एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले कमलादीस्थित स्काइवाक टावरमा छुटसहित मनोरञ्जन लिन सक्ने भएका छन् । बैंक र वन्डर नेपालबीच सोमबार यस सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौताअनुसार बैंकका ग्राहकहरूले स्काइवाक टावरमा सेवा लिँदा डिजिटल भुक्तानी गरेबापत २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्दा उक्त छुट लागू हुनेछ । एनआईसी एशिया बैंकले यस सहकार्यबाट ग्राहकहरूलाई आकर्षक छुट सुविधा उपलब्ध हुनुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिको विस्तारमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
एमालेले गर्यो जेनजी आन्दोलनका घटनामा संलग्नहरूको पहिचानका लागि सूचना बैंक स्थापना
काठमाडौं । नेकपा एमालेले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूको पहिचान र कारबाहीका लागि प्रमाण संकलन गर्ने उद्देश्यले सूचना बैंक स्थापना गरेको छ । पार्टीका एक नेताका अनुसार आन्दोलनका समयमा विभिन्न व्यक्तिहरूले टिकटक, रिल तथा अन्य सामाजिक सञ्जालमा राखेका भिडिओ र तस्विरहरूबाट प्रमाण संकलन गरी सुरक्षित राख्ने तयारी भइरहेको छ । नयाँ प्रमाणहरू फेला परेमा ती पनि केन्द्रीय स्तरमै भण्डारण गरिने उनले जानकारी दिए । एमालेले देशभरका सरकारी कार्यालय, प्रहरी चौकी, व्यापारिक प्रतिष्ठान तथा निजी सम्पत्तिमा भएका आगजनी, तोडफोड र लुटपाटका घटनासम्बन्धी सबै प्रमाण संकलन गर्न केन्द्रीय कार्यालयमा विशेष डेस्क स्थापना गरीएको जनाएको छ । पार्टीका अनुसार यस अभियानको मुख्य उद्देश्य ती घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान गरी कानूनी कारबाहीका लागि आवश्यक प्रमाणिक आधार तयार गर्नु हो ।
६२ अंकले बढेको सेयर बजारमा ४ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६२ अंकले बढेर २५७१ बिन्दुमा पुगेको हो । आज २३६ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३१४ कम्पनीको ९२ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन पावर पाटर्नरको भएको छ । हिमालयनको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, युनियन हाइड्रोपावरको २३ करोड, राधी विद्युत कम्पनीको २१ करोड, बुटवल पावर कम्पनीको १९ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । न्यादी हाइड्रोपावर र बुटवल पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । मंगलबारको कारोबारमा व्यापार समूह बाहेक अरु सबै समूहको उपसूचक बढेका छन् । बैंकिङ समूह १.९२, विकास बैंक ४.४७, फाइनान्स ३.१४, होटल र पर्यटन २.८०, हाइड्रोपावर ३.९०, लगानी ३.१९, लाइफ इन्योरेन्स ३.५५, उत्पादन तथा प्रशोधन ०.३७, माइक्रोफाइनान्स २.५९, म्युचल फण्ड ०.४६, नन लाइफ इन्स्योरेन्स २.५४ र अन्य १.१९ प्रतिशतले बढेका छन् । व्यापार समूह ०.७६ प्रतिशतले घटेको छ ।
ओलीमाथि लगाइएको स्थानहद विरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि तोकिएको स्थानहद निर्णयविरुद्ध सर्वोच्च अदालतमा नयाँ रिट दायर गरिएको छ । अधिवक्ता डा. प्रेमराज सिलवालले सार्वजनिक सरोकारको विषयका रूपमा मंगलबार उक्त रिट सर्वोच्च अदालतमा दर्ताका लागि पेश गरेका हुन् । उनले ओलीमाथि लगाइएको स्थानहद असंवैधानिक र कानूनी प्रावधानविपरीत रहेको दाबी गरेका छन् । सर्वोच्च अदालतका एक कर्मचारीका अनुसार रिट निवेदन अध्ययनको चरणमा रहेको छ । उनले भने, 'रिट पेश भइसकेको छ, हाल अध्ययन भइरहेको छ। अध्ययन पूरा भएपछि दर्ता हुने वा नहुने भन्ने निर्णय हुनेछ ।' यसअघि काठमाडौं उपत्यका प्रशासनले ओलीलाई उपत्यका बाहिर जान नपाउने गरी स्थानहद तोकेको थियो, जसको विरोधमा यो रिट सर्वोच्चमा दायर गरिएको हो ।
ओरालो लागेको सुनको भाउ कतिसम्म घट्ला ?
