विकासन्युज

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपक कुमार धूत नियुक्त

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत (डिसिईओ) मा  मा दीपक कुमार धूत नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असोज २८ मा बसेको ४२ औँ बैठकले धूतलाई डिसीईओ पदमा नियुक्त गरेको हो । निवर्तमान नायव प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठ उमेर हदका कारण कम्पनीको सेवाबाट निवृत्त भएपछि कम्पनीले नायब महाप्रबन्धकको रुपमा कार्यरत दीपक कुमार धूतलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको जनाएको छ ।  ३० वर्षदेखि नेपालको निर्जीवन बीमा क्षेत्रमा कार्यरत धूत, इन्स्योरेन्स इन्स्टिच्युट अफ इण्डियाको फेलो मेम्बर रहेका छन् । इन्धिरा गान्धी नेशनल ओपन युनिभर्सिटीबाट बजार व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । साथै उनले यूएनडीपीबाट इन्क्यूलिसिभ इन्स्योरेन्स सम्बन्धी अन्तराष्ट्रिय प्रशिक्षकको उपाधि समेत प्राप्त गरेका छन् ।

जेनजी आन्दोलनका घाइते तथा प्रभावितको लागि निःशुल्क मनोसामाजिम परामर्शको व्यवस्था गर्ने

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन् । मन्त्री गौतमले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेकी हुन् ।  पदभार ग्रहण गर्दै उनले जेनजी आन्दोलनका घाइते तथा प्रभावितको लागि निःशुल्क मनोसामाजिम परामर्शको व्यवस्था गर्ने निर्णय पनि गरेकी छन् । विज्ञहरुको सुझावको आधारमा मनोसामाजिक परामर्श कसरी दिने भन्नेबारे छलफल गरेर कार्य अगाडि बढाउने उनको भनाइ छ । उनले भनिन्, ‘जेन–जी आन्दोलनबाट प्रभावित सबै व्यक्तिहरुको लागि मनोसामाजिक परामर्श सेवाको व्यवस्थापन गर्ने पहिलो निर्णय भएको छ । यसको डिटेल हाम्रो विज्ञहरुबाट वर्कआउट हुन्छ त्यसपछि फेरी तपाईहरुलाई बताउँछु ।’ पूर्वस्वास्थ्य सचिव समेत रहनुभएकी उहाँले तत्कालीन स्वास्थ्यमन्त्रीहरू प्रदीप पौडेल, गगन थापाको सल्लाहकार समेत रहेकी थिइन् ।   

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । शितलनिवासमा आइतबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरुले शपथ लिएका हुन् । डा. सुधा गौतम र बब्लु गुप्ताले मन्त्रीको शपथ लिएका हुन् । डा. गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार बिहान मन्त्रीमण्डल विस्तारको लागि मन्त्रीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन् ।  मन्त्रीमण्डलमा चार जनाको नाम सिफारिस भएपनि विवादका कारण दुई जनाको मात्रै आइतबार शपथ भएको हो । प्रधानमन्त्री कार्कीले गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सिफारिस गरेकी थिइन् । उनीहरुको भने शपथ रोकिएको हो । यसअघि प्रधानमन्त्री कार्कीले ७ जना मन्त्री नियुक्त गरिसकेकी छन् । नवनियुक्त मन्त्रीहरुको सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री कार्की, प्रधानन्याधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, नेपाल सरकारका मन्त्री लगायत उच्चपदस्थ व्यक्तित्वहरुको सहभागिता रहेको छ । 

वैदेशिक रोजगारी सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान

काठमाडौं । सरकारले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ ।      श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालयले यही कात्तिक ३ गते एक सूचना प्रकाशन गरी आवेदन आह्वान गरेको हो । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गई तोकिएको अवधिभित्र मृत्यु, अङ्गभङ्ग वा विरामी भई कल्याणकारी कोषबाट यस सचिवालयमार्फत शतप्रतिशत आर्थिक सहायता प्राप्त गरेका कामदारका सन्ततीलाई वैदेशिक रोजगार सन्तती छात्रवृत्तिका लागि आह्वान गरिएको जनाइएको छ ।       आफू अध्ययनरत रहेकै शैक्षिक संस्थामा वैदेशिक रोजगार सन्तती छात्रवृत्ति सञ्चालन कार्यविधि, २०८० को अनुसुची (१) बमोजिमको ढाँचामा यही कात्तिक मसान्तभित्र निवेदन पेस गर्न सम्बन्धित व्यक्तिलाई अनुरोध गरिएको छ  ।

तिहारपछि बढ्यो सेयर बजार, २ अर्ब ६६ करोडको कारोबार

काठमाडौं । तिहार विदापछिको पहिलो कारोबारको दिन आइतबार सेयर बजार समान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले बढेर २५०९ बिन्दुमा पुगेको छ । आज ९८ कम्पनीको सेयर मूल्य बढ्दा १४६ कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३१३ कम्पनीको ५५ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रिइन्स्योरेन्सको ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, १०.७५ प्रतिशत एसबीएल डीभेन्चरको २३ करोड, युनियन हाइड्रोपावरको १८ करोड, हिमालयन पावर पाटर्नरको १० करोड र हिमालयन डिस्टीलरीको ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज १०.७५ प्रतिशत एसबीएल डीभेन्चर २०८९ को सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आइतबार अन्य समूह सबैभन्दा धेरै ३.०५ प्रतिशतले बढेको छ ।  त्यस्तै जीवन बीमा ०.६१, उत्पादन तथा प्रशोधन ०.०२, निर्जीवन बीमा ०.०८ र व्यापार ०.८१ प्रतिशतले बढेको छ । बैंकिङ ०.३५, विकास बैंक ०.२९, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.५७, हाइड्रोपावर ०.३३, माइक्रोफाइनान्स ०.२३ र लगानी ०.३४ प्रतिशतले घटेको छ ।

