विकासन्युज

क्यान्सर बिरामीको उपचारमा प्रयोग हुने रेडियोधर्मी (रेडियो आइसोटोप्स) औषधी नेपालमै उत्पादन गरिने

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले क्यान्सर बिरामीको उपचारमा प्रयोग हुने रेडियोधर्मी (रेडियो आइसोटोप्स) औषधीको उत्पादन गर्ने प्रक्रिया अगाडि बढाउने बताएका छन् ।  क्यान्सरका बिरामीका लागि प्रयोग हुने रेडियोधर्मी औषधीको उत्पादन नेपालमै गर्न आणविक अनुसन्धान केन्द्र खोल्ने योजना रहेको मन्त्री पुनले जानकारी दिए ।  नेपालमा यो औषधी नहुँदा भारत लगायतका विभिन्न देशबाट ल्याउनुपर्ने बाध्यता नेपाली चिकित्सक तथा सञ्चालकहरूलाई छ । यो औषधी नेपालमै उत्पादन गर्न सक्ने हो भने बिरामीहरूका लागि ठूलो राहत हुने उनीहरू बताउँछन् ।  रेडियो आइसोटोप्स क्यान्सरको अवस्था पत्ता लगाउन गरिने पेटको सिटीस्क्यानका लागि प्रयोग हुने रेडियोधर्मी औषधी हो । रेडियो आइसोटोप्स औषधी उत्पादन भएको केही मिनेट घण्टामै प्रयोग भइसक्नु पर्ने हुन्छ ।  तुरुन्तै प्रयोग गर्नुपर्ने औषधी विभिन्न देशबाट आयात गर्दा चिकित्सक तथा यसका सञ्चालकहरूले निकै कठिनाइ भोग्नुपरिरहेको छ ।

अबदेखि दैनिक २५ केजी सुन आयात गर्न मिल्ने, रेमिट्यान्स २५ लाख रुपैयाँ

काठमाडौं । अबदेखि दैनिक २५ केजी सुन आयात गर्न मिल्ने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०८१ संशोधन गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २५ केजी कायम गरेको जनाएको हो । यसअघि दैनिक २० केजीसम्म मात्रै सुन आयात गर्न सकिने व्यवस्था थियो ।  साथै राष्ट्र बैंकले दैनिक २५ लाख रुपैयाँसम्म रेमिट्यान्स ल्याउन सकिने व्यवस्था गरेको छ । नेपालमा दर्ता भएका फर्म तथा कम्पनीले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेशबाट प्राप्त हुने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनी मार्फत् सम्बन्धित वेनेफिसियरीको खातामा जम्मा गर्ने गरी दैनिक २५ लाख रुपैयाँसम्म (एकपटक वा पटक पटक) को विप्रेषण रकम ल्याउन सकिने राष्ट्र बैंकले जनाएको छ । यसअघि २० लाख रुपैयाँसम्म मात्रै रेमिट्यान्स ल्याउन मिल्ने व्यवस्था थियो ।  यसरी इजाजतपत्र प्राप्त विप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजातहरू लिएको हुनु पर्ने छ ।

फूलमाला बिक्री गर्न काठमाडौं महानगरले तोक्यो ३२ केन्द्र, निःशुल्क बिक्री गर्न पाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेको फूल तथा मालााहरूको बिक्री–वितरण गर्नको लागि ३२ बिक्री केन्द्र तोकेको छ । महानगरले तिहारलाई लक्षित गर्दै किसानले उत्पादन गरेको फूलको बिक्रीको लागि सहजीकरण गर्दै ती केन्द्रहरू तोकेको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरले किसानलाई बजारीकरणको लागि कुनै पनि असहज नहोस् भनेर यी केन्द्रहरू तोकिएको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।  उनका अनुसार किसानले तोकेको बिक्री केन्द्रमा निःशुल्क फूल तथा माला बिक्री गर्न पाउनेछन् । किसानलाई सहजीकरणको लागि महानगरले बिक्री केन्द्रको सम्पर्क नम्बरसमेत राखेको छ । उनका अनुसार कात्तिक १ गतेदेखि ६ गतेसम्म किसानले फूल बिक्री गर्न पायक पर्ने केन्द्रमा जान सक्नेछन् । सम्पर्क नम्बरमा कुनै समस्या भए प्रहरीको कन्टोल रुममा सम्पर्क गर्न सक्ने उनले बताए ।  महानगरले नयाँ बानेश्वरमा एनबी कम्प्लेक्स र आईप्लेक्स मल बिक्री केन्द्र तोकेको छ । मध्यबानेश्वरमा सेल्सबेरी, फोनेक्स टावर बत्तीसपुत्तली, तीनकुने चौर, सिफल चौर, चावहिलमा एसी कम्प्लेक्स र चावहिल गणेशस्थान तरकारी बजार, एसी कम्प्लेक्स, केएल टावर अगाडि, चावहिल सेन्टर अगाडि बिक्री केन्द्र तोकेको छ ।  त्यसैगरी, स्वयम्भुमा धर्म चक्र पार्क कालिमाटी वाङ्गक्यूट, कलंकीको भाटभटेनी, नयाँ बजारमा भ्याली कोल्ड स्टोर, माछापोखरी गुणस्तर खाल्डा, वुद्ध महल, हाँडीगाउँ ५ नम्बर वडा कायाृलया अगाडिको डबली, र गणेश मन्दिर डवली, कोइराला स्मार्ट २६ वडा सामाखुशी, महारग्रञ्जमा सेल्सवेरी, गंगवु र चपलकारखानाका विगमार्टमा किसानले आफूले उत्पादन गरेको फुल बिक्री गर्न सक्नेछन् ।  यस्तै, कामपा वडा न २८ आइटी विल्डिङ, पुत्तली सडकको स्टार मल, अनामनगरको भाटभटेनी, टेवाल मन्दिर परिसर, न्युप्लाजाका बज्र कम्प्लेक्स र काठमाडौं मल बिक्री केन्द्र तोकेको छ ।  महानगरका प्रमुख पाण्डेले यसपटक पनि विगतका वर्षहरूमा झैं महानगरभित्र प्लास्टिकको फूल तथा माला बिक्री वितरण गर्न नदिने बताए । यदि कसैले बिक्री वितरण गरेको पाइएकोमा जफतसहित कारबाही गरिने उनको भनाइ छ ।   उनले उपभोक्तालाई स्वदेशी किसानले उत्पादन गरेको फूल तथा माला मात्रै प्रयोग गर्न आग्रह गरेका छन् । 

