विकासन्युज

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले कास्की र पर्वतको सिमाना नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म मर्मतसम्भार र कालोपत्रको काम सुरु गरेको जानकारी दिएको छ । पहिलो चरणमा पोखराको फेदीतर्फबाट खाल्डाखुल्डी पुर्ने र भत्केको सडक कालोपत्र गर्ने कामसम्पन्न गरी दोस्रो चरणमा पर्वत खण्डमा मर्मतको काम थालनी गरिएको कार्यालयका सब–इन्जिनियर लोकेश पौडेलले जानकारी दिए । बर्खायाममा धेरै ठाउँमा सडक भत्केको र खाल्डाखुल्डी परेका कारण यातायात सञ्चालनमा कठिनाइ हुँदै आएको ठाउँहरुमा मर्मतसम्भार र आवश्यक ठाउँमा कालोपत्र र टालटुलको काम भइरहेको उनको भनाइ छ । लोकमार्ग मर्मतसम्भारका लागि विनियोजित ५० लाख रुपैयाँ बजेटबाट पर्वत र कास्की खण्ड मर्मतको काम अघि बढाइएको हो । शिवालय निर्माण सेवामार्फत सडक मर्मतसम्भारको काम भइरहेको सब–इन्जिनियर पौडेलले जानकारी दिए । बर्खायाम सकिएलगत्तै सडक मर्मत गर्ने योजना रहे पनि बीचमा ठूला चाडबाड परेको र पछिल्लो वर्षा नरोकिएका कारण ढिलोगरी मर्मतकार्य सुरु भएको हो । जाडोयाममै भए पनि अहिले धमाधम काम भइरहेको पौडेलले बताए । सडक धेरै ठाउँमा बिगे्रकाले ममर्तसम्भारमा छुट्टिएको बजेट अपुग हुने देखिएको सब–इन्जिनियर पौडेलले बताए । पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको छ । ठाउँठाउँमा सडक बिग्रँदा सहज र निर्वाध रुपले सवारीसाधन चलाउन सक्ने अवस्था नभएपछि यात्रु र सवारी चालकहरुले लामो समयदेखि गुनासो गर्दै आएका थिए । सडक कतै भासिएको छ भने कहीँ ठूल्ठूला खाल्डा परेका छन् । सवारीसाधनको बढी चाप हुने मुख्य सडक नै बिग्रँदा दुर्घटनाको जोखिम बढेको थियो । पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुमपूर्वलगायतका जिल्लाबाट उक्त सडक हुँदै दैनिक सयौँ गाडी पोखरा, काठमाडौँ, नारायणगढ हुँदै मुलुकका विभिन्न ठाउँमा आउजाउ गर्ने गरेका छन् । कार्यालयका अनुसार नयाँपुलतर्फबाट मर्मत हुँदै अहिले कुश्मा नगरपालिका–८ पराधिसम्म आइपुगेको छ । अब एक महिनामा मालढुङ्गासम्मनै मर्मतको कार्य सकिने कार्यालयले जानकारी दिएको छ । मर्मत सकिएका ठाउँहरुमा धुलो र हिलोको समस्या समाधान भएको चालकहरुले बताएका छन् । आर्थिक वर्ष २०७८/७९ मा निर्माण सम्पन्न भएको लोकमार्गको पर्वत खण्ड दुई वर्षमै भत्किएर जीर्ण बनेको हो । रासस

