सिटी होटलको प्रतिसेयर नेटवर्थ ८४.९३ रुपैयाँ पुग्यो
काठमाडौं । सिटी होटलको प्रतिसेयर नेटवर्थमा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो त्रैमासको तुलनामा प्रतिसेयर नेटवर्थ ४.१० रुपैयाँले बढेको हो । सिटी होटल नेपालको पहिलो हायात सेन्ट्रिक ब्रान्डको होटल सञ्चालक हो । अघिल्लो त्रैमास अर्थात् आव २०८१/८२ को अन्तिम त्रैमासमा प्रतिसेयर नेटवर्थ ८०.८३ रुपैयाँ रहेको थियो । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा मा नेटवर्थ वृद्धि हुँदै ८४.९३ रुपैयाँ पुगेको हो । सिटी होटल लिमिटेडले हकप्रद सेयर जारी गरेसँगै प्रतिसेयर नेटवर्थ बढेको हो । हकप्रदबाट संकलित रकममार्फत बैंक ऋण तिर्ने कम्पनीको घोषणाले दोस्रो त्रैमासदेखि ब्याज खर्चमा उल्लेखनीय कमी आउने सञ्चालकहरुको विश्वास छ । कम्पनीले गत आर्थिक वर्षमा २६ करोड ४३ लाख रुपैयाँ ब्याज तिरेको थियो । हकप्रद सेयरबाट संकलित रकममार्फत ब्याजमा ३० देखि ३५ प्रतिशत कमी आउनेछ । कम्पनीले पछिल्लो समय सञ्चालनमा सुधार गर्नुका साथै नयाँ व्यावसायिक पहलकदमी र वित्तीय भार न्यूनीकरणमा ठोस कदम चालेको छ । यसले कम्पनीको आम्दानी र नगद प्रवाहमा सकारात्मक प्रभाव पारेको छ । कम्पनीले लाभको यात्रालाई थप सुदृढ बनाउन सुधारात्मक पहल र नयाँ आम्दानीका स्रोतहरुको विस्तार गर्ने रणनीति तय गरेको देखिन्छ । पहिलो त्रैमासिक अवधिको प्रतिवेदनमा विभिन्न ११ वटा रणनीति उल्लेख गरिएका छन् । अधिक कर्पोरेट कार्यक्रमहरू र निजी समारोहहरू आकर्षित गर्न ब्यांक्वेट तथा खानपानका सुविधाहरूलाई सुधार गर्ने, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा दुतावाससँग सम्बन्धित इभेन्ट तथा कार्यक्रमहरु बढाई आम्दानीमा वृद्धि गर्ने, स्थानीय बजारबाट व्यापार बढाउनका लागि ध्यान केन्द्रित गर्ने, कम्पनीको व्यवसायलाई समय–समयमा समिक्षा गरी सेयरधनीहरुलाई उच्च प्रतिफल प्रदान गर्ने, नेपालमा भविष्यमा अयोजना हुने भनिएका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलका महासंघ तथा क्लबहरुसँग सहकार्य गर्ने लगायत रणनीति बनाइएको छ । कम्पनीले रणनीतिहरु कार्यान्वयन गर्ने क्रममा क्यासिनो सञ्चालनको तयारी गरेको छ । करिब २ महिनाभित्र सञ्चालनमा आउने क्यासिनोबाट उच्च मार्जिन भएको राजश्व स्रोत थपिने भएकाले कम्पनीलाई निरन्तर लाभदायी बनाउने विश्वास गरिन्छ । होटल परिसरमा नयाँ जिम तथा स्पा सञ्चालनको तयारी पनि गरिएको छ । यसले होटलको सेवा दायरा बढाउनुका साथै उच्च श्रेणीका ग्राहकर्लाइ आकर्षित गर्नेछ । कम्पनीले आयस्रोत बढाउन प्रयोगमा नआएका होटलका विभिन्न स्थान भाडामा उपलब्ध गराउने तयारी गरेको छ । यसबाट दीर्घकालीन भाडा आम्दानी सुनिश्चित भई सञ्चालन खर्च बहन गर्न थप सहयोग पुग्ने देखिन्छ ।
सोमबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७९ रुपैयाँ २३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९३ रुपैयाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ १४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९६ पैसा र बिक्रीदर २० रुपैयाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०४ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७८ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ र बिक्रीदर १५ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०५ पैसा र बिक्रीदर २२ रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ४३ पैसा , ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
सडकका २५ रूग्ण ठेक्का तोडियो, १० प्रतिशत ब्याज र बाँकी काम गर्न लाग्ने खर्च असुली गर्ने
