विकासन्युज

‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ लक्की ड्रको ग्राण्ड रिभिल कार्तिक २१ गते हुने

काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रालिले 'पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला' अन्तर्गतको लक्की ड्रको ग्राण्ड रिभिल कार्तिक २१ गते गर्ने भएको छ । कार्तिक २० गतेसम्म यो योजनामा सहभागी भएर ग्राहकहरूले विभिन्न आकर्षक लाभ उठाउन सक्नेछन् । विजेताहरूको घोषणा कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारणद्वारा सार्वजनिक गरिने सिप्रदी अटो पार्ट्सले जनाएको छ । यस अफरअन्तर्गत सहभागी ग्राहकहरूका लागि विभिन्न आकर्षक पुरस्कारहरूको व्यवस्था गरिएको छ । प्रमुख बम्पर उपहारको रूपमा बजाज पल्सर १५० सीसी मोटरसाइकल राखिएको छ, जससँगै टीभीएस एनटर्क १२५ सीसी स्कुटर, स्मार्ट टिभी र स्मार्टफोन पनि उपहारमा प्रदान गरिनेछ। साथै हरेक खरिदमा १,००० रूपैयाँसम्मको क्यासब्याक कुपन प्राप्त गर्न सकिनेछ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सञ्चालन गरिएको यो अफरले टाटा सवारीसाधनका प्रयोगकर्ताहरूबीच उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ । अफर कार्तिक २० गतेसम्म मात्र मान्य रहने भएकाले, सिप्रदीले ग्राहकहरूलाई समयमै टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुन आग्रह गरेको छ । सिप्रदी अटोपार्ट्सका अनुसार टाटा मोटर्सद्वारा निर्मित टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सले सवारीसाधनका इन्जिन, ब्रेक, क्लच लगायतका महत्वपूर्ण भागहरूलाई दीर्घायु बनाउँछन् र गाडीको गति अझ उत्कृष्ट बनाउँछन् । यी पार्ट्स उच्च गुणस्तरका र पूर्ण रूपमा टाटाद्वारा प्रमाणित भएकाले, नेपालभरका व्यवसायिक सवारी प्रयोगकर्ताहरूले टाटा जेन्युइन पार्ट्सलाई सबैभन्दा भरपर्दो र विश्वसनीय विकल्पको रूपमा रोज्दै आएका छन् ।

एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभा भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा सम्पन्न भएको छ । उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश पारित गरेको छ । आर्थिक वर्ष २०८२/८३ को लागि जि.पि. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।   

बेमौसमी वर्षा : दाउन्नेमा सडक अवरुद्ध

नवलपुर (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा आज बिहानदेखिको वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए । वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको उनले बताए । सूचना अधिकारी नेपालले भने, 'बिहानैदेखि परेको पानीका कारण बाटो हिलो र चिप्लो हुँदा सवारीसाधन पश्चिमतर्फ जान सकेका छैनन् । दाउन्ने खण्डमा मालवाहक सवारीसाधन उकालो चढ्न नसकेपछि यस खण्डमा जाम हुन नदिन प्रहरी खटिएका छन् ।'

आजसम्म सेयरधनी बने ग्लोबल आइएमई, गुराँस र मुक्तिनाथको लाभांश पाइने

काठमाडौं । आज विभिन्न ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ गुराँस लघुवित्त र मुक्तिनाथ कृषिले भोलि कात्तिक १४ गते र ग्लोबल आइएमईले कात्तिक १६ गते बुकक्लोज गर्दैछन् ।  त्यसैले आज कात्तिक १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । ग्लोबल आइएमई बैंकले कात्तिक २६ गते बिहान १० बजे प्रज्ञा भवन कमलादी काठमाडौंमा १९औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँको करसहित ८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।  गुराँस लघुवित्त वित्तीय संस्थाले कात्तिक २३ गते धनकुटामा १०औँ वार्षिक साधारण सभा बिहान ९ बजे डाकेको छ । सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ६५ लाख ८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ०.७५ प्रतिशतका दरले ८ लाख ६८ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । मुक्तिनाथ कृषि कम्पनीले कात्तिक २१ गते साढे ११ बजे काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ७० करोड रुपैयाँको ८ प्रतिशतका दरले ५ करोड ५९ लाख ९३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशतका दरले २९ लाख ४७ हजार रुपैयाँ नगद गरी कुल ८.४२ प्रतिशत अर्थात् ५ करोड ८९ लाख ४० हजार रुपैयाँ लाभांश प्रस्ताव पारित गर्नेछ । 