टोखाबाट ५ करोड बढीको चाकु बिक्री

काठमाडौं । टोखाबाट यसवर्ष ५ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको चाकु बिक्री भएको छ । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ । टोखाका हाल १८ उद्योगले चाकु, लड्डुलगायत उत्पादन गर्दै आएका छन् । १८ उद्योगमध्ये १० उद्योगले चाकु उत्पादन र बाँकी ८ उद्योगले तिलको लड्डु, भुजाको लड्डुलगायतका परिकार बनाउँदै आएका छन् । टोखा नगरपालिका-२ र ३ मा चाकु उत्पादन हुँदै आएको छ । यो टोखाको पुरानो बजार समेत हो । उक्त बजारको नामबाट नगरपालिकाको नामसमेत राखिएको हो  । टोखामा उत्पादन भएको चाकु काठमाडौं उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरका नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा पनि बिक्रीका लागि पुर्याउने गरिन्छ । टोखामा उत्पादन हुने चाकुले नेपालको करिब  ६० प्रतिशत बढी चाकुको माग पूर्ति गर्ने बताइन्छ । टोखा परम्परागत चाकु संरक्षण समाजका संस्थापक अध्यक्ष कृष्णबहादुर श्रेष्ठले टोखामा उत्पादित चाकु नेपालसँगै जापान, अमेरिका र अष्ट्रेलियालगायतका देशमा पुग्ने गरेको बताए । टोखामा बर्सेनि रु पाँच लाख किलो चाकु र लड्डु उत्पादन हुँदै आएको छ । नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखुखेती हुने ठाउँका रुपमा चिनिन्छ । टोखाका उद्योगमा हाल सादा चाकु, मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भूजा लड्डु, बदाम लड्डुलगायत उत्पादन हुँदै आएका छन् । टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष  बुद्ध श्रेष्ठले टोखामा सञ्चालित चाकु उद्योगले वार्षिक चाकु र उखुबाट बन्ने परिकार बिक्रीबाट करोडौं रुपैँया आम्दानी गर्दै आएको बताए । टोखामा कृष्ण चाकु उद्योग, काशीलाल चाकु उद्योग र न्हुछे चाकु एण्ड तिरौला उद्योग ठूला उद्योग हुन् ।  कपिलवस्तुको कृष्णनगरस्थित चन्द्रौटामा रहेको यस वन्त गुण उद्योगबाट सख्खर ल्याएर टोखामा चाकु बनाइँदै आएको छ । धेरै पहिले समयमा टोखामा उखु उत्पादन हुने भए पनि बढ्दो सहरीकरणसँगै यहाँको उखु खेती भने मासिएको छ ।  यहाँ उत्पादित सादा चाकुको मूल्य प्रतिकिलो १४०, मसला चाकुको मूल्य प्रतिकिलो १५०, सेतो तिलको लड्डुको मूल्य प्रतिकिलो २३०, कालो तिलको लड्डुको मूल्य प्रतिकिलो २५० निर्धारण गरिएको छ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी टोखाको ऐतिहासिक विशेषतालाई जीवन्त राख्न टोखामा चाकु स्तम्भ निर्माणका लागि नगरपालिकाले काम गरिरहेको बताए । ‘टोखा नगरपालिका-२ गलेमा चाकु स्तम्भका लागि डिपिआर निर्माण भइसकेको छ । छिट्टै चाकु स्तम्भ निर्माण गछौँ,’ उनले भने । टोखाले चाकुलाई अन्तरराष्ट्रियस्तरमा ब्राण्डिङ गर्ने बताएको छ । नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । साथै नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ । चाकु चिसो लागेका बेला पनि खाने चलन छ । चाकु खाँदा शरीरमा धेरै फाइदा हुनाका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ । यस्तै माघे सङ्क्रान्तिमा चाकु बाहेक सख्खर, तरुललगायतका खानेकुरासमेत खाने प्रचलन छ ।

सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।  कम्पनीका अनुसार सञ्चालक समितिको पुस ७ गते र पुस २२ गते सम्पन्न बैठकबाट निवेदन बमोजिम २ लाख ४२ हजार ६४८ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । नेपाल बीमा प्राधिकरणले जारी गरेको संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७ अनुसार सेयर बिक्री प्रक्रिया सुरु गरिएको कम्पनीले जनाएको छ ।  उक्त संस्थापक सेयर खरिदमा विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिइनेछ । यदि संस्थापक सेयरधनीहरूबीच ३५ दिनभित्र खरिदबिक्री हुन नसकेको अवस्थामा मात्र अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सानिमा रिलायन्सको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । 

युक्रेनले ९० अर्ब युरो ऋण सैन्य आवश्यकतामा खर्च गर्ने ईयूको घोषणा

काठमाडौं । युक्रेनका लागि युरोपेली सङ्घको महत्त्वपूर्ण ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋणको दुई तिहाइ रकम किएभको सैन्य संयन्त्रलाई सम्बोधन गर्न खर्च गरिने बताइएको छ र बाँकी सामान्य बजेटको लागि छुट्याइएको छ, ब्रसेल्सले बुधबार भनेको छ । महिनौंको कूटनीतिक विवादपछि डिसेम्बरमा इयू सदस्य राष्ट्रहरूले सैन्य संयन्त्रका लागि खर्च गर्न सहमति जनाएका थिए । यो ऋणले नगदको अभाव भएको युक्रेनलाई अत्यन्त आवश्यक सैन्य खर्च व्यवस्थापनका लागि सहयोग प्रदान गर्नेछ। रूसले छिमेकी युक्रेनमाथि सुरू गरेको आक्रमण आफ्नो पाँचौं वर्षतिर लम्किरहेको छ ।  इयूकी प्रमुख उर्सुला भोन डेर लेयनले भनिन्, ‘यो सहयोगबाट हामी यो सुनिश्चित गर्छौं कि युक्रेनले एकातिर युद्धको मैदानमा आफ्नो प्रतिरक्षा बलियो बनाउन सकोस् र आफ्नो सैन्य क्षमतालाई बलियो बनाउन सकोस् र अर्कोतर्फ राज्य र आधारभूत सेवालाई सुचारु राख्न सकोस् ।’   भोन डेर लेयनले भनिन्, ‘फ्रान्स र अन्य केही मुलुकले लामो समयदेखि इयूको रक्षा उद्योगलाई बलियो बनाउन र संयुक्त राज्य अमेरिकामाथिको निर्भरता कम गर्न महत्त्वपूर्ण रहेको बताएका समय यो कोष मुख्यतया युक्रेन र युरोपेली देशहरूबाट हतियार किन्न प्रयोग गरिनेछ ।’ यदि आवश्यक उपकरणहरू युरोपमा सजिलैसँग उपलब्ध नहुने भएमा किएभको लागि कहिलेकाँही यूरोप बाहिर किनमेल गर्न सम्भव हुने आयोगका अध्यक्षले बताए ।  ‘हाम्रो लागि यो धेरै पैसा हो । यो अर्बौं र अर्बौं लगानी भइरहेको छ।  यी लगानीहरूले रोजगारी सिर्जना गर्न, अनुसन्धान र विकास सिर्जना गर्न लगानीमा प्रतिफल पाउनुपर्छ,’ उनले भने ।  आगामी दुई वर्षका लागि युक्रेनको वित्तीय आवश्यकताको दुई तिहाइ पूरा गर्ने ऋणलाई युरोपेली संसद र सदस्य राष्ट्रहरूले भुक्तानी गर्न सुरु गर्नु अघि अनुमोदन गर्नुपर्नेछ ।   रुसी केन्द्रीय बैंकको सम्पत्ति रोक्का गर्ने योजना असफल भएपछि गत महिना युरोपेली सङ्घका नेताहरूले इयूको साझा बजेटद्वारा समर्थित ऋणमा सम्झौता गरेका थिए । ब्रसेल्सले ईयूको बजेटमार्फत प्रति वर्ष लगभग तीन अर्ब युरो ब्याजको लागत बेहोर्ने छ ।