काठमाडौं । सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रूग्ण ठेक्का तोड्न सुरु गरिएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार २५ रूग्ण ठेक्का तोडिएको सार्वजनिक सूचना जारी गरेको छ । ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८० मा सम्झौता भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रूग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । त्यसपछि सडक विभाग मातहतका कार्यालय रूग्ण ठेक्का तोड्नका लागि प्रक्रिया अगाडि बढाइएका थिए । सडक डिभिजन कार्यालय काठमाडौंबाट गत ११ कात्तिकमा ठेक्का किन नतोड्ने ? भन्दै सम्बन्धित २५ निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्द गरिएको कार्यालयका प्रमुख सुबोध देवकोटाले जानकारी दिए । कानुनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौटी बापतको रकम, पेस्की जमानत जफत र पेस्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने देवकोटाले उल्लेख गरे । निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुने निर्देशन दिइएको छ । ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमा समेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाइ निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रुपमा उपस्थित नभएर आधारभूत रुपमा ठेक्का उल्लङ्घन,ठेक्काका म्याद नरहेको, ठेक्का फरफारक नगरेकाले सम्झौता रद्द गरिएको उल्लेख छ । विभिन्न मितिमा लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्न तर्फ कुनै चासो नदेखाइ ठेक्का सम्झौता उल्लङ्घन गरिएको जनाइएको छ ।
सामसुङले एआई विस्तारका लागि ३१० अर्ब डलर लगानी गर्ने
काठमाडौं । दक्षिण कोरियाली प्राविधिक उत्पादन समूह (सामसुङ) ले आगामी ५ वर्षमा ३१० अर्ब डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ । यो एआईको विश्वव्यापी उछालबाट प्रेरित बढ्दो मागलाई पूरा गर्ने लक्ष्यसाथ आएको हो । सामसङ इलेक्ट्रोनिक्स पहिले नै विश्वको शीर्ष मेमोरी-चिप निर्माताहरू मध्ये एक हो र यसले एआई उद्योग र यसमा निर्भर पूर्वाधारको लागि महत्त्वपूर्ण चिप्स आपूर्ति गर्छ । दक्षिण कोरिया विश्वव्यापी सेमिकन्डक्टर बजारको अर्को प्रमुख प्रविधि उत्पादक एसके हाइनिक्स रहेको राष्ट्र पनि हो । ५ वर्षको लगानी प्याकेजमा ‘मेमोरी चिप्सको मागहरू पूरा गर्न’ डिजाइन गरिएका नयाँ सेमिकन्डक्टर सुविधा (प्योङटेक प्लान्ट ५) निर्माण गर्ने योजना समावेश रहेको छ,’ सामसुङले एक विज्ञप्तिमा जनाएको छ। पूर्ण रूपमा सञ्चालनमा आएपछि प्योङटेक प्लान्टले विश्वव्यापी सेमिकन्डक्टर आपूर्ति श्रृंखला र दक्षिण कोरियाको घरेलु चिप्स प्रणाली दुवैमा अझ ठूलो रणनीतिक भूमिका खेल्ने अपेक्षा गरिएको छ। नयाँ सेवा २०२८ मा सञ्चालन सुरु गर्ने योजना रहेको छ। कम्पनीले बिस्तृत विवरण सार्वजनिक नगरिकन भनेको छ, ‘सामसुङ एसडीएस, समूहको आइटी र लजिस्टिक शाखाले दक्षिण जियोला र गुमीमा दुई एआई डाटा सेन्टरहरू स्थापना गर्नेछ।’ सामसुङ इलेक्ट्रोनिक्सल एआई-ईन्धनको मागको कारण तेस्रो त्रैमासिकमा यसको नाफा अघिल्लो बर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतभन्दा बढीले बढेको छ। एआई–सम्बन्धित खर्च विश्वव्यापी रूपमा बढिरहेको र आकासिँदो प्रविधिको शेयर मूल्याङ्कनले एआई बजारमा देखिएका फोका अन्ततः फुट्न सक्छन् भन्ने चिन्तालाई बढाएको छ। दक्षिण कोरियाली सरकारले अर्को वर्ष आर्टिफिसियल इन्टेलिजेन्समा तीन गुणा बढी खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेपछि आइतबार घोषणा गरिएको लगानी प्याकेज आएको हो । अमेरिकी राष्ट्रपति ली जे म्युङले ‘एआई युगको सुरुवात’ गर्ने र देशलाई संयुक्त राज्य अमेरिका र चीनपछि विश्वको शीर्ष तीन एआई शक्तिमध्ये एक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एनपीएलको ‘इन्टरटेनमेन्ट पार्टनर’ बन्यो एलओडी क्लब
