बैंकहरुले सीएसआरको रकम जेनजी आन्दोलन प्रभावितको हितमा लागि खर्च गर्न सक्ने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन, २०८१ (दोस्रो संशोधन) गर्दै बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकले सामाजिक उत्तरदायित्व बापतको रकम जेनजी आन्दोलनका क्रममा घाइते भएका र सहिदका परिवारका हकमा खर्च गर्न पाउने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाले खुद मुनाफाको १ प्रतिशत बराबरको रकम अनिवार्य रुपमा सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । केन्द्रीय बैंकले मार्गदर्शनमा संशोधन गर्दै भनेको छ, ‘जेनजी आन्दोलनका क्रममा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारका लागि दोहोरो नपर्ने गरी उक्त अस्पताललाई उपलब्ध गराइने खर्च’ गर्न सकिनेछ ।’ यस्तै जेनजी आन्दोलनमा सहिद भएका व्यक्तिका, आय आर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका परिवारको आय आर्जनको क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउन नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकृति प्राप्त सीपमूलक तालिम प्रदान गर्ने संस्थाबाट त्यस्ता व्यक्तिलाई सीपमूलक तालिम प्रदान गरेको आधारमा तालिम प्रदान गर्ने संस्थालाई प्रदान गर्ने खर्चलाई पनि उल्लेख गर्न सकिने प्रबन्ध गरिएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा, साँझ ७ बजेसम्म दुई सिफ्ट
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा सुरु गर्न लागेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना प्रकाशित गरी राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने जनाएको हो । सीमित आवेदन स्टेसनबाट सुरु गर्न लागिएको सो सेवाका लागि आवेदन गर्न साँझ ५ बजे अनलाइन स्लट खुल्नेछ । सेवाग्राहीको अत्यधिक सेवाग्राहीको चाप भएको र सीमित आवेदन स्टेशन भएकाले सेवाग्राहीहरु आवेदन फारममा उल्लेख भएको समयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोडका कारण सेवा प्रभावित भएको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार आजदेखि राहदानी सेवा दुई सिफ्टमा सञ्चालन हुनेछ ।
कोप्चे-बराह क्षेत्रमा मोटरबोट सञ्चालनमा, ३/४ घण्टाकाे यात्रा २०/२५ मिनेटमा
काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिका-९ हसपुरस्थित कोप्चेबाट बराह क्षेत्रसम्म जलयात्रा अर्थात् मोटरबोट पुनः सञ्चालन भएको छ । नदीमा पानीको बहाव बढेसँगै गत असार महिनादेखि रोकिएको जलयात्रा अब पुनः सञ्चालनमा आएको हो । दक्षिणी क्षेत्रका स्थानीयका लागि अरुण र दूधकोसी नदीमा पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएको छ । हाल नदीको बहाव घटेसँगै जेटबोट सञ्चालन भएपछि यात्रुलाई सहजता मिलेको स्थानीय व्यवसायी मिलन राईले जानकारी दिए । ‘नदीको बहाव घटेसँगै जलयात्रा पुनः सञ्चालन भएको छ । अहिले कोप्चेबाट बराह क्षेत्रसम्म बोट चल्न थालेको छ । पानी अझ कम भएमा चतरा पुलसम्म जलयात्रा सम्भव हुन्छ,’ उनले भने । दक्षिणी भेगका स्थानीय अब जेटबोट चढेर धरान, इटहरी, विराटनगर लगायतका सहरमा पुग्ने गरेका छन् । यसअघि ३/४ घण्टा पैदल यात्रा गरेर चतरा पुग्नुपर्ने अवस्थामा अहिले करिब १९ किलोमिटर दूरी २०/२५ मिनेटमा पार गर्न सकिने भएको छ । कोप्चे-बराह क्षेत्रबीचको भाडा ५ सय रुपैयाँ र चतरा पुग्न ७ सय रुपैयाँ तोकिएको छ । जेटबोट सञ्चालनले बिरामी परेका नागरिकलाई सहरका ठूला अस्पतालसम्म छिटो पु¥याएर उपचार गर्न सहज भएको स्थानीय लाल बहादुर प्रधानले बताए । ‘चाडपर्वको समयमा जेटबोट सञ्चालनले विशेष सुविधा भएको छ । भोजपुर सदरमुकाम हुँदै तराई पुग्दा करिब २०० किलोमिटर यात्रा गर्नुपर्थ्यो । अहिले जलमार्गले त्यही दुरी छोट्याइ दिएको छ,’ उनले भने । गाउँपालिकाले यस जलयात्रालाई पर्यटनसँग जोड्ने उद्देश्य राख्दै पूर्वाधार विकासमा जोड दिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । उनका अनुसार, जलयात्रा सञ्चालनले हतुवागढी क्षेत्र र तराईका जिल्लाबीचको दुरी घटाउने मात्र नभई स्थानीय पर्यटन र आर्थिक गतिविधिमा टेवा पुर्याउनेछ ।
देशभर आज मौसम सफा रहने
काठमाडौं । देशभर आज मौसम सफा रहने छ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
२०२५ मा नेपालको आर्थिक वृद्धि दर ४.३ प्रतिशत रहने आइएमएफको प्रक्षेपण