प्रहरीको फरार सूचिमा रहेका खगेन्द्रको नाम मन्त्रीको सूचिबाट हटाइयो

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाम मन्त्री बन्ने सूचीबाट हटाइएको छ । प्रहरीको खोजी सूचीमा रहेका उनको नाम मन्त्रीको सूचीबाट हटाइएको स्रोतको दाबी छ ।  उनको नाम मन्त्रीका रुपमा सिफारिस भएको बाहिरिए पछि उनको सामाजिक सञ्जालमा आलोचना भएको थियो । सामाजिक सञ्जालमा आलोचना भएपछि उनको नाम हटाइएको हो ।  दैलेख घर भएका उनी आइतबार मन्त्रिपरिषदमा मन्त्रीका रूपमा सपथ ग्रहण गर्ने तयारीमा थिए । तर, उनको नाममा सुर्खेत जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीमा उल्लेख भएको सार्वजनिक पछि आलोचना भएको थियो ।  अदालतले २०८१ साल असार २१ गते जारी गरेको पुर्जीमा जिल्ला दैलेख, नारायण नगरपालिका-२ का खेमबहादुर सुनार अर्थात् खगेन्द्र नाम गरेका व्यक्ति माथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोग लगाइएको उल्लेख छ ।  अदालतले जारी गरेको पुर्जीमा नेपाल सरकार विरुद्ध सार्वजनिक सम्पत्ति नोक्सानी तथा स्वास्थ्यकर्मीमाथि हातपात सम्बन्धी मुद्दामा सुनारलाई पक्राउ गरी ७ दिनभित्र अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय दैलेखलाई आदेश दिइएको हो । सो मुद्दा २०८१ साल असार १८ गते सुर्खेत स्थित एक अस्पतालमा स्वास्थ्यकर्मी माथि गरिएको आक्रमणसँग सम्बन्धित थियो । त्यसक्रममा अस्पतालको सम्पत्ति तोडफोड र कुटपिटसम्बन्धी जाहेरी दर्ता भएको थियो । अदालतले अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरे पनि उनी लामो समयसम्म फरार रहेको आरोप छ । 

आजदेखि थाई एशियाको भैरहवा-बैंकक उडान सुरु

भैरहवा । थाई एशिया एयरले बैंकक-भैरहवा-बैंकक उडान आजदेखि पुनःसुरु गरेको छ । आइतबार बैंककबाट एयरबस ३२० विमानले १७ जना यात्रुसहित सवा १२ः०० बजे भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।      साथै भैरहवाबाट १६२ जना बोकेर विमान दिउँसो १ः१५ बजे पुनः बैंकक फर्किएको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । उनका अनुसार एयरलाइनले बैंकक–भैरहवा–बैंकक मार्गमा हप्तामा दुईपटक उडान गर्नेछ । एयरलाइन्सले प्रत्येक साता आइतबार र बुधबारका लागि नियमित उडानका लागि अनुमति पाएको छ । 

तीन महिनामा करिब ४ खर्बको व्यापार घाटा, भारत र चीनसँग व्यापार असन्तुलन उच्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मुलुकले करिब चार खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ ।     भन्सार विभागले आइतबार सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यो अवधिमा चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाख रुपैयाँको आयात र गर्दा ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँ बराबरको निर्यात भएको हो । यसरी असोज मसान्तसम्ममा कूल पाँच खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रुपैयाँको वैदेशिक व्यापारमा नेपालले तीन खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ घाटा बेहोरेको छ ।     पछिल्लो तीन महिनामा छिमेकी मुलुक भारतबाट दुई खर्ब ५८ अर्ब ८७ करोड ८२ लाख रुपैयाँको आयात र ५९ अर्ब १२ करोड ८३ लाख रुपैयाँको निर्यात हुँदा एक खर्ब ९९ अर्ब ७४ करोड रुपैयाँ बराबरको घाटा बेहोरेको छ ।       त्यस्तै, चीनसँगको असोज मसान्तसम्मको व्यापार घाटा एक खर्ब चार अर्ब ७० करोड रुपैयाँ छ । चीनबाट एक खर्ब चार अर्ब ८९ करोड रुपैयाँको आयात हुँदा १८ करोड ६४ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।      नेपालको सबैभन्दा बढी व्यापार नाफा डेनमार्कसँग छ । यो अवधिमा डेनमार्कबाट चार करोड एक लाख रुपैयाँको आयात हुँदा २८ करोड ९९ लाखको निर्यात भएको हो । यसरी डेनमार्कसँग २४ करोड ९८ लाख ३० हजार बराबरको व्यापार नाफा भएको छ । जर्मनी, रोमानिया, स्वीडेन, लेबनानलगायतका मुलुकसँग पनि नेपालको व्यापार नाफा बढी छ ।     पछिल्लो तीन महिनामा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । यो अवधिमा १६ अर्ब ७८ करोड ८७ लाख रुपैयाँको पेट्रोल, २० अर्ब ६९ करोड ४५ लाख बराबरको डिजेल र १३ अर्ब ९८ करोड १९ लाखको एलपी ग्यास आयात भएको छ । यो अवधिमा १३ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ ।