विकासन्युज

समीर मास्केले स्थापना गरेको ‘फ्युजमेसिन्स’ अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना प्रविधिसम्बन्धी काम गर्ने फ्युजमेसिन्सले बिहीबारदेखि अमेरिकाको प्रतिष्ठित नास्डाक कम्पनीबाट स्टक कारोबार सुरु गरेको छ । नेपाली उद्यमी डा. समीर मास्केले स्थापना गरेको कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी काम गर्ने उक्त कम्पनीले दुई वर्षअगाडि गरेको ‘मर्जर’ पश्चात बिहीबारदेखि फ्युज नामबाट धितोपत्र कारोबार गर्न सफल भएको हो ।  कम्पनीका संस्थापकसमेत रहेका डा. मास्केले भने, ‘नवीनतम सोच र अवधारणाले कम्पनीको सानो समूहबाट यो उपलब्धि हासिल गर्न सफल भएकामा आगामी दिनमा अझै व्यापक बनाउन हामीहरूलाई प्रेरित गर्नेछ ।’ विश्वको प्रमुख वित्तीय साधन परिचालन गर्ने कम्पनीमा सूचीकृत भएर कारोबार गर्न पाउनु महत्त्वपूर्ण उपलब्धि भएको डा. मास्केले बताए । उक्त कम्पनीको स्टक कारोबारमा फ्युज नामले सूचीकृत छ । कम्पनीमा हाल तीन सय पचास कर्मचारीले काम गरिरहेका डा. मास्केले  जानकारी दिए । त्यसमध्ये दुई सय साठी जना नेपालमा कार्यरत छन् । यसैबीच नास्डाकले विज्ञप्ति प्रकाशित गर्दै सीएसएलएम एक्विजेसन कम्पनी र फ्युजमेसिन इन्क बीच साझेदारीसम्बन्धी प्रक्रिया पूरा भएको र बिहीबारदेखि नास्डाक पुँजीबजारमा कारोबार हुने उल्लेख गरेको थियो । योसँगै नेपालीले स्थापना गरेको कम्पनीले विश्वबजारमा प्रवेश पाएको छ भने लगानीकर्ताका लागि अवसरसमेत सृजना गरेको छ ।  कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा डा. समीर मास्के र प्रमुख वित्त अधिकृतमा क्रिष्टिन च्याम्बर्स रहेका छन् । मर्जरपश्चात् कम्पनीको सञ्चालक समितिमा समीर मास्के, भरत क्रिस, टिम गोचर, सञ्जय श्रेष्ठ र सलमान आलम रहेका छन् ।   

नबिल बैंकले हटायो बचत खातामा दिइरहेको छुट सुविधा

काठमाडौं । नबिल बैंकले विभिन्न बचत खातामा दिइरहेको छुट सुविधाहरू हटाएको छ । बैंकले कात्तिक १ गतेबाट खोलिने नयाँ खाताहरूमा लकर शुल्कमा रहेका सम्पूर्ण छुट सुविधा र डेबिट कार्ड शुल्मा प्रदान गरिएका छुट सुविधा हटाएको हो ।  बैंकका अनुसार लकर शुल्कमा रहेका सम्पूर्ण छुट सुविधा कात्तिक १ गतेबाट खोलिने नयाँ बचत खाताबाट हटाइएको छ ।  यस्तै, डेबिट कार्ड शुल्मा प्रदान गरिएका छुट सुविधा भने नबिल प्रिमियम नारि बचत खाता, कर्मशील बचत खाता, जेन–एन अकाउन्ट, सेयरहोल्डरर्स सेभिङ्गस एकाउन्ट, प्रिमियम प्यारोल सेभिङ्गस एकाउन्ट, प्रिमियम रेमिट्यान्स सेभिङ्गस एकाउन्टबाट हटाइएको हो ।  छुट सुविधा हटाएसँगै अब बैंकको सेवा शुल्क सूची (एससीएस) अनुसार लागू हुनेछ । 