काठमाडौं । एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको छ । सोमबारदेखि कीर्तिपुरस्थित क्रिकेट रंगशालामा सुरू हुने एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको हो । आइतबार एक कार्यक्रम गरी क्लबका कार्यकारी निर्देशक रविन श्रेष्ठ र क्रिकेट एशोशिएसनका सचिव पारस खड्काले सम्झौता गरे । कार्यकारी निर्देशक श्रेष्ठकाअनुसार खेल भइरहेको समयमा क्लबका डिजेहरूले ‘म्युजिक’ प्ले गर्ने छन् । क्लबले क्रिकेट रंगशालामा क्याबिन म्युजिक प्ले गर्ने छन् । ‘प्रत्येक खेलका खेलाडीहरूलाई विशेष कार्यक्रम गरेर क्लबमा स्वागत गरिन्छ । खेलमा सहभागी खेलाडी र खेल हेर्न आएका दर्शकलाई मनोरञ्जन प्रदान गर्नु क्लबले जिम्मेवारी पाएको छ,’ उनले भने ।
नेपाल टेलिकमको नाफा १.३२ अर्ब रुपैयाँ, आम्दानी ८.६७ अर्ब
काठमाडौं । नेपाल दूसञ्चार कम्पनी (नेपाल टेलिकम (एनटीसी)को चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा २३.८२ प्रतिशत घटेर १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको पहिलो त्रैमसामा कम्पनीको सञ्चालन आम्दानी ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ६८ करोड १ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीका अनुसार चालु आवको ३ महिनामा वित्त आम्दानी ६० करोड ५ लाख रुपैयाँ, अन्य आम्दानी १९ करोड १० लाख रुपैयाँ र कुल आम्दानी ९ अर्ब ४७ करोड १० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ७७ लाख रुपैयाँ वित्त आम्दानी, २० करोड ६३ लाख रुपैयाँ अन्य आम्दानी र १० अर्ब ६ करोड ३७ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीले १ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ कर्मचारी खर्च, १ अर्ब ५२ करोड ५२ लाख रुपैयाँ सञ्चालन तथा मेन्टेनेन्स खर्च, ८ करोड ५५ लाख रुपैयाँ प्रमोसनल खर्च, ३५ करोड ४४ लाख रुपैयाँ कार्यालय सञ्चालन खर्च, १ अर्ब १७ लाख रुपैयाँ शुल्क तथा नवीकरणमा खर्च भएको जनाएको छ । १८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७३ अर्ब ३ करोड ५७ लाख रुपैयाँ रहेको छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेर २९.४५ रुपैयाँमा सीमित भएको छ । गत वर्षको असोजमा कम्पनीको प्रतिसेयर आम्दानी ३८.६६ रुपैयाँ थियो ।
एमाले संकटबाट भाग्ने होइन, सामना गर्ने पार्टी हो: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले देशको राजनीतिक संकटसँग जुध्न सक्षम पार्टी भएको र पार्टीलाई थप सुदृढ बनाउन आवश्यक रहेको टिप्पणी गरेका छन् । दैलेखको पटांगीनी, दुल्लूमा आइतबार जिल्ला कमिटीद्वारा आयोजित जन सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई अस्थिरताबाट जोगाउन एमालेलाई “निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । महासचिव पोखरेलले भदौ २३ र २४ गते देशका विभिन्न संवैधानिक निकायमा भएको तोडफोडलाई “राज्यलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र”का रूपमा चित्रण गरे । उनले भने, ‘सिंहदरबार, सर्वोच्च अदालतजस्ता संवैधानिक निकायमा आगो लगाउनु राष्ट्र विरुद्धको गम्भीर अपराध हो । हामी संकटसँग भाग्ने होइन, त्यसको सामना गर्दै देशलाई निकास दिने अभियानमा अघि बढिरहेका छौँ ।’ उनले पार्टीका नेता तथा कार्यकर्तालाई उच्च मनोबलका साथ जनतामाझ सक्रिय रहन अपील गरे । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य यामलाल कँडेलले मुलुकलाई दिगो स्थिरता दिन आउँदो निर्वाचनमा एमाले एक्लै बहुमतसहित अगाडि आउनुपर्ने धारणा राखे । कँडेलले भने, ‘जनताको रोजाइमा पहिलो पार्टी एमाले नै हो । अब नेता-कार्यकर्ता सबै एकताबद्ध भएर अघि बढ्नु जरुरी छ ।’ एमाले दैलेख जिल्ला कमिटीका अध्यक्ष सूर्यबहादुर शाहीले जेनजी आन्दोलनपछि बनेको सरकारले असंवैधानिक रूपमा विघटित प्रतिनिधि सभालाई पुनःस्थापना गरे मात्र मुलुकले मार्गनिर्देशन पाउने दाबी गरे । उनका अनुसार एमाले र जनता एक भएर अघि बढे मात्र देश संकट मुक्त बन्न सक्छ । शाहीले कार्यकर्तालाई संगठन सुदृढीकरण र जनतासँग निरन्तर सम्पर्कमा रहन आग्रह गर्दै मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन सबैलाई सक्रिय हुन अपिल गरे ।
निजी क्षेत्रमाथि लुटपाट, तोडफोड र आगजनी गर्ने कारबाही गर्न महासंघको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएको गलत घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरुलाई कारबाही गर्न र सो घटनाको विषयमा जाहेरी लिन नेपाल प्रहरीसँग आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूको टोलीले आइतबार नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीलाई भेट गरि सो आग्रह गरेको हो । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वको सो टोलीले घटनामा संलग्नहरूमाथी कारबाही नगर्ने हो समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साही हुने उल्लेख गर्दै यस विषयमा महानिरीक्षक कार्कीको गम्भीर ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष ढकालले आन्दोलन पछि निजी क्षेत्रको मनोबल कमजोर मात्र नभई आर्थिक क्रियाकलाप मै नकारात्मक असर पुर्याएको बताए । ‘जेनजी आन्दोलनमा उठेका सुशासन, पारदर्शिताका एजेण्डाहरु महासंघले उठाउँदै आएका एजेण्डाहरु हुन् । यद्यपि पछिल्लो जेनजी आन्दोलन र त्यसक्रममा भएका घुसपैठले निजी उद्योग प्रतिष्ठानहरुमा ठूलो क्षति भएको छ । उद्योगी व्यवसायीहरूको मनोबल कमजोर भएको अवस्था छ । यो अवस्थामा औद्योगिक सुरक्षा र स्थायित्वका लागि कानुनी राज्यको प्रत्याभूति दिलाउनु आवश्यक छ,’ उनले भने । उनले घटनाका दोषीहरूमाथिको जाहेरी दर्ता नलिने र कारबाहीमा उदासीनता देखिए दण्डहीनता बढ्न गई लगानीको वातावरणलाई गम्भीर असर पर्ने र आउने दिनमा फेरि यस्ता घटना दोहरिन सक्ने जोखिम कायम रहने धारणा राखे । निवर्तमान अध्यक्ष शेखर गोल्छाले लगानीको लागि पहिलो सर्त सुरक्षा भएको उल्लेख गर्दै शान्ति सुरक्षाको प्रत्याभूति नहुने हो भने आर्थिक गतिविधि र लगानी निरुत्साहित हुने बताए । ‘आन्दोलन पछि व्यवसायीहरूले प्रमाणसहित जाहेरी दिए पनि नलिएको अवस्था छ । काठमाडौं बाहिरका जिल्लाहरूबाट पनि जाहेरी नलिएको गुनासो व्यवसायीहरूबाट आइरहेको छ । यसले व्यवसायीहरूमा एक प्रकारको निराशा छाएको छ । तसर्थ यसलाई गम्भीर रुपमा लिन आग्रह गर्दछु,’ उनले भने । यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले हरेक आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण हुने गरे पनि यो पटक निजी क्षेत्रमाथि योजनाबद्ध रुपमा आक्रमण गरिएको बताए । उनले शान्ति सुरक्षा विना स्थायित्व कायम नहुने र स्थायित्व बिना आर्थिक गतिविधि चलायमान नहुने हुनाले शान्ति सुरक्षाको प्रत्याभूति अत्यन्तै आवश्यक रहेकोमा जोड दिए । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले शान्ति-सुरक्षा कायम गर्नु प्रहरीको पहिलो दायित्व भएको उल्लेख गर्दै देशमा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रतिवद्ध भएर लागेको बताए । आन्दोलनका क्रममा गलत घुसपैठ गरी हिंसा, तोडफोड र अराजक कार्यमा संलग्न जो-कसैलाई पनि प्रमाणका आधारमा कानूनी कारबाही दायरामा ल्याइने धारणा राखे । ‘निजी क्षेत्र अर्थतन्त्रको प्रमुख आधार हो । यो क्षेत्रको संरक्षण विना अर्थतन्त्र चलायमान हुन सक्दैन । नेपाल प्रहरी निजी क्षेत्र, आम नागरिकको सुरक्षाको लागि सधैं संवेदनशील छ । यसमा सबैको सहयोग अपरिहार्य छ,’ उनले भने । प्रहरी महानिरीक्षक कार्कीले आन्दोलनका क्रममा भएका सार्वजनिक तथा निजी सम्पत्ति माथि भएको आक्रमण र तोडफोडमा संलग्न दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याइने र यसका लागि सबै जिल्ला स्थित प्रहरी कार्यालयहरूलाई निर्देशन दिइएको जानकारी दिए । महासंघका उपाध्यक्षहरू सुर कृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ तथा कोषाध्यक्ष भरतराज आचार्य लगायतको सहभागिता थियो ।