मेडिकेयर हस्पिटलको १०.५२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । मेडिकेयर हस्पिटलले लाभांश वितरण गर्ने भएको छ । हस्पिटलको सञ्चालक समितिको कात्तिक ७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित १०.५२ प्रतिशतका दरले ४ करोड ७३ लाख ६८ हजार ४२१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको चुक्ता पुँजी ४५ करोड रुपैयाँ छ । उक्त लाभांश प्रस्ताव पारित गर्न हस्पिटलले मंसिर ६ गते बिहान ११ बजे काठमाडौंमा २८औँ वार्षिक साधारण सभा बोलाएको छ ।  हस्पिटलको सभाले सञ्चालक समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन र चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्नेछ ।  सन् १९९६ मा स्थापित, मेडिकेयर अस्पताल करिब ३ दशकदेखि स्वास्थ्य सेवा व्यवसायमा संलग्न छ । सानिमा र महतो ग्रुपको लगानीमा सञ्चालित मेडिकेयर हस्पिटलको काठमाडौंमा ८७ सैय्यामा चलिरहेको छ ।  सन् २०२४ मा हस्पिटलले ५४ करोड ९० लाख रुपैयाँ, सन् २०२३ मा ५० करोड १० लाख रुपैयाँ र सन् २०२२ मा ४७ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । 

वामदेव गौतमसहित १९ जना सांसद राष्ट्रिय सभाबाट बिदा हुँदै

काठमाडौं । राष्ट्रिय सभाका १९ जना सांसदको कार्यकाल आगामी फागुनदेखि सकिँदैछ । जसमा एमालेका आठ, नेकपा (माओवादी केन्द्र) का ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद रहेका कार्यकाल सकिँदैछ । रिक्त हुन लागेकामध्ये १ जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । कार्यकाल सकिएर बिदा हुन लागेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सांसदहरूमा गोपीबहादुर सार्की अछामी, गङ्गाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान रहेको सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए ।  एमालेका सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा विसीको कार्यकाल पनि सकिँदैछ । एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंह पनि कार्यकाल सकिएर बिदा हुँदैछन् ।  सरकारले आगामी माघ ११ गते आइतबारलाई राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेको छ । राष्ट्रिय सभाका ५९ सदस्यीयमध्ये राष्ट्रिय सभामा १८ जना सदस्यका लागि निर्वाचन हुनेछ । 

जेनजी आन्दोलनकर्ताले गरे सुनचाँदी पसलमा आगजनी, नवलपुरमा ५८ करोडको क्षति

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते भएको आगजनी तोडफोडबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा करिब ५८ करोड रुपैयाँको क्षति भएको छ । प्रदर्शनका क्रममा जिल्लास्थित सरकारी र निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट करिब ५८ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए । उनका अनुसार आन्दोलनका क्रममा जिल्लामा ४० वटा सवारीसाधन र ५३ वटा भौतिक संरचनामा क्षति पुगेको थियो । जिल्लास्थित सरकारी कार्यालयका एउटा चार पाङ्ग्रे सवारीसाधन र ४ वटा मोटरसाइकल, ३ वटा मोटरसाइकलबारे अनुसन्धान भइरहेको, स्थानीय तहका ९ वटा मोटरसाइकल, ५ वटा चार पाङ्ग्रे सवारीसाधन र ७ वटा साइकलसहित २१ वटा सवारीसाधनमा क्षति पुगेको भन्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।  उनका अनुसार स्थानीय तहका ९ वटा मोटरसाइकलमा पूर्ण क्षति पुगेको छ । यस्तै, २ वटा चार पाङ्ग्रे सवारीसाधनमा पूर्ण तथा ३ वटामा आंशिक रुपमा क्षति पुगेको छ । निजी सवारीसाधनतर्फ १४ वटा सवारीसाधनमा क्षति पुगेको छ । जिल्लामा क्षति पुगेका ४० वटा सवारीसाधनमध्ये १७ वटा मोटरसाइकलमा पूर्ण क्षति, ५ वटा आंशिक तथा चार पाङ्ग्रे सवारीसाधनतर्फ ४÷४ वटा सवारीसाधनमा पूर्ण र आंशिक क्षति भएको छ ।  प्रदर्शनका क्रममा जिल्लामा ५३ वटा भौतिक संरचनामा क्षति पुगेकामा ५ वटा निजी आवास पूर्ण रूपमा क्षति भएका प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । जिल्लामा २ वटा प्रहरी इकाई, ३ वटा प्रहरी बिट र गण्डकी प्रदेश अन्तर्गतको एउटा सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ ।  यस्तै, ३ वटा पालिका कार्यालय र ६ वटा वडा कार्यालयमा आगजनी भएको उनले बताए । आगजनी र तोडफोडबाट जिल्लामा राजनीतिक दल र जनप्रतिनिधिका निजी घर गरी १५ वटामा क्षति पुगेको जनाइएको छ ।  यसैगरी आईएमई ग्रुपको मौलाकाली केबलकार र बाबुराम सुनचाँदी पसलमा समेत आगजनी र तोडफोड भएको छ । आन्दोलनका क्रममा जिल्लास्थित चारवटा राजनीतिक पार्टीका जिल्ला पार्टी कार्यालय, १२ वटा नगर पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको जनाइएको छ । 

त्रिपक्षीय बैठकमा जेनजीले मागे निर्वाचनसँगै सुशासन

काठमाडौं । निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय छलफल भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा पहिलो पटक त्रिपक्षीय बैठक आयोजना गरिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा विशेषगरी निर्वाचन सफल बनाउने तथा मुलुकमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा विचारविमर्श भएको छ । बैठकका विषयमा जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्रीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच पहिलो बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो । सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच छलफल भएको र यस किसिमको छलफललाई निरन्तरता दिइने समझदारी भएको उनले जानकारी दिए ।  सञ्चारमन्त्री खरेलले भने, ‘यो बैठक औपचारिक रूपमा सरकारकोतर्फबाट पहिलो पटक आयोजना भएको हो । असाध्यै सौहार्दपूर्ण वातावरणमा सकारात्मक कुराकानी भएको छ ।’ बैठकमा प्रधानमन्त्री कार्कीले त्रिपक्षीय छलफल सुरुवात भएको र यसलाई निरन्तरता दिइने बताए । मुलुक बनाउने अभिभारा सबैको रहेको भन्दै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा उनको जोड छ । सञ्चारमन्त्री खरेलका अनुसार बैठकको मुख्य उद्देश्य, निर्वाचन, सुशासन कायम, भ्रष्टाचार नियन्त्रणका साथै जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाउने सन्दर्भ रहेको थियो । त्यसमा पनि विशेषगरी निर्वाचनका विषयलाई अलि बढी लक्षित गरेर सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच छलफल भई आपसी समझदारी कायम गरेर अबको बाटो कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे सकारात्मक छलफल भएको छ । ‘त्रिपक्षीय छलफल असाध्यै उपलब्धि पूर्ण रह्यो, सौहार्दपूर्ण रह्यो । खासगरी राजनीतिक दल र जेजनी पुस्ताबीचमा संवादहीनताको अवस्था थियो । औपचारिक रुपमा संवाद हुन सकेको थिएन । अनौपचारिक रूपमा छलफल भए पनि औपचारिक वार्ता हुन सकेको थिएन आज त्यो अवस्थाको अन्त्य भएको छ,’ सञ्चारमन्त्री खरेलले भने । जेनजी प्रतिनिधिहरूले उठाएको मुद्दाहरूलाई राज्यले कसरी प्राथमिकता दिएर कार्यान्वयन अगाडि बढाउने भन्नेबारे गहन छलफल भएको छ । उपस्थित राजनीतिक दलका सबै प्रतिनिधि र जेनजी प्रतिनिधिले सकारात्मक रूपमा लिएको र यसले मुलुक अब सहज रूपमा अगाडि बढ्ने सरकारको विश्वास छ । सञ्चारकर्मीको जिज्ञासामा सञ्चारमन्त्री खरेलले वार्तामा सहभागी सबै राजनीतिक दलहरूले निर्वाचनप्रति सकारात्मक धारणा राखे । निर्वाचनको वातावरणका लागि सुरक्षा र स्रोतसाधनलगायतका प्रबन्ध गर्न सरकारलाई ध्यानाकर्षण गराए ।  नेपाली कांग्रेसकोतर्फबाट निर्वाचनका लागि सहयोग गर्ने धारणा आएको छ । नेकपा (माओवादी) को तर्फबाट पनि सकारात्मक कुरा आएको छ । नेकपा (एमाले) पनि निर्वाचनमा जान कुनै समस्या नहुने तर त्यसको वातावरण बनाउन सरकारले काम गर्नुपर्ने चासो राखेको र यसलाई सकारात्मक रुपमा लिइएको छ । बैठकमा राजनीतिक दलका करिब १५ जना र सोही सङ्ख्यामा जेनजी प्रतिनिधिहरूको सहभागिता थियो । जेनजीका प्रतिनिधिहरूले जेनजी आन्दोलनको क्रममा जेजस्ता माग उठेका छन् । सोही अनुरूप मुलुकमा सुशासन र भ्रष्टाचार नियन्त्रण गरिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले निर्वाचनको समेत समर्थन गर्दै निर्वाचन गर्दै गर्दा सुशासनको सुनिश्चतता र भ्रष्टाचार नियन्त्रणलाई पनि सँगै लैजानुपर्ने धारणा राखेका थिए । राजनीतिक दलहरूलाई अझै बढी जिम्मेवार बन्नुपर्छ भन्ने कुरा जेनजीले उठाएका थिए । निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षसँग सघन रूपमा वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गरेको हो । यसअघि यही कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबै पक्ष सकारात्मक भएका थिए । यसबचीमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए । लामो समयपछिको औपचारिक राजनीतिक संवादले निर्वाचनको माहोल बनाएको सम्बन्धित पक्षको भनाइ छ । निर्वाचनको तयारी स्वरूप सरकारले सबैखाले काम अगाडि बढाएको छ । सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको वातावरणका निम्ति ताकेता गरिरहेको छ । आयोग निर्वाचनको आवश्यक तयारीमा जुटिसकेको छ ।