सिन्धु विकास बैंकको ७ लाख १५ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ७ लाख १५ हजार ६३५ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।  उक्त सेयर यसअघि बैंकका विद्यमान सेयरधनीहरूलाई बिक्रीमा राखेको थियो । तर, कुनै पनि सेयरधनीले आवेदन नदिएपछि सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ । बैंकको उक्त सेयरमा योग्य इच्छुक जो कोही व्यक्तिले पनि आवेदन दिन सक्नेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ । 

गाजाको स्वास्थ्य क्षेत्रको पुनर्निर्माणमा ७ अर्ब डलर आवश्यक

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले बिहीबार गाजामा ध्वस्त बनेको स्वास्थ्य क्षेत्रको पुनर्निर्माणका लागि कम्तीमा ७ अर्ब डलर आवश्यक पर्ने बताएको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भने, ‘इजरायली आक्रमणमा गाजामा भएका आक्रमणमा अस्पतालहरूसमेत निशानामा परेका थिए ।’ अहिले गाजामा पूर्ण क्षमता काम गर्ने अस्पतालहरू छैनन् । ३६ अस्पतालमध्ये १४ वटाबाट सेवा दिइएको उनले बताए ।  उनका अनुसार गाजामा अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको गम्भीर अभाव छ । ध्वस्त बनेको गाजा स्वास्थ्य प्रणालीको पुनर्निर्माणको लागि कम्तीमा  ७ अर्ब खर्च हुने उनकाृ भनाइ छ । 

मेची भन्सारबाट १२.२८ अर्बको सामान आयात हुँदा २१.८ प्रतिशत घट्यो निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टाबाट १२ अर्ब २८ करोड ३० लाख रुपैयाँ मूल्य बराबरका मालवस्तु आयात भएका छन् । जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा १ अर्ब ४४ करोड २७ लाख रुपैयाँ अर्थात् १३.३१ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वर कुमार हुमागाईंले जानकारी दिए ।  उनका अनुसार गत आवको पहिलो त्रैमासिकमा १० अर्ब ८४ करोड ३ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा यो नाकाबाट हुने निर्यात घटेको छ । उक्त अवधिमा ४ अर्ब ८० करोड ३९ लाख रुपैयाँ बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा ६ अर्ब ८ करोड ६९ लाख रुपैयाँको वस्तु तथा सामान निर्यात भएको थियो । यो नाकाबाट निर्यात २१.८ प्रतिशतले घटेको कार्यालयका सूचना अधिकारी हुमागाईंले बताए । पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुहरूमा अलैंची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिस लगायत रहेका छन् भने आयात हुने मुख्य मालवस्तुहरुमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराको कच्चा पदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन, तयारी कपडालगायत रहेका छन् । कार्यालयको तथ्याङ्कअनुसार चालु आव २०८२/८३ को पहिलो त्रैमासिकमा आयात निर्यातबाट ४ अर्ब १५ करोड २० लाख ८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा १५.६९ प्रतिशत अर्थात् ५६ करोड २९ लाख ९७ हजार रुपैयाँले बढी हो ।