राजस्व संकलनमा दबाब कायमै, ६ महिनामा ५.८१ खर्ब रुपैयाँ मात्र असुल

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो अर्ध वार्षिक अवधिमा सरकारको राजस्व संकलन अपेक्षाअनुसार हुन सकेको छैन । अर्थमन्त्रालय अन्तर्गतको राजस्व व्यवस्थापन महाशाखाको तथ्यांक अनुसार चालु आवको पुस ३० गतेसम्म जम्मा ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ, जुन अर्ध वार्षिक लक्ष्यको करिब ८१.७५ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । सोहीअनुसार ६ महिनामा ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य तोकिएको थियो । तर वास्तविक संकलन लक्ष्यभन्दा करिब १ खर्ब २९ अर्ब ८० करोड रुपैयाँ कम देखिएको छ । यसले चालु वर्षको ६ महिनाको अवधिमा राजस्व दबाब अझै बढ्ने संकेत गर्छ । पुस महिनामा पनि लक्ष्य भेटिएन पुस महिनाको मात्र लक्ष्य १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ तोकिएको थियो । तर सो अवधिमा १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको ८९.९६ प्रतिशत मात्र हो । यद्यपि पुस ३० गते एकै दिन २० अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन हुनु सकारात्मक संकेत मानिए पनि समग्र लक्ष्य पूरा गर्न पर्याप्त देखिँदैन । गत आर्थिक वर्ष २०८१/८२ कुल राजस्व संकलन वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । गत वर्ष पुस मसान्तसम्म ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन भएको थियो । जबकि गत वर्ष ६ महिनामा ६ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य तोकिएको थियो ।  यस आधारमा हेर्दा चालु वर्षको संकलन अघिल्लो वर्षको तुलनामा केही मात्र सुधारिएको देखिन्छ, तर लक्ष्य अनुसारको गति अझै कमजोर छ । विभिन्न राजनीतिक गतिविधि वा आन्दोलन हुनु, आन्तरिक आर्थिक गतिविधि अपेक्षाअनुसार विस्तार हुन नसक्नु, निजी क्षेत्रको लगानी कमजोर रहनु र उपभोग घट्दा राजस्व संकलनमा असर परेको जानकारहरु बताउँछन् । 

एक कुवेती दिनारको मूल्य ४७३.४५ रुपैयाँ, कुन देशको मुद्राको भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८० रुपैयाँ ६९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०४ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६८ पैसा र बिक्रीदर २० रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६१ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर ४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४ रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५ रुपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ४५ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८४ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ०७ पैसा रहेको छ ।

मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्ति पर्वको रौनक

काठमाडौं । म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्ति पर्वको रौनक छाएको छ । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे सङ्क्रान्ति र साउनेसङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन । अल्पसङ्ख्यक छन्त्याल समुदायले माघे सङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन । नेपाल मगर सङ्घ म्याग्दीका अध्यक्ष खम थापामगरले साउने सक्रान्तिलाई हिउँद र माघे सङ्क्रान्तिलाई बर्खा सुरू भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको बताए ।  ‘प्रकृतिका पुजारी मगर समुदायले साउनेसङ्क्रान्तिलाई हिउँद र माघलाई बर्खा सुरु भएको दिनका रूपमा मान्ने गर्दछन् । माघे सङ्क्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मिठामिठा परिकार खुवाउने चलन छ,’ उनले भने । यो पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ । मगर बस्तीमा माघे र साउनेसङ्क्रान्तिमा भेला भएर नाचगान गर्ने, पुख्र्यौली नृत्य देखाउने र खुसी साटासाट गरी रमाइलो गर्ने चलन रहेको छ । चेलीबेटीहरू तरुल र सेलरोटी, फलफूल लिएर माघे सङ्क्रान्तिमा माइतीघर जान्छन । यो पर्व मनाउन सहर, बजार र विदेशबाट मगर समुदाय जन्मथलोमा फर्किएका अन्नपूर्ण गाउँपालिका–७ टिकोटकी टिका तिलिजा पुनले बताइन् । चाडपर्वले आफन्तजन र साथीभाइसँग भेटघाट हुने अवसर जुराएको उनको भनाइ छ ।  माघे सङ्क्रान्ति पर्वको अवसरमा मगर बस्तीहरुमा खेलकुुद तथा सांस्कृतिक मेला आयोजना भएका छन् । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा पर्ने म्याग्दीको सदरमुकाम बेनी बजारमा २०० वर्षअघि बस्ती बसेदेखि माघे सङ्क्रान्तिको अवसरमा मेला लाग्ने चलन रहेको स्थानीयवासीसमेत रहेका बेनी नगरपालिकाका पुर्वप्रमुख हरिकुमार श्रेष्ठले बताए । उनका अनुसार चामल, कोदो, भाँगो, डोका, डाली, ठेका, घ्यू, तामा, फलामबाट बनेका सामग्री बिक्री गर्न वरपरका मानिसहरू बेनीको माघे सङ्क्रान्ति मेलामा आउने गर्दथे । बेनीस्थित कालीगण्डकी नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।  ‘त्यसबेला अहिलेको जस्तो गाउँ गाउँमा बजार थिएन् । किनमेलका लागि मेला कुर्नुपर्दथ्यो । बेनीमा माघे सङ्क्रान्तिको मेला किनमेलको माध्यम थियो । युवाहरूले गीत गाउने, नाच्ने गरेर रमाइलो गरेको अझै झलझली लाग्छ,’ उनले भने । समय, परिवेश र जीवनशैलीमा आएको परिवर्तनसँगै बेनीमा हुने मेलाको स्वरुप पनि फेरिएको छ । पछिल्लो समयमा यहाँ मेला र महोत्सव आयोजना गरेर पुरानो परम्परालाई निरन्तरता दिँदै संरक्षण र प्रवद्र्धनमा जोड दिइएको छ । हरेक तीन/तीन वर्षमा स्थानीय उत्पादन, कला, संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ महोत्सव आयोजना गरिदैं आएको छ । सङ्घ अन्तर्गतको महिला उद्यम विकास समितिले महोत्सव नहुने वर्षमा माघे सङ्क्रान्ति मेला सञ्चालन गर्दै आएको छ । यस वर्ष बुधबारदेखि बेनीमा ११ औँ माघे सङ्क्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रदर्शनी सुरु भएको छ । बेनीमा परम्परागत रुपमा लाग्ने माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय खाना, कला संस्कृतिको संरक्षण र सम्वद्र्धन, आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन, प्रतिभा पहिचानका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको समितिका सभापति अम्बिका श्रेष्ठले बताइन् । 

विश्वप्रकाश उपसभापति, पौडेल महामन्त्री, विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति घोषणा

