनलाई चुस्त बनाउन यी सामग्री उपयोगी छन्, त्यसका लागि महानगरलाई धन्यवाद । ’ नागरिकको जीवन जोगाउन सुरक्षा निकायको अनुरोध अनुसार आवश्यक सामग्रीको व्यवस्था गर्नु सह्रानीय काम भएको उनले बताए । प्राप्त सामग्रीको उचित प्रयोग र प्रयोगपछि सुरक्षित राख्न आग्रह गरे । कार्यक्रममा कार्यक्रममा उपप्रमुख मञ्जली शाक्य बज्राचार्य र सुरक्षा निकायका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
पृथ्वीराजमार्गका विभिन्न स्थानमा पहिरो, सफा नगरी आवत-जावत गर्न मुस्किल
धादिङ । गत शनिबार र शुक्रबारको अविरल वर्षाका कारण पृथ्वीराजमार्गका विभिन्न स्थानका पहिराले सवारी आवागमन प्रभावित भएका छन् । सडकमा रोकिएका सवारीहरु गन्तव्यतर्फ जान अनुमति दिएर शुक्रबार साँझदेखि अत्यावश्यकबाहेक अन्य सवारी आवागमनमा रोक लगाइएको थियो । अहिले पृथ्वीराजमार्गमा सवारी आवागमन प्राय: शून्यजस्तै बनेको छ । वेनिघाट रोराङ गाउँपालिका–१० ज्यामिरेघाटमा आज बिहान करिब ८ः३० बजे पहिरोले सडक अवरुद्ध भएको छ । यसैगरी थाक्रे गाउँपालिका–७ सातकिल्ला, गजुरी गाउँपालिका–५ घाटबेसी, गजुरी–६ जहरेखेत र बेनिघाट रोराङ –१० जवाङखोला क्षेत्रमा पनि पहिरो खसेको जनाइएको छ । आज बिहानै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी पहिरो जोखिमका कारण राजमार्गको यात्रामा ननिस्कन र सूचनाको पूर्ण पालना गर्न यातायात व्यवसायी र यात्रुहरुलाई आग्रह गरेको छ । त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे, पृथ्वीराजमार्गको नौबिसे मुग्लिन सडकको केही स्थान क्षतविक्षत बनेको छ । भलपानीले सडकमा थुपारेको गेग्रानले पनि सवारी सञ्चालन गर्न मुस्किल छ । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले भने, 'सानाठूला पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध छ । विस्तारका क्रममा रहेको राजमार्गको ठाउँठाउँमा पहिरोको उच्च जोखिम छ । पूर्ण रुपमा सडक सफा नगरी सवारी आवागमन गर्न सकिने अवस्था छैन।' प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार राजमार्गमा कतिखेर पहिरो खस्छ र सडक अवरुद्ध हुन्छ भन्ने आँकलन गर्न सकिने अवस्था छैन । सडक अवरुद्ध हुने गरी पहिरो नझरेको स्थानमा पनि ढुङ्गा खस्ने र सडकमा बजारिने उच्च जोखिम छ । यसरी खसेको ढुङ्गा गुडिरहेको सवारीमा नबजारियोस् र मानवीय क्षति नहोस् भन्नाको लागि पनि पूर्ण रुपले सवारी आवागमनमा रोक लगाइएको हो । पृथ्वी राजमार्गमा अहिले स्थानीय बासिन्दा अत्यावश्यक काममा मात्र आवतजावत गर्दैछन् भने एक जिल्लाबाट अर्को जिल्ला पुग्ने लामो दूरीका सवारीसाधन राजमार्गमा गुडेका छैनन् । वर्षा रोकिए पनि सडक सफा गर्न र सडक पुनःसञ्चालन गर्न अझै केही समय कुर्नुपर्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।