गरिमा विकास बैंक मर्जरमा जाने, केन्द्रीय कार्यालय बालुवाटारमा

काठमाडौं । गरिमा विकास बैंक मर्जर तथा एक्विजिसनमा जाने भएको छ । मर्जर तथा एक्विजिसन प्रस्ताव र लाभांश प्रस्ताव पारित गर्न बैंकले साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको कात्तिक २ गते बसेको बैठकले कात्तिक २७ गते पोखरा, कास्कीमा १९औँ वार्षिक साधारण सभा बोलाएको हो ।  बैंकको सभाले सञ्चालक समितिको निर्णय बमोजिम मर्जर तथा एक्विजिसन प्रस्ताव पारित गर्नेछ । कुनै बैंक तथा वित्तीय संस्था गाभ्ने तथा प्राप्ति गर्ने, उपयुक्त बैंकसँग मर्जर तथा एक्विजिसन सम्बन्धी सहमति गर्ने, सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) गर्न मूल्याङ्कनकर्ता लेखापरीक्षक नियुक्त गर्न, नियामकसँग सहमति लिने लगायत सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँको ६ प्रतिशतका दरले ३४ करोड ८ लाख ३१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ४.५३ प्रतिशतका दरले २५ करोड ७३ लाख २७ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव सभाले पारित गर्नेछ ।  सभाले बैंकको हाल कायम अधिकृत पुँजी वृद्धि गरी ६ अर्ब १० करोड रुपैयाँ कायम गर्ने, रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौं महानगरपालिका-२, लाजिम्पाटबाट वडा नम्बर ३, बालुवाटारमा स्थानान्तरण गर्ने, बैंकको छाप तथा लोगो परिवर्तन गर्ने, सञ्चालकहरूलाई प्रदान गरिने बैठक भत्ता तथा टेलिफोन, पत्रपत्रिका र इन्टरनेट खर्च बापत प्रदान गरिने रकम वृद्धि गर्ने र प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आव २०८२/८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले सभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् । 

बलबहादुरले सुरु गरे प्यारामिड होटल, सिलाङ र स्विजरल्याण्डका घरको डिजाइन

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुनलाई पोखरा बसाइमा नपुग्दो केही थिएन । भारतीय सेनाबाट सेवा निवृत्त क्याप्टेन तिलिजाका एक छोरा बेलायती गोर्खा सैनिक हुन् । ३ जना छोरीहरू हङकङ, अमेरिका र पोर्चुगलमा छन् ।  पोखराको राम बजारमा बस्दै आएका तिलिजा स्थायी रूपमा बसोबास गर्ने गरी जन्मथलो स्वाँतमा फर्किएका छन् । तिलिजाले पोखराको घर आफन्तको जिम्मा लगाएर श्रीमती ज्यानमाया, जेठा छेरा नारायण र बुहारी कृष्णालाई लिएर २४ वर्षपछि जन्मथलो फर्किएका हुन् । ‘छोरा, छोरी, बुहारी सबै विदेशमा भएका स्वाँतमै बस्ने एक जना आफन्तले वृद्ध अवस्थामा स्याहार, सुसारको अभावमा दुःख पाएको देखेर पैसाले मात्र केही हुने रहेनछ भन्ने सोच पलायो,’ बलबहादुरले भने, ‘बजारमा एउटै घरको ओल्लोपल्लो कोठामा बस्नेको चिनजान र वास्ता हुँदैन । गाउँमा स्वच्छ हावापानी, खानपान मात्र छैन सहयोगी भावना पनि जिवितै छ । छोरा बुहारीलाई विदेश जान रोकेर गाउँ ल्याएर होटल व्यवसायमा लगाएको छु ।’ बलबहादुरले स्वाँतमा प्यारामिड होटल सुरु गरेका छन् । उनले होटल सञ्चालन गर्नुको प्रमुख उद्देश्य छोराबुहारीलाई गाउँमै भुलाउनु हो । दुई रोपनी पाखो सम्याएर होटलका संरचना तयार पार्न १ करोड ८० लाख रुपैयाँ खर्चेको बलबहादुरले बताए ।  ‘छोराबुहारीलाई गाउँमा ल्याएर त्यतिकै राख्न भएन । होटलले उनीहरूलाई यहाँ बस्ने आधार र बाध्यता दुवै भयो,’ उनले भने ।  