काठमाडौं ।अन्तरराष्ट्रिय मुद्राकोष (आइएमएफ) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२५ मा ४.३ प्रतिशत र सन २०२६ मा ५.२ प्रतिशत रहने प्रक्षेपण गरेको छ । आइएमएफले आज ‘वर्ल्ड इकोनोमिक आउटलुक’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । सन् २०२३ मा दुई प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर सन् २०२४ मा ३.७ प्रतिशत रहेको थियो । यस वर्ष अर्थात् सन् २०२५ मा सामान्य सुधार भई वृद्धिदर ४.३ प्रतिशत पुग्ने आइएमएफले अनुमान गरेको छ । यस्तै, नेपालले सन् २०२६ मा ५.२ प्रतिशत र सन् २०३० मा ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरिएको छ । नेपालको मूल्यवृद्धि सन् २०२५ मा ४.१ प्रतिशत र २०२६ मा ४.२ प्रतिशत रहने पनि प्रक्षेपण गरिएको छ । आइएमएफले यस वर्ष विश्वको आर्थिक वृद्धिदर घट्ने अनुमानसमेत गरेको छ । सन् २०२४ मा ३.३ प्रतिशत रहेको विश्वको आर्थिक वृद्धिदर सन् २०२५ मा ३.२ प्रतिशत र २०२६ मा ३.१ प्रतिशत रहने अनुमान गरिएको हो ।
घरजग्गा कारोबारका लागि सीमा तोकियो, उपमहानगर र महानगरपालिकामा कम्पनी दर्ता गर्नुपर्ने
काठमाडौं । सरकारले कम्पनीमार्फत हुने घरजग्गा कारोबारका लागि सीमा तोकेको छ । ३ करोड रुपैयाँभन्दा माथिको घरजग्गा कारोबारका लागि कम्पनी दर्ता गर्नुपर्ने व्यवस्था गरेको हो । सरकारका सचिव केदारनाथ शर्माका अनुसार मालपोत ऐनको दफा २६ क र ख मा भएको व्यवस्था बमोजिम राजपत्रमा सूचना प्रकाशन गर्दै उपमहानगरपालिका र महानगरपालिकामा घर जग्गा कारोबारको सीमा एक पटकमा ३ करोड रुपैयाँभन्दा माथि तोकेको हो । साथै, घरजग्गा कारोबार गर्ने क्षेत्रफल भने जतिसुकै पनि हुन सक्ने जनाएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशकलाई अधिकारीका रुपमा तोकिएको छ । काठमाडौं, ललितपुर, विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकामा उक्त व्यवस्था लागू हुनेछ । यस्तै, धरान, इटहरी, जनकपुरधाम, जीतपुरसिमरा, कलैया, हेटौडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज र धनगढी उप-महानगरपालिकामा उक्त व्यवस्था लागू हुने जनाएको छ ।
बोतल र जारको पानीको मूल्य तोकियो, बढी शुल्क लिएमा कारबाही गरिने
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल र जारको पानीमा बढी शुल्क लिएमा कारबाही गरिने जनाएको छ । विभागले आज एक सूचना प्रकाशित गरी दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुँदै आएको प्लाष्टिकका बोतल तथा जारको पानीको शुल्क निर्धारण गरिएकाले शुल्कभन्दा बढी रकम लिएको पाइएमा कारबाही गरिने जनाएको हो । विभागले काठमाडौं उपत्यकामा एक लिटर बोतलको पानी १६ रुपैयाँ र उपत्यका बाहिर २० रुपैयाँ निर्धारण गरेको छ । यस्तै, २० लिटर जारको पानीको काठमाडौं उपत्यकाका लागि ४७ रुपैयाँ र उपत्यका बाहिरका लागि ६० रुपैयाँ निर्धारण गरिएको जनाएको छ । यसअघि पानी व्यवसायीले मनलाग्दी मूल्यमा बोतल तथा जारको पानी बिक्री गर्दै आएका थिए । विभागले तोकिएको भन्दा बढी रकममा पानीको बोतल तथा जार बिक्री वितरण गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारबाही गरिने सूचनामार्फत जनाएको छ । विभागले पानी बिक्रेताले तोकिएको भन्दा बढी मूल्यमा पानी बिक्री गरेको पाइएमा विभाग वा मातहतका कार्यालयमा सूचना दिन आम सर्वसाधारणमा अनुरोध गरेको छ ।
मूल्य वृद्धि १.८७ प्रतिशत, खाद्य समूहको १.३४ प्रतिशतले ऋणात्मक
काठमाडौं । गत भदौ महिनामा वार्षिक विन्दु गत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) १.८७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३४ प्रतिशतले ऋणात्मक रहेको छ । यस्तै, गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.०६ प्रतिशत र ३.१९ प्रतिशत रहेको थियो । गत भदौ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.०९ प्रतिशत, गैर-मदिराजन्य पेय पदार्थको ३.९७ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको २.६६ प्रतिशतले बढेको छ । तरकारी उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.७४ प्रतिशत, मरमसलाको ६.३१ प्रतिशत र दाल तथा गेँडागुडीको ३.५८ प्रतिशतले घटेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.७७ , शिक्षाको सात दशमलव ६७, कपडाजन्य तथा जुत्ताचप्पलको ६.२९, सुर्तीजन्य पदार्थको ४.८४ र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.२२ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार गत भदौ महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.७३ र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.९१ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.९९, मधेसको १.७४, बागमतीको १.७२, गण्डकीको १.४७, लुम्बिनीको १.७६, कर्णालीको १.८५ र सुदूरपश्चिम प्रदेशको ०.८८ प्रतिशत रहेको छ । त्यस्तै, काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.२१, तराईको १.७०, पहाडको १.६८ र हिमालको २.५१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।