काठमाडौं । हालसम्मकै उच्च बनेर रेकर्ड तोड्दै गइरहेको सुनको भाउ फेरि पछिल्ला दिनहरुमा ओरालो लाग्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । गत आइतबार एकै दिन प्रतितोला ११ हजार ६ सयले घटेर दुई लाख ४१ हजार ९ सय कायम भएको सुनको मूल्य सोमवार पुनः तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार ९ सयमा किनबेच भएको थियो । मंगलबार फेरि प्रतितोला दुई हजार ९ सय घटेपछि दुई लाख ३७ हजारमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । यसरी पछिल्लो दिनहरुमा ओरालो लागेको सुनको भाउ अझै घट्ने व्यवसायीहरुको आकलन रहेको छ । महासंघका प्रथम उपाध्यक्ष धर्मरत्न बज्रचार्यले सुनको भाउ उच्च बिन्दुमा पुगिसकेकाले अब बढ्ने भन्दा पनि निरन्तर ओरालो लाग्नेक्रममा रहेको बताए । उनकाअनुसार प्रतितोला २ लाख ५८ हजार पुगेको सुनको भाउमा भारी गिरावट आइसकेको छ, यो क्रम निरन्तर चल्ने देखिन्छ । पछिल्लो समय अमेरीकामा सुनबाहेक अन्य क्षेत्रमा लगानीका लागि वातावरण बन्दै गर्दा लगानीकर्ता अन्यत्र डाइभर्ट भएकाले सुनको भाउ घट्ने क्रम शुरु भएको हो । महासंघका उपाध्यक्ष बज्रचार्यले भने, ‘सुनको भाउ धेरै नै बढिसकेको थियो, दुई लाख ५८ हजार भनेको धेरै नै बढी सकेको अवस्था हो । कुनै न कुनै दिन झर्न त पर्ने नै हो । अब माथि गएर झर्छ कि अब यहिँबाट झर्छ भन्ने कुरा थियो । तर यो बीचमा तिहार थियो । तिहारमा खासगरी नेपालसँगै भारतमा धेरै सुनको खपत हुन्छ । धेरै खपत हुने हुँदा भाउ बढ्न अलिकति मद्दत गरिरहेको थियो । चाडपर्व सकिएसँग भारतमा पनि अलिकति माग घटेको छ । र यहिँ दौरानमा जुन अस्तिको दिनहरूमा अमेरिकाले चाइनालाई जुन ट्यारिफहरू बढाइसकेपछि चाइनाबाट जुन रियर अर्थ चाइनाले अमेरिकामा सप्लाई गर्दिन भनेर नगरेको अवस्था देखियो ।’ बज्रचार्यकाअनुसार अहिले सुनको भाउ घटेपनि खासै कारोबार भएको छैन । अन्तर्राष्ट्रिय क्षेत्रमा टे्डवार कम हुँदै जाँदा लगानीकर्ताहरू डाइवर्ट भएको देखिएकाले सुनको किनबेच कम भएको छ । पछिल्ला परिस्थितिहरु आँकलन गर्दा अहिले तत्कालै सुन प्रतिऔंस दुई–चार सय डलर घट्ने सम्भावना रहेको उनले बताए।
‘नेपाल लिबरल पार्टी’ गठनको घोषणा
काठमाडौं । आर्थिक उन्नतिको लक्ष्यसहित डा. गोपिलाल न्यौपानेको सभापतित्वमा नेपाल लिबरल पार्टी गठनको घोषणा गरिएको छ । मंगलबार आयोजित कार्यक्रममा डा. न्यौपानेको नेतृत्वमा नेपाल लिबरल पार्टी गठनको घोषणा गरिएको हो । आम नागरिकको व्यक्तिगत स्वतन्त्रता र आर्थिक सुधार गर्ने पार्टीको मुख्य लक्ष्य रहेको सभापति डा न्यौपानेले बताए । 'नेपाली जनतालाई सदाका लागि गरिबी, भय–त्रास बेरोजगारीबाट मुक्त गर्न, तत्काल न्यायको प्रत्याभूति दिन, कानुनी शासन बहाल गर्न, सुशासनमार्फत जनताको दैनिकी सजिलो पार्न र आर्थिक उदारवादमार्फत आर्थिक समृद्धि हासिल गर्न यो पार्टी गठन गरिएको हो', उनले भने । पार्टीले उदारवादी अर्थव्यवस्था, कर–कटौती, खुलापन, पारस्परिक सम्मान, उत्तरदायी प्रशासन, बजार विनियमन, आधुनिकीकरण, औद्योगिकीकरण, शहरीकरण, नैतिक राजनीति र विश्वव्यापीकरणको व्यावहारिक प्रयोगको नीति रहेको सो पार्टीका महासचिव डा. सुशील पौडेलले बताए । 'हाम्रो पार्टीको एउटै एजेन्डाः आर्थिक उन्नति हो', उनले भने ।
विप्लवको पार्टीले दर्ता गर्यो कम्युनिष्ट पार्टी नेपाल, के राख्यो चुनाव चिन्ह ?
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीको नाममा लामो समयदेखि परीचित हुँदै आएको नेत्र बिक्रम नेतृत्वको दलको नाम अब कम्युनिष्ट पार्टी नेपाल हुने भएको छ । निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा पार्टीको नाम परिवर्तन गरिएको हो । मंगलवार महासचिव चन्दसहितका नेताहरु निर्वाचन आयोग पुगेर आगामी निर्वाचनका लागि दल दर्ता गर्ने प्रक्रिया सुरू गरेका हुन् । पार्टीले चुनाव चिन्ह भने खुलाएकाे छैन ।
प्रतिकूल मौसमले हवाई उडान सामान्य प्रभावित
काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तरराष्ट्रिय दुबै उडान केही ढिला हुन गएका छन् । अहिले अन्तरराष्ट्रियतर्फ उडान केही समयदेखि ‘होल्ड’मा रहेका छन् । हिमाली क्षेत्रतर्फ लुक्लाको तेञ्जिङ हिलारी, हुम्लाको सिमीकोटलगायत विमानस्थलमा उडान सामान्य प्रभावित भएको बताइएको छ । विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार खराब मौसमका कारण अहिले विमानस्थलमा इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्रै भइरहेको छ । केही उडान डिले भए पनि रद्द नै गर्नुपर्ने अवस्था नभएको उनले बताए । निश्चित हवाई रुट भएकाले उडानमा सामान्य चाप बढेको छ । हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ । यस प्रणालीको प्रभावले गएरातिदेखि बुधबार बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकाको आकाशमा बिहानदेखि बद्ली रहेको छ ।