गत हप्तादेखि सञ्चालन भएको प्यारामिड होटलको संरचना म्याग्दीका अन्य होटलहरूको भन्दा भिन्न छ । पाहुना सुत्ने प्यारामिड शैलीका १३ वटा भवन छन् । एट्याच बाथरुम भएको एक तले भवनका दुई वटा बाहेक कोठामा दुई वटा बेड छन् । चिसो हुने र हिउँदमा पर्ने हिउँ जस्तापाताको छानोमा नथुप्रियोस् भनेर प्यारामिड शैलीको भवन बनाएको सञ्चालक तिलिजाको भनाई छ । होटलको डिजाइन भारतको सिलाङ र स्विजरल्याण्डका घरहरूको जस्तो छ । चुच्चो चुच्चो घरको कोठालाई हिउँदमा न्यानो र बर्खामा सितल बनाउन भित्र फर्म राखिएको छ । काठको प्रयोग गरेर बनाइएको होटलका कोठाहरूलाई जस्तापाटाले छाइएको छ । तिलिजा परिवारका चार जना बाहेक थप एक जनालाई होटलमा रोजगारी दिएका छन् । पाहुनाको स्वागत सत्कार, सरसफाई, व्यवस्थापन देखि भान्छाकोठाको काममा परिवारकै सदस्य खटिन्छन् । सिस्नोको मुना, रातो च्याउ, दौडे, लोकल कुखुरा र खसीबोकाको मासु, कोदो, मकैको ढिडो होटलका परिकार हुन् । अन्नपूर्ण चक्रीय पदमार्गको तातोपानी-घोडेपानी अन्तर्गत शिख देखि एक घण्टाको पैदलयात्रामा पुगिने स्वाँतको पृष्ठभूमिमा धौलागिरि हिमाल देखिन्छ । स्वाँतदेखि २० मिनेट पैदलयात्रा गरेपछि पुगिने छहरे झरना मनमोहक र आकर्षक छ । खोपारा, घोडेपानी, शिख, मोहरेडाडा, घान्द्रुक र बयलीको बाटो भएर समुन्द्रि सतह देखि दुई हजार तीन सय मिटर उचाइमा रहेको स्वाँतमा पुगिन्छ । होटलमा इन्टरनेट र चिसो याममा तातोपानीले स्नान गर्ने सुविधा छ । स्वाँतका करिब आधा घरपरिवारको बसोबास पोखरा, काठमाडौ, चितवन, बुटवल र बेलायतमा छ । ७० घर भए पनि हाल करिब २५ देखि ३० परिवार मात्र गाउँमा नियमित बस्ने गरेको स्वाँतको शिखर आधारभूत विद्यालयका प्रअ रामचन्द्र पाइजा पुनले बताए ।  स्थानीयबासी मनबहादुर पुनका अनुसार कच्चि सडक, घरघरमा खानेपानी, विद्युत, इन्टरनेट, मोवाइल सुविधा पुगेको छ । व्यवसायिक आलु खेती गर्न सकिने प्रशस्त उर्वर जमिन छ । रायो सागको विउ उत्पादनको स्रोत केन्द्र पनि हो स्वाँत ।  ‘रित्तिँदै गएको गाउँमा सम्भावना देखाउन बजारको सुविधा छाडेर फर्किएको हो । अरूलाई गाउँ फर्कने सन्देश दिनु पनि मेरो उद्देश्य हो,’ बलबहादुरले भने । 

मापदण्ड विपरीत बिक्री वितरण गरेको औषधि बरामद

काठमाडौं । प्रहरी वृत्त महाराजगन्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गर्ने गरेको औषधि बरामद गरेको छ । काठमाडौं टोखा नगरपालिका-५ वसुन्धरामा रहेको तक्षक फार्मेसीले बिक्री गरिरहेको औषधि मापदण्ड विपरित भएकाले बरामद गरेको हो ।  तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले बिक्री वितरण गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री वितरण गरेको भन्ने सूचनाका आधारमा स्पेन लेखिएको ३८५ ट्याबलेट, एन्टिकोफ लेखिएको ७५० ट्याबलेट, प्रिगेबलिन लेखिएको १०० ट्याबलेट प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल बरामद समेत बरामद गरिएको वृत्त महाराजगञ्जका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए ।  उनका अनुसार उक्त फार्मेसी सङ्खुवासभा खादवारी नगरपालिका-८ का ४० वर्षीय प्रकाश गौतम समेतले सञ्चालन गरेको पाइएको र औषधि व्यवस्था विभागसँग समन्वय गर्दा मापदण्ड विपरीत बिक्री गरिएको पाइएको छ ।