गुण्डुमा सुरु भयो एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी ओलीको भाडाको निवासमा सुरु भएको छ । शुक्रबार (आज) बिहान ११ बजेका लागी आह्वान गरिएको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको हो । बैठकमा असोज २९ देखि ३१ सम्म हुने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डामा केन्द्रित हुने एक सचिवालय सदस्यले जानकारी दिए ।  पछिल्लो राजनीतिक घटनाक्रम त्यसले उत्पन्न गरेको नयाँ परिस्थितिका बारेमा आजको बैठकमा व्यापक छलफल हुने सदस्यले बताए । उनका अनुसार विशेषतः आगामी महाधिवेशन र नेतृत्वको पुनर्गठनको विषय आजको बैठकका मुख्य एजेण्डा हुन् ।

अनलाइन सञ्चारमाध्यम दर्ताको जिम्मेवारी सूचना तथा प्रसारण विभागलाई

काठमाडौं । नेपाल सरकारले अनलाइन सञ्चारमाध्यम दर्ता प्रक्रियालाई व्यवस्थित बनाउन सूचना तथा प्रसारण विभागलाई स्थानीय अधिकारीका रूपमा तोकेको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल सरकारले छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०४८ को दफा २ को खण्ड (त) ले दिएको अधिकार प्रयोग गर्दै उक्त व्यवस्था गरेको हो । मन्त्रालयका सचिव राधिका अर्यालद्वारा जारी सूचनामा भनिएको छ, ‘नेपाल सरकारले अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रसारण विभागका महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोकेकोले यो सूचना प्रकाशन गरिएको छ ।’ १४ साउन २०८१ मा राजपत्रमा प्रकाशित केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०८२ ले छापाखाना तथा प्रकाशन सम्बन्धी ऐनमा केही प्रावधान थपेको थियो । अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयमा सीमित गरेकाले उक्त व्यवस्था हटाइएको हो ।  उक्त व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदनसमेत परेको थियो ।

बारा र पर्सामा हैजाविरुद्ध खोप कार्यक्रम सञ्चालन हुँदै

काठमाडौं । सरकारले बारा र पर्सामा हैजाविरुद्ध खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  यसका लागि नेपालले १० लाख १८ हजार एक सय डोज खोज प्राप्त गरिसकेको छ ।  अन्तर्राष्ट्रिय समन्य समूह (आइसीजी)ले मुखबाट खुवाउने हैजा विरुद्धको खोप ओरल कोलेरा भ्याक्सिन (ओसिभी) उपलब्ध गराएको छ । भ्याक्सिन प्राप्त भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तह र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिलाई खोप दिन लागेको जनाएको छ ।  खोप कार्यक्रम पर्सामा भदौ २६ गते र बारमा २९ गतेदेखि सुरु गर्ने तयारी छ । पर्साको वीरगञ्ज महानगरपालिकामा गत भदौ ६ गते हैजा फैलिएको थियो । पर्सा र बारा जिल्ला गरी १ हजार ६ सय ८५ बिरामी फेला परेका थिए । यसअघि यस्तै खोप काठमाडौं उपत्यका र कपिलवस्तुमा  दिइएको थियो ।

एकै दिन ४ हजार २ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं । एकै दिन सुनको मूल्यमा ४ हजार २ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँ घटेर २ लाख ३५ हजार रुपैयाँमा झरेको हो । यसअघि बिक्री सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि सुनको मूल्य घटेको सुनचाँदी व्यवसायीहरू बताउँछन् ।  यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेकाे छ । महासंघका अनुसार प्रतितोला ६० रुपैयाँ बढेर ३ हजार ८५ रुपैयाँ पुगेको छ । यसअघि बिहीबार चाँदी प्रतितोला ३ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।