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको नाम घोषणा गरिएको छ । काठमाडौंमा आइतबारदेखि जारी विशेष महाधिवेशनबाट आज पार्टी सभापतिमा गगन कुमार थापा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरु राज घिमिरे निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।  पार्टीको सहमहामन्त्री डा डिला सङ्ग्रौला पन्त (महिला), प्रकाश रसाइली स्नेही (दलित), बहादुरसिहं लामा (आदिवासी जनजाति), उदयशम्शेर राणा (खसआर्य), मुक्ताकुमारी यादव (मधेसी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र) निर्वाचित भएका छन् । यस्तै, खुला ३५ केन्द्रीय सदस्यतर्फ गोपालमान श्रेष्ठ, ओमकारप्रसाद श्रेष्ठ, अर्जुननरसिंह केसी, राजेन्द्रकुमार केसी, अर्जुनप्रसाद जोशी, सुरेशकुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, ध्रुव वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्ज्वल बराल, जनक गिरी र देवप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् ।  यस्तै, जयबाबु सिवाकोटी र प्रेमबहादुर खड्का, जयराम लामिछाने, वसन्त भट्टराई, प्रदीप शर्मा, जगत जोशी, प्रमोदहरि गुरागाईँ, डा केदारनरसिंह केसी, विदुर बस्नेत, तीर्थजङ्ग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल सिंह खुला केन्द्रीय सदस्य निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । महिला खुल्ला ९ सदस्यीय केन्द्रीय सदस्यमा चम्पादेवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सत्याल, सन्तोषी साउँद ऐर र दिलकुमारी राई निर्वाचित हुनुभएको छ । केन्द्रीय सदस्य कोशी प्रदेशतर्फ शारदादेवी कोइराला, हिमालय कर्माचार्य र अग्नि पौडेल, मधेसतर्फ मधु शाही, रामानन्द यादव र बजरङ्ग नेपाली, बागमतीतर्फ उमा दाहाल, जितनारायण श्रेष्ठ र रमेश धमला निर्विरोध चयन भएका छन् । गण्डकीतर्फ विष्णुदेवी पाण्डे, रेशम बानियाँ र कृष्ण केसी, लुम्बिनीतर्फ पवित्राकुमारी अर्याल, केशव आचार्य र रामबहादुर कार्की, कर्णालीतर्फ रमादेवी खड्का, दिक्पाल शाही र नारायण भट्टराई तथा सुदूरपश्चिमतर्फ निपा चोख्याल, हिमबहादुर रावल र नरेन्द्रप्रसाद भट्ट निर्वाचित भएका छन् । केन्द्रीय सदस्य (अपाङ्गता) तर्फ प्रकाश पन्त, (अल्पसङ्ख्यक) तर्फ शिवनारायण सिं गनगाई, केन्द्रीय सदस्य दलिततर्फ मैकुलाल बाल्मिकी, शिवबहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्य विक र दिनेश सुनार निर्वाचित भएका छन् ।  केन्द्रीय सदस्य आदिवासी जनजाति (महिला)तर्फ सपना राजभण्डारी, प्रमिला राई, मनकुमारी गुरुङ, कुशुमदेवी थापा मगर, लीलादेवी बोखिम लिम्बू, डा अमिता प्रधान र छोन्दुल्होम शेर्पा, आदिवासी जनजाति खुलातर्फ तारामान गुरुङ, अष्टकुमार कवे, छन्दबहादुर पहराइ मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भीम श्रीष, नरेन्द्र केरुङ र दिपेन श्रेष्ठ चयन भएका छन् । केन्द्रीय सदस्य (खसआर्य महिलातर्फ) उमा सिवाकोटी, बाला अधिकारी, मुना भुसाल, इन्दिरा कार्की, विनिता खड्का र सम्झना खत्री, खसआर्य खुलातर्फ विजय स्वार, मथुरा घिमिरे, जगदीशचन्द्र उपाध्याय, विष्णुकुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल र कमल भुसाल निर्वाचित भएका छन् । केन्द्रीय सदस्य (मधेसी महिलातर्फ) अञ्जु झा, चन्द्रकलाकुमारी यादव, गोमा अन्सारी र र निलम साह, (मधेसी खुला) मा रामपल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सनिलकुमार यादव र रामरुप प्रसाद निर्विरोध भएका छन् । केन्द्रीय सदस्य (मुस्लिम महिला) पदमा सनम वेगम, मुस्लिम खुल्ला पदमा अब्दुल रज्जाक गद्दी र अब्दुल सत्तार, थारू महिलामा नवोदिता चौधरी र सुनिता राना, थारू खुल्लातर्फ सुरेन्द्रप्रसाद चौधरी र गोपाल दहित तथा पिछडिएको क्षेत्रतर्फ खुल्ला केन्द्रीय सदस्यमा दीपकजङ्ग शाह निर्वाचित भएका छन् ।  घोषित समितिका सभापति थापाले आजै निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता केसीसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेको छ भने अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई भने आजै दिउँसो शपथ ग्रहणको कार्यक्रम राखिएको निर्वाचन समितिले जनाएको छ ।